योग-व्यायाम

थपडी बजाउनुस्, रोग निको पार्नुस्

डा. रामदेव पण्डित | साउन २, २०७९

ताली बजाउनु विश्वव्यापी रूपमै सहज मानवीय अभ्यास हो। भजन कीर्तनमा ताली बजाउनु धार्मिक संस्कार हो। हिन्दु, इसाई, इस्लाम, सिख, बौद्ध आदि सबै धर्ममा ताली बजाउने चलन रहेको पाइन्छ। भजन कीर्तनमा ताली बजाउनुलाई शुभ सूचक
मानिन्छ। सांगीतिक धुनको लागि पनि ताली बजाइन्छ। खुसी साझा गर्न एवं अरुलाई उत्साह वा शुभकामना दिँदा पनि ताली बजाउने अभ्यास हामी कहाँ छ।
ताली बजाउनु, हेर्दा सानो शारीरिक क्रिया जस्तो देखिन्छ। त्यसलाई धेरैले सचेत रूपमा अभ्यास गरेको हुँदैन।

केहीलाई ताली बजाउनु व्यर्थ जस्तो लाग्छ। अरुले गडगडाहट ताली बजाइ राख्दा पनि धेरै मान्छ हात जोडेर शान्त भएर बसेका हुन्छन्। त्यस्ता व्यक्तिलाई उत्साह हीन मान्न सकिन्छ। ताली बजाउनुको अर्थ वा फाइदा के त ? किन बजाउने ताली ? ताली बजाउनु व्यर्थ हो कि यसको वैज्ञानिक महत्व पनि हुन्छ ? यी महत्वपूर्ण प्रश्नहरू हुन्।

दुवै हत्केला एकआपसमा ठोक्नु सारमा ताली बजाउनु हो। क्ल्यापिङ थेरापीमा दुवै हात नचल्नेहरूलाई पनि एकहातले अर्को कुनै सफा नरम वस्तुमा ठोकेर पनि ताली बजाउन लगाइन्छ। ताली बजाउनुको अर्थ, विज्ञान र प्रभाव यहाँसम्म मात्र सीमित छैन।


जसै ताली पडकाइन्छ ती अकुप्रेसर विन्दुहरूमा दबाब पर्छ। त्यसपछि हत्केलामा हुने रिसेप्टर उत्तेजित हुनपुग्छन्। उत्तेजित रिसेप्टरले मष्तिस्कमा सन्देश पठाउँछ। यसरी मष्तिस्क सक्रिय बन्छ र रिसेप्टरको सक्रियताले अपेक्षा गरेको अनुसार क्रियाप्रतिक्रिया गर्दछ। साथै सबै बिन्दुमा दबाब पर्ने भएकाले ऊर्जा प्रवाह हुनुका साथै शरीरमा ताजापन महसुस हुन्छ। ताली बजाएमा बच्चाहरूको दिमागमा सकारात्मक असर पर्छ।


विश्वमा अहिले ताली चिकित्सा (क्ल्यापिङ थेरापी)को रूपमा अभ्यास हुन थालेको छ। ताली बजाइरहँदा शरीरमा ऊर्जा बढ्छ, मनको चिन्ता, तनाव, कुण्ठा हट्छ। ताली बजाउनु एक किसिमको सूक्ष्म व्यायाम नै मानिन्छ। एक सहज योगको रूपमा विश्वव्यापी रूपमा यसको अभ्यास भइरहेको छ। ताली बजाउनुको नकारात्मक असर अहिलेसम्म (साइड इफेक्ट) केही पनि देखिएको छैन।

