सप्ताहन्त

सेकेन्ड सेक्स बाहिरकी सिमोन

नीरज लवजू | कात्तिक ५, २०७९

‘द सेकेन्ड सेक्स’को व्यापकताले सिमोन डी बुअरका अन्य कृतिलाई छायाँमा पारेको छ । त्यसैले ‘द सेकेन्ड सेक्स’का अनुच्छेदहरू बारम्बार उद्धृत गर्ने विद्वान्हरूले समेत उनका अन्य कृति विरलै पढेका हुन्छन् । साँघुरो नेपाली पुस्तक बजारमा उनका कतिपय कृति खोज्दा पनि पाउन मुस्किल छ । त्यसैले उनका कृतिका सूची नियाल्दा कुनै अपरिचित मानिसहरूका नामावली नियाले जस्तो अनुभव हुन्छ । तथापि, लेखनमा विश्वभर ख्याति कमाएकी फ्रान्सेली लेखिका बुअरका कलम आख्यान र गैरआख्यान दुवैतिर उत्तिकै निपुण भएको बोध गर्न उनका कृतिको परख मात्रले पनि पुग्दो छ । 

बुअरका कृतिहरूका सूचीमा त्यस्ता केही कृति छन् जो उनले आफ्ना प्रियजनको निधनपश्चात् सम्झनामा लेखेकी थिइन् । आफ्नी माताको स्मृतिमा उनले लेखेको ‘अ भेरी इजी डेथ’ सन् १९६४ मा प्रकाशित भयो । जिन पाउल सात्र बुअरका परम मित्र मात्र थिएनन्, बरु वैचारिक विकासक्रमका सहयात्री पनि थिए । सात्रको निधनपछि बुअरले तनाव न्यून पार्ने औषधि खाँदै लेखेकी थिइन्, ‘अड्युक्स– अ फेरवेल टु सात्र’ (सन् १९८१) । आफ्नी बालसखी एलिजाबेथ लाकोइनको निधनको सन्दर्भ उनले आफ्नो आत्मसंस्मरण ‘मेमोएर अफ द ड्युटीफुल डटर’ (१९५८) मा लेखेकी थिइन् । शोकलाई शक्तिमा बद्ल्नु भनेको सायद यसरी नै हुनुपर्छ । भौतिक रूपमा विचार्दा कसैको मृत्यु विनाश हो । तर, स्रष्टाले कसैको भौतिक अवसानलाई पनि सिर्जनामा रूपान्तरण गर्ने सामथ्र्य राख्दछ । 

बुअरको त्यस्तै लघु उपन्यास हो–‘द इनसेपरेबल्स’ । बुअरको आत्मसंस्मरण ‘मेमोएर अफ द ड्युटीफुल डटर’ प्रकाशित भएको चार वर्षअघि नै उनले ‘द इनसेपरेबल्स’ लेखिसकेकी थिइन् । तर, लेखिसकेको ६७ वर्ष पछि र लेखकको निधनको ३५ वर्ष पछि मात्र यो लघु उपन्यास प्रकाशित भयो । बुअरले आफ्नो संस्मरण ‘मेमोएर अफ द ड्युटीफुल डटर’ मा आफ्नी बालसखी एलिजावेथ लाकोइन ‘जाजा’ बारे केही प्रसंगसम्म उल्लेख गरेकी छिन् । तर, जाजाको विषयमा लेखिएको सिंगै लघु उपन्यास भने बुअरले आफ्नो जीवनकालमा प्रकाशित गरिनन् न त नष्ट नै गरिन् । उनको निधन भएको एउटा युगपछि आज यो कृति प्रकाशित भएको छ । अंग्रेजी भाषामा अनुवाद (सन् २०२१) सँगै यो कृति आज अंग्रेजी पाठकसम्म पुगेको छ । अंग्रेजी अनुवादक लौरिन इल्किनले लेखेकी छिन्, “सिमोन डी बुअरको ‘हराएको’ उपन्यास अनुवाद गरिरहेको कुरा सुनाउँदा मानिसहरू मलाई सोध्थे– राम्रो छ त ?...अनि सन्तोषको श्वास फेर्दै म जवाफ फर्काउँथें– यो राम्रो मात्र होइन, धेरै राम्रो छ । यो मार्मिक, हृदयविदारक र भावोत्तेजक छ ।'

समालोचक डेबोर लेभी एलिजाबेथ लाकोइनसँग बुअरको बाल्यकालीन मित्रता नै उनको राजनीतिक शिक्षाको आरम्भ भएको बताउँछिन् । “बाल्यकालबाट हामीले कुनै पनि विषयलाई गहन रूपमा बुझ्न थाल्छौँ । त्यसकारण लाकोइनप्रति बुअरको बाल्यकालीन भावना र आशा नै उनको राजनीतिक शिक्षाको प्रारम्भिक चरण थियो”, लेभीले लेखेकी छिन् । 

एन्ड्रीले परिवार र समाजमा भोगेको परिवेश आजभोलि कलेज जाने नेपाली किशोरीहरूले भोगिरहेको देखिन्छ ।

‘इनसेपरेबल्स’ शब्दको नेपाली शाब्दिक अर्थ ‘अखण्ड’ अथवा ‘अलग हुन नसक्ने’ हुन्छ । शीर्षकले पनि यो उपन्यास आपसमा अलग हुन नसक्ने मानिसको कथा भएको बुझ्न सकिन्छ । बुअरले आफ्नो बालसखासँगको मैत्रीसम्बन्धका आरोह अवरोहबारे लेखेको उपन्यास हो यो । समग्रतामा यो मित्रताको कथा हो । तर, मित्रताकै कथा मात्र भने होइन । दुई मित्रबीचको सम्बन्ध अनेक बान्कीमा बग्दा उपन्यासले अरू धेरै कुरा पनि उजागर गर्दै गएको छ । 

सिमोन डी बुअरको चर्चाबिना महिलावादको छलफल कदापि पूरा हुन सक्दैन । खासमा ‘द सेकेन्ड सेक्स’ले भावना र भावुकतामा अल्झिरहेको महिलावादलाई प्रस्ट सैद्धान्तिक व्याख्याको आधार दियो । महिलावादलाई वादको आकार दिन बुअरको त्यो युगान्तकारी कृतिले दरिलो योगदान ग¥यो । तर, बुअरसँग ‘द सेकेन्ड सेक्स’मा लेखिएका गहिरा विचार भने निमेषभरको जादु थिएन । बुअर ४१ वर्षकी हुँदा ‘द सेकेन्ड सेक्स’ प्रकाशित भयो । निःसन्देह उनका अनुसन्धान, अध्ययन, वैचारिक मन्थनले त्यो कृति जन्माउन अहम भूमिका खेल्यो । तर, सानै उमेरदेखि बुअर आफैले भोगेका भोगाइले पनि यसलाई आकार दिन कम ठूलो भूमिका खेलेन । सन् १९४९ मा ‘द सेकेन्ड सेक्स’ प्रकाशित भयो । त्यसको पाँच वर्षपछि उनले ‘द इनसेपरेबल्स’ लेखिसिध्याइन् । ‘द सेकेन्ड सेक्स’को गहन वैचारिक उचाइ बुझ्न ‘द इनसेपरेबल्स’को परख भने अपरिहार्य हुन्छ ।

कुनै पनि विचार अनायास कतैबाट खस्ने गर्दैन । विचार अनुभव, अध्ययन र वैचारिक मन्थनको योगफल हो । ‘द इनसेपरेबल्स’मा वर्णित घटनाक्रम समयान्तरमा बुअरको विचार निर्माणको जग सिद्ध भएको समालोचक लेभी भन्छिन् । ‘द इनसेपरेबल्स’ आत्मसंस्मरणात्मक आख्यान हो किनभने यसमा वर्णित घटना कुनै परिकल्पना थिएन । उनी आफैँले भोगेका घटना थिए । तर, उनले यसमा पात्रका नाम भने बद्लेकी छिन् । यसमा बुअरकी बालसखी एलिजाबेथ लाकोइन ‘जाजा’ एन्ड्री बनेकी छिन्, बुअर आफैँ भने साल्भी । यो सत्य घटना र पात्रले भोगेको कथा हो भने कुरा यसमा समावेश जाजाले बुअरका नाममा लेखेका पत्रले प्रमाणित गर्छन् । 

