फोटो फिचर

बाढीले डुबाएपछिको विराटनगर विमानस्थलमा यसरी हुँदैछ सरसफाइ (फोटो फिचर)

इकागज |
कात्तिक ५, २०७८ बजे

विराटनगर - गत सोमबार र मंगलबार परेको अविरल वर्षाका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोली शनिबारदेखि संचालनमा आउने भएको छ । एयरपोर्ट डुबानका चार दिनदेखि विराटनगरबाट काठमाडौं उडान बन्द छ ।

विमानस्थलको रन–वे, ट्याक्सी वेसहित प्रशासनिक भवन, एक्स रे मेसिनलगायतका उपकरणहरू बाढी पसेर डुबेका थिए । शुक्रबार विमानस्थलका अधिकांश स्थानमा पानी सुकेका कारण विमानस्थल सुरक्षामा खटिएको भैरव गण थलाहाको विमानस्थल सुरक्षा पोष्टका सैनिक, प्रहरी, विमानस्थलका कर्मचारी, विमाान कम्पनीका कर्मचारीसहितको सहभागितामा सरसफाइ गरिएको छ ।


दमकलको सहयोगले विमानस्थलको रन–वे र ट्याक्सी वे सफाइ सम्पन्न गरिएकोले शनिबारदेखि नियमित उडान र अवतरण सुरु हुने विराटनगर विमानस्थलका प्रमुख उत्सव राज खरेलले जानकारी दिए । उनले रन वेमा जडान गरिएका लाइट र एक्स रे मेसिन समेत बाढी पसेर डुबेका कारण त्यसको चेकजाँच बाँकी रहेको बताए । 

शनिबारदेखि तत्काललाई बिहान उज्यालो भएपछि बेलुका उज्यालो नहुन्जेलसम्म गरिने उडान अवतरण सुरु हुने खरेलले बताए । रात्री उडानका लागि आवश्यक लाइटहरूको चेकजाँच सम्पन्न गरी ठिकठाक भएको खण्डमा रात्रीकालिन उडान पनि सुरु गरिने उनले बताए । 

रनवेसम्मै बाढी पसेका कारण विराटनगर विमानस्थलमा रोकिएको श्री एयरलाइन्स र बुद्ध एयरको एक÷एकवटा जहाज भने बिना यात्रु बिहीबार बेलुका काठमाडौं फर्काइएको थियो । वर्षाका कारण विमानस्थलको टर्मिनल भवनभित्र डेढ फिटसम्म पानी जमेको थियो । विमानस्थल पश्चिम–उत्तर रहेको वस्ता पैनीको पानी अधिक वर्षाको समयमा विमानस्थलभित्र पस्ने गरेको छ ।

चार वर्षअघि पनि भारी वर्षाका कारण बुढी खोला फुटेर वस्ता पैनीमा पस्दा विमानस्थलमा दुई फिटसम्म लेदो भरिएको थियो । त्यतिबेला झण्डै तीन साता विमानस्थल अवरुद्ध बनेको थियो ।



Author
थप समाचार