ताली बजाइरहँदा वा बजाइ सकेपछि शरीरमा ऊर्जा र मनमा उत्साह एवं उमंगको सञ्चार भएको अनुभूति हुन्छ। ताली बजाउने क्रियाको सम्बन्ध भावनात्मक उत्साह, उमंग र खुसीसँग मात्र सीमित छैन। यसले स्वास्थ्यमा अनेक हिसाबले फाइदा गर्छ। ताली बजाउनुको सम्बन्ध भावनात्मक उत्साह, उमंग र खुसीसँग त छ नै यसले स्वास्थ्यमा अन्य व्यापक फाइदा पनि गर्दछ। ताली बजाउने क्रियालाई सामान्य रूपमा लिनु अज्ञानता हो। नियमित रूपमा ताली बजाउनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने विषय धेरै वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन्।

चिनियाँ अकुप्रेसर चिकित्सा पद्धति (रिफ्लेक्सोलोजी)का अनुसार मानव शरीरमा जम्मा ३४० वटा अकुप्रेसर बिन्दु हुन्छन् जसमध्ये हत्केलामा करीब २८ वटा अकुप्रेसर बिन्दु हुन्छन्। हरेक बिन्दुको सम्बन्ध शरीरको महत्त्वपूर्ण भित्री अंग जस्तै हृदय, कलेजो, प्याङ्क्रियाज, फोक्सो, मृगौला, आन्द्रा आदिसँग हुन्छ।

जसै ताली पडकाइन्छ ती अकुप्रेसर विन्दुहरूमा दबाब पर्छ। त्यसपछि हत्केलामा हुने रिसेप्टर उत्तेजित हुनपुग्छन्। उत्तेजित रिसेप्टरले मष्तिस्कमा सन्देश पठाउँछ। यसरी मष्तिस्क सक्रिय बन्छ र रिसेप्टरको सक्रियताले अपेक्षा गरेको अनुसार क्रियाप्रतिक्रिया गर्दछ। साथै सबै बिन्दुमा दबाब पर्ने भएकाले ऊर्जा प्रवाह हुनुका साथै शरीरमा ताजापन महसुस हुन्छ। ताली बजाएमा बच्चाहरूको दिमागमा सकारात्मक असर पर्छ।

स्वास्थको लागि ताली बजाउन चाहनेले समय र पस्थिति मिल्ने बित्तिकै बजाइ हाल्नुपर्छ। तर तालीलाई शारीरिक अभ्यासको रूपमा दैनिक अभ्यास गर्ने हो भने हावादार कुनै खुल्ला हरियाली स्थानमा बसेर वा उठेर बढीमा ३० मिनेट निरन्तर एकाग्रताका साथ ताली बजाउने अभ्यास गर्दा शरीरका प्राय: अंगहरू सक्रिय हुन्छन्।

मेरुदण्ड सिधा पारेर दुवै हत्केला र औँलाहरूलाई सिधा तन्काएर दुबै हातको हत्केला र सबै औँलाहरू एक आपसमा तलदेखि माथि टुप्पोसम्म खप्टिएर ठोक्किने गरी ताली बजाउनुपर्छ। सही तरिकाले नियमित ताली बजाउनु बढी प्रभावकारी हुन्छ। सचेत र व्यायामात्मक अभ्यासको रूपमा ताली बजाउँदा हत्केला र प्रत्येक औँलामा जोड पर्ने गरी ताली बजाउन जरुरी हुन्छ।

ताली बजाउन सुरु गर्नुअघि हात धुनुपर्छ। हात धोएर शक्ति र एकाग्रताका साथ लगातार निश्चित समयसम्म ताली बजाए मात्र अपेक्षित प्रभाव आउँछ। एक्लै भन्दा पनि समूहमा बसेर ताली बजाउँदा त्यसको प्रभाव बढी हुन्छ। ‘न्युरो रिह्याविलिटेसन्’ जर्नलमा मिन जी किम र समूहले सन् २०११ म प्रकाशित गरेको लेख अनुसार मस्तिष्कलाई उत्तेजित बनाउनका लागि ताली बजाउने अभ्यास एक महत्त्वपूर्ण विधि बताइएको छ।

