रोग र उपचार

शरीरमा अक्सिजन कसरी बढाउने ? यस्तो छ आयुर्वेदिक विधि

सुनीता साखकर्मी | बैशाख १५, २०७८

काठमाडौँ : कोभिड-१९ संक्रमितमा अक्सिजन मात्रामा एक्कासी कमी आउन सक्छ । यसरी अचानक अक्सिजन घट्नु खतरनाक पनि हुन सक्छ । कोभिड-१९ को दोस्रो लहरमा देखा परेको ‘डबल म्युटेन्ट कोरोना भेरियन्ट’ले संक्रमितहरूमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । 

अस्पतालमा बेड र अक्सिजनको कमीका कारण भारतमा थुप्रैले ज्यान गुमाएपछि नेपालमा पनि अक्सिजन अभावलाई लिएर चिन्ता बढ्न थालेको छ । उद्योगीहरूले नेपालमा अक्सिजन अभाव नभए पनि सिलिन्डरको अभाव रहेको बताइरहेका छन् । तर भयावह स्थिति आएमा अक्सिजन अभाव हुनसक्ने भन्दै नागरिकहरूमा चिन्ता बढेको छ । त्यसकारण अक्सिजनको अभाव कम गर्न परम्परागत घरेलु उपायहरू सामाजिक सञ्जालमा सेयर गर्दैछन् । 

रमा सिंहले मंगलबार बिहान फेसबुकमा एउटा फोटोसहित अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय सेयर गरिन् । उनको उपाय थियो- ‘मुलायम सुती कपडामा ३/४ टुक्रा कपूर, ३/४ वटा ल्वाङ, १ टेबल चम्चा ज्वानो र २/३ थोपा निलगिरीको तेल राखेर पोको पारेर बाँध्‍ने र बेला बेलामा सुँघ्‍ने । सुँघिसकेपछि प्लास्टिकको जिपर ब्यागमा सुरक्षित राख्‍न सकिन्छ ।’ 

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार यस्ता थुप्रै परम्परागत विधि नेपाली समाजमा छन् । तर थुपै विधिहरू वैज्ञानिक रूपमा पुष्टि भइसकेका छैनन् । त्यसैले यस्ता उपायहरू अपनाउँदा ख्याल राख्‍न सुझाउँछन् । तर वैज्ञानिक रूपमै पुष्टि भइसकेका अन्य विधि भने अपनाउन सकिन्छ ।

बिरामीहरूले शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने हुन्छ । यसको लागि अनुलोम विलोम पनि एउटा उपाय हुन सक्ने ज्ञवाली बताउँछन् । अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सिधा पारेर बस्‍ने र नाकको दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्ने गरिन्छ । 

घोप्टो परेर ‘प्रोनिङ पोजिसन’ मा बस्दा पनि शरीरमा अक्सिजनको संचार वा प्रवाह बढ्न सक्ने ज्ञवाली बताउँछन् । ज्ञवालीका अनुसार ‘प्रोनिङ’ गर्दा कुनै पनि बिरामी भेन्टिलेटरसम्म पुग्‍ने सम्भावना कम हुन्छ । श्वासप्रश्वाससँग सम्बन्धित ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ को उपचारको लागि पनि यो ‘प्रोनिङ’ फाइदाजनक मानिन्छ । दिनमा हरेक ३० मिनेटदेखि दुई घण्टासम्म यो ‘प्रोनिङ’ गर्दा अक्सिजनको लेभल सुधार गर्न सकिन्छ । ज्ञवाली ‘प्रोनिङ’ का पनि थुप्रै तरिका रहेको बताउँछन ।  

पहिलो तरिका : सुरुमा घोप्टो परेर सुत्‍ने । त्यसपछि दुई वटा सिरानी वा तकिया लिने । एउटालाई गर्धनको मुनी र अर्काे घुँडामुनी राख्‍ने । छातीको मुनी सिरानी पनि राख्‍न सकिन्छ ।  त्यस्तै टाउको बायाँ वा दायाँ पट्टी फर्काएर घोप्टो परी सुतेर यो अभ्यास गर्न सकिन्छ ।  त्यस्तै हातहरूलाई टाउको नजिकै फिजाएर राख्‍ने र त्यसपछि बिस्तारै गहिरो-गहिरो सास लिने । 

दोस्रो तरिका : कोल्टो परेर सुत्दै दायाँ वा बाँया हातलाई खुम्चाएर टाउको मुनी सिरानीको रूपमा राख्‍ने । त्यस्तै खुट्टालाई खप्ट्याएर राखेर पनि प्रोनिङ गर्न सकिन्छ । 

तेस्रो तरिका : सिधा भएर बस्‍ने । दुवै खुट्टालाई एक आपसमा जोडेर राख्‍ने । कम्मरलाई ९० डिग्रीमा नराखी लगभग १२० डिग्रीमा झुकाएर राख्‍ने । 

त्यस्तै डा. ज्ञवालीका अनुसार गिलासको पानी र स्ट्र पनि अक्सिजनको मात्रा बढाउने उपयोगी साधन हुन् । यसको लागि सुरूमा गिलासमा पानी राख्नुपर्छ । मुखमा बाहिरको हावा भर्नुहोस् र स्ट्रको सहायताले गिलासको पानीमा बिस्तारै उक्त हावा छोड्ने । यसरी पनि अक्सिजन सञ्चार राम्रो बनाउन सकिन्छ । 

उनका अनुसार कोभिड संक्रमण भएपछि शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । ‘पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने बैज्ञानिक आधार छ,’ उनी भन्छन्, ‘झोलिलो खानेकुराहरू धेरै खानुपर्छ । टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो गर्छ । त्यसैले कहिलेकाहिँ जीवनजल बनाएर खानुपर्छ ।’ 

तस्बिरहरू : एजेन्सीहरूबाट । 

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

इकागज | बैशाख २, २०७८

काठमाडौँ : सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ । ब…

ज्यानमारा वायु प्रदूषण, यसरी पुर्‍याउँदैछ मृत्युको मुखमा

काठमाडौँ : सोमबार अबेरसम्म डा.नवराज केसी आफ्नो क्लिनिकमा बसिरहेका थिए । वायु प्रदूषणको चिन्ता एकाति…

बीस रुपैयाँमा खाना

इकागज | मंसिर १, २०७७

नेपालगञ्ज : कोरोना कहरका कारण बिपन्न तथा मध्यम वर्गका व्यक्तिहरूलाई एक छाक खानाको जोहो गर्न समेत गाह्रो भईर…