रङ्गमन्च

मलाई चिनाउने नाटक 'म'

शिशिर उप्रेती | असोज ३, २०७८

'म वास्तविक जीवनको अभिनेता रहेछु, म मतलब तपाईं, तपाई मतलब म, एक कुशल अभिनेता'। नाटकमा 'म' पात्र जो तपाईं हामी सबैको प्रतिनिधि पात्र हो बडो भावुक भएर बरबराउँछ। उसले थप्छ, 'यो विश्व रङ्गमञ्चमा तपाईं र म अनेक चरित्र आफूभित्र बोकेर छेपारोले रङ् फेरे जसरी मानिस, समय र परिस्थितिअनुसार चरित्र बदलिरहेका हुन्छौ'। यी एकल संवादहरू सरल छन् तर सतहभन्दा अलि गहिराइमा गएर एक पटक सोच्ने हो भने आफ्नै अस्तित्व र पहिचानमाथि गम्भीर प्रश्न खडा गरी दिन्छ। यिनै सवाल जवाफमा हाम्रो मस्तिष्कसँग खेलबाड गर्दै अघि बढ्छ नाटक 'म'।

सुलक्षण भारतीद्वारा लिखित, निर्देशित र एकल अभिनीत नाटक 'म' एक प्रयोगात्मक नाटक हो। पुरानो घर थिएटर, सिनामङ्गलमा मञ्चन भई रहेको नाटकले हामी सबै भित्रको परिचित र अपरिचित ‘म’ लाई गज्जब सँग घचघच्याइदिन्छ।

कथा, परिस्थिति र घटनाक्रम रुपी फूलहरूको सुन्दर माला उन्दै एकल पात्र अगाडि बढ्छ। उसले आफूलाई सुनकेशरीलाई असीमित प्रेम गर्ने विक्रम शाहीको प्रतिविम्बमा प्रस्तुत गर्छ। डोरीमा झुन्डाइएको ह्याङ्गरबाट राजाले लगाउने लुगा तल खस्छ । उक्त लुगा लगाएर छोटो अभिनय गरेर 'म' पात्रले उत्तेजित भएर प्रश्न गर्छ, 'त्यो कुन विक्रम शाही थियो जसले सुनकेशरीलाई पुनर्स्थापन गर्नका लागि महायुद्ध लड्यो र उनी कुरूप हुने क्षण तिरस्कार गरेर त्यागी पनि दियो ? यस्ता मानवीय स्वभाव र अन्तर विरोधहरूलाई नाटकले छताछुल्ल पारेको छ।

म पात्र कहिले देवकोटाको पागल कविता वाचन गर्छ त कहिले चे ग्वोभारा जस्तो देखिने भेषमा भाषण गर्दा गर्दै गोली खाएर ढल्छ। कुनै बेला पतित वकिलको चरित्र निर्वाह गर्छ त कुनै अर्को क्षण तुच्छ नेताको। श्रीमतीको पीडा सहन नसकेर आफ्नै हातले श्रीमतीको हत्या गर्ने पात्र र एउटा समलिङ्गी भएकै कारण मरणासन्न हुने गरी पिटाई खाएको पात्रप्रतिको समानुभूति नाटकमा दर्शकलाई बाँधेर राख्ने निर्देशकीय कला हुन् । नाटकको अर्को रोमाञ्चित बनाउने पाटो सेट डिजाइन हो । गोलाकार घेरामा फसेको पात्र बाहिर निस्कने चाहना, कथा अनुसारका भेषभूषा, अपरिवर्तित झ्यालहरू बुझाउन झुन्डाइएका साना साना ऐनाका टुक्राहरू खुब अर्थपूर्ण लाग्छन्।

म आफैं को हो ? भन्ने जटिल प्रश्नको वरिपरि घुमिरहने नाटकका संवादहरू गम्भीर र दर्शनले भरिएका छन्। एउटा मानिसले आफूभित्रका थुप्रै कमजोरीहरू र सबल पक्षलाई आत्मसात् गरेर बाँच्नु पर्छ। नाटकको ‘म’ पात्र पतित र पवित्र दुवै छ, बलात्कारी र क्रान्तिकारी पनि। उ बुद्ध पनि हो र हिट्लर पनि। हामीभित्रका यति धेरै ‘म’ हरू कहिले सुषुप्त बाँचिदिन्छ त कहिले आवरणमा देखा पर्छन् । यही घनचक्करको अभिव्यक्ति हो नाटक 'म' ।

आफूले आफैंलाई खोज्ने यात्रा पनि हो नाटक 'म' जुन यात्रा नाटक सकिँदा पनि समाप्त हुँदैन या भनौँ यो अनवरत चलिरहने यात्रा हो। नाटकमा बारम्बार प्रयोग भई रहने दुई वाक्यांश 'अपरिवर्तित झ्यालहरू' ले जन्मदेखि मृत्यु सम्म हामीलाई नियालिरहेको समयको चित्रण गरेको छ भने 'म मतलब तपाईँ, तपाईँ मतलब म', ले 'हामी' सबै जो अस्तित्वको लागि सङ्घर्ष गरिरहेका छौ र कहिलेकाहीँ आफूलाई बिर्सिएर आडम्बरमा बाँचिरहने अवस्थाको चित्रण गरेको छ।

नाटकको सबल पक्ष एकल अभिनय हो । सुलक्षण भारती आफैले १ घण्टा १५ मिनेटको नाटकमा विभिन्न चरित्रको एकल अभिनय गरेका छन् । संवादहरू स्वतःस्फूर्त विनाकुनै गल्ती प्रवाह भएका छन् । यत्रो लामो संवाद निरन्तर बोली रहँदा नथाक्ने क्षमता नाटक हेर्दा विशिष्ट लाग्छ तर सामान्य दर्शकलाई भने नाटकमा प्रयोग भएका भाषा र दार्शनिक जस्तो लाग्ने अभिनेताले गरेको अभिनय सहज नहुन सक्छ। अस्तित्ववाद र जीवनको निरर्थकतालाई सूक्ष्म तरिकाले प्रस्तुत गरेको नाटकले साहित्य, दर्शन कला र जीवन बुझेका र बुझ्न चाहनेलाई गज्जबसँग प्रभावित गर्ने देखिन्छ।

कुन्दन चौधरीको प्रकाश परिचालन लोभ लाग्दो छ । सरिता भुजेलले भेषभूषामा निक्कै मेहेनत गरेको देखिन्छ। राजकमल फकिरको मेहेनतमा ध्वनिले नाटकमा अतिरिक्त मिठास र अर्थ थपेको छ। समग्रमा नाटक हेर्नै पर्ने श्रेणीको छ। केही न केही रूपमा आफ्नो परिचय खोज्न सहयोग गर्ने र घचघच्याइदिने भएकोले नाटक हेर्न जाँदा पछुतो हुँदैन।

(लेखक नेपाल फिल्म क्याम्पसका प्रमुख हुन। उनी साहित्य, सिनेमा र नाटक विधामा कलम चलाउँछन्)

 

दयाहाङले निर्देशन गरेकाे नाटक 'मितज्यू' पहिलाेपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

इकागज | बैशाख ३०, २०७८

काठमाडाैँ : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएकाे …