सप्ताहन्त

सुनसान काठमाडौँ, ढकमक्क ज्याकारान्डा अनि मिथुन दा

चिरञ्‍जीवी मास्के | बैशाख २५, २०७८

२०७८ वैशाखको आधाआधी । बैजनी ज्याकारान्डा फूलले ढकमक्क छ काठमाडौँको रत्नपार्क, सहिद गेट, दरबार मार्ग र प्रदर्शनी मार्ग क्षेत्र । कोरोनाको दोस्रो लहरपछि लकडाउनका कारण सुनसान बनेको काठमाडौँमा बैजनी ज्याकारान्डाका स–साना थुँगाहरू भुइँमा खस्दा पनि आवाज निस्किएझैँ लाग्छ । 

यो सुरम्य वातावरणमा कस्तो नमीठो संयोग ! साँझको सूर्यास्तसँग बैजनी ज्याकारान्डा फूलको सौन्दर्यमा मोहित हँुदै भृकुटीमण्डपमा भारतीय अभिनेता मिथुन दा (गौराङ्ग चक्रवर्ती) को फिल्म पहिलो दिन, पहिलो सो हेर्न हतारिँदै गर्दा मन जति प्रफुल्लित हुने गर्थ्यो आज ३० वर्षपछि त्यही साँझ, त्यही वातावरण र त्यही ज्याकारान्डा फूलको सौन्र्दयमा मिथुन दालाई सम्झँदा नमीठो अनुभूति भइरहेको छ । किनभने मिथुन दा अहिले कोभिड संक्रमित बनेका छन् । 

कजेल पढ्दाको त्यो समय । मिथुन दाप्रतिको लगाव यति अगाध र अन्तरङ्ग थियो कि उनको फिल्म नेपालमा आएको पहिलो दिन, पहिलो सो नहेरी चित्तै नबुझ्ने । ‘वक्त कि आवाज’, ‘गुरु’ जस्ता मिथुन दाका केही फिल्म भृकुटीमण्डपमा खचाखच दर्शकबीच रात्रिकालिन सो हेरेको सम्झना अझै पनि मेरो मानसपटलमा टड्कारै छ ।

मैले अध्ययन गरेको नेपाल ल क्याम्पस र भृकुटीमण्डपको भिडियो हलको निकट दूरीका कारण हल सञ्चालकहरूसँग मेरो राम्रै दोस्ती थियो । त्यसैले पनि मैले मिथुन दाका त्यतिबेला रिलिज भएका अधिकांश फिल्म नेपालमा आएको पहिलो दिन, पहिलो सो हेर्ने अवसर पाएको हो । नत्र म मोरो गाउँले ठिटोले मिथुन दाको फिल्म पहिलो दिन, पहिलो सो हेर्ने अवसर कसरी पाउँथे होला र ! 
त्यतिबेला मिथुन दाप्रतिको मेरो लगाव अचम्मैको थियो । 

उनको फिल्म पहिलो दिन, पहिलो सो हेर्नेमात्र हैन उनको स्टोरी छापिएको फिल्म सिटी, मायापुरी, स्टार डस्ट, जी स्टार, नयाँ सिनेमा, फिल्मफेयर, चित्रहार, आरपार जस्ता हिन्दी सिनेमासम्बन्धी पत्रिका नपढी मनमा चैन नै हुँदैन थियो । बरु मलाई क्याम्पसका कोर्सको पुस्तक पढ्ने रुचि थिएन, मिथुन दाको स्टोरी छापिएको हिन्दी पत्रिका खाजाको पैसा कटाएरै भए पनि खरिद गरेर पढ्ने गर्थें । अहिले पनि मैले मिथुन दाको स्टोरी छापिएका पत्रिका सुरक्षित राखेको छु । मिथुन दाप्रतिको यो हदसम्मको लगाव उनी फिल्मको हिरो हुनुमात्र कारण हैन, त्यतिबेला मिथुन दाभन्दा बढी आमिर खान, अमिताभ बच्चन जस्ता हिन्दी फिल्मका हस्ती चर्चित थिए ।

मैले मिथुन दाको जीवनी पढेँ । दो अन्जानेमा उनले अमिताभ बच्चन र रेखासँग छोटो भूमिकामा अभिनय गरेको, मृगया फिल्मका लागि उनले राष्ट्रिय फिल्म फेयर  पुरस्कार प्राप्त गरेको, फिल्मी करियरभन्दा पहिले जिन्दगी जिउनकै लागि राणा रेजका रूपमा संघर्ष गरेको, प्यार झुक्दा नहि, डिस्को डान्सर जस्ता फिल्म सुपर हिट भएपछि उनको फिल्मी करियर उकालो लागेको जस्ता उनको जीवनको धेरै विगत र आगतहरूलाई सूक्ष्म ढङ्गले अध्ययन गरेँ । 

मिथुन दाको जीवनीले मेरो हृदयको अन्तरकुन्तरमा सूक्ष्म तर गहिरो आत्मीयता गाँस्दै मधुर कम्पनसहित काउकुती लगाइदियो । त्यो कम्पनको ज्वारभाटा यति शक्तिशालि भइदियो कि मेरो हृदयबाट मिथुन दाको स्मरण मेटिनै सकेन । मिथुन दाप्रतिको आत्मीयता यति धेरै चुलिएको छ नि, न चिनजान, न भेटघाट अहिले पनि उनको फिल्म हेर्न त्यतिकै जाँगर लाग्छ । उनको फोटो छापिएको पत्रिका खोजी खोजी पढ्न रुचाउँछु । मिथुन दाप्रतिको लगावको कारण के हो भने उनी सामाजिक व्यक्ति हुन् । अहिले पनि उनले पश्चिम बंगालका केही विद्यार्थीलाई डाक्टरी तथा इन्जिनियरिङ पढ्न आर्थिक सहयोग गर्दै आएका छन् । 

राणा रेजको रूपमा मिथुन दाले पीडा र अभावले भरिएको जुन त्रासदीपूर्ण जीवन बाँचे सायद उनी चाहँदैनन् अब त्यो पीडा र अभाव कसैले पनि भोग्‍नु परोस् । त्यसैले पनि उनी ७० वर्ष पार गरिसक्दा समेत युवाहरूलाई उत्साहित गर्दै सामाजिक काममा सक्रिय छन् ।

धेरै मानिसको सोचाइ फिल्मी जिन्दगी रिलमा जस्तै मनमौजी हुन्छ भन्ने छ । तर वास्तविकता त्यो भन्दा भिन्न देखिन्छ । रिलमा एउटा कलाकारले जस्तो भूमिका गर्छन् रियल लाइफमा उसको भूमिका त्यो भन्दा पृथक् र ओजिलो हुने गरेको छ । मिथुन दाको सवाल पनि त्यही हो । रिलमा उनको भूमिका जस्तोसुकै होस्, रियल लाइफमा उनी सधैँ हिरो छन् । अभिनयको मात्र हैन, सामाजिक हिरो । मलाई याद छ, मैले मेरो जीवनमा पहिलो पटक हेरेको फिल्म जय सन्तोषी माँ (हिन्दी) हो । 

नमन, मिथुन दा, मेरो जोसिलो विगतको पथप्रर्दशक ! ज्याकारान्डाको बैजनी उत्साहहरूमा स्वास्थ्य लाभको कामना गर्छु । 

२०४३ सालताका पञ्चायती व्यवस्थाको निर्वाचन थियो । २५ वसन्त नामको नेपाली फिल्मका निर्माता माधवमणि राजभण्डारी उक्त निर्वाचनमा घर चिह्न लिएर उम्मेदवार बनेका थिए । उनैले निर्वाचन प्रचारका क्रममा दोलखा सदरमुकाम चरिकोटलगायत गाउँगाउँमै भिडियो फिल्म देखाएका थिए । हो, त्यही बेला मैले जीवनमै पहिलो पटक फिल्म हेरेको हो- जय सन्तोषी माँ । त्यसपछि दोस्ती भन्ने फिल्म पनि हेरे । यी दुवै फिल्मले मेरो हृदयमा असाध्य गहिरो छाप बसाएको छ । १३/१४ वर्षको उमेरमा हेरेको ती फिल्मको कहानी रिलको हैन रियल लाइफको हो भन्ने आभास मलाई थियो । त्यसैले त ती फिल्म हेर्दा मेरा आँखाबाट बलिद्रधारा अश्रु बहेका थिए । ती अश्रुका अर्थ के थियो मैले अझैसम्म पनि बुझेको छैन । 

जय सन्तोषी माँ र दोस्तीले मेरो हृदयलाई गहिरो धक्का दिए पनि कलाकारको रूपमा भने मिथुन दा नै सर्वेसर्वा भइदिए मेरा लागि । कारण माथि नै उल्लेख भइसकेको छ, उनको सामाजिक चरित्र । धेरै मानिसलाई फिल्म भनेको शुद्ध मनोरञ्जनका लागिमात्र हो भन्ने छ तर त्यसो हैन फिल्म, फिल्मका कलाकार र कलाकारले निर्वाह गर्ने भूमिकाले ज्ञान र प्रेरणा पनि दिन्छ । म के ठान्दछु भने मलाई फिल्मको कथावस्तुले लेखनी प्रेरणा मिल्यो । फिल्मका कलाकारको जीवनी र भूमिकाले सामाजिक सक्रियताका लागि अग्रसर गरायो । 

सानो उमेरमा फिल्मी लत नबसेको भए मलाई साहित्य पढ्ने रुचि हुँदैन थियो । साहित्य नपढेपछि लेखनी सीप हुँदैन थियो । लेखनी सीप नभएपछि पत्रकार हुँदैन थिए । अनि पत्रकार नभएपछि सायद सामाजिक अभियानमा मेसै पहिल्याउन सकिन्न थियो । यो नितान्त मेरो व्यक्तिगत अनुभव हो ।  

काठमाडौँमा ढकमक्क खुल्ने बैजनी रङको ज्याकारान्डालाई म वैशाख जेठको हरेक साँझ नियालिरहन्छु । सडकबाट सुस्त सुस्त अगाडि बढिरहँदा ज्याकारान्डाका स–साना थँुगाहरू मेरो सिंगो शरीरलाई नै बैजनी बनाउँदै झरिरहेका हुन्छन् । आहा ! त्यो समय, मन कति उद्वेलित बनाउँछ । भृकुटीमण्डपमा मिथुन दाको फिल्म हेरेर पुतलीसडक हुँदै बाँसझ्याङ कटेर डिल्लीबजारबाट मैतिदेवी पुग्दा होस् या न्युरोड पीपलबोटबाट मिथुन दाको स्टोरी छापिएको पत्रिका लिएर रत्नपार्क हुँदै बागबजारबाट डिल्लीबजारको बाटुले निस्किएर मैतिदेवी पुग्दा होस् । उस्तै खुसी, उस्तै उत्साह र लेखनी तथा सामाजिक जोस । 

नमन, मिथुन दा, मेरो जोसिलो विगतको पथप्रर्दशक ! ज्याकारान्डाको बैजनी उत्साहहरूमा स्वास्थ्य लाभको कामना गर्छु । र, अनन्त कालसम्म सामाजिक अभियन्ताहरूका लागि तपाईं मिथुन दा अन्तहीन स्रोत दरिनु हुनेछ, यो अपेक्षा गर्छु । मेरो आगतलाई अझ जोसिलो र सामाजिक बनाउने बैजनी ज्याकारान्डाका ससाना प्रत्येक थुगाँहरूसँग तपाईंको प्रफुलित मुहार र अनुकरणीय अभियानहरूलाई एकाकार गर्न सक्नेछु ।


 

कहर

उद्धव देवकोटा | बैशाख २५, २०७८

हिजोआज मानौँ कुनै विभीषिकाको भयले तर्सिएको कम्पित जीर्ण शरीर जस्तै सिरानीमुनि सपना थन्क्याएर  &nb…

नेपालीमा यस्तो शैली र क्षमता भएको अर्को निबन्धकार छैन

नेपाली साहित्यमा जनकलाल शर्मालाई नपढ्ने कोही छ जस्तो लाग्दैन । शर्माका ‘जोसमनी सन्त परम्परा र साहित्य&…

कुभिण्डाको मुरब्बा, ठूलो खसीको थलथले र मिठाईको बिर्को

जनकलाल शर्मा | बैशाख १७, २०७८

पाश्चात्य साहित्यका आलोचकहरू कवि वा साहित्यकारको व्यक्तिगत जीवनको अध्ययनलाई बढी महत्त्व दिन्छन्, उसका रचनाको म…

कैदी

चे शंकर | बैशाख ११, २०७८

निस्कँदा अचेल बाहिर  पोल्छ आँखा, प्याजको गन्धले झैँ  बिझाउँछ छाती,  प्रेमीसँग बिनाकारण…