जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

इकागज | साउन १९, २०७८

रोल्पा : जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् ।

“पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती शुरु गरेका हौँ, कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक औषधिले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको हँुदा जलवायुमैत्री खेतीको शुरुआत गरेका छौँ”, सुनिलस्मृति–६ गजुलका अगुवा कृषक इन्द्रबहादुर थापाले भने ।

उनका अनुसार जलवायु  परिवर्तनका  कारण खेतबारीमा देखिएको मिचाहा प्रजातिले कृषकलाई हैरान बनाएको थियो । त्यही  मिचाहा प्रजातिलाई मलमा उपयोग गर्न सकिने सीप  सिकेपछि अचेल उनीहरुलाई हैरानी सहनुपरेको छैन । “मिचाहा प्रजातिलाई बायो चार्टका रूपमा मल बनाएर खेतबारीमा प्रयोग गर्छौं”, थापाले भने। मिचाहा प्रजातिलाई काटेर खाल्डोमा जम्मा गरी खरानी नपर्ने गरी जलाएपछि  आएको अँगार खेतबारीमा मलका रूपमा प्रयोग गर्ने थापाले बताए ।  

त्यसरी बनेको अँगारमा सूक्ष्म जीवाणुहरु बस्न सक्ने ठाउँ रहने भएकाले बोटबिरुवालाई फाइदा हुने गरेको कृषकको भनाइ छ । अँगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्र्रता पनि रहिरहन्छ । गाईको मलमूत्र, भेली र बेसनको पीठो मिसाएर झोल मलसमेत प्रयोग हुँदै आएको छ ।

त्यस्तो मल किसानहरुले सात दिनमा तयार गर्छन् । त्यसरी बनेको मल हरेक बिरुवामा सिञ्चन गर्छन् । उनीहरुले कीटनाशक औषधिको सट्टा आफैँले तयार गरेको औषधि प्रयोग गर्छन् । तरकारी खेतीमा लाग्ने मित्र जीवलाई बचाएर शत्रु कीरो मार्न पानी पासो, बत्ती पासोलगायत विभिन्न पासो प्रयोग गर्ने गर्दछन् ।   

यस्तो प्रविधि प्रयोग गरेर आफूले उत्पादन गरेको जैविक तरकारी अन्य तरकारीभन्दा महँगो हुने हुँदा बजारमा केही समस्या हुने गरेको थापाको भनाइ छ । जैविक तरकारीका रूपमा प्रमाणीकरणसहित स्टिकर टाँसेर काठमाडौँ आपूर्ति  गर्ने धोको रहेको तर यो काम एक्लो प्रयासले प्रयासले मात्रै सम्भव नभएको थापाले बताउनुभयो । “स्थानीय सरकारले सहयोग गरे जैविक उत्पादनको प्रमाणीकरण गर्न सकिन्थ्यो”, उनले भने ।

जलवायु परिवर्तनमैत्री खेतीमा लागेका किसानहरुलाई पहाडी साना किसानका लागि अनुकूलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईंले जानकारी दिए । मानव स्वास्थ्य र वातावरण नबिग्रने गरी किसानले गर्दै आएको खेती प्रणाली जलवायु अनुकूलनका लागि महत्वपूर्ण सिकाइ रहेको गुरागाईं बताउँछन् । 

सो गाउँले अभ्यास गर्दै गरेको जलवायुमैत्री खेती तथा अनुकूलनका उपायहरु वडाका अन्य बस्तीमा पनि विस्तार गर्न आवश्यक रहेको सुनिलस्मृति–६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाइ छ । गजुलका किसानहरू वडाका अन्य कृषकका पनि प्रेरणाका स्रोत बन्नुभएको सुवेदीले बताए । “उहाँहरुको प्रविधि र सीप विस्तार गरेर वडालाई नै जलवायुमैत्री ग्राम बनाउने सोचमा छौँ”, वडाध्यक्ष सुवेदीले भने ।

यस्तो प्रविधि अपनाएर खेती गर्ने कृषकहरुले समूह बनाएर अनुभव आदानप्रदान गर्दै आएका छन् । तीस जना  कृषक संलग्न रहेको सो समूहले हरेक १५ दिनमा बैठक बसेर अनुभव आदानप्रदान गर्नुका साथै आफूले जानेको प्रविधि  तथा सीप पनि हस्तान्तरण गर्ने गर्छन् । रासस 

दुई खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान सुरु गरेका छौँ : अर्थमन्त्री शर्मा

इकागज | साउन १२, २०७८

काठमाडौँ : सरकारले दुई खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन सुरु गरेको अर्…

हिलोमा होइन, सुख्खा माटोमा धान : किसान र वातावरणलाई प्रविधिको वरदान

सुनीता साखकर्मी | साउन २, २०७८

काठमाडौँ - कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ हात्तीबोझा गाउँका आसारेराम वडायकले परम्परागत तरिकाबाट…