आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

प्रिमियर लिगमा टोटनहमको रवाफ कायमै

काठमाडौँ-इंग्लिस प्रिमियर लिगमा टोटनहमले लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार राति आफ्नै मैदानमा टोटनहमले वाटफोर्डलाई १–० ले हराएको हो । उसका लागि ह्युङ मिन सनले गोल गरे । 

सनका लागि यो सिजनको दोस्रो गोल हो । उनले म्यानचेस्टर सिटीविरुद्धको जितमा पनि गोल गरेका थिए । नयाँ प्रशिक्षक नुनो इस्प्रिटो सान्टोले टोटनहम सम्हालेपछि सन सर्वाधिक प्रभावकारी देखिएका छन् । 

ह्यारी केन पहिलो एघारमा फर्किएको खेलमा जित हासिल गरेसँगै टोटनहम अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । टोटनहमको नौ अंक भएको छ । टोटनहमलाई पछ्याइरहेका वेस्टह्याम, चेल्सी, लिभरपुल  र एभरटनको सात–सात अंक छ । 

आइतबार राति नै भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । टर्फ मुरमा भएको खेलमा क्रिस उडको गोल मार्फत बर्नलीले अग्रता बनाएको थियो ।  तर ८६ औँ मिनेटमा प्याट्रिक बाम्फोर्डले गोल फर्काएपछि लिड्स हारबाट जोगियो । बराबरीसँगै बर्नली र लिड्स क्रमशः १५ औँ र १६ औँ स्थानमा छन् ।