अभिषेक गिरीलाई रोक्न आन्दोलन गर्ने चौकीदार गुरुङसहित १४ कैदीको सरुवा

विराटनगर – मोरङ कारागारभित्र मंगलबार भएको झडपका क्रममा घाइते भएका चौकीदार किरण गुरुङसहित उनकै नेतृत्वमा रहेका नाइके तथा भाइ नाइकेहरूको अचानक सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको आकस्मिक निर्देशन भन्दै उनीहरूलाई सुनसरीको झुम्का र झापा कारागारमा सरुवा गरिएको जनाइएको छ ।
झडपको मुख्य कारण बनाइएका चौकीदार गुरुङ र उनको समुहले कारागारभित्रका अन्य कैदीबन्दीलाई यातना दिएको भनिएको छ । प्रतिकारमा उत्रिएको समुहले चौकीदार गुरुङसहित नाइके र भाइनाइकेहरूलाई नियन्त्रणमा लिएर बुधबार बिहान करिब १० बजे कुटपिट गरी कोठामा थुनेका थिए ।
कारागार स्रोतका अनुसार चौकीदार गुरुङविरुद्ध प्रतिकार गर्ने समुहको नेतृत्व कार्तिक कामतले गरेका हुन् । झडपका क्रममा घाइते भएको गुरुङको समुहका १४ जना मध्ये ६ जनाको कोसी अस्पताल विराटनगरमा प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । उपचारपछि उनीहरूलाई पुनः कारागार पुर्याएर त्यहाँबाट १४ जनालाई दुई समुह बनाएर झुम्का र झापा लगिएको निमित्त जेलर रामप्रसाद पोखरेलले इकागजलाई जानकारी दिए ।
झुम्का सरुवा हुनेमा चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बु रहेका छन् । त्यसैगरी रमेश मण्डल, बबिहाङ राई, एलेक्स नेपाली, रामबहादुर लिम्बु, रोशन दाहाल, कपिलकुमार साह, विशाल तामाङ, राजु राई र डिल्ली देवानलाई जिल्ला कारागार झापा पठाएको जेलर पोखरेलले बताए ।
चौकीदार गुरुङ तिनै व्यक्ति हुन्, जसले कात्तिक १६ गते डिल्ली बजार कारागारबाट सरुवा गरेर ल्याइएका ‘डन’ अभिषेक गिरीलाई कारागार प्रवेश गर्न नदिने आन्दोलनको नेतृत्व गरेका थिए । गुरुङकै नेतृत्वमा भएको उक्त आन्दोलनपछि गिरीलाई मोरङ कारागारमा हाजिर नगराई जिल्ला कारागार सप्तरी पुर्याइएको थियो ।
एक पुर्वचौकीदारका अनुसार गिरीले सप्तरी कारागारबाटै कार्तिक कामतलाई प्रयोग गरेर गुरूङमाथि आक्रमण गरेको र योजनावद्ध तरिकाले उनको समुहकै सरुवा गरेका हुन् । उनकाअनुसार तत्कालीन चौकीदार नवीन राईलाई झुम्का कारागार सरूवा गरेर गिरी मोरङ कारागारमा आउने चाहन्थे । सोही योजनाअनुसार राईको झुम्का सरुवासमेत भइसकेको थियो । गिरी नआउञ्जेलमात्रै गुरुङलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।
गिरीको बिरोध गर्नेहरूलाई हटाएर उनलाई पुनः मोरङ ल्याउने वातावरण भने वर्तमान गृहमन्त्री बालकृष्ण खाणकै नेतृत्वमा बनेको ती पुर्वचौकीदारले दाबी गरे । गुण्डागर्दी र हत्याका घटनामा संलग्नता जोडिएका ‘डन’ गिरी कांग्रेस निकट मानिन्छन् । ०६५ मा साविक जिविसको एउटा टेण्डर भर्ने शिलशिलामा गिरी र अर्को समुहबीच भएको हानाहानमा विराटनगरका करण यादवको ज्यान गएको थियो ।
उक्त घटनाको मुख्य आरोपी गिरीले राईलाई घटनाको संलग्नता स्वीकार्न लगाएका थिए । एमाले निकटका डनहरुसँग नजिक रहेका राईले भने हत्या स्वीकारे वापत गिरीबाट २० लाख रुपैयाँ पाउने शर्त रहेको भए पनि गिरीले उक्त रकम नदिएपछि उनीहरूबीच मनमुटाव उत्पन्न भएको जनाइएको छ । गिरीले आफुलाई सरुवा गराएर पुनः मोरङ कारागारको चौकीदार बन्न लागेको थाहा पाएका राईले आफ्नै सिफारिसमा गुरुङलाई चौकीदारको जिम्मेवारी हस्तान्तरण गराएका थिए । यसअघि विराटनगर कारागारमै रहेका गिरीले कारागारभित्रैबाट विराटनगरका दर्जनौं व्यापारीसँग रकम असुली धन्दा चलाएको खुलेपछि उनलाई ०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।
गृहमन्त्री खाणकै निर्देशनमा कारागार व्यवस्था विभागले मंगलबार चौकीदार गुरुङलाई अचानक सरुवा गराएको स्रोतको दाबी छ । चौकीदारमा गुरुङ नहुँदामात्रै अवस्था साम्य हुने कारण देखाएर अपहरण तथा शरीर बन्धक मुद्दामा जेल जीवन बिताइरहेका गिरीकै योजनाअनुसार १४ जना कैदीको सरुवा भएको जनाइएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया