२०७७ को समीक्षा

२०७७ को समीक्षा-१

सिनेमा-संगीत, नाटकै भो !

सामीप्यराज तिमल्सेना |
चैत ३१, २०७७ ९:० बजे

निर्माताको आँखाबाट हेर्दा बितेको साललाई नेपाली सिनेमाको सबैभन्दा सफल साल मान्दा हुन्छ । किनकि गत साल उनीहरूले न सिनेमाबाट घाटा खाए, न पानीसरि पैसा खन्याएर पनि फ्लप फिल्म बनाएको आरोप खेप्‍नुपर्‍यो । पत्रकार, हल र वितरकको त्रिशंकुमा चेपिएर विरक्तिनबाट पनि उनीहरू बचे । 

२०२२ सालमा प्रदर्शनमा आएको ‘आमा’को प्रर्दशन अवधिबाट हेर्दा नेपाली फिल्मले ५५ वर्ष अवधि पार गरेको छ । तर, यत्तिको लामो अवधिमा निराशाजनक निरन्तरताबाहेक नेपाली सिनेमाले उल्लेख्य केही हासिल गर्न सकेको हैन । सिनेमालाई कला मान्‍ने हो भने संख्या र निरन्तरता दुवै गौण कुरा हुन् । न धेरै संख्यामा फिल्म बन्‍ने कुराले यसको भविष्य सुनिश्चित हुन्छ न निरन्तरतामा मात्र गर्व गरेर यो माध्यमको मर्म पूरा हुन्छ । यस हिसाबले हेर्दा गत साल संख्या र निरन्तरता दुवै अर्थमा क्रमभंग भएको वर्षका रुपमा दर्ज भयो । 


२०७६ सालको अन्त्य हुनै लाग्दा सुरु भएको कोरोना भाइरस महामारीले २०७७ साल छपक्क छोप्यो । २०७६ साल चैत ११ बाट सुरु भएको लकडाउनले बन्द सुटिङ तथा सिनेमा हल औपचारिक रुपमा झन्नै एक वर्षपछि माघ १ गतेबाट खुले तर सुटिङमा जाने बराबरको हिम्मत फिल्म रिलिज गर्ने सवालमा निर्माताले गर्न सकेनन् ।

अन्ततः यो साल गनेर चारवटा फिल्म रिलिज भए, जसबाट न निर्माता, न निर्देशक, न दर्शक कसैलाई भरोसा थिएन । किटेरै भन्दा ‘एउटा यस्तो प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुड फ्रेन्ड’ यो साल रिलिजका लागि हिम्मत जुटाउने फिल्म थिए । यी चारै फिल्मले पोस्टर छपाइ त के पोस्टर छाप्‍ने गम बराबरको पनि व्यापार गरेनन् । 

महामारीले लामो समय हामीलाई घरमा राख्यो । यो यस्तो अवसर थियो, जहाँ हामीसँग हाम्रो सिनेमा चेतलाई जाँचपरख गर्ने र टक्टक्याउने प्रशस्त अवसर थियो । तर, यो समयलाई फिल्ममेकरले कसरी सदुपयोग गरे ? यो उनीहरूले बनाउने सिनेमामा भोलि प्रतिविम्बित हुनेछ । तर, पूर्वसंकेत भने राम्रा छैनन् । अनमोल केसीलाई ७५ लाख रुपैयाँ दिएर सिनेमा निर्माण गर्न तम्सनु यसको ताजा उदाहरण हो ।

अनमोललाई ७५ लाख रुपैयाँ दिएको फिल्ममा कम्तीमा पनि चार करोड रुपैयाँ खर्च हुन्छ । तर, डायस्पोराको बजारबाट अझै एक दुई वर्ष सुको आउन नसक्ने अवस्थामा यति महँगो फिल्म बनाउन खोज्नुको मतलब निर्माताले यो शून्य समयबाट रत्तिभर पनि पाठ सिकेका छैनन् । महामारी अघि टाउको बेचेर फिल्म बनाउने जे सोच थियो अहिले पनि त्यो सोच निर्माताको मनबाट हटेको छैन ।

जबकि अबको आवश्यकता ठिक्कको बजेटमा चोटिलो फिल्म बनाउनु हो । बजारबाट उठाउन सक्ने खर्च गर्ने हो । निर्माता पहिला यो सत्य नबुझी फिल्म बनाउँछन् अनि जब पैसा खातामा फिर्ता आउँदैन, यसको दोष अरुको थाप्लोमा थोपर्छन् । निर्माताले सर्वज्ञानको दोष खेप्नुपर्छ, हल, वितरक, कलाकार, समीक्षक अनि दर्शक स्वयंले पनि । 

यो साल अनेकानेक विवादका कारण नेपाली सिनेमा चर्चामा रह्यो । दीपाश्री निरौला-राजेश हमाल, पूजा शर्मा-प्रकाश सुवेदी, साम्राज्ञी राज्यलक्ष्मी शाह-भुवन केसी आदिको विवादले कलाकारको बौद्धिकताको थप पोल खुल्यो । 

तर, यही बीचमा भविष्यको प्रवाह नगरीकनै थुप्रै फिल्म सुटिङमा गए । तर, वर्षको अन्त्यमा आउने दाबी गरी प्रचारप्रसार थालेका फिल्म अन्तिम समयमा आएर रिलिज हुन हच्किए । यसले आउँदो साल रिलिजमा चाप थप्‍ने देखिएको छ ।

महामारीका कारण रोकिएका फिल्म त छँदैछन् यो बीचमा थप फिल्मले सुटिङ सकाएपछि आउँदा केही वर्षको रिलिज क्यालेन्डरमा राम्रै चाप पर्ने निश्चित छ । यसमा पनि खासगरी, चाडपर्वमा फिल्म एकआपसमा जुध्‍न बाध्य हुने संकेत देखिएको छ । 

 निर्माताको आँखाबाट हेर्दा बितेको साललाई नेपाली सिनेमाको सबैभन्दा सफल साल मान्दा हुन्छ ।

यता नेपाली सिनेमाको भन्दा ठीक उल्टो अवस्था रह्यो नेपाली संगीतको । बाँकी सबै क्षेत्र उठ्नै नसक्ने गरी थला परेको समयमा नेपाली संगीत भने यही समयमा बौरियो । तर, यो बौराइ गुणात्मकताको कसीमा भने कमजोर नै रह्यो । गीतको ओइरो लाग्यो, दिनहुँ ८-१० म्युजिक भिडियो रिलिज भए तर तिनले पल शाहको बैंक खाता भर्नबाहेक अरु कुनै ठोस योगदान गरेनन् ।

यसरी रिलिज हुने अधिकांश गीतमा पल शाहले नाचे र उनको यो नृत्य लोकगीतदेखि स्याडसङसम्ममा पनि एकै रह्यो । ५० को दशकमा म्युजिक भिडियोको प्रचलन आएपछि यसले पप गीतलाई एकादेशको बनाएको थियो अहिले महामारीमा बनेका म्युजिक भिडियोले संगीतलाई नै त्यो अवस्थामा पुर्‍याउलान् कि भन्ने आशंका बढाएको छ । यद्यपि यही वर्ष भूपू पाण्डे र हर्क साउद टिमले संगीतमा आशा जगाए । 

ट्रेन्डिङ र भ्युजको नक्कली खेल यस्तो छ कि यो खेलमा सहभागी हुन नसक्ने सर्जक हतोत्साही भएर किनारा लाग्‍नुपर्ने अवस्था छ । यो साल पैसा नहुने सर्जक गला र कला भए पनि निर्धन भएको हीनताबोधमा बाँच्न थप विवश भए । 

महामारीको समयमा संगीतको भाउ आकासियो । गीत तयार गर्न १ लाख खर्च गर्न आनाकानी गर्ने तर म्युजिक भिडियोमा २० लाख पनि खर्चिएको देखियो । अनि यही समयमा संगीतमा एनआरएनको लगानी राम्रै अनुपातमा भित्रियो । युट्युब च्यानल खोलेर नै थुप्रै सहृदयी एनआरएन संगीतमा लगानी गर्न तम्सिए तर बजारको पछि लाग्दा उनीहरूले संख्या बढाउनेबाहेक थप छाप छाड्न सकेनन् । महामारीले कन्सर्ट र मेलापात नहुँदा स्टेजमा चलेका कलाकारले भने राम्रै घाटा बेहोरे । यसमा विदेशीतिरका कन्सर्ट पनि पर्न आउँछन् । 

नेपालमा नाटक ‘स्वान्त सुखाय’को श्रेणीबाट बिस्तारै व्यावसायिक हुने क्रममा थियो । राम्रो नाटक लागेको अवस्थामा दर्शकको राम्रै भिड जम्मा हुन लागेको थियो तर महामारीले यो साल उनीहरूको गतिमा ब्रेक लगायो । महामारीले धेरै मान्छे जम्मा नहोऊ भन्ने अनि मान्छे नभई नाटक गर्नुको अर्थ नहुने । तर, यसबीचमा थिएटर मलले भर्चुअल नाटक महोत्सव गरेर रंगकर्मको न्यास्रो मेट्ने प्रयास गर्यो भने मण्डलाले प्लेब्याक थिएटर गरेर महामारी सिर्जित आर्थिक तथा मानसिक समस्यालाई बुझाउने प्रयास गर्यो ।

यही बेला शैली थिएटरले बाल नाटक महोत्सव सम्पन्न गर्यो भने माघ १ पछि सरकारले लकडाउनले खोलेसँगै शिल्पीले दुईवटा नाटक मञ्चन गर्यो । यता मण्डलाले पनि सुनील पोखरेलको ‘अर्को अर्थ नलागेमा’ मञ्चन गर्यो । वर्ष सकिनै लाग्दा डबली थिएटरले पनि बुद्ध दर्शनमा आधारित रहेर तयार भएका नाटकको महोत्सव ‘बुद्ध थिएटर फेस्टिभल’ सम्‍पन्‍न गर्यो ।

तर, काठमाडौंका केही थिएटर मिलेर गर्न थालेको इन्टरनेसनल फेस्टिभलको दोस्रो संस्करण भने महामारीका कारण हुन सकेन । नयाँ वर्ष लागेसँगै थुप्रै नाटक मञ्चनको अन्तिम तयारीमा छन् । तर, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर आउने चेतावनी दिएसँगै रंगकर्मी के गर्ने-नगर्ने दोसाँधमा पुगेका छन् । 

पछिल्लो समयमा काठमाडौंबाहिर पनि थिएटर खुल्ने क्रम जारी छ । पोखरा, विराटनगर, झापा आदि ठाउँमा नयाँ थिएटर खुलेर सञ्चालनमा आउन थालेका छन् । नाटकघर नहुँदा पनि थुप्रै नाट्यसमूह नाट्यकर्ममा सक्रिय छन् । पछिल्लो समय नाटकमा युवापुस्ताको आकर्षण देखिएको छ तर यो रुचिले नाट्य साहित्य सिर्जनालाई भने उत्प्रेरित गर्न सकिइरहेको छैन । अहिले पनि नेपाली नाटक विदेशी नाटकको अनुवादमा अत्यधिक आश्रित छ ।  

सिनेमा, संगीत, थियटरमा यस वर्ष कुनै उल्लेख्य हातलागी भएन । बरु नेताहरू अभिनेता जसरी वर्षैभरि नाटक र नौटंकीको दोहोरीमा व्यस्त हुँदा कला क्षेत्र फिक्का फिक्का भयो ।



Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार