सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

संघमा दुई वटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाका रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको जिकिर गरे ।

लिङ्देनले सेनाबिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको उल्लेख गरे । वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने उनकाे भनाइ छ । उनले प्रतिनिधि सभा भईसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे ।

उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियार सम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।