कागजपत्र

ठीक पचास वर्षअघिको लेख

राष्ट्रियताका आधार नठम्याई बुद्धिजीवीहरूको मगजको चल्‍मलाइको केही अर्थ छैन

फोहोराहरूलाई त मैले ऊष्ण प्रदेशको शृंगार मात्र भन्ठानेको थिएँ । तर गर्मीको एक दिन रोम सहरको फोन्ताना-दी-त्रेभीको बाछिट्टा मेरो मुहारभरि थोपरिँदा त्यो शीतल अनुभूतिले फोहोराप्रतिको मेरो धारणालाई बदलिदियो । त्यस्तै किसिमको आनन्दमय अनुभव भयो मलाई कमलप्रकाश मल्लज्यूको ‘नेपाली समाजमा बुद्धिजीवी’ (मल्ल सन् १९७०) लेख पढ्दा - शैली केही बढी बुट्टेदार भए तापनि ।

नेपालमा बुद्धिवादिताको थालनी र विस्तारको दिव्य सिंहावलोकनमा मल्लज्यूले देशको सामाजिक र राजनीतिक, सांस्कृतिक र शैक्षिक पक्षहरूको गहकिलो विवेचना पेस गर्नुभएको छ । यस सन्दर्भमा उहाँ विगत शताब्दीभित्र मुख्य तीन काल विभाजन गर्नुहुन्‍छ : राणाकालीन बौध्दिक विकासको कष्टमय जमर्को, प्रजातन्त्रपछिको दशकमा झल्किएको बौध्दिक प्रस्फुटीकरण, अनि हालको दशकमा देखापरेको बौध्दिक शिथिलता । नेपाली जीवन तथा समाजसम्बन्धी मल्लज्यूका तीखा टिप्पणीहरू घतलाग्दा हुन्‍छन् (कमलप्रकाश मल्लको 'काठमाडौँ योर काठमाडौँ' लेख (सन् १९६७) निकै ठूलो चर्चाको विषय बन्यो जसमा म पनि आफ्नो लेख 'काठमाडौँ स् फ्याक्ट्स एण्ड फीबल्स' (गुरुङ सन् १९६७) द्वारा सामेल थिएँ । र प्रस्तुत विषय पनि बढी छलफलको मेलो थाल्ने खालको देखिन्‍छ ।

मल्लज्यूको भनाइमा एक मूल दृष्टिदोष देखिन्‍छ- त्यो हो बुद्धिजीवीहरूको अस्तित्वको लागि पूर्वाग्रही रूपमा साक्षरता वा मुद्रण सभ्यताको आवश्यकता रहन्‍छ भन्‍ने उहाँका दलिल । यस कथनअनुसार बौध्दिक विकासको क्रममा सबभन्दा अघि साक्षरता र त्यसपछि बुद्धिजीवी तथा बुद्धिवादीको उपज हुन्‍छ र सो धारणाको पुष्ट्याइँ गर्न उहाँको लेखमा छापाखाना (सन् १८५१), स्कूल (सन् १८५३), साहित्य तथा शिक्षित वर्गको विकास निकै केलाइएको छ । 
मुख्य कुरो, बुद्धिजीवीहरूको भूमिका के हो त्यसबारे हामी स्पष्ट हुनुपरेको छ । छोटकरीमा व्याख्या गर्दा बुद्धिजीवीलाई त्यस्तो व्यक्ति ठाने हुन्‍छ जसले आफू वरिपरिका विश्वलाई बुझ्‍ने प्रयास गरेर आफ्‍ना विचारहरूलाई सत्यको नजिक ठानी व्याख्यान् गर्दछ ।

