जीवन चक्र

‘वान डे, आइ विल फ्लाइ अवे !’

लिलाराज खतिवडा | भदौ २३, २०७८

दाहिने हातको एउटा ट्याटुमा कुँदिएको अंग्रेजी स्लोगान देखाउँदै उनले मुस्कानसहित भने, ‘वान डे, आइ विल फ्लाइ अवे ! अर्थात् एक दिन म उडेर जानेछु !’

‘कुन विमानमा ?’ मैले मजाक गर्दै सोधेँ ।

‘मृत्युविमान !’ उनले बोल्ड आवाजमा भने । 

म हाँसेँ । केही बोलिनँ ।

०००००

लिपपोत सकेर उनले धूना तेज गरे । स्यानो कुटीमा धुवाँ भरियो । 
‘म धुवाँमा बस्न रुचाउँछु । आँखा पीरो भए झ्यालतिर बस्नुस् !’ उनले भने ।

म जवाफिएँ, ‘धुवाँमा बस्न मलाई पनि मन पर्छ । आँखा, फोक्सो, श्वासनली र नाकको एकसाथ स्नान गर्ने अवसर धुवाँमा बस्दा प्राप्त हुन्छ ।’

‘तर कतिपय मान्छेहरू धुवाँमा बस्नुलाई हानिकारक ठान्छन् ।’ उनले जनाए ।

‘आधुनिक मानिसहरू ब्रोइलर कुखुरा हुन् । के कुरा गर्नु ?’ म जोशिएँ, ‘तर मलाई के स्पष्ट ज्ञात छ भने, धुवाँ लागेको काठ अग्राखभन्दा बलियो हुन्छ ।’
उनी हाँसे । 

म चुप लागेँ । 

आजकल म कम बडबड गर्ने गर्छु । मेरो रियाज विश्राममा छ । त्यसैले एकान्त बढी रोज्छु । अनि घण्टौँ बस्छु, चुपचाप ! तर उचित पात्र भेटे लेख लेख्नाका खातिर पनि ऊसँग गफमा बत्तिन्छु वा मौन रहेर उसलाई पढ्ने यत्न गर्दछु । 

केही दिनदेखि लगातार म उनीसँग छु । पशुपति मन्दिरछेवैको पहरामा उनको कुटी छ । बासुकी गुफा भनेर यसलाई जानिन्छ । कुटीमा मिलाएर हार्मोनियम, तबला र मादलहरू राखिएको छ । केही पुस्तक पनि छन् । डायरीहरू छन् । कुटीको मध्यमा वरिपरि फूलहरू सजाइएको एउटा स्यानो र चिटिक्क लिपपोत गरिएको धूनी छ । केही दाउरा हुर्हुरी बल्न खोजिरहेका छन् । धुवाँले त्यहाँ राज गरिरहेको छ । 

कुटीमा बागमती बगेको संगीत प्रस्ट सुनिन्छ । झ्यालबाट बागमतीको बहाव लगायत पवित्र पाशुपत क्षेत्रका कतिपय मनोरम दृश्यको रसास्वादन गर्न सकिन्छ । बाँदर, कुकुर, साँढेका अलावा मान्छेहरूको भीड यहाँका विशेषता हुन् । अलिक पर लासहरू जलिरहेका छन् । लासछेउमा मलामीहरूको शोक बयान गर्न खोजेर साध्य छैन । आखिर किन मानवले मृत्युलाई आत्मसात् गर्न सकेन ? किन ऊ जन्ममाथि उत्सव मनाउँछ र किन मृत्युमा शोक गर्छ ? आर्यघाटतिर बरालिँदा उठ्ने प्रश्न हुन् यी । 

उनीमाथि कथा लेख्न म यहाँ आएको हुँ । 

स्थान र पात्र मलाई जँचेका छन् । उनको के मन पर्यो भने, कथा लेख्ने कुरा गरे पनि उनले मलाई कुनै ‘इम्प्रेसन’ दिन खोजेनन् । उनी लगातार आफ्नै धूनमा लयबद्ध थिए ।

दुवै हातपाखुरामा रंगिन ट्याटु । बज्र, नेपालको झण्डा, सुदर्शन चक्र, पाँचपुच्छ्रे तारा, बुद्धका आँखा अंकित गरेर उनले आफ्ना पाखुरा रंग्याएका छन् । त्यहाँ केही स्लोगान पनि उनले खोपाएका छन् । 

टाउकामा जटा छन् । झलक्क हेर्दा उनी ‘खैरे’झैँ देखिन्छन् । तर कट्टर हिन्दु हुन् । युटुबमा अन्तर्वार्ता दिन्छन् । भ्युज पनि राम्रै छ । युट्युबमा बेलाबेला उनी अतिवादी लाग्छन् । मुलुकमा सनातन हिन्दु धर्म कायम हुनुपर्ने उनको जोडदार माग छ । नेपाल सनातन हिन्दु राष्ट्र हुनु गर्वको विषय हो भन्ने उनको मान्यता छ । उनी हाकाहाकी कुरा गर्छन् । निर्धक्क विचार पोख्छन् । घाटको पानी र अनेक मार खाँदाखाँदा उनी ‘टफ’ हुँदै गए । 

‘पशुपतिमा पर्यटक घुमाउँदाघुमाउँदै म जोगी हुनपुगेँ ।’ उनले मनको पेटारो फुकाए, ‘अनि बिस्तारै म यतै रम्न थालेँ ।’

‘बिश पशुपति’ भनेपछि यता उनलाई नचिन्ने विरलै होलान् । उनी पशुपति वरपर हुने हरेक रामायण भजनहरूमा तबला बजाइरहेका भेटिन्छन् । बेलाबेला तबला बजाउनका लागि भजन मण्डलीसँग झगडामा उत्रिरहेका पनि उनी भेटिन्छन् ।

आज म नवलपरासीमा २०३९ सालमा जन्मिएका यिनै बिशको कथा लेख्ने छु । कालो र सेतो, दुवैकथा । किनभने, उनी जिन्दगीको तावामा डढेको रोटी हुन् । आरोह छ । अवरोह छ । अथाह संघर्ष छ । तर पनि चेहरामा सदावहार मुस्कान खेलिरहन्छ । दुःखमा पनि हाँस्न सक्नु चानचुने खुबी होइन । यो खुबी बिशमा पनि छ । यस्तो लाग्छ, उनी खानलाउनका अभावले जोगी भएका होइनन् । उनी खानलाउनका लागि पनि जोगी भएका होइनन् । उनका अनुसार उनीभित्र एक गहन प्यास छ, धर्मको ।  

धूनामा केही आलु पोल्न हालेर उनी आफ्नो विगतको बहावमा फाल हाल्न ताम्सिए ।  

बुबाआमा दुवै अवकाशप्राप्त शिक्षक । उतै प्रगतिनगरमै हुनुहुन्छ । बुबा विष्णुप्रसाद पौडेल नेपाली विषय पढाउनुहुन्थ्यो भने आमा बिस्ना अर्याल गणित । उहाँहरू खेतीकिसानी पनि गर्नुहुन्थ्यो । अझै गर्नुहुन्छ । घरमा ट्याक्टर छ । आफूलाई चाहिने सागसब्जी र अनाज मनग्ये उत्पादन हुन्छ । तर बिशलाई त्यसको पर्वाह छैन । आजकल उनी दानमा आएकै भोजनले निर्वाह गर्छन् । बुबा ७० वर्षका हुनुहुन्छ । अझै कृषि कार्य गर्नुहुन्छ । आमा बिपश्यना साधना गर्ने गर्नुहुन्छ । बिश जोगी भएको बुबालाई चित्त नबुझे पनि आमाले बुझिदिनुभएको छ । आखिर ध्यानसाधनाले नै ब्यक्तिलाई द्विगो शान्ति प्रदान गर्दछ । र, खराब भोगेर असलतर्फ लाग्न प्रेरित पनि गर्दछ ।  

घरमा एक आदर्शका बीच उनी हुर्किए । पढ्नु पर्छ र केही गर्नुपर्छ भन्ने आदर्श । बुबा कट्टर कमनिस्ट भएकाले घरमा कडा अनुशासन पालना गर्नुपर्ने बाध्यता थियो । यसै बाध्यताले उनलाई एक स्वतन्त्र जीवनको खोजमा लाग्न प्रेरित गरेको हुनसक्छ । त्यसैले उनी फकीर भए र पशुपतिनाथ मन्दिर परिसरमा नै पूर्णकालिन समय बिताउन थाले । अनेक हण्डर तथा कुटाइ खाएर पनि र कैयौँ बेइज्जती खपेर पनि उनले पशुपतिनाथको मन्दिर छाडेनन् । लाग्छ, उनी अराजकताको पराकाष्ठा भोगेर हाल राजक जिन्दगीको उकालो चढ्ने अभ्यासमा जुटेका छन् ।  

उनी उज्यालिँदै सुनाउँछन्, ‘मेरो सर्वस्व नै पशुपति । म यहाँ समर्पित छु । अन्त गएर बस्नै सक्दिँन । कैयौँ बाधा र झैझमेलाका खेपे पनि यतै आनन्द लाग्छ ।’
मध्यरातमा कहिले उनी घाटमा ध्यानमग्न भेटिन्छन् । ख्याक र वीर्यमशानहरूसँग बात मारिरहेका पनि हुन्छन् ।
‘विश्वासको कुरा हो । आत्माहरू यहाँ यत्रतत्र भट्किने गर्छन् । कसैले थाहा पाउँछन् । कसैले पाउँदैनन् । कुरो त्यत्ति हो ।’ उनले सुनाए ।

कसले थाहा पाउँछ ? कसले थाहा पाउँदैन ?

उनको स्पष्टोक्ति, ‘तन्त्र साधकहरूले थाहा पाउँछन् । अघोरीहरूले थाहा पाउँछन् । खोजकर्ताहरूले थाहा पाउँछन् ।’

सब ऊर्जाको खेल हो, रे । हुनसक्छ । नखोजेसम्म सुन पनि पहरामै हुने गर्छ । अनि मोति हिलोमा । कुनै पनि रहस्य उजागर गर्नेहरू वा नयाँ आविष्कार गर्नेहरू धुरन्धर खोजकर्ता नै हुने गर्छन् । कमसेकम के खोज्दै छु भन्ने हेक्का रहे खोजेको वस्तु यहाँ प्राप्त हुनसक्छ । तर दुनियाँका अधिसंख्यक मानिसहरू खोजमा निस्किँदैनन् । खोजमा निस्किए पनि धेरैलाई आफू के खोज्दै छु भन्ने कुराको बोध हुँदैन । ‘ब्लर भिजन’ वा धुमिल दृष्टिले कहिल्यै लक्ष्यभेदन हुँदैन । लक्ष्यभेदनका लागि दृष्टि स्पष्ट हुनु जरुरी छ । तर बिश जे बोल्छन् वा साधना, तन्त्र र अघोरबारे जुन ‘प्यारानर्मल’ वा अलौकिक कुराहरू गर्छन् के त्यो उनी ‘डिजर्भ’ गर्छन् ? 

आखिर व्यक्ति त्यही बन्छ जो ऊ सोच्छ वा बोल्छ । यस सिद्धान्त अनुसार बिशका कतिपय ‘प्यारानर्मल’ वा अलौकिक कुराहरू कालान्तरमा उनीमाथि फलित पनि हुनसक्छन् । आखिर पागल र तान्त्रिकका बीचमा निकै नै पारदर्शी पर्खाल जो हुने गर्छ । तथास्तु !

देवचुली, नवलपरासीको जनज्योति माध्यमिक विद्यालयबाट २०५८ सालमा एसएलसी गरेपछि उनी आइए पढ्न काठमाडौँको आरआर कलेजमा दाखिला भए । मेजर अंग्रेजी लिएर कलेज पढ्दै गरेका उनले दोस्रो वर्ष ‘होलिडे नेपाल इन’मा काम पाए । यसअनतर्गत उनले विदेशी पर्यटकलाई एयरपोर्टमा स्वागत गर्ने, होटलमा लैजाने, उनीहरूका विविध प्रवन्ध मिलाउने कामहरू सिक्दै गए । पछि उनले हायात होटलको ट्राभल डेस्कमा काम गर्ने मौका पाए । पाँच वर्ष हायातमा काम गर्ने सिलसिलामा उनले रविभवनको ‘नेपाल एकाडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट इन्स्टिच्युट’बाट पर्यटक पथप्रदर्शक तालिम पनि लिए । पर्यटकहरूलाई घुमाउने चक्करमा उनी लागूऔषधको चपेटामा पनि परे । पश्चिमा पर्यटकहरूको संगतमा उनले स्म्याक, कोकिन जस्ता कडा लागूपदार्थहरूको पनि निकै दुरुपयोग गरे । रक्सी र चरेस त सामान्य भइगए । आजकल उनी गाँजामा नै सिमित छन् । भन्छन्, ‘औषधिका रूपमा र पुरानो आदत नबल्झियोस् भनेर गाँजा तान्छु । यसले मलाई शान्त बनाउँछ ।’   

हायात होटलको माओवादी कर्मचारी संगठनलाई सरसहयोग नगरेको आरोप लागेर अनेक विवादमा परेपछि उनले जागिर छाडे । उनी चितवन फर्किए र कालिका एफएममा बोल्न थाले । 

उनी ६ दिनमा १३ वटा प्रोग्राम चलाउँथे । फोनइन, पपगीत तथा प्रेम सम्बन्धि र एउटा अंग्रेजीमा समेत उनले कार्यक्रम चलाए । ‘रेडियो जकी’का रूपमा उनी चर्चीत पनि भएका थिए । एककिसिमको बेग्लै रमाइलो हुन्थ्यो ।

एक वर्ष उनले एंकरिङ गरे । अनि काठमाण्डौ नै फर्किए । ट्रेकिङको काममा लागे । अन्नपूर्ण, लांगटांग र गोसाइँकुण्ड उनी पटकपटक गए । विदेशीहरूबाट उनले धेरै कुरा सिके । विदेशीहरूलाई पनि धेरै कुरा सिकाए । ट्रेकिंगबाट फुर्सद मिल्नासाथ उनी पशुपति पुग्थे । आर्यघाट मास्तिरको भष्मेस्वर नै उनको प्रिय स्थान रह्यो । जहाँ अनेक पर्यटक, जोगी, फकीर, भिखारी र भैरवहरूसँग उनले अपार समय व्यतीत गरेका छन् । 

यसैबीच शिबजीसँग उनको साइनो सघन हुँदै गयो । अनि उनले जिन्दगीका केही निर्णयहरू लिँदै गए । विवाह गरिनहाल्ने र जोगी बन्ने उनले निर्णय लिए । पगलानाथ बाबा र डा. त्यागीनाथ अघोरीसँग उनले गुरुमन्त्र लिए र अघोर संप्रदाय अनुसार श्मशान घाटमा नित्य पूजापाठ गर्न थाले ।

भैरव, महाकाली र भष्मेस्वरको पूजा गरेर चीतापूजा गर्न उनी ताम्सिए । मन्त्रहरू पढे । मध्यरातमा मशानपूजा पनि गरे । अघोरीहरूसँग उनको घनिष्ठ सम्बन्ध छ । उनले नित्य गर्ने साधना पनि अघोर नै हो । कमनिस्ट बाबुका यी अघोरी छोरा भन्दै थिए, ‘मन्त्रशक्ति नै अन्तिम शक्ति हो । यसले सपार्छ र बिगार्छ पनि ।’
सायद मन्त्र गलत ठाउँमा परेर हुनसक्छ, पोहोर पशुपति विकास कोषले उनलाई सार्वजनिक मुद्दा लगाएर २४ दिन थुनामा राख्यो । 

किन त ?

उनले आफ्नो बचाउ यसरी गरे, ‘पशुपतिको टिकट काउन्टरमा हुने भ्रष्टाचारको मैले विरोध गरेँ । त्यहाँ विदेशीलाई पुराना टिकट बेचिन्थ्यो । धनीमानीहरूलाई चोरीढोकाबाट पशुपति दर्शन गराएकामा मैले दोस्रो प्रमुख भट्टलाई मुख पनि छाडेँ । टिकट काउन्टरमा एक सिजनमा चार करोड रुपैँया भन्दा बढी भ्रष्टाचार हुने गथ्र्यो । विदेशीहरूबाट पनि अत्यधिक कम्प्लेन आउन थाले । भ्रष्टाचारको विरोध गर्दा म कार्वाहीमा परेँ ।’

यसैमा उनले बुद्धको एउटा किस्सा पनि सुनाउन भ्याए । बुद्धलाई पनि कसैले गाली दिएको थियो । तर बुद्धले उसलाई पुलिस लगाएर कारबाही गरेनन् । बरु अपार करुणा वर्षाएर जागृत्तिको आशीर्वाद दिएका थिए । त्यही बुद्ध जन्मिएको देशको प्रमुख हिन्दु मन्दिरका भट्टले बिशको एउटा गाली पचाउन सकेनन् । उनी ठाडै भन्छन्, ‘भट्टहरू ढोँगी मात्रै छैनन्, भ्रष्टाचारी पनि छन् र यिनलाई डाँडा कटाएर नेपाली भट्ट राखे गलत हुँदैन ।’  

बिश बेलाबेला नशा गरेर रातिराति कराउँदै हिँड्थे । रीस उठेकाहरूलाई तथानाम भन्दै हिँड्थे । यसबारेमा उनको स्पष्टीकरण छ, ‘यसै समाजका बेथितिहरूले गाँजेर म बेलाबेला पागल हुन्छु । कहाली लागेर आउँछ । चिच्याउँचिच्याउँ लाग्छ । आफ्नै टाउको चिथोरौँ जस्तो पनि लाग्छ । कति दबाउने ? कति दबिने ?’
‘बिश झगडामा निकै उत्रिन्छ र ऊ सधँै अनेक मान्छेको कुटाइ मात्रै खान्छ भन्छन् नि ?’ उनलाई मेरो कडा प्रश्न ।

उनको जवाफ, ‘सत्यको पक्षमा बोल्ने र गलत कुराको विरोध गर्ने मान्छेलाई आपराधिक चरित्र भएकाहरूले लखेट्ने नै भए । पशुपतिमा मैले निकै कुटाइ खाएको छु । यो मेरो संघर्ष हो । अझै लड्छु । यहाँबाट भागेर कहीँ जान्न । म यहीँ बिग्रिएँ भनेँ, मैले यहाँ सप्रिन पनि पाउनु पर्छ ।’  

पशुपति परिसरमा उनलाई चिन्नेजान्नेहरू भन्छन्, ‘बिश जिद्दी, जण्ड र जब्बर छ । तर सही खानपान र नियमित ध्यानसाधना गर्ने हो भने ऊ सच्चा फकीर हो ।’               
पर्यटकहरूसँग घुम्ने बानी लागेर होला उनी बेलाबेला अझै पनि डाँडाकाँडा घुम्न निस्किन्छन् । केही दिनअघि उनी गोसाइँकुण्ड घुमेर आए । उनको प्रिय कुकुर पुन्टे पछि लाग्यो । उनले मनाही गरेनन् । पुन्टे पनि गोसाइँकुण्ड घुमेर आयो । काठमाडाँैबाट धुन्चेसम्म बसमा पुन्टेको दुई सय रुपैयाँ भाडा लाग्यो । 

