खाडी

रुग्ण मिर्गौलाले नेपाली श्रमिकको भविष्य उजाड

इकागज | पुस २५, २०७९

भक्तपुरको मिर्गौला प्रत्यारोपण केन्द्रमा रहेका बिरामीमध्ये एक तिहाइ चर्को गर्मीमा विदेशमा काम गर्ने युवाहरु छन् । जनकपुर अस्पतालकी हेड नर्स रानी झा आफ्नो व्यस्त समयमा मिर्गौला वार्ड वरिपरि घुम्दै धेरै जवान बिरामीहरूको सूची हामीलाई बताउँदै थिइन् । त्यहाँ, भित्तामा अडेस लिएर सुतिरहेका तिलककुमार शाह थिए, जो बिरामी हुनुभन्दा अघि सात वर्षसम्म खाडीमा निर्माण क्षेत्रमा काम गरेका थिए ।

रानी झाका अनुसार– नजिकैको अर्को ओछ्यानमा मोहन यादव थिए । जो मृत्यु हुनुभन्दा दुई हप्ता अगाडि कतारमा मजदुरी गरेर फर्किएका थिए ।
घरको छेउमा, कम्बलमुनि चुपचाप लडिरहेको अर्को विरामी थिए लजालु स्वभावका २८ वर्षीय सुरज थापा मगर । जो केही वर्ष अगाडि नेपालमा रहेको आफ्नो झुपडी छाडेर कुवेतको गगनचुम्बी भवनहरूमा झ्यालहरू जडान गर्न गएका थिए । उनी प्रायजसो १२० डिग्रीको गर्मीमा डोरीमा झुण्डिएर काम गरिरहेका हुन्थे ।

नर्स झा विरामीका नामहरुले भरिएको ठूलो नोटबुकमा बिरामीको नाम लेख्दैथिइन्; उनको अनुमानमा जनकपुरको प्रादेशिक अस्पतालका करिब २० प्रतिशत डायलासिसका लागि आएका बिरामीहरू विदेशमा काम गर्न जानुअघि स्वस्थ युवा थिए । “तिनीहरू किन बिरामी भई यहाँ फर्किए? “तातो वा गर्मी,” उनले भनिन् ।

हालका वर्षहरूमा, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका वैज्ञानिकहरूको समूहले चरम गर्मी र दीर्घकालीन मिर्गौला रोगको जोखिमको बीचमा आपसी सम्बन्ध रहेको बताउँदै त्यसबारे सचेत गराउँदै आएका छन् । तर, यसलाई सरोकारवालाहरुले बेवास्ता गर्दै आएका छन् ।
चर्को गर्मीले ठ्याक्कै कसरी मिर्गौला विगार्दछ र अंगहरुमा लगाइने सुक्ष्म ट्युबहरुले कसरी असर गर्दछ त्यो वादविवादको विषय हो । तर, अनुसन्धानकर्ता भन्दछन्– यी दुई बीच स्पष्ट सम्बन्ध छ ।

त्यो सम्बन्ध श्रीलंकाको धान खेतमा परिश्रम गर्ने कामदारहरू र मलेसिया, मध्य अमेरिकादेखि पर्सियन खाडीसम्मका वाफयुक्त कारखानाहरूमा काम गर्ने कामदारहरुको बीचमा गरिएको स्वास्थ्य परीक्षणमा देखिएको छ । विश्वमा जलवायु परिवर्तनले बारम्बार चरम तातो लहरहरू ल्याइरहेको र गर्मी बढाउँदै जादाँ जनस्वास्थ्य विज्ञहरूले मजदुरहरुमा मिर्गौला रोगका केसहरू बढ्ने डर औंल्याएका छन् ।

“दीर्घकालीन मिर्गौला रोगको जुन महामारी देखा परेको छ त्यो सुरुवात मात्र हो,” कोलोराडो विश्वविद्यालयका मेडिसिनका प्रोफेसर रिचर्ड जोनसनले भने । उनी विश्वव्यापी रूपमा मिर्गौला रोगको बारेमा अध्ययन गरिरहेका छन् । उनी भन्दछन् – “जति–जति गर्मी बढ्दै जान्छ, यी रोगहरू अन्यत्र देखा पर्ने हामी अनुमान गर्न सक्छौँ ।”

