आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

अरु भन्दा १० गुणा बढी खर्चालु इंग्लिस प्रिमियर लिग

काठमाडौँ - युरोपियन क्लब फुटबलमा मात्र होइन, विश्वभर नै इंग्लिस प्रिमियर लिगको लोकप्रियतालाई अन्य लिगले छुन सकेका छैनन् । आर्थिक रूपमा पनि प्रिमियर लिग नै बलियो भएको तथ्य लुकेको छैन । यसको प्रमाण पुनः एक पटक सरुवा बजारले दिएको छ । अगस्ट ३१ मा बन्द भएको सरुवा बजारमा प्रिमियिर लिग खेल्ने क्लबहरूले एक अर्ब पाउन्ड भन्दा बढी खर्च गरे । यसअघिका पाँच ‘समर ट्रान्सफर विन्डो’मा पनि प्रिमियर लिग नै सर्वाधिक खर्चालु साबित भएको थियो । 

यसैपालि क्रिस्टियानो रोनाल्डो पनि इंग्ल्यान्ड फर्किए । उनीसँगै रोमेलु लुकाकु र जेडोन सान्चोको पनि प्रिमियर लिगमा पुनरागमन भयो । रोनाल्डो र सान्चो अनुबन्ध गरेको म्यानचेस्टर युनाइटेडले नै राफाएल भारानलाई क्लबमा भित्र्यायो । प्रिमियर लिगले धमाधम प्रतिभाशाली खेलाडीहरूलाई आकर्षित गर्दैगर्दा अन्य बलिया लिगहरूले भने खेलाडी अभावको महसुस गरे । 

प्रिमियर लिगका क्लबहरू महंगो स्थान्तरणमा मात्र व्यस्त भएनन्, कतिपय खेलाडीलाई ‘फ्रि–ट्रान्सफर’मा पनि अनुबन्ध गर्न सफल भए । ‘फ्रि–ट्रान्सफर’कै कारण प्रिमियर लिगले सन् २०१५ यताकै कम खर्च गर्‍यो । जबकि उसले ६ वर्षयताकै कम खर्च गर्दा पनि अन्य लिगले भेट्टाउन सकेनन् । डेलोइट्टेका प्रिमियर लिगले यसपटक खेलाडी खरिदमा ५६ करोड पाउन्ड खुद खर्च गर्‍यो । उता स्पेनको ला लिगा, इटालीको सिरी ए र फ्रान्सको लिग वानको खुद खर्च क्रमशः पाँच करोड ५० लाख पाउन्ड, पाँच करोड पाउन्ड र एक करोड ५० लाख पाउन्ड रह्यो । जर्मनीको बुन्डेसलिगाले भने सरुवा बजारमा नाफा कमायो । खेलाडी किनबेचबाट उसको खुद नाफा तीन करोड ५० लाखको रह्यो । 

डेलोइट्टका अनुसार समग्रमा खेलाडी स्थान्तरणको संख्या स्थिर भएपनि ‘फ्रि–ट्रान्सफर’मा क्लब परिवर्तन गर्ने खेलाडीहरूको संख्या भने बढ्यो । ‘क्लबहरूले आफ्नो आर्थिक अवस्थामा सन्तुलन कायम गर्न खोजेको देखियो । तर बजारमा उपलब्ध प्रतिभाशाली खेलाडीहरूमाथि भने उनीहरूले खुलेर खर्च गर्न चाहे । कोभिड–१९ महामारीका कारण युरोपका पाँच ठूला लिगहरुलाई असर पारेको छ । यद्यपि यि लिगहरुमध्ये बलियो अवस्थामा भने प्रिमियर लिग नै देखियो,’ डेलोइट्टले भनेको छ । 

प्रिमियर लिग अन्य लिग भन्दा आर्थिक रूपमा बलियो देखिनुमा टेलिभिजन प्रशारण अधिकार बिक्री गर्दा हुने कमाइ नै हो । प्रिमियर लिगले सन् २०२२-२३ देखि लागू हुनेगरी थप तीन वर्षका लागि टेलिभिजन प्रशारण अधिकार बेचिसकेको छ । जसको मूल्य हो, पाँच अर्ब १० करोड । यसले प्रिमियर लिगलाई आर्थिक रूपमा थप स्थिर बनाएको बताइएको छ । 

प्रिमियर लिगले टेलिभिजन प्रशारणबाट अर्बौ कमाउँदै गर्दा फ्रान्सको लिग वानको अवस्था भने खराब छ । गत सिजन लिग वान र स्पेनिस कम्पनी मिडिया प्रोबीचको सम्झौँता नै रद्ध भयो । उसले अमेजन र क्यानल प्लससँग नयाँ सम्झौता त गरेको छ । तर अपेक्षा गरेको भन्दा निकै कम रकममा । 

