शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

डा. कोइरालाले भने- राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादी शक्तिले सोचौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका निम्ति लोकतन्त्रवादी शक्तिले सोच्ने बेला आएको बताएका छन् । डेढ वर्षमा प्रदेश र केन्द्र गरेर २३ पटक सरकार परिवर्तन भएको उनले उल्लेख गरे । उनले ‘अझै कतिपटक सरकार परिवर्तन हुने ?’ भन्दै प्रश्न गरे ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले कांग्रेस नेत्री शैलजा आचार्यको १५ औँ स्मृति दिवसका अवसरमा देशमा सुशासनको अभाव र भ्रष्टाचारले गाँजेको बताए । 'राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छैन । आर्थिक विकास हुन सक्ने अवस्था छैन । सुशासन छैन, भ्रष्टाचारले गाँजेको छ,' उनले भने ।

कांग्रेसको पुरानै साख फर्काउनुपर्ने भन्दै उनले थपे, 'बीपी, शैलजालगायत नेता सम्झेर काम गरे कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सक्छौँ ।' नेता कोइरालाले शैलजा आचार्य साहसी नेत्री भएको उनले स्मरण गराए ।

'चित्त नबुझे उहाँ कसैको कुरा सुन्नु हुन्न थियो । सामाजिक रुपान्तरणमा उहाँको योगदान धेरै छ,' उनले भने, 'जलविद्युतमा उहाँको योगदान कहिल्यै नबिर्सने काम हो ।'