गत अप्रिलमा अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीले जलवायु परिवर्तनको बारेमा एक चेतावनी दिदैँ भनेको छ– “सामाजिक आर्थिक, भौगोलिक, र जलवायु परिवर्तन जस्ता जोखिमरूले मिर्गौला रोगको घटना बढाउन सक्छ ।” मिर्गौला विशेषज्ञहरूको संघले शताब्दीको मध्यसम्ममा विश्वव्यापी सतहको तापक्रम २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढ्ने प्रक्षेपण गर्दै चिन्ता व्यक्त गरेको छ– विश्वव्यापी रुपमा गरिब व्यक्तिहरु जसले बढ्दो प्रतिकूल वातावरणमा काम गर्न पर्दछ उनीहरु मिर्गौलाको ठूलो जोखिममा पर्दैछन् ।

नेपालमा त्यस जोखिमको भविष्यको झलक देखापरेको अनुसन्धानकर्ताहरू बताउँछन् । नेपाल जस्तो सानो र गरिब राष्ट्र जसले १० मध्ये १ जनालाई प्रायः संसारको सबैभन्दा गर्मी मुलुकहरुमा काम गर्न पठाउँछ र त्यस ठाउँमा मिर्गौला रोगका विनाशकारी परिणामहरू प्रष्ट देख्न सकिन्छ ।
प्रतिव्यक्ति आयमा विश्वको १६३ औँ स्थानमा रहेको गरिबीले व्याप्त देशबाट विदेशमा श्रम गर्न जानु नै सबैभन्दा एकमात्र विकल्प मानिन्छ । तर, यसको बदालामा यो यात्राले निको नहुने रोगले अशक्त भएका ठूलो संख्याका विरामीहरुलाई फिर्ता पठाउँदैछ । यसले उनीहरूका परिवारहरूलाई बढ्दो लागत, ऋणको कुचक्र र सामाजिक हेपाइको सामना गर्न बाध्य तुल्याइरहेको मात्रै छैन हताश हुदैँ नयाँ मिर्गौलाको खोजीको लागि बाध्य बनाइरहेको पनि छ ।

२०२१ मा बोर्नेमाउथ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नेपालका नेफ्रोलोजिस्टहरूसँग एक सर्वेक्षण गर्दा उनीहरूले विदेशमा काम गर्ने पुरुषहरू मिर्गौला रोगको बढ्दो जोखिममा रहेको तथ्य देखे । नेपालका प्रख्यात सर्जन पुकारचन्द्र श्रेष्ठ यो कुरामा सहमत छन् । सन् २०१३ मा नेपालको पहिलो अंग प्रत्यारोपण केन्द्र खोल्दा श्रेष्ठले मधुमेहका वृद्ध बिरामीहरूका लागि मात्रै मिर्गौला प्रत्यारोपण गर्नपर्ने अपेक्षा गरेका थिए ।
तर, तीन सय विरामीको शल्यक्रियापछि श्रेष्ठले अप्रत्याशित कुरा देखेको बताए । उनका एक तिहाइ बिरामीहरू मधुमेह वा उच्च रक्तचापको इतिहास नभएका युवा व्यक्तिहरु थिए । तर, उनीहरुको मिर्गौला विग्रीएको, तिनीहरुको सामान्य आकारको मिर्गौला आधा संकुचित भएको र उनीहरुलाई प्रत्यारोपणको आवश्यकता रहेको देखिएको थियो ।

श्रेष्ठका अनुसार– विरामीहरु साउदी, मलेसिया, कतारबाट फर्केर आएको भन्थे । यो ठूलो संख्या थियो । “मलाई लाग्यो यहाँ केही गडबड छ” श्रेष्ठ सम्झनुहुन्छ ।

अर्को विकल्प छैन

शताब्दीयौंदेखि नेपालीहरू कामका लागि मातृभूमि छोडेर गएका छन् । उनीहरूले सिख साम्राज्यका लागि लडे, ब्रिटिश सेनाका लागि फकल्याण्ड टापुहरूमा तैनाथ भए र हङकङमा प्रहरीको रूपमा सेवा गरे । धेरैजसो छिमेकी मुलुक भारतमा गएका थिए ।
सन् १९८५ मा नेपाल सरकारले उपमहाद्वीप बाहिर वैदेशिक रोजगारीलाई नियमन गर्न थाल्यो र निजी श्रम भर्ती गर्ने उद्योग फस्टायो । बोलचालमा तिनीहरुलाई “म्यानपावर एजेन्सीहरू” भनिन्छ । ती एजेन्सीहरुले दक्षिणपूर्व एशिया र पर्सियन खाडीमा निर्माण, उत्पादन र कृषिमा काम गर्न पुरुषहरू पठाउँदै आएका छन् । विश्व बैंकका अनुसार २०२२ मा रेमिट्यान्सले नेपालको अर्थतन्त्रको २२ प्रतिशत हिस्सा ओगटेको थियो ।
नेपाली कामदारहरु तुलनात्मक रूपमा सस्ता छन्, कतारस्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा विज्ञापन गरेको छ – “नेपाली कामदारहरू जटिल हावापानीमा पनि काम गर्न अनुभवी छन् ।”

कुवेतमा झ्यालहरु जडान गर्ने काम गर्न सुरु गर्नु अघि, सुरज थापा मगर आफ्नो राहदानी बोकेर २०१८ को सुरुमा म्यानपावर कार्यालयमा लाइन लागेका थिए । मगरका अनुसार– धनुषा जिल्लाका मानिसहरु अरु जिल्लाका तुलनामा काम गर्नको लागि विदेश जान्थे, उनीहरुसँग अरु विकल्प थिएन ।

उनको गाउँ लखिनपुरमा ४० घरपरिवारमध्ये आधाले युवाहरुलाई पर्सियन खाडीमा काम गर्न पठाए । तर, खाडी मुलुक नगएकाहरुले घाँस काटेर र बालुवाका बोराहरू ओसारपसार गर्थे । उनीहरुको श्रमको मूल्य दिनको १ डलरभन्दा कम थियो । सुरजको परिवारले जिविकोपार्जको लागि धेरै भन्दा धेरै संघर्ष गरेको थियो । उनले सम्झना गरे– उनी ६ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो, उनलाई १४ वर्ष जेठी उनको एक मात्र दिदी पनमायाको भरमा छोडे । पनमायाका श्रीमानले दैनिक ५ डलर कमाउने मिस्त्रीको काम गरेर आठ जनाको परिवारलाई पाल्न सकेनन् । त्यसैले सुरज पनि विदेश जानु पर्यो ।

“कुनै पनि परिवारले आफ्ना छोराछोरीहरू चर्को गर्मीमा काम गर्नलाई पठाउन चाहँदैनन्,” उनले भने । “तर हामी आर्थिक संकटमा थियौं, त्यसैले सबैले मलाई विदेश जान आशीर्वाद दिए ।”

सुरजले घर छोड्नु अघि दिदी पनमायाले म्यानपावर एजेन्सीलाई तिर्न १ हजार डलर ऋण लिइन्, उनले भनिन् । उनले भाइलाई नयाँ जुत्ता र शर्ट पनि किनी दिइन् । “तिमी परिवारको एक्लो छोरो हौ,” उनले भाइलाई भनिन् । “काम सम्हाल्न नसके घर आऊ ।” पनमायाले सुरजलाई आफ्नो केही बचतबाट करिब २५ डलर नगद दिएर पनि पठाइन् ।

छ महिना पछि, सुरजले निर्माण साइटहरूको काम पाए । उनले कुवेतको मरुभूमिमा ठडिएका गगनचुम्बी भवनहरूमा एक टनको झ्यालका फ्रेमहरू जडान गर्नुपथ्र्याे । उक्त भवनको लिफ्ट सञ्चालनमा नआएकाले पानीको लागि कयौं तल्ला हिँड्नुपर्ने कुरा उनी सम्झन्छन् । तर कामको चापले गर्दा अधिकांश कामदारहरू एक घण्टाको ब्रेकको समयमा मात्र पानी खानको लागि भेला हुन्थे । धेरै दिनसम्म ब्रेक समाप्त हुनु अघि पानी समाप्त हुन्थ्यो । प्रायः सुरजले दिनभर केही पिउँदैनथ्यो ।

सुरजले पनमायालाई आफ्नो कमाइबाट महिनाको १५० डलर (करिब १९,८००) पठाउँथे, जसले गर्दा उनले लखिनपुरमो प्लास्टरको पर्खाल भएको घर बनाउन थालिन् । माटो र बाँसले बनेको दुईवटा झुपडीबाट स्तरोन्नति भएको थियो । उनले दिदी पनमायालाई ६० तला अग्लो भवनमा काम गर्दै गरेको आफ्नो तस्बिर पठाए र आफू काम गर्दा होशियार रहने आश्वासन दिए ।

सुरजले आफूलाई प्रत्येक खतराबाट बचाए तर भित्रभित्रै उनको मिर्गौला बिग्रीरहेको थियो । जनवरीको एक दिन, सुरज चक्कर लागेर ढले र उनलाई छाती र खुट्टामा पीडा भयो । जब उनले कुवेतको फरवानिया अस्पतालमा आफूलाई जाँच गराए, भारतीय डाक्टरले उनलाई एक नजर हेरे र तुरुन्तै उनलाई सघन हेरचाह इकाईमा पठाए ।

सुरजलाई गम्भीर रक्तअल्पता थियो र उनको पेटमा रगत जमेको थियो । केही समय नबित्दै, उनले होश गुमाए र उनको कुवेती मेडिकल रेकर्ड अनुसार आठ प्वाइन्ट रगत दिइयो । त्यतिबेलासम्म उनलाई अन्तिम चरणको मिर्गौला रोग लागिसकेको थाहा भयो ।

दोहोरो बोझ

चिकित्सा अनुसन्धानकर्ताहरूले लामो समयदेखि गर्मी र मिर्गौला बिग्रनु बीच सम्बन्ध भएको बताउँदै आएका छन् । जब शरीरमा अत्याधिक पानीको कमी हुन्छ, पिसाबमा क्याल्सियम र यूरिक एसिडले क्रिस्टल बनाउँछ जसले मिर्गौला बिगार्छ । जब शरिरको तापमान १०४ डिग्री भन्दा माथि बढ्छ, मस्तिष्क लगायतका अंगहरू पनि बिग्रन सक्छ ।

विगत एक दशकसम्म, चिकित्सकहरू पानीको कमी र गर्मीबाट हुने क्षतिले मिर्गौला फेल हुने सम्भावना कम हुने विश्वास गर्थे । त्यो दृष्टिकोण अब परिवर्तन हुँदैछ । अनुसन्धानकर्ताहरू भन्छन्, पानीको कमी भएको मुसामा गरिएको प्रयोग र खेतमा काम गर्ने कामदारहरूको स्वास्थ्यको अध्ययनले अरु कुराहरुको संकेत गरेको छ । वैज्ञानिकहरूले यो पनि अध्ययन गरिरहेका छन् – कीटनाशक, धुवाँ, खराब आहार र आनुवंशिकीले कामदारहरूमा मिर्गौला रोग सुरु हुन्छ कि गर्मी नै यसको मुख्य कारक तत्व हो ?

मिर्गौलाको कार्यमा क्षय हुने लक्षण नदेखाइकनै रोग लाग्नसक्ने हुनाले सुरज जस्ता कामदारहरू यो निको नहुने रोगको अन्तिम चरणमा नपुग्दासम्म रोगको बारेमा थाहै पाउँदैनन् । त्यस समयमा पुग्दा उनीहरूलाई बाँच्नको लागि पनि हप्तामा तीन पटक डायलासिस लगायत महँगो उपचारको जरुरत गरिसकेको हुन्छ । सामान्य जीवन पुनः प्राप्त गर्न तिनीहरूलाई नयाँ मिर्गौला नै चाहिन्छ ।

विश्वभर मिर्गौला रोग सम्बन्धी अनुसन्धानको समन्वय गर्ने वाशिंगटनको सार्वजनिक स्वास्थ्य समूहका ‘ला इस्ला’ नेटवर्कका प्रमुख जेसन ग्लेजरले गर्मीबाट हुने मिर्गौला रोग आगामी दशकहरूमा मानवसभ्यताको लागि दोहोरो बोझ हुने बताएका छन् ।