यस विधिमा ताली बजाउने र नबजाउनेहरूको एमआरआईको तुलनात्मक अध्ययन गरिएको थियो। अत: बच्चाहरूको मस्तिष्कको समुचित वृद्धिका लागि बच्चाहरूलाई तालीको अभ्यास गराउनु राम्रो हुन्छ भनिएको छ। ताली बजाउनुमा अन्धविश्वास केही छैन। ताली बजाउनु आफ्नो स्वास्थको लागि फाइदा कारक त हुन्छ नै त्यस अतिरिक्त यसले अरुलाई पनि सकारात्मक ऊर्जा, उत्साह एवं खुसी दिन्छ। कसैको साथ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्ने माध्यम पनि हो ताली।

जर्नल अफ अकुपञ्चर एण्ड तुन्या साइन्समा काई क्विसेगं र समूहद्वारा सन् २००३ मा प्रकाशित शोध अनुसार ९८ जना लम्बर भर्टिब्रा हाईपरओस्टिजेनी (रीडको हड्डीमा अस्वभाविक वृद्धिको समस्या) बिरामीमा गरिएको अनुसन्धान अनुसार साधारण अक्युपञ्चर थेरापी भन्दा ताली बजाउनु प्रभावकारी देखिएको थियो।

ताली चिकित्साको प्रवर्धनमा कार्यरत ‘क्ल्याप फर हेल्थ’ नामक संस्थाले तालीको चिकित्सकीय प्रभावलाई बुँदागत रूपमा यसरी उल्लेख गरेको छ:
१) तालीले हृदय र फोक्सो सम्बन्धी समस्याहरू ठीक गर्न महत्वपूर्ण भूमिका खेल्दछ। जस्तै: आस्थमा
२) पिठ्युँको हड्डीको दुखाइ, घाँटीको दुखाइ तथा जोर्नीको दुखाइ हरण गर्दछ।
३) यसले गाउट (वातरक्त) रोगको हरण गर्दछ।
४) तालीले निम्म रक्तचाप भएका बिरामीलाई फाइदा गर्दछ।
५) पेट र पाचन सम्बन्धी समस्यामा प्रभावकारी हुन्छ।
६) तनाव घट्छ र मुडमा सुधार आउँछ। एकाग्रता र सतर्कता बढाउँछ।
७) मस्तिष्कलाई तीक्ष्ण बनाउँछ।
८) रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
९) दैनिक ताली बजाउनेलाई मधुमेह, जोर्नीको समस्या, उच्च रक्तचाप, डिप्रेसन, टाउको दुखाइ, रुघाखोकी, अनिन्द्रा, आँखा सम्बन्धी समस्या र कपाल झर्ने समस्यालाई फाइदा गर्छ।

एसियन जर्नल अफ जेरेन्टोलोजी एण्ड जेरेयाट्रिक्समा के के तुंग र समूहद्वारा सन् २०१७ मा प्रकाशित अनुसन्धानका अनुसार संस्थागत रूपमा भर्ना गरिएका बुढाबुढीमा तालीको अभ्यासले समग्र स्वास्थ्यमा सुधार आएको देखाएको थियो। ८ हप्तासम्म २० जनामा उक्त अनुसन्धान गरिएको थियो।
ताली हेर्दा सानो अभ्यास भए पनी यसको प्रभाव बहुआयामिक छ। यसको अभ्यास सहज योगात्मक व्यायामको रूपमा दैनिक अभ्यास गर्नुपर्दछ। ताली बजाउने हाम्रो परम्परागत संस्कार एवं संस्कृति वैज्ञानिक भएकोले निर्धक्क रूपमा ताली बजाउने अवसरहरूमा हामी दिल र दिमाग खुला राखेर समहभागी बन्नुपर्छ। गाली गरेर आफ्नो मुड बिगार्नु र अरुलाई रिस उठाउनु भन्दा ताली बजाएर आफ्नो मुड सुधार्ने र अरुको रिस शान्त गर्ने अभ्यासलाई जीवनमा प्रयोग गरौं।​ -आइएनएस-स्वतन्त्र समाचार