बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरणकुमार शाहले बजेटले कृषिलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा सांसद शाहले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन प्रवद्र्धनमा बजेटले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
उनले हरित पूर्वाधार, हरित ऊर्जा, युवालक्षित कार्यक्रम, वन संरक्षणलाई ध्यान दिन माग गरे । साथै उहाँले किसानका लागि अनुदान, कृषिको आधुनिकीकरण, पशुपालनको व्यवसायीकरण तथा पशुपक्षीको उपचार वडास्तरमा व्यवस्था सरकारको ध्यानाकर्षण गरे ।
नेपाली कांग्रेसका सांसद नागिना यादवले कानुन मन्त्रालयको बजेट अत्यन्तै कम भएको र यसले कानुन निर्माण र सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राखे । उनले सङ्घीयताको कार्यान्वयन, विधिको शासन र सुशासन प्रवद्र्धन गर्न पर्याप्त बजेट जरुरी भएको उल्लेख गरे ।
जनमत पार्टीका सांसद अब्दुल खाँनले बजेटले कृषि र किसानलाई नसमेटेको जिकिर गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकास, किसानलाई समयमा मलखादको व्यवस्था गर्न जरुरी भएको उल्लेख गरे । उनले किसान कार्ड, चक्लाबन्दी, सिँचाइको व्यवस्था गरी कृषि उत्पादन प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले स्व शास्त्रीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाका सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।
विसं १९९३ मा अर्घाखाँची जिल्लामा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो । नेपाली कांग्रेसकातर्फबाट २०४८ र ०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट दुवै पटक उहाँ निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ६ गते बिहान ११ बजे बस्नेछ ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया