शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा उठाए १५ विषय (सूचीसहित)
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले १५ विषयमाथि आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।
यस्तो छ उनले राखेको मन्तव्यको पूर्णपाठ:
आदरणीय सभापतिज्यू,
पदाधिकारीज्यूहरू र उपस्थित केन्द्रीय सदस्यहरू,
आज हामी झण्डै एकवर्षको अन्तरालपछि यहाँ भेला भएका छौँ । कैयन् साथीहरूलाई विधानविपरीत यसरी एकवर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ भन्ने विश्वास गरौँ ।
१. बैठक लाइभसम्बन्धी
अहिलेको विश्व लोकरिझ्याईमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रिय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनि हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाईडलाइन बनाऔँ ।
२. महामन्त्रीको सांगठानिक कार्यतालिका
महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ । कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ । केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउँनुपर्ने प्रावधान थपिनुपर्छ । किनकि यसले संघियताप्रती हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरूको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ ।
३. गठबन्धनबारे
कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरू कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ । किनकि गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।
गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद भित्र ठुलो दल भएको छ । ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघिय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ । संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन की हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरू बाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरूवाट पनि चुनौतिको घेरामा छ ।
४. सरकारको कामकाज
सरकारको कामकाज समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरूले स्वत स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नु पर्ने समय आएको छ ।
स्थानीय सरकार देखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिबाट जन अपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जाने तर्फ साथीहरू सचेत हुनुहुनेछ । महङ्गी र कालाबजारीले जनता आक्रान्त छन् । जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन् । यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरूले गम्भीर हुनै पर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ साथीहरू सचेत हुनुहोला ।
५. दण्डहिनता
राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहिनता बढेर गएको छ । नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनतालाई अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।
६. अन्य राजनीतिक दलसम्बन्धी
समाजबादी मोर्चा किन बनेको हो ? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो ?
७. भ्रष्टाचार र सुशासन
भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।
८. भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशिल र पेचिलो विषय हो । यस विषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु ।
९. निर्वाचन प्रणाली
प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।
१०. विदेशमा बस्ने नेपालीहरूको मताधिकार
विदेशमा बस्ने नेपालीहरूलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ । यस सम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागी कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ ।
११. बदलिँदो भूराजनीति
बदलिँदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तराष्ट्रिय कुटनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भिरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ ।
१२. पार्टीमा एकताबद्ध हुन आह्वान
विभिन्न कारणले कांग्रेसको मूलधारवाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनक रुपमा घर फर्कने बाटो खोलिनुपर्छ । कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मूलधारमा ल्याउन सकिन्छ । तसर्थ यस अघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरूलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौँ ।
सभापतिज्यू,
१३. जनतासँग जोडौँ
सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ । यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूर्नस्थापित गरेर विपी कोइराला लगायत हाम्रा अग्रजहरूको सोचको कांग्रेस फेरी निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।
तसर्थ नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ । पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरूसँग नजोडि पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन । त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौँ ।
सभापतिज्यू,
१४. विधान अनुसार चलौँ
हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्धारा निर्देशित हुन्छ । हामी सवै एउटा खेलको नियममा बाँधिएका छौँ र बाधिनु पर्छ । जसरी देश संविधानवाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानवाट अगाडि बढाउने परम्परा बसालौँ । हाम्रा भातृ र शुभेच्छुक संस्थाहरूलाई पनि बिधान अनुरुप अगाडि बढाउने काम गरौँ । बिधानले सवैले गर्ने काम तोकेको छ । हामी कतिले के(के गर्यौ, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रिय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।
१५. महासमिति बैठक
१४औँ महाधिबेशनले नेतृत्व चयन मात्र गर्यो । कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जीवन्त रहन्छ । नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४औँ महाधिवेशन पछाडी यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा विचारको खडेरी छ । त्यसकारण विधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानु पर्छ ।
अन्त्यमा,
पार्टी सुधारको कुरा कसैलाई सुनाउँन वा देखाउँनलाई होईन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो ।सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौँ । दुरदराजका जनताको आवाज सुनौँ । केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिक रुपमै आफूलाई परिवर्तन गरौँ । विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ । कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ । कांग्रेस रुपान्तरण भनेकै यही हो । जय नेपाल ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज पाँचौँ दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया