फोटो फिचर

बिजुली बिलको घेराबन्दीमा महाकविको घर (फोटो फिचर)

सरोज बैजु |
कात्तिक २९, २०७७ बजे

महाकविको मैतिदेवीस्थित घर ।

दुई वर्षअघि म अर्कै कुनै सञ्चार गृहमा काम गर्थें । महाकविको घर खिच्ने असाइनमेन्ट पाएको थिएँ ।  नोभेम्बर २, २०१८ को दिन थियो । म रिपोर्टरसँगै मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर गएँ । बाटोमा गइरहँदा मलाई महाकविको घरबारे अर्कै चित्र थियो ।

भूकम्पले क्षतविक्षत महाकविको अध्ययन कोठा । 


विदेशतिर ठूला कविको घर संग्रहालयको रूपमा राखिएको समाचार पढेको थिएँ । तस्बिर पनि हेरेको थिएँ । तर, जब यही तर्कनाबीच महाकविको घर पुगें त्यहाँको दृश्य देखेर अचम्ममा परें । आफू अगाडि रहेको घर, देशको सबैभन्दा ठूलो साहित्यकारको जस्तो नभएर भूतबंगला जस्तो थियो । भूकम्पले घर तहसनहस पारेको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुननिर्माण भएको थिएन ।

फोटो खिच्दै जाँदा मैले ढोकामा केही बिल टाँसिएको देखें । नजिक गएर हेर्दा देखें सबै बिल विद्युत प्राधिकरणका रहेछन् । एउटा दुइटा हैन, त्यहाँ ढोकाको चारैतिर बिजुलीका बिल टाँसिएका थिए । महाकविको छोरीलाई बिलको बारेमा जिज्ञासा राख्दा उनले आफूले प्राधिकरणलाई बारम्बार बिल काटिदिन आग्रह गरेको तर प्राधिकरणले सुन्दै नसुनेको गुनासो गरिन । उनको चिन्ता थियो, ‘यत्ति धेरै बिल अब कसले तिरिदेला ?’

भूकम्पले चर्किएका भित्ता

यो साल फेरि म महाकविको घरको फोटो खिच्‍ने उद्देश्यले मैतिदेवी पुगें । तर, यो साल बाहिरबाटै फर्किएँ । किनकि ढोका सबै सिल थिए र यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले स्वामित्व लिएर पुनर्निमाण गरिरहेको जानकारी पाएँ । यो सुन्दा खुशी लाग्यो कि देशको सबैभन्दा ठूलो कविको स्मृति संरक्षणको बाटोमा रहेछ ।

धमिराले खाँदै गरेको महाकविको घरको भित्ता   

तर, यही काम पहिल्यै भएको भए उहाँका कत्ति किताबहरू धमिरोको सिकार हुनबाट बच्थे र उहाँका ती सिर्जना आउँदो पुस्ताका लागि अमूल्य निधिका रुपमा रहन्थे भन्ने कुरा खट्किरह्‍यो ।  आशा छ, अर्को साल महाकविको घर खिच्‍न जाँदा यसलाई महाकवि जन्मेको दिन झैं झिलिमिली देख्‍न पाइयोस् । शब्द तथा तस्बिर : सरोज बैजु

र, यो पनि
- महाकविबारे संसद्‍मा बीपी :‘हाम्रो इतिहासमा यत्रो ठूलो साहित्यिक जन्मेको थिएन’
- यादव खरेलको महाकवि-प्रेम : पहिलोचोटि हेरेको हेर्‍यै, दोस्रोचोटि दौडेको दौड्यै अनि तेस्रोचोटि वृत्तचित्र



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार