सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

इकागज | बैशाख २१, २०८१

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिबार बस्ने गरी स्थगन गरिएको छ । आज अपराह्न ५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार भोलि शनिबार अपराह्न ५ः३० बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । 

प्रदेशसभाको आज आह्वान भएको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । यसअघि आजै बिहान बस्ने तय भएको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । सत्तासाझेदार नेकपा (एमाले) ले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि आजको बैठक स्थगित भएको नेकपा (एकीकृत समाजवादी)संसदीय दलका उपनेता प्रकाश रावलले बताए ।

'सत्ता साझेदार दल सबैबाट मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त छौं,' उनले भने, 'मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान भएको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिवाद गर्ने कुरा उसको धर्म हो ।' सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान भएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आजै निर्देशन (ह्वीप) जारी गरेका छन् । 

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्ता गठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेस सहितको गठबन्धनको पक्षमा छन् । नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका हुन् । यो पार्टीको आन्तरिक विवाद थप चर्किने देखिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा.तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुख बाहेक १०, नेकपा (एमाले)को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक र एक स्वतन्त्र सदस्य छन् ।

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

इकागज | बैशाख २०, २०८१

धनगढी- नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

इकागज | बैशाख १९, २०८१

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेश...

नयाँ हौँ भन्नेहरू र राजा ल्याउछौं भन्नेहरूको अवस्था पनि उपनिर्वाचनबाट थाहा भयो : ज्ञवाली

इकागज | बैशाख १९, २०८१

बैतडी- नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमाल...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । एकीकृ...