संगीत

मृत्युको अघिल्तिर उभिँदा

प्रगति राई | मंसिर २०, २०७७

सर्जक रिसाऊन् कि खुसाऊन् । एक पाठकको नाताले कवितामाथि लागेका कुरा नढाँटी बोल्छु । केही महिनाअघि म महिनैंभरि रजस्वला बगिरहने समस्याले प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा जाँचको लागि गएकी थिएँ । पट्यारलाग्दो अस्पतालको लाइनलाई सहज बनाउन कवि मणि लोहनीका कविता संग्रह ‘मृत्युको अघिल्तिर’ हातमा थियो । म कविता पढ्दै रमाएर पालो चेकजाँचको पालो कुरिरहेकी थिएँ । डाक्टरले मलाई देख्नुबित्तिकै पुस्तकतिर हेरेर भनिन्, ‘के हो यो मृत्युको अघिल्तिर ? सब पछिल्तिर सोच्‍ने हो । पागलहरू !’

डाक्टरसँग प्रतिवाद गर्नु हुँदैन, नत्र महँगो मूल्य चुकाउनुपर्छ भन्ने घटनाको अनुभवी मान्छे परें म । २०६२ सालमा डाक्टरसँग प्रतिवाद गरेकै कारण दीर्घरोगी भएको मान्छे हुँ । अँ, डाक्टरले पुस्तककै बारेमा कुरा गर्दै मेरो पाठेघर खोतलेर पनि सकिनँ । मैले भनें, साथीको कविता संग्रह हो, राम्रो छ पढिरहेको छु ।’ मेरा लागि औषधि लेखियो । किनेर बस चढें । सिटमा बस्नासाथ, किताब पल्टाइहालें,
र, उभिएर मानचित्रमा
छोपी दिऊँ सबै धर्साहरू
जसरी सफलताले छोपिदिन्छ, दुःख कष्ट संघर्षका
जसरी प्रेमले छोपिदिन्छ, अवगुण मानिसका
जसरी मुस्कानले छोपिदिन्छ, उदासी अनुहारका
मलाई यतिखेर छोप्न मन लागेको छ
एकताले, नक्सा भित्रका सबैसबै धर्साहरू (१.मानचित्रमा उभिएर)

कविता पढिसकेपछि म केही क्षण सोचमग्न भएँ । साँच्चै नेपालमा यसरी असमानताका धर्साहरू छोपिएर जातीय विभेद, लिंगीय असमानता, वर्गीय विभेद नहुँदो हो त हामी यतिखेर के गरिरहेका हुन्थ्यौं होला ? सायद नेपाल पनि विकासका चरम उत्कर्षमा पुगेका देशहरू झैं पृथ्वीभन्दा अर्को ग्रहमाथि नेपालीको हकदाबी पो गरिरहेका हुन्थ्यौं कि ? नेपालजस्तो बनेर देखाउन छिमेकी मुलुकहरूलाई सुझाइरहेको पो हुन्थ्यौं कि ?! साँच्चै हामी के गर्दैरहेका हुन्थ्यौं होला ? 

दुर्भाग्य, यिनै असमानताहरूले हामी बाँधिएका छौं । दुनियाँले विकासको फन्को मार्न लाग्दा हामी भने गोडाका उल्झन फुकाउनमै जीवन सिद्धिरहेको छ ।

चारैतिर फैलिएको छ सौन्दर्यको जादु 
बेवारिस ढुंगा र काठलाई माया गर्ने किरण मानन्धर
राज्यद्रोहका आरोप खेपिरहेका गगन थापा
टोपी फुकालेर सडकमा ओर्लेका कनकमणि दीक्षित
मानवअधिकारवादी कृष्ण पहाडी
रेडियोमा जनताको पक्षमा बोलेबापत राज्यको हप्की खाने ठाकुर बेल्बासे
कुमारी आमाको सपना देख्‍ने अनुपम रोशी
या कविता लेखिहिँड्ने यो मणि लोहनी
काठको बेवारिसे मुढोजस्तो देशमा
बिछ्याइरहेछन् सबै आ-आफ्ना सपना
र, खोजिरहेछन् परिवर्तन । (७.सौन्दर्यको आकार) 
    
कविता पढ्दापढ्दै कृतिलाई सुरुको पेजतिर पल्टाइहेरें । पढिरहेको हरफहरू वक्तव्य पो हो किजस्तो लागेको थियो । होइन; कविता भनेरै राखिएको रहेछ । तर कविताको नाममा भाषण लेख्न मिल्छ र ? उदृध नामहरू मिथ भइसकेका भए नामको अगाडि किन यति लामो उनीहरूको परिचय ? मिथ हुनको लागि त नामले पो परिचय बोकेको हुनुपर्छ । जस्तै बुद्ध, जस्तै गान्धी, जस्तै पासाङ ल्हामु, जस्तै मोदर टेरेसा । कविता लेख्न सिक्दै गरेका कुनै विद्यार्थीले यो कविताको सिको गरेर कक्षाभरिका साथीहरूको नाम लेखेर पेज भर्‍यो हामीले के भन्ने ?

तर विद्यार्थीको हकमा बाहेक स्थापित कविलाई अलिअलि बहकिने छुट त अवश्यै मिल्छ होला । यो कुरालाई यही बिट मारें । अगाडि, कवि बोल्दछन्, ‘जसरी भोगें जानी नजानी, त्यसैगरी लेखें जिन्दगीलाई । प्रेमका, सम्बन्धका र मान्छेका नाममा मैले लेखिरहेको जिन्दगी नै हो । जिन्दगीभन्दा पर पुग्नु कहाँ छ र ? नजिक छन् मान्छेहरू ।’ मणिका कविता मिठो हुन्छ भन्नु मात्रै मिथ्या हुने रहेछ । उनका त बोल्ने तरिकै कवितात्मक रहेछ । उनका दुई पेज भनाइलाई अरूका जस्तै मानेर छुस्स एक हरफ हेर्छु भन्दा त त्यहीँ टासिएँ म । लामो कविता पढेजस्तै सबै हरफ पढिसिध्याएँ  । ‘हामीले लेखिरहेका र पढिरहेका धर्साहरू मात्रै हुन् जिन्दगीका...हामी मृत्युको अघिल्तिर उभिएर जिन्दगीका स-साना धर्साहरू कोरिरहन विवश छौं ।’

उम्, यो संग्रहमा जम्मा ३२ वटा कविता छन् । जसलाई तीन भागमा विभाजन गर्नाले पुस्तकलाई झन् पठनीय बनाएको लाग्यो । पहिलो खण्ड ‘देशको नाममा’ खण्डबाट मैले दुईवटा कविताबारे त भनिसकें । अब दोस्रो खण्ड ‘प्रेमको लय’ बाट केही कविता राख्छु ।

छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई
हामीले छोएको र देखेको मात्रै
सत्य रहेनछ 
सँगै हुनु र रमाउनु मात्रै पनि
जीवन होइन रहेछ
हो, जसरी हाँस्यौ नि तिमी मेरो अँगालोमा
हो, जसरी अग्लिएँ नि म तिम्रो सपनाहरूसँग
यी सबै पनि पूर्ण रहेनछन् ।
... ... ... ...
तिमीसँग छृटिएको वर्षौपछि
आज मैले बुझें
छुटिनकै लागि भेटिएका रहेछौं हामी । (९.जीवनको रित)

कविताहरू पढिरहँदा, हरफहरू सकिजालान् कि भन्दै डराएर बिस्तारै फारो गरेर पढ्न मन लाग्छ । बच्चालाई झुलाउन दिनको एक-एकवटा चकलेट दिएजस्तै मणिका प्रेमबारे लेखिएका कविताहरू पनि पाठकले दिनको एउटा-एउटा गर्दै पढ्ने हो भने, अनेक तनाव र वितृष्णाले गलेको दिमागलाई अवश्य नै केही क्षण शान्त बनाउनेछ ।

हामी गाह्रो काम गर्दा जसरी बीचबीचमा बिसाएर चिया चुरोट खाएर फेरि काम गर्नको लागि ऊर्जा बटुल्छौं नि, हो यी कविताहरूले पनि पाठकको दिमागलाई आरामको अनुभूति दिलाउँछ । थाकेको हृदयलाई शीतलता प्रदान गर्छ । भ्रम नै सही, तर निरन्तर दिमागलाई तताइरहनु आफ्नै लागि हानिकारक हो भने, शरीरलाई जस्तै मनमस्तिष्कलाई पनि आराम दिनुपर्छ, यो चाहिँ सत्य हो । यी कविताहरूले त्यही आरामको सत्य सावित गर्न सक्दछ ।

सुजु ! यो यात्रामा हामी कसैका पनि होइनौं ।
हामी सन्तापमा नुहाउन आएका हौ, यो यात्रामा
र घाउ नै घाउ भरेर हृदयमा अभिशप्त बाँच्‍न आएका हौं 
सम्बन्ध फेरिँदैमा के दुःखको अनुहार फेरिएको छ र ?
दुःख पनि फिका र गाढा हुँदो रहेछ
सम्बन्धको चिसो र तातोसँगै    
अनि त्यसैलाई हामी जीवन भन्छौं
प्रेमको भ्रमपूर्ण अनुभूति हुन्छ र दुखाइमा मक्ख पछौं । 
(२०.हामी कसैका पनि होइनौं)

यो कवितामा क्रान्तिका लागि भनेर लडिरहेका लडाकुको प्रेम अनुभूति मज्जाले पढ्न पाइन्छ । मृत्युलाई अत्यन्तै नजिकबाट नियालिरहेका युवाले जीवनप्रति गरेको निराशालाई भोग्न पाइन्छ । क्रान्तिबाट भागेर जाने कही ठाउँ नभएपछि जति बाँचिन्छ त्यतिन्जेलको लागि बाँच्ने सहरा एउटै बन्दुकको नाल मात्र भएको कथा यस कविताभित्र पलपलको दृश्य भएर हरफहरू आँखामा नाच्छन् । यो कविता यति यथार्थ कथा भयो कि, साँच्चै, त्यो बेला ज्यानको बाजी लगाएर युद्ध लडेका युवाहरू न राज्यका भए, नत आफ्नै लागि भयो । सिर्फ सीमित व्यक्तिका लागि माथि जाने भर्‍याङ भएर उनीहरूको उमेर बित्यो । सम्झँदा पनि कति ततिो लाग्ने यथार्थ उनीहरूको ।

यो संग्रहका कविताहरू पढिरहँदा केही अपवादबाहेक सबै कविता सारेर देखाइदिऊँ लागेको छ । तर यसो गर्नु त भएन । अनि एकएक अनुच्छेद बारे कुरा गरेर तपाईंसँग मिठो पल साँटु लाग्यो । संग्रहका अन्तिम खण्ड ‘जीवनको उज्यालो’बाट शीर्ष कविताका केही हरफ प्रस्तुत गरें है त ।

लाग्छ, कविता लेखेकै कारण मारिनेछु म 
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल
सोच्‍नु काफी छ
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू । (२२.मृत्युको अघिल्तिर)

यो कविताको बनोट हेर्दा चाहिँ लाग्छ, जनआन्दोलन ताकातिर लेखिएको हो । जतिबेला मान्छे मारिन दोष चाहिँदैन थ्यो । मारेर दोषी बनाइन्थ्यो । राज्यको विरुद्ध कविता लेखे पनि मारिन्थ्यो कवि, क्रान्तिको विरुद्ध लेखे पनि मारिन्थ्यो कवि । अहिले देशमा एकतन्त्रीय शासन छाएको छ, दुईतर्फी त्रास छैन जनतालाई । सत्य बोल्न त यतिखेर पनि म डराइरहेको छु र तीनपल्ट सोच्दै कुरा घुमाइरहेको छु । यसरी घुमाएको कुराको अर्थ कति बुझिन्छ, त्यो त मलाई पनि यकिन छैन ।  कि त मैले बोलेको सुनिँदैन, कि त मैले लेखेको छापिँदैन । यसरी बुझौं, वर्तमान स्थितिमा शब्दको कारबाहीमा सीधै गोली खाइन्न । दायाँबायाँतिर ठटाइन्छ मनग्य । भनौं न, मर्नु भन्दा बहुलाउन पाइन्छ । भनाइको मतलव, आइन्दा यस्तो बोल्दिनँ भन्ने अवसर पाइन्छ ।

मणिका ईश्वरप्रतिको धारणा पो सबैभन्दा गज्जबको छ त यहाँनेर । ‘धर्मध्वनि’ शीर्षकमा लेखिएको कविता सायद कुनै घोर आस्तिकले पनि पढ्यो भने ईश्वरप्रतिको उनको विश्वास थोरै त पातलिन्छ होला । अरूको हत्या गरेर ईश्वर खुसी पार्ने मूर्खहरूलाई यो कविता पढाउन सके कति जाति हुन्थ्यो होला । यदि म कुनै शासक हुन्थें भने म यो कविता प्रत्येक मस्जिद, मन्दिरको ढोकामा टाँस्न लगाउने मन थियो ।

नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू
घण्टको सुमधुर ध्वनिसँगै, मुस्कुराएको हुनुपर्छ भगवान्
शंख, मुर्चुंगा, यो चमर र बिनायो
देवता पुलकित भएको हुनुपर्छ । 
प्रार्थना, शब्द र फूलका गुच्छाहरूले 
आल्हादित  भएको हुनुपर्छ ईश्वर
...  ... ...  ...
म सोचिरहेछु, 
मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर
नभएको भए मानिस
के सम्भव छ ईश्वरको अस्तित्व ? (२७. धर्मध्वनि)

अतः मैले मन पराएका कविता अरूलाई पनि मन पर्नैपर्छ भन्ने त छैन । तर ‘मृत्युको अघिल्तिर’ संग्रहले कविताका पारखीलाई धित मारेरै छाड्छ । हुन त कुनै मानिसको औंला मात्र देखाएर ‘यो मानिस कस्तो छ ?’ भनी प्रश्न गर्नुजस्तै यस संग्रहका दुईचार हरफ कविताले सिंगो संग्रहको पहिचान त खुल्दैन । पाठकले कविता पढ्नैपर्छ । यहाँ भित्र यति मिठो कविताहरू छन् कि म वर्णन गर्न असमर्थ छु । यदि मणि लोहनी कुनै विदेशी कवि हुन् भने, उनका कविता सायद कविता पारखीको लागि नभई नहुने खुराक हुने थियो । भाग्यले उनी हाम्रै नेपाली कवि हुन् । नजिकको देउता हेलाँ भनेजस्तै, मणि हाम्रा नजिकका मान्छे त हुन्, बिस्तारै पढौंला भनी पर सारियो भने पाठकलाई नै राम्रा कवितामा रमाउने अवसर छुट्नेछ । यति चाहिँ निर्धक्कै भनें है ।

यी कविताहरू हप्ता दिनमा पढिसक्दा अस्पतालले दिएको औषधि पनि खाएर सकाएँ । तर बिमार कम भएन । अर्को डाक्टरकहाँ गएर बुझ्दा पो थाहा भयो, मलाई त मनोरोगको औषधि पो खुवाइएको रहेछ । के चिकित्सा शास्त्रमा साहित्यकारलाई मनोरोगी भनेर व्याख्या गरिएको हुन्छ ?

कोरोना भाइरस बढ्ने त्रासमा देशले लकडाउन लगाइहाल्यो । मेरो दुईवटा काम बाँकी छ, एक डाक्टरसँग प्रतिवाद गर्न, अर्को यस कृतिका सर्जकसँग झगडा गर्न । चिनी पनि तितो लाग्ने गरी कवितामा साह्रै धेरै ‘प्रेम’ अनि ‘जीवन/जिन्दगी’जस्ता शब्दहरू प्रयोग गरिएछन् । प्रेम पनि वयष्क मानिसका लागि मात्रै प्रयोग भएछ । बालप्रेम, प्रौढ प्रेम, चराचर जगत्का प्रेम डल्लै छुटेछ कविजी ! कविताहरू किन यति धेरै वितृष्णका लेखिए ? सर्जक हुनु भनेको त दुःखको रिपोर्टिङ गर्नु मात्र होइन नि, सोलुसन पत्ता लगाएर दुःखबाट उम्किने काइदा पत्ता लगाउनु पो सर्जक हुनु हो । मलाई यस्तो लाग्छ है ।

संग्रहः मृत्युको अघिल्तिर
कविः मणि लोहनी
प्रकाशकः शिखा बुक्स
मूल्य रु. २००
 

नेपाल प्रहरी : चिलाएको ठाउँमा नकन्याउने, नचिलाएको ठाउँमा कोतर्ने

सामीप्यराज तिमल्सेना | कात्तिक १४, २०७७

काठमाडौं : गत साल कात्तिक ७ मा भिटेन उर्फ समीर घिसिङ गीत गाएको निहुँमा जेल परे । जावलाखेलबाट पक्राउ पर…