यस्तो विहंगम मान्यता शिक्षित व्यक्तिको मात्र पेवा होइन । तत्कालीन अनुभवभन्दा परको तथ्यहरूबारे मनन गर्ने जुन विश्वव्यापी आवश्यकता छ त्यसले सबै थरीका (साक्षर वा निरक्षर) समाजमा बुद्धिजीवीको अस्तित्वको बोध गराउँछ । एडवर्ड सिल्जको भनाइअनुसार, ‘प्रत्येक समाजमा जनसाधारणको सामान्यताभन्दा पृथक् रहेका केही लघुसंख्यक व्यक्ति हुन्‍छन् जो दैनिक जीवनका अवस्थाका ठोस प्रतीकभन्दा बढी सामान्य प्रतीकप्रति ढल्केका हुन्‍छन् तथा हुन्‍छन् आफ्‍ना समय एवं कालभन्दा बढी उछिट्टिएका’ ।

आधुनिक विचारक धेरैजसो विदेशी धारणाबाट प्रेरित हुन्‍छन् र फलस्वरूप आजको नेपाली वास्तविकता आँक्न असफल भएका छन् ।

हाम्रो नेपाली समाजजस्तो निरक्षरप्रधान अवस्थामा त झन् यस्तो फराकिलो परिभाषाको गहिरो अर्थ लाग्‍न जान्‍छ । भाषाको संकेतद्वारा मल्लज्यू नेपाली संस्कृतिमा व्याप्त विविधता औँल्याउनुहुन्‍छ तथापि नेपाली संस्कृतिको विभिन्‍नता त बोलीजन्य वा बासजन्य आयामहरूभन्दा व्यापक रूपमा फस्टाएको मान्‍नुपर्छ । अनेकानेक विविधता हुँदाहुँदै पनि बृहत् नेपाली संस्कृति मुख्य चार बेग्लै संस्कृतिहरूको सँगालोमा आधारित छ भन्‍नु अत्युक्ति नहोला । 
पहिलो, झाँक्री संस्कृति अनेक मातृभाषा बोल्ने आदिवासी जातिहरूको समाजमा व्याप्त रहेको तथ्य हो । मध्यएसिया आदिकालदेखि झाँक्री वा समन संस्कृतिको थलो मानिएको छ र यसको झझल्को अझै पनि मंगोलिया, तिब्बत र हिमाली प्रदेशहरूमा पाइन्‍छ । नेपालमा यसको प्रारूप विभिन्‍न जातिहरूमा जिउँदै छन् जस्तैः धामी (खस), ङोपा (राई), फेदाङ्‌मा (लिम्बू), नासो (सुनुवार), फोम्पो (जिरेल), बोन्पो (तामाङ), क्लिब्रे (गुरुङ), पाँडे (चेपाङ र थकाली), गुरुवा (थारू), र लोबेन (काठ-भोटे) आदि आदि ।

दोस्रो, तिब्बतबाट व्यूत्पति भएको लामा संस्कृतिले तिब्बत साँधका हाम्रा भोटे समाजको सभ्यतालाई इंगित गर्छ जहाँका बुध्दमार्गी थितिको आफ्नै भौगोलिक विशेषता छ । तेस्रो, भारतबाट आएका र स्वदेशी हिन्दूहरूद्वारा मान्य ब्राह्मण संस्कृति जुन ‘भारतखण्डे’को देन हो । चौथो, सांस्कृतिक रूप आधुनिक शिक्षितहरूबाट प्रतिपादन हुने पक्ष हो र तिनको मूल मान्यता समकालीन समाजको प्रगतिवादी धारणा हुन् । यी विभिन्‍न सांस्कृतिक पक्षहरूमध्ये प्रत्येकले आफ्नै प्रकार वा आवश्यकताका बुद्धिजीवी पोसेका हुन्‍छन् चाहे ती झाँक्री होऊन् वा लामा पुरेतहरू होऊन् । उपयोगिता र कर्मको दृष्टिले निरक्षर झाँक्री तथा पण्डित विद्वान्‌का आआफ्‍ना सांस्कृतिक वातावरणमा त्यही महत्त्व हुन्‍छ ।

हो, साक्षरताले बृहत्तर विश्वतिर लम्कन मद्दत गर्छ तर साक्षरता र शिक्षा शब्द आधुनिकीकरणको पर्यायवाची होइन । कुनै पनि समाजको मान्यता तथा प्रवृत्तिको चिनारी साक्षरताले होइन बरु शिक्षाको आकारप्रकारबाट छर्लंग हुन्‍छ । भनौँ भने, विवेकभन्दा परम्परागत धारणाहरूलाई टेवा दिने रुढिवादी शिक्षाबाट प्रगतिपथमा प्रतिकूल वातावरणको सिर्जनाको बढी सम्भावना रहन्‍छ । नेपालको भाषाजन्य विविधताको पृष्ठभूमिमा राष्ट्रिय महत्त्वको मुकुण्डो लगाउने बौध्दिक विचारहरूको सामाजिक महत्ता तथा प्रभावबारे नै व्यावहारिक प्रश्न उठाउन सकिन्‍छ ।

बुद्धिजीवीहरूसामु दुई समस्या छन् : ती हुन् रुढिवादी मान्यताहरूको खोइरो खन्‍नु र साथै एक विकासोन्मुख राष्ट्रको नयाँ मागहरूको पूर्ति गर्नु ।

यदि बहुसंख्यक जनसाधारण अनपढ भएकामा साक्षरता र लिपिका साधनहरूको अति सीमित उपयोगिता प्रस्ट हुन्‍छ भने बोलिने नेपाली भाषा पनि संस्कृत भाषाको बढी प्रभावबाट जनभाषाको न्यानोबाट पर हुत्तिइएको भान हुन्‍छ । दुई दशक अगाडिको र आजको गोरखापत्रको भाषाको तुलनाबाट नेपाली भाषालाई संस्कृत प्रभावले अति ओगटेको प्रस्ट हुन्‍छ । राजकीय प्रज्ञा(प्रतिष्ठानको तत्त्वावधानमा प्रकाशित बालचन्द्र शर्माको नेपाली शब्दकोश (काठमाडौँ, सन् १९६२) पनि खास नेपाली शब्दावलीको दृष्टिकोणमा राल्फ टर्नरको नेपाली शब्दकोश (लण्डन, सन् १९३१) भन्दा धेरै पछि परेको छ ।

नेपाली समाजभित्रका सांस्कृतिक पक्षहरूको विविधताका साथै ती सांस्कृतिक रूपहरूको विकास प्रवृत्तिबारे पनि केही चर्चा गर्नु आवश्यक देखिन्‍छ । पुरातन झाँक्री संस्कृतिलाई बौध्द तथा हिन्दू धार्मिक संस्कृतिहरूले क्रमश: खियाइदिएको छ यद्यपि यी उच्चतर धर्महरूले केही मात्रामा आदिवासीय संस्कारहरू पनि सँगालेको पाइन्‍छ । भोटाङ क्षेत्रका लामा संस्कृति सो संस्कृतिको उद्गमस्थल तिब्बतमा ईश्वरतन्त्रको अन्त्यसँगसँगै ओइलिएर जाँदै छ । 
ब्राह्मण संस्कृति भने नेपालमा केही शताब्दीदेखि फैलिँदै गएको प्रस्ट छ र सो विस्तारको प्रमुख कारणमध्ये हिन्दूहरूको बढी सक्रियता र राजकीय प्रोत्साहन हुन् । नेपालमा आधुनिक प्रगतिशील संस्कृतिको प्रादुर्भावयता दुई दशकभित्र मात्र फस्टाउन सकेको पाइन्‍छ र सो संस्कृति पक्षका बुद्धिजीवीहरूसामु दुई समस्या छन् : ती हुन् रुढिवादी मान्यताहरूको खोइरो खन्‍नु र साथै एक विकासोन्मुख राष्ट्रको नयाँ मागहरूको पूर्ति गर्नु ।

माग र पूर्तिका वस्तुहरूको पार्थक्य तथा लेनदेनको प्रक्रिया समय, समाज र संस्कृतिअनुसार फरक हुनसक्छ तर व्यापारी र ग्राहकबीचको ईष्टको सम्बन्ध झण्डै यथावत् नै मान्‍न सकिन्‍छ । किनभने, आदिवासी समाज निर्देशन गर्ने झाँक्री होस् वा काल्पनिक गोत्र पुष्ट्टयाउने भट्ट, धार्मिक संस्कार चलाउने पुरेत होस् वा विकास पहिल्याउने विद्वान्, सबैलाई जजमानको दरकार पर्छ ।

त्यसैले, नेपाली बुद्धिजीवी वर्गको आर्थिक दारिद्र्यमाथि मल्लज्यूले ध्यान आकर्षित गर्नुभएको त उचित देखिन्‍छ तर जागिरे आत्मविलयनमा बाँच्नेहरूप्रति उहाँको ग्लानि भने युक्तिसंगत देखिन्‍न । के साँचो हो भने संस्थागत थिचोमिचोको विरोध गर्नु एक प्रमुख बुध्दिवादी कर्तव्य हो तर शून्यतामा सक्रिय रहने क्षमताको पनि त सीमा हुन्‍छ ।

आजको नेपालको अवस्थामा जहाँ बुद्धिजीवीहरूलाई जनसाधारणबाट विरलै आर्थिक टेवा र प्रोत्साहन मिल्छ, त्यहाँ आर्थिक सुरक्षाको स्रोत कर्मचारीतन्त्रको आश्रयतिर बुद्धिजीवीहरू झुम्मिनु कुनै अचम्मको कुरो होइन । फेरि, बुद्धिवादी क्षमता र कार्यको सबभन्दा ठूलो उपभोक्ता सरकार हुनुका साथै आधुनिक शिक्षित समुदायको मुख्य निर्माता पनि उही सरकार नै हो र उखान छ, ‘जसले मह काढ्छ उसले हात चाट्छ ।’

व्यवस्थापित संगठनभित्र बढ्दो बुध्दिजीवीहरूलाई समावेश गरेर व्यवस्था र बुद्धिजीवीबीचको सैध्दान्तिक तनावलाई पनि त सम्याएको हुनुपर्छ यस पध्दतिले । बाह्यजनित परिवर्तन र आन्तरिक परिवर्तनमध्ये कुनचाहिँ बढी प्रभावकारी जुक्ति हो भन्‍ने प्रश्नचाहिँ साह्रै तार्किक भएबाट त्यस सम्बन्धमा म यहाँ अल्मलिन चाहन्‍नँ ।

मेरो मुख्य भनाइ के भने, प्रायश: धेरै बुद्धिजीवीहरू, जुन बृहत् समाजका निमित्त स्वयं उद्यत हुन्‍छन्, त्यसप्रति उनको संगति पटक्क मिलेको पाइँदैन । यदि परम्परागत विद्वान्हरू स्वयंलाई सनातनको बाना पहिराएर थोत्रा मान्यताहरूमा नै रुमल्लिरहन्‍छन् भने आधुनिक विचारक धेरैजसो विदेशी धारणाहरूबाट प्रेरित हुन्‍छन् र फलस्वरूप आजको नेपाली वास्तविकता आँक्न असफल भएका छन् । अझ, भएका सीमित बुद्धिजीवीहरूको सहरी गुम्स्याइले गर्दा दुई नेपालको सृष्टि हुन गएको भान हुन्‍छ ।

नेपालबारे केही पढ्दा वा सुन्दा हामीलाई लेखक वा वक्ताले ‘नेपाल’ शब्द, नेपाल राष्ट्र वा काठमाडौँ उपत्यका केको सन्दर्भमा प्रयोग गरेको होला भन्‍ने अन्दाज गर्न मगज खोतल्ने काम गर्नुपर्छ । नमुनाका लागि तुलना गर्नुहोस् डेभिड एल स्‍नेलग्रोभ (सन् १९६१) र मनबज्र बज्राचार्य (सन् १९७०) । हाम्रा बुद्धिजीवी लेखकहरू बढी मात्रामा चार भन्ज्याङभित्रका संसारमा नै अल्झिरहेका हुनाले देशका अन्य प्रदेशका विस्तृत अध्ययन गर्न विदेशीहरू नै बढी सफल हुन सकेका छन् । उदाहरणका लागि ज्युसेफ तुची (सन् १९६२) र डेभिड एल स्नेलग्रोभ (सन् १९६७) ।

विभिन्‍न जाति, विभिन्‍न भाषा, विभिन्‍न धर्म, विभिन्‍न समाजहरूको जम्काभेट र समन्वयको विशिष्ट सृष्टि हो, नेपाली संस्कृति ।

नेपाली बुद्धिजीवीहरू गहन विषयहरूमाथि अध्ययन र प्रकाश पार्नुसट्टा भ्रामक ओठ चपाउने प्रवृत्तिको प्रत्यक्ष उदाहरण हो राष्ट्रिय संस्कृतिबारे तिनको फितलो ज्ञान । हालको प्रचलित परिभाषामा नेपाली संस्कृतिमाथि अत्यधिक संस्कृत र भारतीय छाप थोपर्ने प्रणाली वास्तविकताभन्दा धेरै टाढा उछिट्टिइसकेको छ । कोरा संस्कृतिवेत्ताहरू नेपालका स्थानीय संस्थाहरूको प्रारूप जताउनलाई पनि चाणक्य, अल्टेकर वा मजुमदारहरूका -चाणक्य (अर्थशास्त्र), ए.एस.,अल्टेकर (प्राचीन भारतमा राज्य र सरकार) र आर.सी. मजुमदार (प्राचीन भारतमा स्थानीय सरकार) ।  परदेशी लेखनहरूमाथि मात्र भर पर्दैनन्, अझ आदिम कौशिक, व्यास, वात्स्यायन ऋषिहरूलाई पनि आधुनिक नेपाली राष्ट्रियतामा बाँध्न खोजेर ऐतिहासिक तथ्यलाई चुनौती दिन्‍छन् । हाम्रो संस्कृति पत्रिकामा प्रकाशित धेरैजसो लेखहरू यसै पाराका छन् जसमा संस्कृति (सभ्यता) र संस्कृत (भाषा) दुई शब्दलाई एकअर्काको पर्यायवाचक रूपमा प्रयोग भएर नेपाली संस्कृतिको परिभाषा नै बंग्याएको पाइन्छ । सो विषयको वास्तविकता झल्काउने एकमात्र प्रयास भएको छ नगेन्द्र शर्माको 'अवलोकन' लेख (शर्मा २०२४) बाट ।

नेपाली समाज विविध जातिहरूको हातेमालो हो भन्‍ने तथ्य जातिशास्त्रबाट प्रमाणित भइसक्दा पनि अझसम्म धेरै बुद्धिजीवीहरू किराँती सम्प्रदाय आर्य समुदायको एक अंग भन्‍ने भ्रमबाट उम्किन सकेका छैनन् । नेपाली संस्कृतिको प्राग्ऐतिहासिक भौगोलिक, सामाजिक व्यवस्थापनबारे वास्तविक विवेचना यस छोटो प्रबन्धभित्र अटाउने विषय होइन । तर यति त प्रस्ट गर्न करै लाग्छ कि नेपाली संस्कृति विभिन्‍न जाति (मंगोल-किराँती, खस-आर्य), विभिन्‍न भाषा (प्राकृत, संस्कृत, तिब्बते-बर्मेली), विभिन्‍न धर्म (प्रकृति/पितृपूजा, बौध्द, हिन्दू, इस्लाम) तथा विभिन्‍न समाजहरूको जम्काभेट र समन्वयको विशिष्ट सृष्टि हो । डोरबहादुर विष्टको पिपल अफ नेपाल ९सन् १९६७० सो विविधताको परिचय गराउने प्रथम प्रयास हो र सो क्षेत्रमा अझ खँदिलो शोध र अनुसन्धानको आवश्यकता छ ।

तथ्यपूर्ण मनन र परिचर्चा बुद्धिजीवीहरूको खास प्रवृत्ति हुनुपर्छ किनभने गहकिला तर्कद्वारा मात्र उनीहरू जनसाधारणबीच पत्यारिलो बन्‍न सक्छन् । धेरै आधुनिक बुद्धिजीवीहरू स्वतन्त्र राजनीतिक प्रणालीबाट प्रभावित भएका हुन्‍छन् भने केही त माओत्सेतुङका ‘चार प्रबन्ध’सित पनि परिचित भएका होलान् । तर यहाँ मुख्य कुरा मलाई के लाग्छ भने विद्यमान व्यवस्थाप्रति उनको आस्था वा अनास्थाभन्दा महत्त्वपूर्ण पक्ष हो सामाजिक आवश्यकताप्रति उनीहरूको आफ्नै औचित्य र जागरुकता । के मान्‍नुपर्छ भने बुध्दिजीवी व्यवहारको एक गुण निरपेक्षता हो तर अनावश्यक मन-मन्थन र फोस्रो बौध्दिकताबाट नै बुद्धिवादीप्रति अवहेलना हुने बीउ सप्रिन्‍छ ।

नेपाली बुद्धिजीवीहरूसामु एउटा ठूलो हाँक देखापर्छ र त्यो हो देशका विभिन्‍न जाति र समुदायहरूलाई एक राष्ट्रको रूपमा ढाल्नु । राष्ट्रियता भन्‍ने आभास एउटा बौध्दिक उपज हो र सो लक्ष्यप्राप्तिका लागि मूल आधार हो देशभित्रका परिस्थिति तथा क्रियाकलापको यथार्थ जानकारी । यस हाँकलाई तत्परतासाथ नठम्याउञ्जेल नेपाली बुद्धिजीवीहरूको मगजको चल्मलाइको केही अर्थ रहनेछैन र मानिनेछ मिथ्या तिनको बौध्दिक अस्तित्व ।

(१९९५ पुस २१ मा जन्मिएका हर्क गुरुङको हिजो छाडी अस्ति ८२औँ जन्मजयन्ती । जिन्दगीभर नेपालका कुनाकन्दरा पैदलै नाप्ने, हिमालसँग उठबस गरिरहने उनको दीर्घशयन पनि हिमाल नै भयो । २०६३ असोज ७ मा हेलिकप्टर दुर्घटनाबाट उनको निधन भयो । स्कटल्यान्डबाट सन् १९६५ मा विद्यावारिधि गरेका थिए, उनले । सन् १९६६-१९६८ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यापन गरेका गुरुङ राष्ट्रिय योजना आयोगमा सन् १९६८-१९७२ सम्म सदस्य र सन् १९७२-१९७५ मा उपाध्यक्ष थिए । सन् १९७५-१९७७ र १९७७-१९७८ गरी दुई पटक राज्यमन्त्री पनि थिए ।

यो लेख  सर्वप्रथम वसुधाको वर्ष १३ अंक ८ (जुलाई-अगस्ट, सन् १९७०, पृ. १७-२०) मा अंग्रेजीमा छापिएको थियो । यसैको नेपाली अनुवाद रूपरेखाको पूर्णांक ११२ (भदौ २०२७, पृ. ७२-७८) मा छापियो । त्यही अनुवाद मार्टिन चौतारीको वार्षिक जर्नल समाज अध्ययन ११ मा छापियो । यो लेख समाज अध्ययनबाट साभार गरिएको हो । हर्क गरुङको नाम पछिल्तिर ‘लेखाली’ उपनाम थपिएको यो पनि दुर्लभ पहिचान नै होला । यसको शीर्षक ‘नेपाली बुध्दिवादी : एउटा उपाख्यान’ भएकामा यहाँ शीर्षक परिवर्तन गरिएको छ ।)

इन्डोनेसियामा तैनाथ बेलायती गोर्खा फौजको विरोध

सन्तोष खडेरी | असोज २१, २०७७

यो लेख बेलायती सेनामा रहेका गोर्खा फौज दोस्रो विश्वयुध्दको अन्त्यसँगै संसारभर चलेको स्वतन्त्रता आन्दोलनमध्ये इ…