कृषि गुरु गोविन्द : जसले पढाए सय देशका विद्यार्थी

सुनीता साखकर्मी | असार ८, २०७८

काठमाडौँ : ‘खेती गर्नेलाई कसले पो चिन्छ र ?’ 

स्नातक सकेर खेती गर्ने योजना बोकी गाउँ पुग्दा उनलाई सबैले यसै भन्थे । साथ दिने कोही थिएनन् । बरु उल्टै यस्तो नगर भनेर सम्झाउन आउँथे । थुप्रैको गाली पनि खाए । कतिले त ‘यसको दिमाग विग्रियो’ सम्म भने । धेरैले कानेखुसी गर्थे, ‘त्यत्रो पढेको मान्छे खेती गरेर गाउँमै थन्किने भो !’ 

तर गोविन्द शर्मा आफ्नो योजनामा अडिग रहे । नौलो कृषि गरेर सबैलाई चकित तुल्याइदिए । न कामको कमी भयो, न दामको । उनको नौलो खेतीको चर्चा यति चुलियो कि, उनलाई खोज्दै मानिस उनको गाउँ पुग्न थाले । 

२०४९ सालमा काभ्रेपलाञ्चोकको पातले गाउँमा सुरु गरेको ‘हसेरा’ फार्ममा विश्वका सय देशका मानिस आइपुगेका छन् । तिनले गोविन्दबाट कृषिकर्मका तरिकाहरू सिकिसकेका छन् । जुन सम्झनालाई समेटेर गोविन्दले आत्मकथा लेखेका छन् । छिट्टै नै उनको ‘सिक्दै सिकाउँदै एक सय देश’ आत्मकथा लोकार्पण हुँदैछ । तर उनले यो सफलता भने एकै दिनमा पाएका होइनन् । ‘कुनै पनि काममा सफल हुनको लागि निरन्तर प्रयास गर्नुपर्छ,’ गोविन्द भन्छन् । 

काभ्रेपलाञ्चोक जिल्लाको पातले गाउँमा २०२६ सालको भदौमा जन्मिएका थिए । बुवाआमाको पेसा नै कृषि थियो । त्यसैले उनको बालापन पनि बोटविरुवासँगै खेलेर हुर्कियो । बाटोमा हिँड्दै गर्दा पनि उनको ध्यान बाटो तलमाथि उम्रिएका बोटविरुवामा जान्थ्यो । कुन प्रजातिको बोट थाहै नभए पनि राम्रा लागेका बोटबिरुवा घरमा ल्याएर सार्थे । बोटविरुवाप्रति उनको झुकाव यति धेरै बढिसकेको थियो कि, उनले एसएलसी पास गरेपछि पनि कृषि विषय नै पढ्ने निधो गरे । 

२०४२ सालमा एसएलसी पास गरेपछि उनी चितवनको रामपुरमा पुगे । त्यहाँ उनले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा पढ्न सुरु गरे । बिएसी सके उनी गाउँ नै फर्किए । गाउँकै माटोमा केही गर्ने आश थियो उनको मनमा । जागिर गर्नुभन्दा आफ्नै फार्म खोल्दा सन्तुष्टि मिल्ने सोच थियो ।

तर छोराको यस्तो योजना सुनेर उनका बुवाआमा भने रिसाए । नरिसाउन् पनि कसरी, घरको आर्थिक अवस्था राम्रो नभएपनि दुःख सुख गरेर चितवनको सहरमा ६ वर्ष राखेर पढाएका थिए गोविन्दलाई । पढाइ सकेर राम्रो ठाउँमा नोकरी गर्छ, घरको दुःख हटाउँछ भनेर सोचेका  बाबुआमालाई जागिर नगरेर गाउँ नै फर्किने भनेपछि दुःखी तुल्यायो । 

अहिले खेती गर्ने लहर नै चलेको छ । तर गोविन्द यसलाइ देखासिकी मात्र मान्छन् । उनका अनुसार कृषि गर्नुअघि आफ्नो खेतबारीको माटो, स्रोतको परिचालन लगायत सबै कुरा बुझ्नुपर्छ ।

जीवनभर दुःखसुख गरेर खेती किसानी गरेका बुवाआमाले यो कामबाट सुखभन्दा पनि दुःख धेरै पाएका थिए । आफ्नो जस्तै दुःख छोराले नपाओस् भनेर पढाएको छोरा फेरि खेती किसानीमै फर्किने सुनेपछि झनै दुःखी भए । गाउँका थुप्रै मानिसले पनि उनलाई सम्झाए । कतिले त ‘दिमाग विग्रियो’ भनेर गालीसमेत गरे । 

तर गोविन्दलाई त यही बाटो हिँड्नु थियो । किनकि यो बाटोमा रिस्कसँगै सन्तुष्टि देखेका थिए, उनले । त्यसैले बा आमालाई मनाउन तिर लागे उनी । ‘मेरो निर्णयले बुवाआमालाई ठेस पुर्‍याएको थियो,’ उनी भन्छन्, ‘तर म भने जागिरको बाटो नहिँड्ने पक्का गरेर घर पुगेको थिएँ । त्यसैले गाउँमै फार्म सञ्चालन गर्न बुवाआमालाई मनाएँ ।’ 

बाआमाको मञ्जुरीपछि उनले १८ रोपनी जग्गा तयार पारे । खर्च जुटाए ।  फार्म चलाउन खोजे । उनले ‘हसेरा’ नाम राखेर फार्म सञ्चालनमा ल्याए । हसेराको अर्थ थियो, हरियो, सेतो र रातो । हरियोले सागसब्जी लगायत हरिया तरकारी फलफूललाई संकेत गर्छ भने सेतोले दुध, दही लगायत दुग्ध उत्पादनलाई संकेत गर्छ । त्यस्तो रातोले माछा मासुलाई संकेत गर्छ । 

नाम जस्तै खेती गर्ने पनि नौलो तरिका फुराए, उनले । आफूले पढेका सैद्धान्तिक ज्ञानलाई नौलो तरिकाले व्यवहारमा लागु गर्न थाले । परम्परागत कृषिलाई नयाँ ढर्राबाट सुरुवात गर्दै उनले खेतीपातीको डिजाइन गर्न थाले । त्यतिबेला उनको प्रयोग नेपाली कृषिको क्षेत्रका लागि नौलो थियो । 

उनको नयाँ कामले लोकप्रियता पनि पाउँदै गयो । उनलाई विभिन्न संघसंस्थाले तालिम दिन बोलाउन थाले । २०५१ सालदेखि नै उनले तालिम दिने काम पनि सुरु गरिसकेका थिए । तालिम दिँदै जाने क्रममा उनले थाहा पाए कि, उनले गरिरहेको कृषि त ‘पर्माकल्चर’ कृषि प्रणाली पो रहेछ । 

के फरक छ परम्परागत खेती र पर्माकल्चरमा ? 

परम्परागत खेतीमा दुःख धेरै हुन्थ्यो, दुःखअनुसार उत्पादन कम । तर पर्माकल्चरमा प्राकृतिक स्रोतलाई कसरी संरक्षण गर्ने भन्नेबारे हेरिने गोविन्द सुनाउँछन् । बालीमा विभिन्न बाली मिसाएर लगाउँदाका फाइदा खोज्न थाले उनले ।

गोलभेँडा र गाजर मिसाएर लगाउने, रोग किराको घरेलु तवरबाटै अन्त्य गर्ने, खेतबारीमा बत्ती बालेर पासो थापी हानीकारक किरा मार्ने, तितेपाती, निम, लगायतले रोग भगाउने जस्ता डिजाइन तयार पारे । बिऊ सुधार गर्ने, स्रोत संरक्षण गर्ने डिजाइन तयार पारे । 

‘पहिले खेतबारीको डिलमा रुखविरुवा राख्न हुन्न भन्ने थियो, त्यसले बारीको उब्जनी कम हुन्छ भनिन्थ्यो । तर रुख नहटाइ उत्पादन बढाउन सकिन्छ भनेर डिजाइन गरेँ,’ उनी भन्छन्, ‘पहिले हामी खेतमा जम्मा भएका पानी कटाएर बगाइदिन्थ्यौँ, तर मैले त्यसलाई संरक्षण गर्न थालेँ ।’ 

उनीसँग अहिले ५३ वटा नयाँ डिजाइनहरू छन्, जुन उनीकहाँ तालिम लिनेलाई सिकाउँछन् । उनले थोरै लगानीबाट सुरु गरेको फार्मले नै उनको लोकप्रियता बढाइदिएको छ । 

त्यतिबेला उनी तालिम दिन कहिले होटल पुग्नुपर्थ्यो, कहिले कुनै अफिसको कार्यालयमा । ति तालिमहरू केवल सैद्धान्तिक मात्रै भए, व्यवहारिक ज्ञान मिसिएन । सुरुसुरुमा तालिम दिन पाउँदा खुसी हुने उनी पछिपछि भने खिन्न हुन थाले । त्यसैले आफ्नै फार्ममा तालिम केन्द्र बनाए । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान मिसाएर उनले तालिम दिन थालेपछि त झनै उनको लोकप्रियता चुलियो । 

एकपटक अमेरिकाको ‘ह्वेर दियर बी ड्रागन्स’ संस्थाले १६ जनाको टोलीलाई आवासीय तालिम दिन अनुरोध गर्‍यो । १६ जनालाई ६ दिनसम्म आवासीय तालिम दिन उनीहरूलाई गाह्रो हुने भएको थियो । तर तालिम लिन आएकाहरूले नै स्लीपिङ व्याग ल्याए । सानो ठाउँमा पनि म्यानेज गरेर बसे । 

सबैभन्दा बढी दुःख चाहिँ आधुनिक खेती अंगालेकाहरूले पाउने गरेको उनले पाएका छन् । यी किसानमा स्रोतभन्दा बढी उत्पादन गर्ने चाहना हुन्छ । जसका कारण बालीमा बढी विषादी प्रयोग गर्छन् । जसले खानेकुरालाई विष नै बनाइदिन्छ ।

विदेशका मानिसलाई सिकाउँदा कस्तो हुने हो भन्ने चिन्ता थियो गोविन्दमा । तर उनको सिकाइ विधि देखेर खुसी भए । तालिमको छैठौँ दिन बिदा हुने दिनमा सोही टोलीका ‘टिम्बरली’ नाम गरेका मानिस भने जान मानेनन् । उनले गोविन्दलाई यहीँ केही समय बसेर सिक्न दिनको लागि अनुरोध गरे । गोविन्दलाई पनि उनीसँग लगाव बढिसकेको थियो । त्यसैले उनले टिम्बरलीलाई राखे । टिम्बरली तीन हप्ता गोविन्दसँग बसे । 

तीनहप्तामा थप उनले जानकारीहरू बटुले । त्यसपछि उनलाई लिन एकजना साथी आए । ति साथीलाई पनि गोविन्दको खेती गर्ने तरिका मन पर्‍यो । त्यसैले टिम्बरलीलाई एयरपोर्ट छोडेर उनी गोविन्दकहाँ नै फर्किए । ति टिम्बरलीका साथी त्यहाँ तीन महिना बसे ।

उनीहरूले गोविन्दको प्रचार गरेपछि देश तथा विदेशबाट मानिस गोविन्दकहाँ आइपुग्न थाले । त्यतिबेला मोबाइल, इन्टरनेट कुनै सुविधा थिएन, ल्यान्डलाइनको भरमा उनीकहाँ मानिसहरू पुग्थे ।

उनी आफैँ पनि तालिम दिनको लागि नेदरल्यान्ड, जर्मनीलगायत १३ देश पुगेका छन् । २०५१ देखि अहिलेसम्म १२ सयभन्दा बढी तालिम दिइसकेका छन् भने ति तालिमबाट २४ हजारभन्दा बढी मानिसहरू लाभान्वित भएका छन् । 

सुरुमा उनले १८ रोपनी जग्गामा कृषि मात्रै गर्थे । तर पछि उनले यही जग्गा विभाजन गरी तालिम केन्द्र, परीक्षण केन्द्र, गोठे मल बनाउने, गह्रा सुधार लगायतका संरचना बनाएका छन् । 

अहिले खेती गर्ने लहर नै चलेको छ । तर गोविन्द यसलाइ देखासिकी मात्र मान्छन् । उनका अनुसार कृषि गर्नुअघि आफ्नो खेतबारीको माटो, स्रोतको परिचालन लगायत सबै कुरा बुझ्नुपर्छ । तर त्यस्तो नगर्दा थुप्रै किसान रासायनिक विषादी छर्न हाइब्रिड बिऊ प्रयोग गर्ने उनले पाएका छन् । व्यापारीहरू पनि रासायनिक विषादी र हाइब्रिड बिऊमै फोकस गरेर किसानलाई बिक्रि गर्छन् । जुन किसानले नबुझी प्रयोग गर्दा फाइदाभन्दा बढी नोक्सान हुन्छ । 

‘नबुझी गरिएका यस्ता आधुनिक कृषिले किसानलाई सुख दिएको छैन, बरु उल्टै दुःख दिएको छ,’ उनी भन्छन्, ‘किसानले माटोको प्रकृति थाहा नपाई ट्र्याक्टर प्रयोग गर्दा खेतलाई असर गरेको छ । माटो साह्रो भएर बारीमा पाइने गड्यौलालगायत मित्र जीवहरू मर्न थालेका छन् । बिऊ जथाभावी लगाउँदा मकैमा घोगा नलाग्ने, धान नपसाउने, बढी उत्पादनको लागि बढी विषादी हाल्नुपर्ने समस्या छ । जसले गर्दा कृषिमा लगानी बढी हुन्छ, घाटा बढ्दै जान्छ । 

सस्तो तरिका, सुरक्षित खानेकुरा उत्पादन गर्ने तरिका 

किताब लेख्ने क्रममा गोविन्दले नेपालको कृषि क्षेत्रलाई नियाले । अहिले नेपालको कुल संख्यामा ६०/६१ प्रतिशत मात्रैले खेती गरेको उनले पाए । त्यसमा पनि १७/१८ प्रतिशतले स्रोतहरूको उचित व्यवस्थापन गरेर कृषि गरिरहेका छन् भने २० देखि २२ प्रतिशतले आधुनिक खेती अंगालेका छन् र अन्यले परम्परागत रूपमा कृषिकर्म गरिरहेका छन् । 

सबैभन्दा बढी दुःख चाहिँ आधुनिक खेती अंगालेकाहरूले पाउने गरेको उनले पाएका छन् । यी किसानमा स्रोतभन्दा बढी उत्पादन गर्ने चाहना हुन्छ । जसका कारण बालीमा बढी विषादी प्रयोग गर्छन् । जसले खानेकुरालाई विष नै बनाइदिन्छ । कतिपय किसानहरू त दुई/तीन वर्ष कृषि गर्छन्, त्यसपछि गर्दैनन् । 

यसपालि प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्नको लागि कृषि अनुदानमा बजेट बढाएको छ । तर यसले किसानलाई भन्दा पनि बजार पोस्ने उनको तर्क छ । उनी भन्छन्, ‘प्लास्टिक, ट्र्याक्टरमा अनुदान भनेको छ । यी  बजारिया सामान हुन् । कृषकलाई फाइदा पुर्‍याउने सोच भएको भए त गह्रा सुधार गर्न, पोखरी बनाउन, बीउ भण्डारण, उत्पादनलाई कोल्ड स्टोर गर्न अनुदान दिन सक्थ्यो नि । यसरी सामान किन्दा अनाहकमा नेपालको पुँजी विदेश गयो ।’

दीगो तरिकाले खेतीकिसानीमा लाग्ने हो भने, डिजाइन गर्न आवश्यक रहेको गोविन्द बताउँछन् । त्यसैले उनले सस्तो तरिकाबाट पनि खानेकुरा उत्पादन गर्न सकिन्छ भन्ने डिजाइन तयार पारेका छन् । र त्यही किसानहरूलाई सिकाउँछन् । 

‘किसानले खेती गर्नुअघि मेरोमा कुन स्रोत कति कति छ भनेर हेर्नुपर्छ । कति गाई पाल्यो भने कति मल पाइन्छदेखि त्यति मल प्रयोग गरेर कति तरकारी फल्छ, त्यो तरकारी बेचेर कति पैसा पाइन्छ, त्यति पैसाले परिवारको आवश्यकता कति पूरा हुन्छ भन्नेसम्मको हिसाब किसानले गर्नुपर्छ,’ उनी भन्छन्, ‘बालीनालीमा लाग्ने थुप्रै रोगहरूको उपाय घरमै पनि हुन्छ । त्यसलाई व्यवस्थापन गर्न जान्नुपर्छ । यो भयो भने किसान पनि खुसी रहन्छ । र देशमा स्वस्थ खानेकुराको कमी हुन्‍न ।’  

पोखरामा क्यान्सर बनाउने रसायन हालेर केरा पकाउने धन्दा !

अनिष भट्टराई | जेठ २७, २०७८

पोखरा : उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाको म्यासेन्जरमा मंगलबार एउटा म्यासेज …

निषेधाज्ञामा दुधको उत्पादन बढ्यो, बजार बन्द हुँदा किसानलाई समस्या

इकागज | जेठ ११, २०७८

हेटौंडाः व्यवसायिक पशुपालन गरेका किसानहरुलाई दुध बिक्रि गर्ने चिन्ताले आजभोलि सताउन थालेको छ । जिल्लामा …