ठूला आयोजना अगाडि बढाउँदैछौं : ऊर्जामन्त्री बस्नेत

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् । 

लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताए । 

उनले चार सय १७ मेगावाट क्षमताको नलसिंह गाड, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रूपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागि समेत योग्य रहेको बताए । 

दर्जनौं जलविद्युत् आयोजना, शौर्य परियोजना पाइपलाइनमा रहेको जानकारी दिँदै मन्त्री बस्नेतले ती आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ फड्को मार्ने र दिगो भविष्यका लागि समेत योग्य रहने स्पष्ट पारे । 

ऊर्जा क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ग्रीन फण्डको अवधारणामा काम गरिरहेको र त्यसमार्फत यस क्षेत्रमा थप लगानी विस्तार गर्ने बताए । 

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित ऊर्जा मार्गचित्र तयार पारेको जानकारी दिँदै उनले त्यसका लागि रु ४६ खर्ब बराबरको लगानी जरुरी रहेको स्पष्ट पारे । 

सरकारले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ परियोजनालाई प्रक्रियामा अगाडि बढाएको मन्त्री बस्नेतले जानकारी दिए । 

सरकारले सन् २०४५ सम्म शून्य कार्बनको नीति अख्तियार गरेको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धताअनुसार नै काम गर्ने विश्वास दिलाए । विश्व जलवायु कोष र ग्रीन फण्डमार्फत जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन सकिने उनको कथन छ । 

विद्युत् व्यापारका लागि भारततर्फ विभिन्न पाँच वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको र सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्री बस्नेतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा अगाडि बढेको उल्लेख गर्दै मन्त्री बस्नेतले दुहवी–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणलाई प्रक्रियामा लैजान लागिएको बताए । 

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताए । 

उनले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि बताए । 

उनले निजी क्षेत्रले प्रसारण लाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युतको विश्वसनीयता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे । 

'दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरूमा क्रसबोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ । निजी क्षेत्रको सहभागिताले क्रसबोर्डर लाइन निर्माण, विद्युत् निर्यात र प्रविधि हस्तान्तरणलगायतलाई मूर्त रूप दिन सकिन्छ,' कार्कीले भने, 'तर, प्रसारण लाइन निर्माणमा पनि वन तथा वातावरण, जग्गा प्राप्ति र प्रक्रियागत झन्जटहरूसँग जुध्नुपर्ने समस्या छ ।'

अध्यक्ष कार्कीले आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलिसी लविइङलगायतका काम गरिरहेको उनले जानकारी गराए ।  निजी क्षेत्रले विद्युत् व्यापारका लागि इक्विटी, ऋण, प्रविधि, सञ्चालनलगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताए  ।

नेपालको स्वच्छ र हरित ऊर्जाको लागि रणनीतिक योजना बनाउँदै यस क्षेत्रको दिगो विकासका लागि पनि निजी क्षेत्रले योजना बनाइरहेको छ । नेपालमा निजी क्षेत्रको लागि विद्युत् उत्पादनमा मात्र नभएर प्रसारण तथा वितरण पूर्वाधार निर्माण, ऊर्जा दक्षता र विद्युत् व्यापारमा निकै ठूलो सम्भावना भएकोले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई कार्कीले आग्रह गरे  ।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले हाम्रो नीतिमा स्थायित्व र स्पष्टता हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा गर्नुपर्ने बताए । यस्तै, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्यूनीकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्थालगायतका कुरामा ध्यान दिनुपर्ने पनि अध्यक्ष कार्कीको कथन छ । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायह...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्‍न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशे...

अर्थमन्त्रीसँग जनप्रतिनिधिले भनेः चालु आर्थिक वर्षसम्मको विद्युत बक्यौत राफसाफ होस्

इकागज | बैशाख १४, २०८१

ललितपुर- काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग भेटेर चालु आर्थिक वर्षसम्मको विद्युत बक्य...

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

इकागज | बैशाख १०, २०८१

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दू...