सप्ताहन्त

कवि रमेश क्षितिजका कविता

नवीन शर्मा | पुस ३०, २०७९

नेपाली कविताको शिल्पकारका रूपमा स्थापित नाम हो– रमेश क्षितिज । उनी लामो समयदेखि कविता कर्म गर्दै आइरहेका छन् । विशेषतः उनको जीवनको आफ्नै छुट्टै परिचय पनि छ । त्यसलाई अहिले कोट्याउनु आवश्यक लागेन तर पनि उनै कवि र कवित्वमा उनको फरक परिचयले पनि अहं भूमिका खेल्दै आएको छ । खेलेको छ पनि ।

समयको विविध कालखण्डमा कवि क्षितिज आफ्नो भूगोलभन्दा पर, यहाँबाट देखिने क्षितिजसम्म पनि पुगे । त्यहाँबाट कविता टिपेर ल्याउन सफल भए । नेपाली कविताको शिरलाई ठाडो बनाउन सफल देखिन्छन् । कविताको गरिमालाई जोगाउन अहं भूमिका खेलेको देखिन्छ । विदेशमा पुगेर पनि नेपाली कविताप्रति चिन्ता र चासो राख्दै कविता कर्म गरिरहेका कवि बेला बेला भन्छन्, ‘कविताको कुनै तुलना हँुदैन । कुनै मापन हुँदैन । मूल्य हुँदैन । जसले पाठकको हृदयको तार छोएर जानुपर्छ र झंकार दिइरहन सक्नुपर्छ ।’

कवि क्षितिज कविता संग्रह (घर फर्किरहेको मानिस) को भूमिका अर्थात् पहिलो शीर्षक पहिलो प्रेम र प्रिय कविताको आत्मकथामा लेख्छन् : कहिलेकाहीँ आफैँलाई सोधी हेर्छु- किन लेख्छु म कविता ?

अथवा, जीवनमा के अर्थ छ कविताको ?
अझ कहिलेकाहीँ, कसका लागि लेखिरहेछु म कविता ?

यसरी आफैँलाई प्रश्न गर्न सक्ने हिम्मत बटुल्छन् फेरि कविताको मूल बाटोतिरै फर्किन्छन् र कविता लेख्छन् । कवि भन्छन्– कविता कहिलेकाहीँ शब्दहरू बीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिह्न, विस्मयादिबोधकमा पनि हुन्छ ।

कवि क्षितिजले विदेशी माटोमा मौलिक विम्ब फलाए र टपक्क टिएर यतै ल्याए अनि कविताको शृङ्खलामा उनेर कविता बनाए । उनले बाँचेका जीवन, भोगाइ, अनुभव र भ्रमणलाई कविताको लाममा ल्याएर उभ्याए– शक्तिशाली स्वरूपमा ।
 

कहिलेकाहीँ यस्तो लाग्छ, कवि क्षितिजबाहेक जो कोहीले लेखेको भए यात्रा संस्मरण लेख्थ्यो होला तर यसरी कविताका रूपमा जीवन्त बनाए र नेपाली कवितामा विदेशी माटोको सुगन्धले भरे ।

उनै कविको कविता संग्रह घर फर्किरहेको मानिसमा संगृहीत विदेशी सुगन्धको प्राण भरिएका कविताबारे तल चर्चा गर्छु । पेज नं २९ (साँझमा समुद्र) ः यस कवितामा कविले समुन्द्रिक सुन्दर विम्बहरूलाई स्मृतिको पक्की राजमार्ग हुँदै यो भू–परिवेष्ठित सिमानासम्म ल्याउन सफल देखिन्छन् । तालबाट माछा मारेर माझीले तारको सुइरोमा माछा उनेर ल्याए जस्तो मिठास विम्बलाई काव्यिक शैलीमा उनेर ल्याउन सफल छन् । प्रेमको उच्चतामा समुद्रको छाल र गितारको धुनलाई एकै ठाउँमा मिसाएर एउटा चित्रात्मक विम्बसहितको प्रेमले परदेशी भूमि र आफ्नो माटोलाई जोड्ने सेतुका रूपमा प्रस्तुत गरेका छन् ।

पेज नं ३६ (टोकियोमा एक दिन) : २००३ नोभेम्बरमा कवि जापान पुगेका बेला उनले त्यहाँ बिताएका हप्ता दिन मध्य फर्किनुको अघिल्लो दिन जुन पीडा, छटपटी अनुभूत गरेका थिए ती सम्पूर्ण कुरालाई कवितामा सुन्दर तवरले प्रस्तुत गरेका छन् । यस कवितामा कविले सरल, भावात्मक र स्वार्थहीन आत्मीयताका हरफहरू, प्रेमगीतहरू र त्यहाँका सम्झनाका कयौँ रंगीचंगी उडानहरू, अवतरणहरू भरेका छन् । अक्षरका छिनाले कुँदेर आकर्षक दृश्य अर्थात् विश्व मानवताको सूत्रपात कवितामा परेका छन् । आत्मीयताका प्रमाणित हुन बाँकी थुप्रै साध्यहरू कोरेका छन् । सहज रूपले विश्वव्यापी विम्बहरू टपक्क टिपेर सजाउन सफल देखिन्छन् ।

पेज नं ५१ (ट्रान्जिट) : प्रेमको समर्पण र सन्तुलनलाई ट्रान्जिटको हरेक स्ट्यान्जामा सजिलै समातेर यस कविताबाट सुरक्षित अवतरण लिन सकिन्छ । बनाउँदै मानसपटलमा एउटा सिङ्गो चित्र र कल्पिन सकिन्छ प्रेमको एउटा समय । प्रेम यस्तो टाइम अफ इन्टरवलमा हुन्छ जुन नानो सेकेन्ड जस्तो पनि हुन सक्छ । प्रेमलाई भूगोल, भाषा, पहिरन र संस्कृतिले पर्खाल लगाउन सक्दैन बरु सफल हुन साहस पैदा गर्छ । जीवनको अन्तिम क्षणसम्म प्रेम साँच्चिकै प्रेम भएर रहन्छ । समय र दुरीले यसको महत्व घटाउँदैन अझ गहिरो र निर्मल बनाउँछ ।

पेज नं ५९ (जहाजमा उडिरहँदा) : जीवनका अनेक कालखण्डका भोगाइलाई देखाउन त्यो पनि यति ओजपूर्ण कला र शिल्पका माध्यमबाट कवि परदेशी आकाश र भूमिमा पनि घरभित्रका विम्बहरू उनेर स्मृतिको सुन्दर माला बनाउन माहिर देखिएका छन् । एउटा सामान्य जीवनले नभेट्ने भूगोलका असामान्य विषयवस्तुलाई मिठासपूर्ण विषयान्तर गर्दै फरक भोगोलका फरक अनुभूति र ऋतुलाई एउटै धागोमा उनेका छन् । जीवनमा कर्मको गतिशीलता र लगनशीलताबाट उद्देश्य प्राप्तिको बाटो सहज हुन्छ भन्ने प्रमाणित गर्न कवि सफल देखिन्छन् ।

पेज नं ७७ (बर्लिनमा साँझ) : २००९ नोभेम्बरमा भ्रमणका क्रममा जर्मनी पुगेका कवि क्षितिज बर्लिनलाई कवितामा उचालेर देश भित्र्याए । त्यो अवसर र सम्भावनाको सहरबाट सम्पूर्ण मानिसका अझ भनौँ होमो सेपियन्सका सपना, मेहनत र सफलता/असफलता आदि सबैलाई एउटै पंक्तिमा राखेर कविताको एउटा स्केच गरेको पाइन्छ । विश्व घटनाको उदेकलाग्दो अवस्था, दोस्रो विश्वयुद्धबाट जीर्ण त्यहाँको धार्मिक, सांस्कृतिक अवस्था र फेरि तंग्रिँदै आएको बर्लिनलाई कविताको माध्यमबाट विकासको एक पाइला उठाउन सफल भएको अनुभूत गर्न सकिन्छ । विश्वको सबैभन्दा ठूलो धर्म मानवताभन्दा अर्को छैन भन्ने दाबीका साथ कवि यो कविताको सेकेन्ड लास्ट स्ट्यान्जामा लेख्छन् :

तर बिउँझेर सबै झुम्मिन्छन् अचानक चोट लागेकी 
बंगाली केटीको वरिपरि रातमा
र गर्न थाल्छन् आफ्नै भाषामा– मौन प्रार्थना

जुन भाषा, धर्म र सम्प्रदाय भए पनि एउटै जात मानव र एउटै धर्म मनवतालाई यस कविताको ताज बनाएर सिउरिएका छन् । पेज नं ८६ (नर्वेमाथिको आकाश) : सृष्टिका सुन्दर विम्बहरू शब्दको ऊनलाई कलमको कुरुसले उनेर आफ्नै पहिचानको मफलर बनाएर सानका साथ पहिरिन कविलाई यी कविताले छुट दिएको छ ।

सपनाको अग्लो उचाइमा रहेर पनि आफ्नै भूगोलको सम्मान र समर्पणको मिठासपूर्ण अभिव्यक्तिले यो कवितामा शृंगार गरेको छ । कविले प्रकृतिका हरेक विम्बलाई कविताको क्यानभास चिटिक्क देखिने गरी पेन्टिङ गरेका छन् । जसले एउटा कविको कवित्वलाई धर्मराउन कदापि दिँदैन । 

अन्ततः यसरी नेपाली कविताले आफ्नो मौलिकता त्याग्दै गरेको समयमा कवि क्षितिज नेपाली कवितामा परदेशी सुगन्ध राखेर मौलिकता दिन सफल भएको देखिन्छ । उनले जसरी सुगन्ध टिपेर ल्याए त्यसरी नै कविताको धर्मलाई जीवित राखेँ, कला पक्षलाई मजबुत बनाए । कवि क्षितिज नेपाली कवितामा एउटा जबर्जस्त हस्ताक्षर हुन भन्ने कुरा उनका विदेशी सुगन्धमा लेखिएका कविताहरूलाई साक्षीका रूपमा लिन सकिन्छ ।

 सायद कवि क्षितिजबाहेक जो कोहीले पनि यात्रा संस्मरण लेखेर बस्थ्यो होला भन्ने लागेको छ । तर उनले कविताको रूपमा पस्किए र आफ्ना हस्ताक्षर नेपाली कवितालाई सफल रूपमा हस्तान्तरण गर्न सफल भएको देखिन्छ । कवि क्षितिज आजको समयमा नेपाली कविताको क्याल्कुलेटरमा माइनस प्लस नहुने कविका रूपमा आफ्नो उपस्थिति देखाउन सफल र सक्षम देखिन्छन् ।

हल

विमल आचार्य | पुस २३, २०७९

२०७९ पुस २०, बुधबार । बिहान ९ बजे एक जोडी घरबाहिर निस्किन्छन् । सानो छोरोलाई स्कुटरको बीचमा राख्छन् । स्...

अलिकति टाढा

चे शंकर | पुस १६, २०७९

प्रायः आफूलाई प्रश्न गर्ने गर्छु, मलाई किन टाढा जान मन लागेको होला ? त्यसमाथि पनि आफूलाई भुलेर । हिमाली...

चोभार गन्थन

विमल सिटौला | पुस ३, २०७९

साँझ हुनुभन्दा केही घण्टा अगाडिको समय । दिन उतरार्धतिर ढल्किएको थियो । आन्तरिक पर्यटकको चहलपह...