स्पेनिस ला लिगाको आर्थिक अवस्था खासै बलियो नहँदा बार्सिलोना जस्ता क्लब मारमा परेका छन् । कोभिड महामारीका कारण टिकट आम्दानी शून्य भएको र टेलिभिजन प्रशारण अधिकार विक्रिवापत उल्लेख्य आम्दानी नहुँदा बार्सिलोनाको आर्थिक अवस्था मजबुद छैन । पहिलेबाटै खेलाडीको तलबमा अत्याधिक खर्च गरिरहेको बार्सिलोनाललाई यसपटक फाइनान्सियल फेयर प्ले (एफएफपी)ले पनि च्याप्यो । जसकारण बार्सिलोनाले लियोनल मेस्सी जस्ता ‘ग्लोबल स्टार’ गुमाउनु पर्‍यो । सरुवा बजारको उत्तर्राद्धमा क्याट्लन क्लबले एन्टोइन ग्रिजमनलाई पनि एथ्लेटिको म्याड्रिड फर्कन दियो । आर्थिक समस्याकै कारण इटालियन च्याम्पियन इन्टर मिलानले लुकाकुलाई बेच्यो ।  

युरोपका ठूला मानिएका क्लबहरूले केही समयअघि नयाँ युरोपियन लिगको गठन गर्ने प्रयत्न गरेका थियो । सुपर लिग भनिएको नयाँ लिगको उदेश्य च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने र क्लबहरूको आम्दानी बढाउने थियो । ठूला क्लबहरू आपसमा मात्रै खेल्दा थप आम्दानी गर्न सकिने निचोडका साथ सुपर लिग आयोजना गर्ने प्रयास गरियो । तर समर्थकको विरोध र युरोपियन फुटबल महासंघ (युईएफए)को विरोधका कारण सुपर लिगको योजना तुहियो । सुपर लिगले प्रिमियर लिगका ठूला ६ क्लबलाई मात्र होइन, स्पेन र इटालीका लोकप्रिय क्लबलाई पनि फाईदा पुर्‍याउने अनुमान गरिएको थियो । 

सुपर लिग आयोजना गर्न तम्सिएको समूहको सदस्य रहेको आर्सनलले यसपालि प्रिमियर लिगको सबैभन्दा खर्चालु क्लब बन्यो । उसले ६ नयाँ खेलाडी अनुबन्ध गर्दा १५ करोड पाउन्ड खर्चियो । आर्सनल सरुवा बजारमा व्यस्त बनिरहँदा रियल म्याड्रिडले भने आफूले चाहेको खेलाडी भित्र्याउन सकेन । किलियान एमबाप्पेका लागि उसले गरेको १८ करोड युरोको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्विकार गर्‍यो। 

एमबाप्पेको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष पनि बाँकी छैन । आउँदो गृष्मकालीन सरुवा बजारमा पीएसजीले एमबाप्पेलाई सित्तैमा गुमाउन सक्छ । यस्तो अवस्थाबारे जानकार रहँदा पनि पीएसजी डगमगाएन । कारण ? उसको बलियो आर्थिक अवस्था । 

कुनै समय थियो जब रियल, बार्सिलोना, युभेन्टस जस्ता क्लबले जो सुकै खेलाडी पनि खरिद गर्न सक्ने सम्भावना हुन्थ्यो । तर अहिलेको अवस्था फरक छ । हाल पीएसजी र म्यानचेस्टर सिटी जस्ता क्लबले रियल वा बार्सिलोनाबाट खेलाडी खोस्न सक्ने हैसियत बनाएका छन् । किनभने यी क्लबहरूको स्वामित्व खाडीका कतार र संयुक्त अरब एमिरेट्स (र्युएई) सरकारका लगानी कोषहरूसँग छ ।

पीएसजी वा सिटीजस्ता क्लबहरुसँग अन्य पारम्पारिक शक्ति क्लबहरूले सरुवा बजारमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन । यहीकारण सुपर लिगको योजना ल्याइएको थियो । जुन हालका लागि लागू गर्न सम्भव भएन । सुपर लिगको सहायतामा आम्दानीको स्रोत मजबुद बनाउन नसक्ने अनि आर्थिक अनुशासनको नियम पालाना नहुने भएपछि अबका दिनमा पीएसजी, सिटी जस्ता क्लब नै युरोपियन क्लब फुटबलका नयाँ पावरहाउस बन्नेछन् । 
एएफपीको सहयोगमा