फोटो फिचर

थ्येनआनमन चोक (त्यानमेन स्वायर) मा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी रौनक (फोटो फिचर)

अजय अलौकिक |
असार २२, २०७८ बजे

बेइजिङ : चीन सरकार यतिबेला चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षगाँठ मनाइरहेको छ । यसै जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकी समारोह राजधानी बेइजिङस्थित थ्येनआनमन चोक (त्यानमेन स्वायर)मा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको थियो । समारोहमा उपस्थित ७० हजार चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य तथा सर्वसाधारणबीच चीनका राष्ट्रपति सी चिनफिङले महत्वपूर्ण सम्बोधनसमेत गरेका थिए ।


यसै समारोहका लागि थ्येनआनमन चोकलाई चारैतिरबाट रङ्गीचङ्गी फूलहरूले सजाइनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको प्रतीकसँगै स्थापनाको सालदेखि हालको वर्ष अङ्कित तोरण द्वारको पनि निर्माण गरिएको थियो ।

हाल, यहाँ सर्वसाधारण यस तोरण अगाडि उभिएर तस्वीर खिच्‍न लालायित देखिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको सय वर्षको ऐतिहासिक क्षण तथा पार्टीले देश तथा देशबासीको विकास तथा समृद्धिमा पुर्याएको योगदान स्वरूप जनताहरू थ्येनआनमन ओइरिरहेका छन् । जसकारण तोरण तथा सजावट जुलाई ३० सम्म थ्येनआनमनमा राखिने भएको छ । यसअघि जारी सूचनामा जुलाई १५ सम्म मात्र राखिने जनाइएको थियो ।

उक्त शतवार्षिक जनाउने तोरण अगाडि उभिएर, नृत्य गर्दै तथा विभिन्‍न भावभङ्गीमा तस्वीर तथा भिडियो खिच्‍नेको लर्को नै लागेको छ । जुलाई २ मा दुई लाख बढी आगन्तुक थ्येनआनमन चोक पुगेका थिए भने ४ तारिखमा यो सङ्ख्या दोब्बर भएको थियो । जुलाई ५ सम्म चार दिनमा ११ लाख ८० हजार बढी मानिसहरू थ्येनआनमन पुगेको बेइजिङ नगरपालिकाको बेवसाइटले जनाएको छ ।

अहिले सर्वसाधारण चिनियाँहरू पर्वोत्सव मनाइरहेको देख्‍न सकिन्छ । यो चोकमा राष्ट्रिय दिवसलगायतका विशेष कार्यक्रमको आयोजनाबाहेक चिनियाँ तथा देशीविदेशी पर्यटकको वर्षैभरि घुइँचो पनि लाग्‍ने गर्दछ । एकै पटक लाखौँ मानिस भेला हुनसकिने यो विश्‍वकै विशाल चोकमध्येको एक हो ।

बेइजिङको तोङछङ जिल्लामा अवस्थित यो चोकले ४,४०,००० वर्गमिटर क्षेत्रफल ओगटेको छ । यो उत्तरबाट दक्षिणसम्म ८८० मिटर लामो र पूर्वबाट पश्चिमसम्म ५०० मिटर चौडा छ । यस चोकको केन्द्रमा शहादत प्राप्त चिनियाँ नागरिकको सम्झनामा स्थापित शहीद स्तम्भ स्मारक छ । साथै यही चोकमा माओ मेमोरियल हल अर्थात् अध्यक्ष माओ चतोङको शव राखिएको भवन पनि छ ।



Author
थप समाचार