बिरामीलाई आफ्नो घरपरिवार र समाजबाट रोगका कारण निकाल्दा ती कामदार, तिनका परिवार र समुदायमा नकारात्मक असर पर्न सक्छ । आवश्यक स्वास्थ्य सेवा किन्न सक्ने कम क्षमता भएका समाजहरूले यो बोझ अझ बढी महसुस गर्छन्, उनी भन्दछन् ।
सन् २०१६ मा, नेपाल सरकारले निःशुल्क डायलासिस उपलब्ध गराउन थाल्यो । यसले बिरामीहरूको लागि महत्वपूर्ण बोझ हटायो । तर धेरै आप्रवासी कामदारहरूको उपचारको लागत अझै यो सुविधा उपलब्ध छैन ।

रातो कोशिकाहरू बढाउन एरिथ्रोपोइटिन, फलामको सप्लिमेन्ट र रगत ट्रान्सफ्युजनले प्रति महिना सयौं डलर खर्च गराउँछ जुन कामदारहरूले विदेशमा कमाउने भन्दा निकै बढी हुन्छ ।

अर्का बिरामी ४० वर्षीय बाबु तरुङले राष्ट्रिय मिर्गौला केन्द्रको छतमा एकोहोरो हुदँै यो सामान्य कथाको भिन्नता सुनाए । मलेसियाको सौना जस्तो गोदाममा अण्डाको कार्टुन बक्सहरू बनाउने कामबाट सन् २०२१ मा उनी विरामी परेर घर फर्किए । उनले आफ्नी आमाबाट मिर्गौला प्राप्त गर्न टिस्यु–मिलाउने परीक्षण र इम्युनोसप्रेसेन्ट औषधिहरूमा हजारौं डलर खर्च गरे । यो सबै रकम जुटाउन उनले पहाडमा रहेको आफ्नो पुर्खाको खेत बेचेका थिए ।

त्यसपछि सन् २०२० मा कोरोनाभाइरसका कारण लकडाउन भयो । यो लकडाउन खुल्दासम्म तरुङको अंग–मिलाउने परीक्षणको म्याद सकिएको थियो । उनी पहिले नै आर्थिक रुपमा टाट पल्टिसकेका थिए ।

तैपनि, तरुङले भने, उनीसँग मासिक औषधि बिलमा ५०० डलर (करिब ६६००० नेपाली रुपैयँ) तिर्न सहयोग गर्ने एउटा परिवार छ । उनले मिर्गौला फेल भएका कारण हड्डी कमजोर भएर भाँचिन सक्ने डाक्टरको चेतावनीलाई बेवास्ता गरेर डायलासिस नगरेका दिनमा निर्माणस्थलमा भुइँ जडान गर्ने काम गरिरहे । जब उनलाई कमजोर वा चक्कर लाग्छ, उनी ३० मिनेट आराम गर्दछन् र फेरि उठ्छन्, उनले भने – “नेपाली केटाहरूले जे पनि गर्न सक्छन्, पैसा कमाउनु संसारमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।”
निराशाजनक खोज

पैसा भएकाहरूका लागि पनि प्रत्यारोपण गर्न नयाँ मिर्गौला पाउने कुराको कहिल्यै ग्यारेन्टी गर्न सकिदैन ।
सन् १९९८ मा मिर्गौलाको कालोबजारी व्यापार बढ्दै गएकोले नेपालले नजिकका नातेदारहरू बीच मात्र मिर्गौला दान दिन सकिने कानुन पारित ग¥यो । आजकल, जब कामदारहरू बिग्रको मिर्गौला लिएर जब घर आउँछन्, यसपछि इच्छुक दाताको खोजीमा उनीहरुको यात्रा शुरु हुन्छ । धनुषा जिल्लाका नेफ्रोलोजिस्ट कृष्णकुमार साहले धेरै नेपालीहरू दान गर्न अनिच्छुक भएकाले बिरामीले मिर्गौलाका लागि आफ्ना दाजुभाइसँग याचना गर्ने र पैसाको लोभ देखाउने गरेको देखेको बताए ।

