फिफालाई युरोपियन क्लबहरूको प्रश्न : ब्राजिलका खेलाडीहरूलाई खेलाउने कि नखेलाउने ?
काठमाडौँ- अगस्ट सकिन साथ फुटबलमा अन्तर्राष्ट्रिय ब्रेक सुरु भयो । जुन अहिले पनि जारी छ । विश्वकप छनौट तथा मैत्रीपूर्ण खेलहरूमा राष्ट्रिय टिमहरू व्यस्त छन् । आगामी शनिबारबाट मात्रै युरोपियन सहित अन्य लिगहरू फेरि सुरु हुनेछन् । कोभिड–१९ महामारीबीच विश्व फुटबल चलिरहेको छ । कोभिड नियन्त्रणका लागि भन्दै लगाइएका क्वारन्टिन नियमको विकल्प भेटिएको छैन । दक्षिण अमेरिका पुगेर इंग्ल्यान्ड फर्किने खेलाडीहरूले १० दिनका लागि क्वारन्टिनमा रहनु पर्ने नियम छ ।
जसकारण ती खेलाडीहरूले प्रिमियर लिगमा केही खेल गुमाउनु पर्ने हुन्छ । यो परिस्थती आउन नदिन इंग्ल्यान्डका ठूला क्लबहरूले अन्तर्राष्ट्रिय खेलहरूका लागि आफ्ना खेलाडीहरूलाई फुकुवा गर्न मानेनन् । ब्राजिलका नौ खेलाडीले इंग्ल्यान्ड छाड्ने अनुमति पाएनन् ।
विश्व फुटबल नियामक निकाय फिफाको नियम अनुसार अन्तर्राष्ट्रिय ब्रेकका लागि रिलिज नगरिएका खेलाडीहरूले पाँच दिनसम्मका लागि प्रतिबन्ध भोग्न सक्छन् । ती खेलाडीहरूलाई क्लबहरूले लिगमा देलाउन पाउँदैनन् । इंग्लिस क्लबहरूले रिलिज नगरेको ती नौ खेलाडीबारे फिफाले केही बोलेको छैन । त्यसैले युरोपियन क्लबहरूको संगठन (ईसीए)ले फिफालाई सोधेको छ, ‘के ती खेलाडीहरूलाई इंग्लिस क्लबहरूले लिग सुरु भएपछि खेलाउन पाउँछन्?’
विश्वकप छनौटका लागि ब्राजिलले इंग्लिस प्रिमियर लिग खेल्ने नौ खेलाडीलाई राष्ट्रिय टिममा डाकेको थियो । तर लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्ना टिममा रहेका ब्राजिलियन खेलाडीहरूलाई फुकुवा गरेनन् । लिभरपुलले एलिसन बेकर, फाबिन्हो र रोबर्टो फरमिन्होलाई फुकुवा गर्न मानेन ।उता सिटीमा रहेका एडरसन र गाब्रियल जेजुस पनि घर फर्कन पाएनन् । उनीहरूसँगै चेल्सीका थियागो सिल्भा, युनाइटेडका फ्रेड, लिड्स युनाइटेडका रफिन्हा र एभर्टनका रिचारलिसन पनि इंग्ल्यान्डमै रहे ।
आफ्ना खेलाडीहरू फुकुवा नगरिएको बारे ब्राजिलले कुनै गुनासो नगरे पनि चिली, मेक्सिको र पाराग्वेले भने फिफामा निवेदन दिएका छन् । इंग्ल्यान्डकै उल्भरह्याम्पटन, वाटफोर्ड र ब्लाकबर्नले खेलाडी रिलिज नगरेपछि फिफामा निवेदन दिइएको हो । बीबीसीका अनुसार यी क्लबका दक्षिण अमेरिकी खेलाडीहरू विश्वकप छनौट खेल्न आ–आफ्ना राष्ट्रिय टिमसँग जोडिनेछन् ।
इंग्ल्यान्डका लिभरपुल, सिटी, चेल्सी लगायतका क्लबले खेलाडी फुकुवा नगरेपनि एस्टन भिल्ला र टोटनहमले भने आफ्ना खेलाडीहरूलाई अर्जेन्टिना जान दिएका थिए । भिल्लाका इमिलियानो बुन्डिया र इमिलियानो मार्टिनेज अनि टोटनहमका क्रिस्टियन रोेमेरो र जियोभानी लो सेल्सोले अर्जेन्टिनाका दुई खेल खेले । उनीहरूले अब प्रिमियर लिगमा कमसेकम एक खेल गुमाउनेछन् ।
ईसीएका कार्यकारी अधिकृत चार्ली मार्सलले फिफाले फुकुवा नभएका खेलाडीहरूमाथि प्रतिबन्ध लगाउन नहुने राय राखे । ‘इंग्ल्यान्ड फर्केपछि खेलाडीहरू क्वारन्टिनमा बस्नुपर्छ । जसकारण उनीहरूले क्लबका खेल गुमाउनु पर्छ । फेरि क्वारिन्टन समयावधि लामो भएकाले फुकुवा अवधि सहमति गरिएको भन्दा लामो हुन जान्छ । यसरी त क्लबलाई घाटा हुन्छ । यो विशेष परिस्थती हो । यसकारण फिफाले विचार गर्नुपर्छ,’ मार्सलले भनेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया