यस वर्ष रासायनिक मलको अभाव हुँदैनः मन्त्री भुसाल

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताएका हुन् । हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए ।
उनले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए । मन्त्री भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताए ।
उनले भने, – ‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भइ विक्रि, वितरण भइरहेको छ । र हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरुमा मल मौज्दात रहेको छ । असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा रहेको छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने व्यहोरा यस सदनमा राख्न चाहन्छु । विगतमा जस्तै बजेटमा सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नरहोस् भनेर आगामी आर्थिक वर्षको लागि रु. ३० अर्ब रकम सुनिश्चित गरिएको ब्यहोरा पनि अनुरोध गर्न चाहान्छु । त्यसैगरी रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । र मल खरिद सम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्री परिषद्मा पेस गर्ने क्रममा रहेको छ ।’
मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडि बढाएको बताए । उनले हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिए । ३ लाख ५४ हजार ५७३ पशुभने लम्पिस्किन रोगबाट निको भइसकेका बताए । उनले २ लाख ३५ हजार २१९ पशु अझैपनि संक्रमित अवस्थामा रहेका बताए ।
उनले भने, – ‘अहिले देशैभरी गाईभैँसीमा लाग्ने एउटा संक्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो । यस वर्ष मनाङ बाहेक सबै जिल्लामा देखा परेको छ । हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भएको छ भने ३ लाख ५४ हजार ५७३ निको भएका छन् । २ लाख ३५ हजार २१९ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । मैले मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै यस रोगको संक्रमण फैलिइसकेको थियो । तर त्यसबेला उपचार र नियन्त्रणका लागि कुनैपनि कदम चालिएको थिएन । आजभन्दा दुई महिना अगाडीदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो । यसको उपचार भनेको संक्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मल्हम लगाउने र दानापानी खुवाउने हो । नियन्त्रणका लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने हो । यसको भ्याक्सिन हाम्रो देशमा पाइँदैन । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । हालसम्म ७ लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको छ । र २०८० असार १० सम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको छ । लम्पिस्किन रोगको सम्बन्धमा सरकार मौन छैन । यस रोगको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका कार्यहरु अघि बढाइएको छ ।’
उनले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताए । उनले हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया