साहित्य

केपी ओलीसँग बिहे गरेर के पाउँछु, लेखाजोखा गरिनँ

राधिका शाक्य | फागुन १३, २०७७

म राधिका शाक्य । पाटन शहरमा जन्मेकी । अलिकति पढाइ- लेखाइ पनि भएकी । सानै भए पनि एउटा पेसामा भएकी व्यक्तिले तत्कालको समयमा १४ वर्ष जेल जीवन बिताएर भर्खर रिहा भएको, फरक जातको, धन- सम्पत्ति, पेसा व्यवसाय केही नभएको, स्वास्थ्यको कुरा गर्ने हो भने भित्रैदेखि जीर्ण भएको शरीर र बाहिरबाट हेर्दा फू गर्दा ढल्लाजस्तो देखिने कमजोर व्यक्ति, अनि पुनः गिरफ्तार गरेर थुन्‍न सक्ने, मार्न सक्ने व्यक्तिसँग विवाह गर्ने आँट गर्नु पनि तत्कालको लागि ठूलो जोखिम मोल्नु नै हो जस्तो लाग्छ । तर, मैले त्यो जोखिम मोलेँ । आफूले आफैँलाई उच्चतम मानवताको भावनाबाट ओतप्रोत छु भनेर दाबी गर्नु एक प्रकारको अहं बुझिन सक्छ । आज मलाई के लाग्छ भने अहंताको भावबाट भए पनि यदि मानवता विकास गर्न सकियो भने त्यसले ठूलो शास्त्रीय अर्थ त नराख्ला, तर जीवनमा त्यसले ठूलो अर्थ राख्छ । जीवन र शास्त्रहरू बीचको खाली ठाउँ जसले बुझेको छ, उसले यस अहंलाई पनि स्वीकार गर्छ । मेरो यस अहंलाई केपीजीले स्वीकार गर्नुभएको छ । यसलाई अर्काे शब्दमा प्रेम भन्न पनि सकिन्छ । 

मलाई उहाँको कमजोर स्वास्थ्य र अन्य लथालिङ्ग अवस्था सबै गौण लाग्यो र स्वीकार्य भए । मैले उहाँको राजनीतिक जोखिम हटाउन सक्ने त कुरै भएन । तर उहाँको जीर्ण र कमजोर स्वास्थ्यलाई सुधार गर्न म सक्थेँ । मातृवात्सल्यताबाट वञ्चितीकरणमा परेको एक मेधावी मानिसलाई मेरो निःस्वार्थ प्रेमको पोषणले दरिलो बनाउन सक्थ्यो । त्यस कुरामा म दृढ सङ्कल्पित भएँ, र २०४४ फागुनमा मैले ओलीजीसँग पार्टीगत र सामाजिक दुबै ढंगले विवाह गरेँ । उहाँसँगको दाम्पत्यबाट के पाउँछु, मैले लेखाजोखा गरिन र आजपर्यन्त गरेको छैन । शैशवास्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी संघर्षले र जीवनका आधार समयहरू त्रासद् यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने सङ्कल्प मैले गरेँ ।

 

माओवादीका विसंगत विचार, अमानवीय व्यवहार, देशका लागि हानिकारक प्रवृत्ति र उसको नरसंहारविरुद्ध बोल्ने एक्लो नेता केपीजी हुनुभयो ।

२०४४ साल फागुनमा हाम्रो बिहेपछि मेरो काँधमा ठूलो जिम्मेवारी आयो । उहाँसँग श्रीमतीको ममतामा बाँधिनु, उहाँको उपचार, बसाइ, खुवाइ र उहाँ तत्कालीन मालेको नेता समेत भएकोले कार्यकर्ताको संरक्षण र पालनपोषण समेतको जिम्मा मेरो भागमा आइलाग्यो । केपीजीलाई त्यतिबेला चिसो पानी एकदुई थोपा मात्र पनि जीउमा पर्नासाथ ज्वरो आउने, हातखुट्टा दुख्‍ने अनि ‘क्रोनिक’ खालको अल्सर र पायल्सले दुख दिने गर्दथ्यो । भात फिटिक्कै नखाने खाएमा एकदुई चम्चा खाने गर्नुहुन्थ्यो । तत्कालीन समयमा उपचारको लागि बारम्बार उहाँ महाराजगञ्जस्थित शिक्षण अस्पताल जानुहुन्थ्यो । त्यहाँ डाक्टर केपी सिंहले अल्सरको समस्या हेर्नुहुन्थ्यो । उहाँले अल्सर करिब करिब निको नै पारिदिनुभयो । कान, घाँटी आदिको समस्या डाक्टर रामछायाँमान अमात्यले हेर्नुहुन्थ्यो । अनि रक्तचाप र मुटु आदिको समस्या डाक्टर अरुण सायमीले हेर्नुहुन्थ्यो । उहाँहरू सबै शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्थ्यो । यसरी जेल बाहिर आइसकेपछि शिक्षण अस्पतालसँग केपीजीको सम्बन्ध घनिष्ट रहन गयो । 

२०५१ साल मंसीर १४ मा गठित अल्पमतको पहिलो कम्युनिस्ट सरकारमा उहाँ गृहमन्त्री बन्नुभयो । मनमोहन अधिकारी उक्त सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो । करिव ९ महिना मात्रै चलेको भए पनि उक्त सरकार जनताको बीचमा लोकप्रिय भयो । त्यो सरकारले ल्याएका ‘आफ्नो गाउँ आफैँ वनाउँ’ जस्ता जनपरिचालनमा आधारित कार्यक्रमले गाउँगाउँमा विकासको लहर नै चलेको थियो । त्यसैबेला पहिलोपल्ट ज्येष्ठ नागरिकहरूलाई मासिक एक सय रूपैयाँ भत्ता प्रदान गरी सामाजिक सुरक्षाको सुरुवात भएको थियो । नेपालको इतिहासमा एउटा पनि गोली नचलाईकन देशमा शान्ति सुरक्षा कायम गरिएको थियो ।  यो स्थिति बनाउनको लागि गृहमन्त्रीको हैसियतमा केपीजीले यति दुःख र मेहनत गर्नुभयो कि ९ महिनामा दुईतीन पटक मात्र रातको १२ बजे अगाडि खाना खानुभयो । हरेक रात प्रहरी अफिसरहरूसँग छलफल गर्नुहुन्थ्यो । त्यसैले आजसम्म पनि उहाँलाई धेरैले नेपालको सफल गृहमन्त्रीमा सम्झने गर्दछन् । 

२०५२ जेठ-असारतिर हुनुपर्छ, बाढी पहिरोको निरीक्षण गर्न उहाँ ओखलढुङ्गा जानुभयो । त्यहाँबाट घर फर्किदा भर्‍याङ चढ्न नसक्ने हुनुभयो । अस्पताल गएर परीक्षण गर्दा हेमोग्लोविन कम भएर धेरै तल पुगिसकेको रहेछ । त्यसबेला पनि ५ दिन उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उहाँलाई दुई पिन्ट रगत चढाउनु परेको थियो । अस्पतालमा भिजिटरहरू यति धेरै हुन्थे कि थेग्‍न मुस्किल पर्थ्यो । बिरामी अवस्थामा भेट्न आउनेको चापका कारण कसैलाई थाहा नदिई फर्पिङको एउटा रिसोर्टमा गएर एक हप्ता बस्नु पर्‍यो । एक हप्ता उहाँले त्यहीँ बसेर आराम गर्नुभयो । डा. अरुण सायमी र एक जना नर्स बेलाबेलामा रिसोर्ट आउनुहुन्थ्यो । बहालवाला गृहमन्त्रीको नाताले प्रहरी संगठनले धेरै सहयोग गरेको थियो । धेरै परिश्रम र दौडधूपकै कारण उहाँ त्यसबेला बिरामी पर्नुभएको थियो । 


सत्य कुरा बोल्ने र असत्यसँग प्रतिवाद गर्ने काम उहाँले एक्लो बृहस्पतिका रूपमा गर्नुभयो ।

त्यसपछि २०५२ साल साउन २९ गते, बाढिपहिरोकै निरीक्षण गरी फर्किने क्रममा नेपालगञ्ज नजिकको शमशेरगञ्‍ज भन्‍ने ठाउँमा सैनिक हेलिकोप्टर दुर्घटना भयो । उक्त दुर्घटनामा होलिकोप्टरमा सवार सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सबै जना घाइते हुनुभयो । उहाँहरूलाई सायद नेपालगञ्जको अस्पताल लगियो र ३० गते मात्र काठमाडौंँ ल्याएर शिक्षण अस्पताल भर्ना गरियो । दुई तीन दिनपछि थप उपचारको लागि बैंककस्थित समितिभेज अस्पताल भर्ना हुनुभयो । हाम्रो साथमा प्रहरी अस्पतालका डा. प्रेमलाल राजभण्डारी हुनुहुन्थ्यो । उहाँकै सहयोगमा बैंककको समितिभेज अस्पतालमा हामी तीन चार दिन बस्यौँ । डिस्चार्जपछि हामी नेपाली दूतावासमा अर्काे तीन चार दिन बसेर नेपाल फर्किएका थियौँ । त्यसबेला थाइल्याण्डका लागि नेपालका राजदूत सुन्दरनाथ भट्टराईजी हुनुहुन्थ्यो । हाम्रो सहयोगको लागि खटिनेमा डंगोलजी हुनुहुन्थ्यो । यस्तो ठूलो हेलिकोप्टर दुर्घटनाबाट सबैजना बाँच्न सक्नुलाई त्यसबेला चमत्कार नै मानिएको थियो । 

बैंककबाट फर्केलगत्तै तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले प्रधानमन्त्री मनमोहन अधिकारीले गर्नुभएको संसद् विघटनलाई बदर ग¥यो । भदौ १२ गतेको उक्त विवादास्पद फैसलापछि नेपाली राजनीतिमा सांसद् किनबेचका अपराधहरू मौलाउने मौका पायो । सर्वाेच्चको फैसलापछि हेलिकोप्टर दुर्घटनाबाट घाइते हुनुभएका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अस्पतालको शैयाबाटै संसद्लाई जवाफ दिनुपरेको थियो । निकै लोकप्रिय काम गरेर जनताबाट प्रशंसा पाएको सरकारका प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज भएपछि अविश्वास प्रस्ताव सामना गर्छु भन्दा पनि पाउनु भएन । राजनीतिमा मानवीयताको खिल्ली उडाइएको त्यस घटनालाई कहिल्यै बिर्सन सकिँदैन । मनमोहन अधिकारीले अस्पतालको शैयाबाटै नै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो र देश राजनीतिक अन्यौलको भुमरीमा फस्यो । कुनै दिन इतिहासले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउला र देश बर्बाद गर्ने दोषीहरू समाजमा प्रकट होलान् भन्‍ने अझै आशा लाग्दछ । 

जेल सार्दा र हेलिकोप्टर दुर्घटना हुँदा दुई पटक केपीजी ज्यान जानसक्ने अवस्थाबाट बाँच्नुभएको थियो । उहाँले पछि मलाई सुनाउनु भए अनुसार २०३४ सालमा अल्सर फुटेर दिशाबाट निरन्तर रगत जाँदा उहाँले झण्डै मृत्युको अवस्था भोग्नुभएको थियो । औषधि उपचार छैन, खाना छैन, तर कस्तो आन्तरिक शक्तिले उहाँलाई बचायो भन्‍ने कुरामा म अचम्मित हुन्छु । 

२०५१/०५२ देखि २०६२/०६३ सालसम्म देशमा माओवादी सशस्त्र आन्दोलन चल्यो ।  एकताका त हिंसाको त्रासले कोही बोल्न नसक्ने भएका कारण यस्तो स्थिति आयो कि सबै नेपाली माओवादी भइसके झैँ लाग्‍ने । यस परिस्थितिमा माओवादीका विसंगत विचार, अमानवीय व्यवहार, देशका लागि हानीकारक प्रवृत्ति र उसको नरसंहार विरुद्ध बोल्ने एक्लो नेता केपीजी हुनुभयो । शक्ति त्यस्तो चिज हो, जसले सत्यलाई केही समय कुल्चिन सक्छ । त्यसमाथि माओवादीले हिंसात्मक त्रासमा आर्जन गरेको शक्ति थियो । त्यस्तो बेला सत्य कुरा बोल्ने र असत्यसँग प्रतिवाद गर्ने काम उहाँले एक्लो बृहस्पतिका रूपमा गर्नुभयो । त्यसैले माओवादीको पहिलो निशानामा उहाँ पर्नु पनि स्वाभाविक नै थियो । पछि २०६२ सालतिर हुनुपर्छ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनको लागि कुराकानी गर्न उहाँ करिव एक दुई महिना दिल्ली नै बस्‍नुभयो । (फागुन ११ मा सार्वजनिक कृति ‘मेरा अनुभूति’बाट ।)