ऊर्जा

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित

इकागज |
बैशाख २९, २०८१ शनिबार १८:१५ बजे

फाइल फाेटाे

तनहुँ - तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको छ । 

प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । 


प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ । “तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ”, श्रेष्ठले भने । 

हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्र्तगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ । यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्य सम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ । 

श्रेष्ठका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ । 


Author

थप समाचार
x