राजनीति

पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौं : अर्थमन्त्री पुन

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १७:२५ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसँग छलफल भइसकेको भन्दै पर्याप्त सुधार गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।


उनले संसदको बजेट अधिवेशनको सुरुमै नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी दिँदै त्यसमा पर्याप्त छलफल गरेर बजेटलाई अन्तिम रूप दिने धारणा राखे । अर्थमन्त्री पुनले बजेटको सिलिङमा थप गर्नुपर्ने दबाब विभिन्न मन्त्रालयबाट आएको भन्दै यसका कारण स्रोत व्यवस्थापनमा समस्या हुन सक्ने बताए ।

अर्थले तोक्ने सिलिङका आधारमा सांसदहरूको माग पनि पूरा गर्ने प्रयास गरिने उनले बताए । त्यस्तै मन्त्री पुनले गत वर्षको आधारमा अहिले आर्थिक अवस्था राम्रो हुँदै गएकाले यस आर्थिक वर्षमा चार प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने मन्त्रालयको अनुमान रहेको जानकारी दिए ।

उनले आइटी क्षेत्रलाई प्रवर्द्धन, कृषि तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए । 


Author

थप समाचार
x