१६ वर्षसम्म कृष्ण खड्काले कतारको ग्यास प्लान्टमा पाइपलाइन वेल्ड गरेका कारण उनी परिवारमा नायक बनेका थिए । तर, उनी बिरामी भएर घर आएपछि उनको परिवारले उनलाई बेवास्ता गरेको उनकी श्रीमती संगीताले भनिन् । उनी आफु अस्वस्थताको कारण श्रीमानलाई मिर्गौला दान गर्न अयोग्य छिन् । “हामीसँग कोही बोल्दैनन् । मिर्गौला दान गर्ने बारे उनीहरू कुराकानी सुरु गर्न चाहँदैनन्”, संगीताले भनिन् । पछिल्लो समय परिवारमा एउटा अन्तिम संम्भावनाको बारेमा बहस भइरहेको संगीताले बताइन् । उनकी कान्छी छोरी १७ वर्षीया लक्ष्मीले वयस्क भएपछि मिर्गौला दान गर्ने इच्छा प्रकट गरिन् ।

काठमाडौंको सानो कोठामा ५१ वर्षीय कृष्णले आफ्नो दुविधाबारे सोच्दै टाउको हल्लाए । “म डायलासिस गर्न सक्छु र अझै १० वर्ष बाँच्न सक्छु,” उनले भने – “मेरो बच्चाको पूरा जीवन बाँकी छ ।”

सहर देखि केही माईल उत्तरमा पहाडको फेदको एक झुपडीमा, दुई जना युवाहरूले अर्को विकल्प वर्णन गरेः मिर्गौला किन्ने ।
उनीहरुको प्रेम नाम गरेका छिमेकी ट्याक्सी चालकले दुई जनालाई सम्पर्कमा ल्याएका थिए । प्रेमले खरिदकर्तालाई उनले राम्रो मूल्य पाएको आश्वासन दिए । उनले बिक्रेतालाई एउटा मिर्गौलाले राम्रोसँग काम गर्ने आश्वासन दिए । धुँवादार हुक्का बारमा, उनले वाशिंगटन पोस्टका रिपोर्टरलाई भने – केही दुर्गम गाउँहरूमा एउटा मिर्गौला ८०० डलर (नेपाली रुपैयाँ १ लाख ५ हजार) मा विक्रि भयो भने यहाँ उसले ७ लाख ९२ हजार नेपाली रुपैयाँमा मिलाउँदैथ्यो ।

दुबईमा निर्माणमा काम गरेर पैसा बचाई नेपालमा फर्की पसल चलाएर बसेका ३१ वर्षीय क्रेताले आफन्त देखाउनका लागि जाली कागजात बनाउन “कठीन तर असम्भव थिएन” भने । पीडादायी रूपमा अर्का २९ वर्षका विक्रेताले आफ्नो खेत पहिले नै धितोमा राखिएको बताए । उनलाई मुश्किलले खान पुग्दथ्यो र उनले आफ्नी चार महिनाको गर्भवती पत्नीलाई प्रसूति चिकित्सकलाई जँचाउन लग्न पनि सकेनन् । दुवै व्यक्तिले नाम नछाप्ने सर्तमा कुरा गरे । र, प्रेमले अवैध आदानप्रदानको बारेमा छलफल गर्दा आफ्नो थरको पहिचान पनि बताएनन् ।

बिक्रेतालाई पैसा चाहिने कारणहरू मध्येः उसले साउदी अरबमा कामका लागि म्यानपावरलाई तिर्न नेपाली रुपैयाँ ३ लाख ९६ हजार ऋण लिएको थियो तर छ महिना पछि उसले साउदी छोडेर फर्कियो । क्रेता जस्तै बिक्रेता पनि फर्कियो जहाँ उसले पनि श्रम शुरु गरेको थियो तर उ निकै निराश भएर फर्किएको थियो । “शारीरिक रूपमा, म कुनै हानि देख्दिन,” उनले भने । “म मेरो गाउँमा कसैलाई चिन्छु जसले पहिले नै यो गरिसकेको पनि छ ।”

संवेदनशील मुद्दा

नेपालमा, चिकित्सकहरू मिर्गौला रोगीहरु असामान्य दरले बढिरहेको देखेका छन् भन्ने कुरामा व्यापक रूपमा सहमत छन् । तिनीहरू सहमत छन् कि यसको प्रमुख कारण गर्मी हो । तैपनि, यो मुद्दा एक खुला गोप्य कुरा बनी रहेको छ ।

नेपालमा यो रोगको अध्ययन गरिरहेका जोन्स हप्किन्सका जनस्वास्थ्य अनुसन्धानकर्ता दिनेश न्यौपानेले भने, “यो संवेदनशील मुद्दा हो ।” उनी भन्छन् – यो रेमिट्यान्समा भर पर्ने देश हो र रोजगारदाता राष्ट्रहरूले नकारात्मक प्रतिक्रिया दिएमा धेरै नेपालीहरूले दुःख पाउने डर छ । तर प्रवासी कामदारहरूको लागि कसले बोल्ने ?”

