आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

धरान दिवसमा संजिव लामाको 'धरान बजार ' सार्वजनिक

धरान- गायक संजिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत 'लौ है माया नमार घुम्दै आउनु धरान बजार 'पुन रेकर्ड गरी नयाँ भिडियो समेत निर्माण गरि १२१ औं धरान दिवसको अवसर पारी सार्वजनिक  गरेका छन्।

धरानको विभिन्न पर्यटकीय स्थल ,ऐतिहासिक स्थलहरु तथा संस्कृतिलाई समेटी धरान चिनाउने अभिप्रायले निर्माण गरिएको भिडियो धरान दिवसको अन्तिम दिन पब्लिक हाईस्कुलको मैदानमा आयोजित धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्रममा  धरान उप-महानगरपालिकाका मेयर तिलक राईले एलईडी स्क्रिनको प्ले बटन थिचेर  म्युजिक भिडियो सार्वजनिक गरेका थिए। 

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको 'धरान बजार'गीतमा   संजिव लामाको गायन तथा रचना रहेको छ भने  संगीत पारस मुकरुंगको र संगीत संयोजन निरज श्रेष्ठको रहेको छ।  म्युजिक भिडियो सम्पादन बुद्ध थापा मगरको रहेको छ। 

हाल युकेमा बसोबास गर्दै आएका गायक संजिव लामाले आफ्नो ठाउँको बारेमा बनाईएको गीत धरान दिवसको  शुभ अवसरमा सार्वजनिक गर्न पाउँदा एकदमै खुसी लागेको बताएका छन् ।  लामो समय लगाएर बनाइएको भिडियोले धरान चिनाउने कुरामा आफू विश्वस्त रहेको गायक संजिवले बताए ।