राजनीति

इलाम पुगेर डा. शेखरले भनेः खड्कालाई जिताउनुहोस्, विकासको जिम्मा म लिन्छु

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दैन सुशासन सिकाउने पार्टी र सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे ।

‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनुहोस् इलाम-२ मा विकासको जिम्मा म लिन्छु,’ उनले भने ।


नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए । कांग्रेस सधैं पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने  भ्रममा नपर्न अनुरोध गरे । उनले पहिचान चाहनेहरूले कांग्रेस उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ,' उनले भने,'अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।‘

उनले अन्य दलहरू आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिँडेको प्रस्ट पारे ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने बताए । ‘ चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितका पक्षमा काम गर्नेछु,’ उनले अगाडि थपे ।

चुलाचुलीमा  कांग्रेसकै पहलमा छिटो भन्दा भन्दा छिटो मालपोत कार्यालय र नापी कार्यालय चुलाचुली आउने उनले दाबी गरे । कोइरालाले चुलाचुली - ६ को "साक्फारा सडक" र सदरमुकाम जोड्ने "चुलाचुली-महमाई सडक" निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिबद्धता गरे ।


Author

थप समाचार
x