संगीत

किशोरीको वार्ता, श्रुति संवेग र सहेला रे

विज्ञान राज | जेठ १, २०७८

भारतीय शास्त्रीय संगीतमा भिन्‍न आवाज भएकी गायिकाको परिचय बनाएकी किशोरी अमोन्करको अप्रिल ३, सोमबार राति मुम्बईस्थित घरमा मृत्यु भयो । ८४ वर्षीया गायिका सुतिरहेकै अवस्थामा मृत भेटिएकी थिइन् । उनको प्रशंसनीय करियरले उनलाई धेरै सम्मान दिलायो । सन् १९८७ मा उनले पद्मश्री र सन् २००२ मा पद्म विभूषण जस्ता सर्वोच्च सम्मान पाएकी थिइन् । शास्त्रीय संगीतका साधकहरू सितिमिती मिडियासँग अन्तर्वार्ता दिन रुचाउँदैनन् । दिए त्यो दुर्लभ नै हुनेगर्छ । शर्मिला कामतले किशारीसँग त्यस्तै अन्तर्वार्ता लिएकी थिइन् जुन १५ मार्च, १९९८ मा फेमिनामा प्रकाशित भएको थियो । भारतीय शास्त्रीय संगीतमा पचास वर्षदेखि गरेको योगदानको सम्मान गर्दै पहिलो पटक दिइएको संगीत समराध्नी पुरस्कार पाएको सन्दर्भमा त्यो अन्तर्वार्ता लिइएको थियो । अन्तर्वार्तामा उनले संगीतप्रतिको आफ्नो धारणा र यसले जिन्दगीमा खेलेको भूमिकाबारे कुरा गरेकी थिइन् ।

संगीत समराध्‍नी पुरस्कार पाउँदा कस्तो महसुस भयो ?
म सम्मानित हुँदा खुसी थिएँ । यसले मलाई धेरै खुसी बनायो किनकि यो पुरस्कार महान् हस्ती संगीत सम्राट् तानसेनको सम्मानसँग जोडिएको छ ।

संगीत तपाईंको संसार हुँदै आएको ५० वर्ष भयो । यसले तपाईंको जीवनमा कस्तो अर्थ राख्छ ?
मेरा लागि संगीत भित्री भावनासँग सञ्चार गर्ने माध्यम हो । यो भावनाको प्रकटीकरण हो जो देखिँदैन, छोइँदैन र व्यक्त हुँदैन । जस्तै आमाको आफ्ना सन्तानप्रतिको सर्तहीन माया, जो भित्रभित्रै हुन्छ । विशेष किसिमले प्रकट हुन्छ । त्यसैले संगीत हाम्रो भावना जस्तै हुन्छ जोसँग शब्द हुन्‍न, धड्कन हुन्‍न, अभिव्यक्ति र गति मात्र हुन्छ । त्यसपछि स्वर हामीभित्र रहेका गहिरा भावना अभिव्यक्त गर्ने माध्यम बन्छ ।

राम्रा संगीतकार जन्मिछन् अथवा बनाइन्छन् ?
म संगीतकार भएर जन्मिएकी थिएँ । आमाको रुपमा महान् गायिका मोगुबाई कुर्दिकर पाएपछि गर्भदेखि नै संगीतको संसारमा प्रवेश सुनिश्चित थियो । मेरी आमाका अभ्यासका सेसनहरू गर्भावस्था हुँदा पनि चल्ने गर्थे । र जन्मैदेखि मैले सबै आत्मसात गरेँ । मेरो बुबा म छ वर्षको हुँदा बित्नु भएको थियो । तत्पश्चात् मेरा लागि मेरी आमा सबथोक हुनुभयो- आमा, बुबा र गुरु । उहाँले मेरो जीवनमा सबैभन्दा बढी प्रभाव पार्नुभएको थियो । मैले भन्‍नैपर्ने हुन्छ कि मेरी आमाले मलाई संगीतकार बनाउनलाई धेरै गर्नुभयो । यद्यपि केही प्रयत्न अमानवीय पनि थिए तर निरन्तर प्रयत्नहरू गरिरहनु भयो । धेरै सानो उमेरमा, मैले शास्त्रीय संगीतका लागि कडा अनुशासन अनुसरण गर्नुपर्यो । मैले त्यसलाई पालना गरेँ किनकि अनुशासनविना संगीत केही पनि होइन । हामी हाम्रो घरमा परम शान्तिको लक्ष्य प्राप्ति गर्ने अर्थमा संगीत सिक्ने गर्थ्यौँ ।

तपाईंको संगीतसँगको साक्षात्कार ‘जरामा फर्क’ अभियानले चिनाएको छ । के तपाईंलाई लाग्छ आजको संगीत परम्परागत संगीतबाट टाढा छ ?
संगीत पढिरहँदा, मैले महसुस गरेँ कि शास्त्रीय संगीतको वर्तमान ढाँचा प्राचीन छैन । प्राचीन ज्ञानको भाग अस्पष्ट छ । र, जे प्रतिष्ठा बनाएको छ त्यस परिधिमा मात्र पाठहरूको बुझाइ छ । त्यसैले मैले स्रोतमा जाने निर्णय गरेँ । ग्रन्थबाट मैले स्वर, त्यसको विशेषता र गन्तव्यलाई परिभाषित गर्न सिकेँ । मैले पढेँ कि प्रत्येक रागको एउटै ढाँचा हुँदैन । जसै अभिव्यक्ति परिवर्तन हुन्छन्, ढाँचा पनि परिवर्तन हुन्छ । वर्तमान ढाँचाबाट टाढा रहेको मेरो अभियानले मलाई विद्रोह गर्ने तहको परम्परावादी बनाउँछ ।

के आजको शास्त्रीय संगीतले स्रोतासँग पुग्‍नुपर्ने आफ्नो उत्सुकता गुमाएको छ ?
रागको वर्तमान ढाँचा पुरानो पाठबाट निर्धारित छैन । अहिलेका संगीतकारहरू हाम्रा महान् परम्पराको ज्ञानमा पूर्ण छैनन् । हामीले उदात्तता गुमाएका छौँ जो संगीतमा एकदमै जरुरी हुन्छ । प्रत्येक कला प्रकृतिबाट उत्प्रेरित हुन्छ । प्रविधि आफैँ सबथोक होइन । कलासँग आत्मा पनि हुनुपर्छ । अन्यथा, संगीत आत्माविनाको सिकर्मीको काम जस्तै हुन जान्छ । दुःखका साथ भन्‍नुपर्दा, आजभोलि प्रविधिले आत्मालाई अग्रमन गरेको छ । जसकारणले शास्त्रीय संगीत छिट्टै डुबिरहेको छ । अन्तर्निहित भावनाभन्दा ताल र शब्दलाई बढी महत्व दिइन्छ । शास्त्रीय संगीतमा क्षणिक आनन्द भन्दा पनि धेरै उदात्तको उद्देश्य हुन्छ । रागको प्रदर्शन दुई वा तीन मिनेटमा समाप्त पार्न सकिँदैन ।

के शास्त्रीय संगीतले संगीतका अरु रुपको तुलनामा आकर्षण गुमाउँदै गएको हो ?
जराबाट परावर्तित हुनु, आकर्षण कम हुनुको एउटा कारण हुनसक्छ । स्रोताहरू बुझ्दैनन् किन गायक खास तरिकाले गाइरहेको छ वा निश्चित आवाज बनाइरहेको छ । नसामा बग्‍ने रगत पाश्चात्यको नभए पनि पाश्चात्य हुने लहर चलेको छ, रहर चलेको छ । बडो दुःखका साथ भन्‍नुपर्छ कि हाम्रो देशमा अब कुनै पनि संस्कृति बचेको छैन । यद्यपि अझै पनि म भविष्यप्रति आशावादी छु । आजकाल पनि धेरै युवा चलचित्र र रक संगीतबाट टाढा रहेर शास्त्रीय संगीतमा लागिरहेका छन् । आशा गर्न सकिन्छ कि एकदिन तिनीहरूमध्ये केहीले जरामा फर्काउने प्रयत्न गर्नेछन् र हाम्रो संगीतलाई झन् जीवन्त र चर्चित बनाउने छन् । त्यसपछि त्यो एकमात्र शास्त्रीय संगीत हुनेछ, जो आफ्नो प्रतिष्ठामा रमाउने छ ।

किन तपाईं संगीतका अरु रुपमा धेरै चासो देखाउनुहुन्‍न ? 
म साधनामा र अभ्यासमा धेरै नै व्यस्त हुने गर्छु, जसकारणले अरु चिजका निम्ति मसँग एकदमै थोरै समय हुन्छ । यसबाहेक, म तालले जिम्न्यास्टिक गरेका अन्य संगीत रुचाउन्‍न । ती चलचित्र संगीत हुन् वा रक । तिनले स्थिरताको बोध गराउनुको सट्टा स्रोताहरूमा क्षणिक उत्साह जगाउने काम मात्र गर्दछन् । चलचित्रका गीत पाँचदेखि सात मिनेटभन्दा पछि गाउन सक्नुहुन्छ ? सक्नुहुन्‍न । तर शास्त्रीय संगीत कम्पोज गर्न दुईदेखि तीन घण्टा लाग्‍ने गर्छ । यो स्वरको अन्तर्निहित शक्तिको कारणले गर्दा हो, जसले यस्तो कम्पोजिसन बनाउँछ ।

स्रोताहरू बुझ्दैनन् किन गायक खास तरिकाले गाइरहेको छ वा निश्चित आवाज बनाइरहेको छ । नसामा बग्‍ने रगत पाश्चात्यको नभए पनि पाश्चात्य हुने लहर चलेको छ, रहर चलेको छ ।

शास्त्रीय प्रस्तुतिमा, ध्यान जम्मै स्वरको खेलाइमा हुन्छ, जसबाट भावना व्यक्त हुन्छन् । मैले यसलाई अनौठो रुपमा लिएको छु कि धेरै चर्चित संगीतकार, नयाँ गायकलाई शास्त्रीय संगीत सिक्न सुझाव दिइरहेका हुन्छन् । यसले मलाई अचम्भित बनाउँछ । के शास्त्रीय संगीतलाई चलचित्रको संगीतसम्म पुग्‍ने भर्‍याङका रुपमा मात्र लिने ? स्वर्गको उचाइ नापिसकेपछि, पृथ्वीमा को आउन चाहन्छ ?

तपाईं धेरै नै मुडी र रिसालु हुनुहुन्छ भनेर मान्छेहरू भन्‍ने गर्छन् । तपाईं किन यस्तो हुनुभएको ? 
यहाँ धेरै मान्छे छन्, जो मेरो सफलताको ईष्र्या गर्छन् । जब हामी उचाइ नाप्छौँ यस्ता बाधाहरू आइरहन्छन् । कसैको हिम्मत छैन, मेरो संगीतमा खोट लगाउने, त्यसैले उनीहरू मेरो चरित्रमा खोट लगाउँछन । यो बकवास हो । यसले मेरा स्रोतालाई केही फरक पार्दैन । यसले मलाई केही असर गर्दैन । त्यस्ता कुरामा प्रतिक्रिया जनाउनुभन्दा म आफ्नो लक्ष्यमा केन्द्रित हुन्छु ।

तपाईं आफू जन्मेको सहर गोवामा गुरुकुल खोल्न गइरहनुभएको छ, के यो सत्य हो ?
पुराना दिनमा, गोवा त्यो ठाउँ भनेर चिनिन्थ्यो जहाँ धेरै प्राकृतिक ताल थिए । देवस्थानहरू (मन्दिर) शास्त्रीय सांगीतिक परम्परा जगाउने गर्थे र त्यसले जनतालाई आनन्द दिने गथ्र्यो । दुर्भाग्यवश, आज त्यो स्थिति छैन । तैपनि हामी बल गरिरहेका छौँ महान् परम्परालाई पुनजीर्वित गर्न । यसकै कोसिसमा मैले गोवामा गुरुकुल सुरुवात गर्ने सोच बनाएँ । सरकारले मलाई जग्गा दिएको छ र सोचेजस्तै छिट्टै काम सुरु होस् ।

मलाई पछिसम्म पनि लागिरह्यो कि मेरो र किशोरी अमोन्करका आँखा जुधिरहेका छन् । यही भ्रममा म कार्यक्रम पर्खिरहन थालेँ । के यही भ्रममा कार्यक्रम आउँथ्यो ?

केही वर्ष यता, म अनियन्त्रित विकासले निष्फल भइरहेको गोवाको सुन्दरता देखेर दुःखी छु । हाम्रा बगरहरू रिसोर्टहरूले ओगटेका छन् । हाम्रा रुख हराउँदै गइरहेका छन् । त्यही भएर म सुनिश्चित गर्नेछु कि मेरो गुरुकुल अर्को शान्ति निकेतन हुनेछ जहाँ विद्यार्थी प्रकृति आमाको काखमा संगीत सिक्नेछन् । ब्रह्माण्डको संगीतले घेरिँदै लयका जटिलतालाई सिकाउने सबैभन्दा उत्तम तरिका के हुन्छ ? 

०००
त्यो संगीतसँग मेरो संगत 
म कक्षा ९ मा पढ्दादेखि नै श्रुतिसंवेग कार्यक्रम सुन्थेँ । त्यस कार्यक्रममा मलाई मन नपर्ने कुराहरू केही पनि थिएनन् । अहिले पनि छैनन् । वाचक, वाचन, रचना र संगीत सबै सबै मन पर्छ । अझ खुलेरै भन्‍नुपर्दा मलाई त्यस कार्यक्रममा वाचक रोकिएको बखत बज्ने संगीत सबैभन्दा बढी मन पर्छ । बज्ने संगीतहरूमध्ये पनि मलाई शोभा गुर्तुको ‘रंगी सारी चुनरिया’ र किशोरी अमोन्करको ‘सहेला रे’ झन् धेरै मन पर्दछ । 
सहेला रे आ मिलगए
सप्त सुरन के वेद सुनाए
जनम जनम को सँग नभुले
अबके मिले तो बिछुड नाजाए
सहेला रे...
जब मैले यो संगीत पहिलो पटक सुनेको थिएँ, म यति लोभिएको थिएँ, यति बहुलाएको थिएँ कि मैले पहिलो पटक आफ्नो सबैभन्दा प्रिय साइन्स किताब बन्द गरेको थिएँ । पहिलो पटक दिदीको आँखाको पर्वाह नगरी बजिरहेको रेडियोमा एकटक आफ्ना आँखा जुधाएको थिएँ । मलाई पछिसम्म पनि लागिरह्यो कि मेरो र किशोरी अमोन्करका आँखा जुधिरहेका छन् । यही भ्रममा म कार्यक्रम पर्खिरहन थालेँ । के यही भ्रममा कार्यक्रम आउँथ्यो ?

पहिलो पटक गम्दागम्दै कार्यक्रम नै सकिएछ । दिदीले रेडियोको मुन्टो बटारेपछि बल्ल होस खुल्यो । म मुसुमुसु हाँस्दै सुतँे । यो हाँसो थियो । तर केवल हाँसो थिएन । स्वर्गीय हाँसो थियो । तत्काल मलाई लाग्यो कि मैले यस्तो स्वर्गीय हाँसो अब कहिलै पनि हाँस्‍नेछैन । यसको मतलब यो होइन, सम्भावित भविष्यमा म नर्कीय हाँसो हाँस्‍नेछु । म हाँस्‍नेछु । अवश्य हाँस्‍नेछु । मात्र यति हो कि यस्तो स्वर्गीय हाँसो भने कदापि हाँस्‍नेछैन ।

के शास्त्रीय संगीतलाई चलचित्रको संगीतसम्म पुग्‍न भर्‍याङका रुपमा मात्र लिने ? स्वर्गको उचाइ नापिसकेपछि, पृथ्वीमा को आउन चाहन्छ ?

आज पनि जब म यो संगीत सुन्छु, मलाई त्यतिखेर लागेको कुरा झन् झन् विराट भएर गएझैँ, झन् झन् गहकिलो भएर गएझैँ आभास हुन्छ । कुनै दिन यो दुनियाँले हाँस्न बिर्सिएछ भने म यही संगीत दुनियाँले सुन्‍ने गरी बजाउनेछु । र कुनै दिन मैले नै हाँस्न बिर्सिएछु भने, संसारले पनि मलाई सुन्‍ने गरी यही संगीत बजाओस् ।

कहिले लाग्छ, उनी मेरो छेउमा बसेर आफ्नो नयाँ एल्बमका लागि संगीत साधना गरिरहेकी छिन् । कहिले लाग्छ, मेरो लेखनीमा एकाग्रता बनाइराख्‍न, कहिले लाग्छ, मेरो मौनतामा एकाग्रता बचाइराख्‍न उनी मलाई नयाँनयाँ संगीतसाधना गरेर सुनाइरहेकी छिन् । म यही भ्रममा लेख्‍ने गर्छु । म यही भ्रममा लेख्‍न चाहन्छु । म यही भ्रममा लेखिरहन चाहन्छु, कालान्तरसम्म । लेखिरहन पाऊँ । लेखेरै बाँचिरहन पाऊँ । यदि म उनको जमानामा जन्मेको भए म उनलाई प्रेमपत्र पक्का लेख्‍ने थिएँ ।

म मर्नै लाग्दा, मर्दा, घाट लिइरहँदा, जलिरहँदा यही संगीत बजोस् । बजिरहोस् । र मलाई एकदमसँग थाहा छ कि जीवनमा म धेरै पटक मर्नेछु । ती प्रत्येक मराइमा म यही संगीत बजाउन चाहन्छु, सुन्‍न चाहन्छु र ब्युँतिन चाहन्छु । म ब्युँतिएपछि पनि यही संगीत बजिरहोस् झन् झन् बेजोडले :
सहेला रे आ मिल गए
सप्त सुरन के वेद सुनाए
जनम जनम को सँग नभुले
अबके मिले तो बिछुड नाजाए
सहेला रे...

प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँ : राष्ट्रपति भण्डारी

इकागज | बैशाख २४, २०७८

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दु…