एन्ड्रीसँग साल्भीको पहिलो भेट एउटा क्याथोलिक विद्यालयमा भएको थियो । एन्ड्रीको फराकिलो व्यवहारबाट साल्भी प्रभावित भइन् । एन्ड्रीको आत्मविश्वास, हातले टेकेर बल्ड्याङ मार्ने तरिका, साहित्यप्रतिको रुचि, भ्वाइलिन बजाउने कला, घोडाचढी, शिक्षकको नक्कल गर्ने बानीले साल्भीको एकोहोरो निरस जीवनलाई गतिशील बनायो । खासमा एन्ड्रीको व्यक्तित्वबाट उनी यति प्रभावित भइन्, कि उनी एन्ड्रीसँग प्रेममा परिन् । यो प्रसंगले समयान्तरमा समलिंगी सम्बन्धबारे सिमोनको विचार निर्माणमा योगदान गरेको हुनुपर्छ । 

समयान्तरमा दुवै साथी हुर्किँदै गए । तर, उनीहरू तत्कालीन समाजले कोरेका सीमारेखा तोड्न लालायित बन्दै गए । धर्म, समाज, संस्कृति, आचरणको नाममा उतिबेलाको समाजले बनाएका पर्खाललाई सानोतिनो धक्का उनीहरूले दिइरहे । उनीहरूले न्याय, गरिबी जस्ता गहन विषयमा ‘महिला भएर पनि’ छलफल गर्न थाले । दुई साथीमध्ये साल्भी समाजले स्थापित गरेका रुढिविरुद्ध विद्रोह गर्न अझ आतुर बनिन् । एन्ड्री भने प्रवेश गर्दा जति आकर्षक थिइन्, समयान्तरमा परिवार र विशेषतः उनकी आमाको संकीर्ण सोचाइको कारण यस्ता विद्रोहमा होमिन अनकनाउन थालिन् । एन्ड्रीले प्रेम, परिवार, मर्यादाको नाममा पालना गर्ने कतिपय व्यवहारमाथि साल्भीले प्रश्न उठाउन थालिन् । उनलाई मर्यादा सिकाउने एन्ड्रीकी आमाको मुस्कान नै जालो जस्तै अनुभव भयो । एन्ड्रीको निकै स्याहार गरिएको घर ठूलो परिवारका केटाकेटीको लागि कारागार जस्तो भएको उनले महसुस गरिन् । विद्यालयमा भेट्दा एन्ड्रीको उदात्त व्यवहार देखेर उनको स्वतन्त्रताप्रति ईष्र्या गर्ने साल्भी घरको यो बन्देज देखेर आफू बरु एन्ड्रीभन्दा स्वतन्त्र भएको अनुभव गरिन् । 

मर्यादाको यो बन्देज परिवारमा मात्र सीमित थिएन । बरु युवा उमेरको प्रेम पनि उत्तिकै सीमारेखाहरूले भरिभराउ थियो । एन्ड्रीले आफ्नी प्रेमी पास्कलप्रति देखाएको मर्यादा विद्रोही साल्भीलाई पटक्कै चित्त बुझेको थिएन । प्रेममा पवित्रताको नाममा एन्ड्रीले बालक छँदा बर्नान्डलाई गरेको चुम्बनको कुरासमेत सुनाएर पास्कलको प्रेमप्रति इमानदार हुने एन्ड्रीको तरिका साल्भीलाई मन परेको थिएन । 

एन्ड्रीकी आमाले छोरीमाथि थोपरेका बन्देजले कुण्ठित बनेको भावना अन्ततः प्रत्युत्पादक सिद्ध हुन्छ । मानसिक कुण्ठा रोगका रूपमा देखाप¥यो । २२ वर्ष पुग्नुअघि नै उनको निधन भयो । रोगले च्यापेको बखत एन्ड्री बेहोसीमै कराउँथिन्, “मलाई पास्कल, साल्भी, भ्वाइलिन र केही स्याम्पियन देऊ ।” यसबाट उनको निधन मानसिक कुण्ठाको परिणाम भएको संकेत गर्छ । 

उपन्यासमा एन्ड्रीको प्रवेश निकै आकर्षक पात्रका रूपमा भएको छ । तर, अन्त्य भने ज्यादै हृदयविदारक तरिकाबाट भयो । एन्ड्रीले भोगेको यो समयको साक्षी थिइन्–साल्भी । निकट मित्र हुनुको नाताले साल्भीलाई एन्ड्रीले आफ्नो मनोभावनाको भित्री तह परख गराएकी थिइन् । त्यसकारण साल्भी एन्ड्रीको यो यात्राको पर्यवेक्षक मात्र होइन, आफैँ संलग्न साक्षी थिइन् । कम्तीमा सिल्भी प्रस्ट थिइन्– एन्ड्री कुनै रोगका कारण मरेकी थिइनन् । बरु मर्यादा, संस्कार, अनुशासनको नाममा लगाइएका रोकावट र निषेधले उनलाई मृत्युशैय्यामा पुर्‍याएको थियो । एन्ड्री तत्कालीन संकुचित युरोपेली समाजले घाइते बनाएकी पात्र थिइन् । त्यो समाजले विशेषतः छोरी मान्छेका भावनालाई खेल्न निषेध गर्दा धेरै एन्ड्रीहरूले कुण्ठित मृत्यु मर्नुपरेको हुनुपर्छ । 

एन्ड्री र सिल्भी पढेलेखेका युवतीहरू थिए । उनीहरू उतिबेलाका महिलाले सामान्यतः कुराकानी नगर्ने विषय गरिबी, न्याय जस्ता विषयमा आपसमा विचार विमर्श गर्थे । त्यसको अर्थ उनीहरू आफ्नो विषयमा पनि चिन्तन गर्न सक्ने महिला थिए । तर, उनीहरू महिला भएकै कारण धेरै कुरामा ‘अनुशासन’ लादिँदा जीवन्तता गुमाउँदै गएको आफ्नो अनुभव बुअरले उपन्यासमा लेखेकी छिन् । उनीहरूलाई जब मर्यादा र अनुशासनको नाममा कुण्ठित गर्न खोजिन्छ भने त्यसले प्रतिकूल परिणाम निम्त्याउँछ नै ।

युरोपेली समाजले बीसौँ शताब्दीको आरम्भमा भोगेका धेरै सामाजिक रोग आज नेपाली समाजमा हामी भोगिरहेका छौँ । एन्ड्रीले परिवार र समाजमा भोगेको परिवेश आजभोलि कलेज जाने नेपाली किशोरीहरूले भोगिरहेको देखिन्छ । पितृसत्ताको गहिरो जराले शिक्षित र कामकाजी भएर पनि महिलालाई विभेदको कोपभाजन बन्नबाट रोकेको छैन । 

बुअरको प्रतिनिधित्व गर्ने साल्भी भने उपन्यासमा विद्रोही र आशालाग्दो पात्रको रूपमा प्रस्तुत गरिएको छ । समयान्तरमा उनै सिल्भी सिमोन बुअर बनिन् र महिलावादका प्रवर्तक । 

१३५ पृष्ठको उपन्यासमा फ्रान्सेली मध्य वर्गको भौतिक तथा मनोवैज्ञानिक चित्रण छ । सिमोन डी बुअरलाई बाक्लो ‘द सेकेन्ड सेक्स’ मात्र देखेका पाठकलाई यो लघु कायाको उपन्यासमा पढ्दा नौलो त लाग्ने नै भयो ।

सुत सुत

कवि जहिलेजसो कुनै न कुनै कविता लेख्ने गर्थे । अचानक उनको दिमागमा एक दिन एउटा कथा फुर्यो । त्यो कथालाई...

रूपान्तरण

इकागज | असोज ८, २०७९

आगोमा रूपान्तरित भएपछि आफूतिर जम्मै पानी बगेर वेगमा आइरहेको देख्थेँ पानीमा रूपान्तरित भएपछि आफूब...