बिशले सुनाए, ‘पुन्टे मसँग एकपटक दाङ्ग र दुइपटक नवलपरासी घुमेर आइसकेको छ । उपत्यकाका विभिन्न स्थानमा हुने रामायण भजनहरूमा समेत पुन्टे मेरो पछिपछि लागेर जाने गर्छ । विभिन्न भजन मण्डलीहरूका बीच पुन्टे फेमस पनि हुनपुगेको छ ।’ 

पुन्टे मासु भन्दा बिस्कुट, च्यूरा र चाउचाउ बढी मन पराउँछ । घाटमा जोगीहरूसँग संगत गरेर पुन्टे पनि साधु भएको छ । ऊ हृष्टपुष्ट छ र ज्यादा समय समाधिमै बस्न रुचाउँछ ।

बासुकी गुफा आउनुअघि उनी भष्मेस्वरमा बस्थे । भष्मेस्वरमा उनको धेरै लफडा भयो । यता सरेपछि सब ठिक भएको छ । बौद्धबाट एउटा नेपालको झण्डा ल्याएर उनले कुटीको श्रृंगमा फहर्याएका छन् । त्यो झण्डा देखेर मलाई केही याद आयो । मैले रणधिरसिंह थापा बडबडाएँ, ‘सक्छौ जागीर खाऊ । सक्तैनौ जागीर नखाऊ । झण्डामुनि बस । तर दरवारमा नपस !’

सुनेर बिश उत्साहित भए र जर्नेल थापाको उक्त घतलाग्दो भनाइ आफ्नो डायरीमा टिपे ।

बासुकी गुफा राणाकालमा निर्माण भएको बताइन्छ । बताइए अनुसार यो जुद्धशमशेरसँग सम्बन्धित छ । राणागुरु बासुकी महाराजले यहाँ तपस्या गरेका थिए । उनले आफ्नो मृत्युको मिति जीवित रहँदै तोकेका थिए । नभन्दै आफूले तोकेकै मितिमा उनले ध्यानमुद्रामा बसेर यही बासुकी गुफामा शरिर छाडेको बताइन्छ ।
‘लक्ष्य के हो त ?’

दाहिने हातको एउटा ट्याटुमा कुँदिएको अंग्रेजी स्लोगान देखाउँदै उनले मुस्कानसहित भने, ‘वान डे, आइ विल फ्लाइ अवे ! अर्थात् एक दिन म उडेर जानेछु !’
‘कुन विमानमा ?’ मैले मजाक गर्दै सोधेँ ।
‘मृत्युविमान !’ उनले बोल्ड आवाजमा भने । 
म हाँसेँ । केही बोलिनँ ।
उनले धूना तेज गरे । केहीबेरमा नै स्यानो कुटी धुवाँको कुइरिमण्डलले ढाकियो । बाहिर झमझम पानी परिरहेको थियो । पानी परेको र बागमती उर्लिएको आवाज मिसिएर एक नयाँ संगीतको उदय त्यहाँ भइरहेको थियो । 

स्वास्थ्य मन्त्रालयमा लक्ष्मण अर्यालका १४ महिना, चुनौतीका बाबजूद अब्बल देखिए

पुष्पराज आचार्य | साउन २३, २०७८

काठमाडौँ– कोभिड–१९ को सम्भावित तेश्रो लहरको आकलन हुँदै गर्दा सरकारले पर्याप्त तयारी गर्न सकेक…

शान्तराजको कर्मचारीकाल ‘शान्तिपूर्ण’ रह्यो त ? सिंहदरबार चिनाउने संवार्ता

इकागज | साउन ११, २०७८

पूर्वप्रशासकहरू दातृ निकाय वा परियोजनामा संलग्‍न हुनै नहुने धारणा राख्छन्, पूर्व अर्थसचिव डा. शान्तराज …