श्रम मन्त्रालय भन्दछ– फर्केकाहरूले सामना गर्ने स्वास्थ्य समस्याहरूको बारेमा “सामान्यतया सचेत” छ । प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता थानेश्वर भुसालले मिर्गौला रोगबारे खासै सम्बोधन नगरे पनि सरकारले गर्मी वातावरणमा कामदारलाई पानी पिउन र स्वस्थ खाना खान आग्रह गर्न सचेतना अभियान सञ्चालन गरिरहेको बताए ।

पुरुषहरुलाई विदेश पठाउने बृहत् उद्योगले मिर्गौला रोगबारे थाहा नभएको बताएको छ । ८५९ बिचौलिया फर्महरुको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार संघका कार्यवाहक संयोजक प्रेम कटुवालले खुट्टा भाँचिएको र हात गुमाएका सुने तर मिर्गौलाको रोगबारे कहिल्यै नसुनेको बताए । हामीकहाँ एक हजार मध्ये एक वा दुई जनाको मृत्यु भएको छ उनले भने – “समग्र युवा पुस्ताले देशको जीडीपीमा योगदान दिइरहेको छ । तिनीहरू धेरै खुसी छन् ।”

मलेसिया, कतार र साउदी अरेबिया जस्ता शीर्ष तीन गन्तव्यमा प्रत्येक दिन करिब १,५०० नेपाली पुरुषहरू आफ्नो देश र घर छोडेर जाने क्रम जारी छ । बिरामी भएर फर्किएकामध्ये सुरजले आफूलाई तुलनात्मक रूपमा भाग्यमानी ठानेको बताए ।
कुवेतमा ब्युँझिएपछि डाक्टरले के भएको बताएपछि सुरजलाई पहिले डर लाग्यो, त्यसपछि लाज लाग्यो । उनले दिदी पनमायालाई आफ्नो शरीर अशक्त भएर असफल भएको र अब काम गर्न नसक्ने कुरा बताउन चाहेनन् ।

“बस घर आऊ,” दिदीले बिन्ती गरिन् । उनले वाचा गरिन् कि उनीहरू सबै मिलेर उसको रोगको सामना गर्नेछन् ।
तुरुन्तै पनमायाले मिर्गौला दान गर्ने बताइन् । उनी हप्तामा केही पटक सुरजलाई हस्पिटल लैजान्छिन् । प्रत्यारोपण र परीक्षणको लागि भुक्तानी गर्न तिनीहरूले सुरजको आधा–निर्मित घर बेच्नेछन् । तिनीहरू पनमायाको माटो र बाँसको झुपडीमा फर्किनेछन् र खुला आगोमा भुइँमा पकाउनेछन् ।
उनको बिहे गर्ने सपना अब खरानी भएको छ, आफ्नो आँगनमा पनमायाको छेउमा बसेर सुरजले स्वीकार गरे । तर, दिदी पनमयका छोराछोरीको हेरचाह भने उनी गर्दछन् । उनीहरु सँगै सहयोगको अपेक्षा गर्नेछन् र बाच्नेछन् ।

अब कुनै पनि दिन, तिनीहरू अंग–मिल्ने परीक्षणको अर्को चरणमा जानेछन् । त्यसपछि उनीहरु प्रत्यारोपणका लागि काठमाडौं जानेछन् ।
“म डराएकी छैन,” पनमायाले भनिन् । “किनभने ऊ बाँच्न सक्षम हुनेछ ।”उनले आँसु रोकिन् र भनिन्ः “उ काम गर्न सक्षम हुनेछन् ।”

प्रसिद्ध अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमा ६ जनावरी २०२३ मा प्रकाशित सो पत्रिकाका इन्डिया ब्यूरो चिफ गेरी शिको रिपोर्टमा आधारित ।-आइएनएस-स्वतन्त्र समाचार