सौराहा डायरी–२

चितवनमा दुर्गा सप्तशति : बाबुराम नातिप्रेमी, घनश्याम मार्क्सी, प्रचण्ड कांग्रेसी, गगन गनगने

विनोद देवकोटा | मंसिर १९, २०७८

काठमाडौँ – प्रचारखोरलाई लक्षित गरी बनेको हिन्दीको एउटा भनाइ नेपालमा पनि खुब चर्चित छ –नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् । केही पात्र र प्रवृत्ति बदनामै सही गुमनाम हुँदैनन् । चर्चामा आउन अनेक गर्छन् । दुर्गा प्रसाईँ पछिल्लो समयका सानातिना सेलेब्रिटी नै हुन् । चर्चित छन् । तर जति चर्चित छन्, उत्तिकै विवादित पनि । मार्सीदेखि माफिया, डनदेखि दलालसम्मका कुनामले प्रसाईँ मिडियामा छाइरहन्छन् । तत्कालीन नेकपा एकतादेखि विभाजनसम्ममा उनको चर्चा भयो । 

दुर्गा प्रसाईँ वा उनले पाएका उपनामसँग कुनै आग्रह/पूर्वाग्रह छैन । मैले उनको आवृतलाई पुनरावृत्ति मात्रै गरेको हो । तर प्रसाईंको चातुर्य भनौँ वा नियति यही बदनामीमा उनले व्यापार गरेका छन् । त्यसैले यी नामको पुनरावृत्तिले उनलाई बिझाउँदैन भन्ने लाग्छ । उनकै यी शब्दले यसलाई पुष्टि गर्छ । ‘मलाई माफिया भनेर लेख्नुहुन्छ नि ! मार्सी भन्नुहुन्छ नि ! मसँग कला थियो र मैले ब्रान्डिङ गरेँ । उस्तै मान्छे भए मिडियाको खेदाइमा परेर झुण्डिएर मर्थ्यो । नेगेटिभलाई पोजेटिभमा बदल्ने मान्छे हुँ । नेगेटिभमा  पोजेटिभ खोज्नुपर्छ,’ एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा मिडियासँग उनको गुनासो थियो । जुन नामले उनी बदनाम भए त्यही नाममा उनको मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंकको व्यापार छ ।

अब मूल विषयमा प्रवेश गरौँ । चितवनमा सम्पन्न एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि घुम्यो । अर्थात् ओलीले आफ्नै वरिपरि घुमाए । घुमाइको गतिमा भीम रावल तगारो बन्ने प्रयास गरे पनि ओलीको तेजअघि उनको केही जोर चलेन । ओलीले जसरी महाधिवेशन आफ्नो वरिपरि घुमाए, दुर्गा प्रसाईँ बन्दसत्रभरि त्यसैगरी घुमिरहेका भेटिन्थे । पहिलो दिन नारायणी किनारको उद्घाटन सभामा सायद उनले भिड छिचोल्न सकेनन् । भिडमा सेल्फी लिँदै गरेको भेटिएन । तर, दोस्रो दिनदेखि उनको घुमाइ सुरु भयो । सौराहामा उनी पूरै ३६० डिग्री घुमे । सिधा, वक्र, गोलाकार सबै आकारमा डुले । उनी जताजता पुग्थे भिड उतै जम्मा हुन्थ्यो । सयौँले उनीसँग सेल्फी लिए । फोटो खिचे । गफ सुने । अर्थात् प्रसाईँको चर्चा सौराहामा पनि भयो । बदनाम वा सुनाम मान्छेले जसरी चिनेको भए पनि एक बारको जुनिमा प्रसाईंसँग सेल्फी नलिई धोको पुगेन ।

बन्द सत्रको पहिलो दिन उनी केन्द्रीय सदस्यका दाबेदार थिए । ‘कम्युनिष्ट भनेकै एमाले, नेता भनेकै मेरा हजुरबाउ(केपी ओली)’ उनी गर्वसाथ मिडियाका अघि ओलीको गुणगान गाउँथे , ‘मुलुकको मुहार फेर्न अब युवाहरूको खाँचो छ, आवश्यकता छ । म केन्द्रीय सदस्यको उम्मेदवार हो ।’ उनका एजेन्डा पनि थिए । ‘आम युवाहरूलाई दुर्गाको आवश्यकता छ । रिजल्ट आउनेगरी काम गर्ने हो । राजनीति मेरो पेसा होइन,’ उनी भन्थे, ‘म रोजगारी सिर्जना गर्ने मान्छे हुँ । विदेश जाने युवालाई यहीँ रोक्नुपर्छ । युवा पुस्ता आउनै पर्छ ।’

घरि आफ्नो वरिपरि भेला भएका भिडलाई सोध्थे, ‘उठूँ कि नउठुँ,’ ताली बज्थ्यो, होहल्लाले जवाफ दिन्थ्यो ‘उठौँ, उठौँ ।’ उनका खुट्टा भुइँमा हुन्नथे । यही भिडको बलमा उनलाई लागेको थियो ‘उनीसँग फोटो/सेल्फी खिच्नेले मात्रै भोट दिए पनि केन्द्रीय सदस्य पक्का ।’ बाँकी ओलीबाको आशीर्वाद छँदैथियो । जसका लागि उनले सक्नेजति ओलीगान गाइरहेका पनि थिए । भक्तहरूबाट ताली पनि पाएका थिए  । उनका हरेक अभिव्यक्तिमा तालीको पर्र्रा सुन्दा लाग्थ्यो, केही ताली बजाउने मान्छे उनले झापाबाटै लिएर आएका छन् । कहिलेकाहीँ बजाउन नपर्ने ठाउँमा पनि ताली बज्थ्यो ।

उनलाई लाग्थ्यो जतिले उनीसँग तस्बिर/सेल्फी खिच्ने उनले मात्रै भोट दिए केन्द्रीय सदस्य पक्का । उनले सक्नेजति ओलीगान पनि गाए । भक्तहरूले ताली बजाए । लाग्थ्यो केही ताली बजाउने मान्छे उनले झापाबाटै लिएर आएका थिए ।

हौसिएर दुर्गाभक्त ‘दुर्गा प्रसाईँ जिन्दावाद’को नारा पनि घन्काउँथे । ओलीगान कम  दुर्गागान ज्यादा गाउन लगाएकोले हो वा अरु कुनै कारणले हो ओलीकोे पकेट लिस्टमा अन्तिममा उनको नाम परेन । धोका भनेको के हो भनेर बुझ्न यतिबेला प्रसाईँको अनुहार हेरे पुग्थ्यो । तर भित्र जति बेइज्जत भए पनि बाहिर शिवले हलाहल विष पचाएझैँ ओलीले दिएको झट्का पचाए । एकाएक बोली फेरियो । ‘केन्द्रीय सदस्य हुँदा दुई सय वर्ष बाँचिने होइन, नहुँदा आजै मर्ने पनि होइन । राजनीति मेरो पेसा होइन । म त व्यवसायी हुँ । ३ हजार पाँच सयलाई रोजगारी दिएको छु । २० हजारदेखि ४० लाखसम्म तलब खाने मान्छे छन् मेरोमा ।’ त्यही भिडमा उनी भन्न थाले ।

उनको आकांक्षामा तुसारापात भयो । केन्द्रीय सदस्य अर्को महाधिवेशनसम्मलाई सर्‍यो वा टर्‍यो । हजुरबाउले नातिमाथि दया देखाएनन् । देखाउन आवश्यक ठानेनन् । उनको सक्रियता कायमै रह्यो । बरु विषय बदलियो । उनी अनायासै बरालिन थाले । ओलीबाहेकका नेतामाथि खनिन थाले । आक्रोसको आगो ओकल्न थाले । अध्यक्षकै अर्का प्रत्यासी भीम रावलमाथि वचन बाण चलाए । एमालेको राजनीतिमा पचासौँ वर्ष बिताएका रावललाई सुझाव दिन तम्सिए ‘भीम रावलले अध्यक्षमा उम्मेदवारी नदिँदा राम्रो हुन्थ्यो । मेरो सुझाव छ ।

उनी भन्न थाले, ‘रामसँगै रावणको नाम आउँछ । कुरो बुझ्नु भो नि ? ओलीसँगै नाम ल्याउन हो रावलले उम्मेदवारी दिएको ।’ केही खरीखोटी घनश्याम भुसाललाई पनि सुनाए । ‘व्यापारीलाई एमालेमा ल्याइनु हुँदैन’ भन्ने भुसालको भनाइ उद्धृत गर्दै उनीमाथि खनिए । ‘माक्र्सवादको व्याख्यामात्रै गरेर देश बन्दैन,’ उनी भन्थे, ‘घनश्याम दाइको कुरा आफ्नो ठाउँमा छ । केही न केही भएकै मान्छेले काम गर्छ । घनश्याम दाइले व्यापारीलाई पार्टीमा ल्याउनुहुन्न भन्नुहुन्छ । के जोगीहरू मात्रै भेला गर्ने त ? उहाँ माक्र्सवादको बडो व्याख्या गर्नुहुन्छ । लेख्नुहुन्छ । लेखेर मात्रै हुन्छ ? बोलेर वा व्याख्या गरेर मात्रै हुन्छ ? खगेन्द्र संग्रौलाजस्तो । हामीजस्तो काम गर्नुपर्छ । गरेको हुनुपर्छ ।’

बाबुरामले नातिको फोटो ‘फेसबुकमा ट्वीट’ गर्छन् !

ताली पिट्ने मान्छे थपिँदै जाँदा उनले एमालेबाहिरका नेतामाथि टिप्पणी गर्न भ्याए । माधव नेपाल कम्युनिष्ट नै नभएको र प्रचण्ड कांग्रेस भइसकेको उनको निष्कर्ष थियो । कांग्रेसका गगन थापालाई गनगने भन्दै चुनौती दिए । ओलीवेशनको जवाफ दिए । (गगनले एमाले महाधिवेशनलाई ओलीवेशनको स‌ज्ञा दिएका थिए) ‘गगनलाई र मलाई एक क्षेत्रमा भिडाइ दिऊँ न । छानेर । कम्युनिष्टले हार्ने ठाउँमा उसलाई र मलाई उठाऊँ न । कुरा बुझ्नु भो कि ?’ कुरा बुझ्नु भो कि भन्ने चाहिँ उनको थेगो रहेछ । यता उताका कुरा गरेपछि अन्त्यमा भन्ने रहेछन्, ‘कुरा बुझ्नु भो कि ।’ मानौँ यो दुनियाँमा कुरा बुझ्ने उनी मात्र छन् ।

प्रसाईँको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमाथिको टिप्पणी पनि कम रोचक थिएन । ‘बाबुरामलाई बडा ठूलो मान्छे भनेर लेख्नुहुन्छ नि ! ४० सूत्रीय मागलाई आधार बनाएर जनयुद्ध सुरु गरेको हो नि ?’ उनको प्रश्न थियो, ‘अहिले मधेशवादी दलका नेता भए । मधेशवादीकै नेता हुनु थियो भने किन जनयुद्ध गरेको ? १७ हजार मान्छे किन मारेको ?’

आफूलाई ओलीको नाति दाबी गर्ने प्रसाईंको बाबुरामले आफ्ना नातिको फोटो फेसबुकमा राखेको पनि चित्त बुझेको रहेनछ । उनले नातिलाई समेत छाडेनन् । ‘असोजमा ठूलो पानी पर्‍यो र बाढी आयो । किसानहरूको बिचल्ली भयो । बाबुराम भट्टराई चन्द्रागिरि गएर नातिको फोटो खिच्दै ‘फेसबुकमा ट्वीट’ गर्दै बसे । उहाँका ठूला ठूला समाचार आउँछन् । सर्वहारा वर्गको नेता भन्ने मान्छे चन्द्रगिरिमा नातिको फोटो फेसबुकमा ट्वीट गर्दै बस्या छ । संसारमा उसको मात्रै नाति छ जस्तो । अरुका नाति नै छैनन् र ?’ यो त प्रसाईँले बोलेको पन्चलाइन थियो । भक्तले झण्डै ‘वान्समोर’ भनेनन् । ताली चाहिँ जमेर बज्यो ।

महाधिवेशन १५ दिन हुनुपर्ने 

सौराहामा एमालेको महाधिवेशन, महाधिवेशन होइन प्रसाईंका लागि मेला थियो । वनभोज थियो । तीन दिनमा सकिने भनिएको महाधिवेशन ६ दिनमा सकियो । उनको यसमा पनि गुनासो थियो । ‘१५ दिनसम्म हुनुपर्ने हो’ उनी भन्थे, ‘यत्रो पार्टीको महाधिवेशन के दुई तीन/दिन लाग्ने ? १५ दिन लाग्नुपर्ने । दुई चार दिन होइन १५ दिन लम्बिए हुन्छ । रमाइलो भएको छ । मान्छेलाई पिकनिक जस्तो भएको छ ।’

अरुबेला जति आलोचना भए पनि महाधिवेशन अवधिभर उनी चर्चामै रहे । चलायमान रहे । उनले अनेक तर्क गरे । कतिपय वास्तविक लाग्थे , कति हावा । कतै उनले आक्रोस पोखे, कतै गुणगान गाए । कतिको अनावश्यक खेदो खने । कुनै बेला ओली–दाहाललाई आफ्नै घरको डाइनिङ टेबलमा बसाएर मार्सी ख्वाएर पनि उनको नामै मार्सी प्रसार्इँ भएको थियो । मार्सीले उनको विवादित चर्चालाई उचाइमा पुर्‍याउन सघायो ।

तर ओली–दाहाल भिडन्तमा प्रसाईं दाहाललाई छाडेर ओलीतिर आए  । ओलीबाट कमसेकम केन्द्रीय सदस्य पाइने आशमा रहेछन्, त्यो पाएनन् । तर नपाउँदा पनि प्रसाईँमा लाज थिएन । ओलीसँग खुसी नै थिए । यसपछि भने मैले एउटा संस्कृत श्लोक सम्झिएँ । श्लोकले भन्छ ‘एक लज्जां परित्यज्य सर्वत्र विजयी भवेत् ।’ अर्थात् एकचोटि लाज पचाएपछि जीवनमा हार हुन्न । यहाँसम्म आइपुग्न प्रसाईँले यस्ता कति लाज पचाए होलान् !  

यो पनि 

सौराहा डायरी-१ : रक्सी पसलमा कमरेडको लाइन

चितवनमा पाँच दिन : म १९ वर्षीय पत्रकारले ओलीलाई यसरी चिनेँ...

अनिष भट्टराई | मंसिर १७, २०७८

नेकपा एमालेको दशौँ महाधिवेशनको रिपोर्टिङको मौका पाएपछि चितवनतर्फ लागेँ, ९ मंसिरमा । १९ वर्षकै सानो उमे…

मन्त्रीज्यूको ११ कपको ट्रे, साबेल अनि दाइ भन्‍नु ल !

चन्द्रशेखर अधिकारी | कात्तिक २६, २०७८

परराष्ट्र मन्‍त्री डा. नारायण खड्काको गल्फुटारस्थित निजी निवास (वेद व्यास) मा शुक्रबार बिहान यो पंक्तिकार…

पाकिस्तानी पत्रकारले अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था

इकागज | कात्तिक २१, २०७८

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्…

दसैँमा नेपाली पोशाकको महत्व

सुमन थापा | असोज २९, २०७८

नेपालीहरूको महानचाड विजया दशमीमा प्राय: नेपालीहरूले नयाँ लुगा किन्ने गर्दछन् । नयाँ लुगा लगाउने, मिठो ख…