[तस्बिरहरू]

कञ्चन यात्रा कञ्चनजङ्घाको !

हेमराज निरौला | कात्तिक १७, २०८०

असोज २० गतेदेखि मेरो एउटा दैनिकी नै थियो– यो वर्ष बडादसैँको टीका नलगाउने साथीहरू खोज्ने र कञ्चनजङ्घा घुम्न उक्साउने ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल (८ हजार ५८६ मिटर) को फेदमा पुगेर मध्य दसैँमा उन्माद भएर हिमाल हेर्ने र रमाइलो गर्ने रहर अथवा भनौँ हुटहुटी हामीमा थामी सक्नु थिएन । आवश्यक तयारी सकेर कार्तिक ६ गते बिहानै ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट कञ्चनजङ्घातर्फ सोझियौँ ।

करिब ४ घण्टाको गाडीको यात्रामा ‘हेल्लोक’ पुगेपछि भने अब हाम्रो हाम्रो पैदल यात्रा सुरु भयो । हेल्लोकबाट हिँडेको ३ घण्टापछि ‘केङ्स्रा’ भन्ने ठाउँमा हाम्रो बास भयो । कञ्चनजङ्घा जाने जम्मा तीनवटा रुटहरू मध्ये हेल्लोक–केङ्स्रा–तोरोङ्देन हुँदै चाइराम जोड्ने रुट सबैभन्दा सजिलो र छोटो रहेछ ।

केङ्स्राबाट कार्तिक ७ को विहानी उज्यालो पछ्याउँदै तोरोङ्देनतर्फ हामी लाग्यौँ । पाँच घण्टाको यात्रापछि टोलीले ‘तोरोङ्देन’ टेक्यो । जहाँ हाम्रो खाना खाने ठाउँ तय थियो ।

राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङको आयोजनामा विश्वलाई कञ्चनजङ्घाको सन्देश प्रवाह गर्ने सन्देशसहित यात्राको योजना तय थियो । त्यसका लागि टोलीको सदस्य खोज्ने शिलशिला कार्तिक १ गतेसम्मै चलेको थियो । अन्ततः ११ सदस्य टोली बनेको थियो । जसमा कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोदेखि एमाले ताप्लेजुङ उपसचिव तथा आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमु लगायत हुनुहुन्थ्यो ।

मेन्याङ्वो र पोमु बाहेक हामी बाँकी सबैजना तन्नेरी उमेरका भयौँ । तन्नेरी जोस र कञ्चनजङ्घाको भूगोल बुझेका याम्फुदिनका सोम राई (५५) लाई मेन्याङ्वोले नै टोलीमा राख्नु भएको थियो । सोम राईसँग पनि अब तोरोङ्देनबाट जोडिनु भयो ।

तीनवटा रुट मध्ये याम्फुदिनको रुट त्यहीँ तोरोङ्देनमा भेटिने रहेछ । दिउँसो १२ बजे ‘चाइराम’ बास बस्नको लागि हिँडेको टोलीका हामी सदस्यहरू केही अघिपछि हुँदै ६ घण्टा हिँडेर पुग्यो ।

 

चाइराममा बस्नको लागि ३ वटा होटल उपलब्ध रहेछन् । दक्षिणी बेस क्याम्प र उत्तरी बेस क्याम्पतर्फ जाने बाटो चाइरामबाट छुट्ने रहेछ । कञ्चनजङ्घाको यात्रामा पदमार्गकै महत्वपूर्ण मानिएको ४८०० मिटर माथिको ‘सेलेले पास’ छिचोलेर उत्तरी बेस क्याम्पको आधार बस्ती घुन्सा पुग्ने बाटो छुट्टिने चाइरामबाटै रहेछ ।

चाइरामबाट भोलिपल्ट अर्थात कात्तिक ८ गते बिहानै टोली ‘रामजेर’ तर्फ उक्लियौँ । टोली भित्रका तन्नेरी केही साथीहरूलाई अग्लिँदो यात्राले केही समस्या पनि देखिन थालेको थियो । हिमाल यात्राको सबैभन्दा महत्वपूर्ण घरेलु औषधि अदुवा र मकैको सातु खुवाउँदै ४६०० मिटर हाराहारीको रामजेर ३ घण्टाको यात्रापछि पुगियो । रामजेर पुगेपछि कञ्चनजङ्घा क्षेत्रमा छायांकन भएको अंग्रेजी चलचित्र ‘द वाल अफ स्याडोज्’ को याद आयो । किनभने त्यहाँ रामजेर नै कभर पोष्टर बनेर टाँसिएको थियो । 

हामी रामजेरमा खाना खाएर फेरी घण्टाको यात्रा सकेर बल्ल कञ्चनजङ्घाको दक्षिणी बेस क्याम्प पुगियो । अब यहाँ पुगेपछि बल्ल हामीमा गन्तव्य तय गर्दाको खुसीको उन्माद पोखिएको थियो । 

तर, अर्को चिन्ता भने हामीलाई त्यहीँ थपियो । किनभने रामजेर पुग्दा नपुग्दै हामीले विहानीको घामले टलल टल्किने सुनौला हिमाली शिर र त्यसका छातीहरूमा कालो चट्टान देखिन्थ्ये । हामी निकै पिरोलियौँ । 

जलवायु परिवर्तनको कारण पृथ्वीको बढ्दो तापक्रमले हिमाली भेगमा ग्लासियरहरू बर्सेनि पग्लिँदै गएका छन् । त्यो भयावह अवस्थाको साक्षी हामीले पनि कञ्चनजङ्घा नजिकै उभिएर देख्नुपर्यो । हामीले नजिकबाट कञ्चनजङ्घा हिमालको फेद ओक्ताङको सौन्दर्यसँग परिचित त भइरहेका थियौँ तर हजारौं स्काभेटरले ठूलो पहाड सम्याउँदै गरेझैं भान हुने ओक्ताङको ग्लेसियर हाम्रा लागि पीडाको भविलाख गहिरो पोखरी बन्यो ।

ग्लेसियर पग्लिएर गइरहेको पहिरो र पग्लिएको ग्लेसियरका छेउछाउ मरुभूमिकै झल्को आउने खालका उभडखाबड कालो भुईँले दुई तीन वर्ष अगाडिसम्म प्रयोग गरिएका बाटोहरूको नामोनिसान देखिँदैन थियो । त्यसको बेलिबखान सोम दाइले गर्नुभयो । वहाँले केही वर्ष अगाडि त्यहाँ हिँडेको बाटो पहिरोको रूपमा परिणत भइसकेको देखाउनु भयो । अहिलेको बेस क्याम्प र पहिरोको दुरी अब करिब ३ मिटर यताउता मात्रै देखिन्थ्यो । यसले कञ्चनजङ्घाको बेसक्याम्प पनि निकटै समयमा सर्ने निश्चित जस्तो देखिन्थ्यो ।

म आफैँले ताप्लेजुङ जिल्लाका महत्वपूर्ण पर्यटन गन्तव्यहरूको प्रचार र प्रवर्द्धन तथा जलवायु परिवर्तनविरुद्धका केही अभियानहरूमा सचेतना जगाउँदै अघि बढेको हिसाबले हामीले यो मौकालाई ‘अग्लो स्थानबाट कराउँदा सबैले सुन्छन्’ भन्ने मान्यतासहित ‘कञ्चनजङ्घाको सन्देश’ कार्यक्रम पनि सबै मिलेर त्यहाँ गर्यौँ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्ष भएको नाताले मेरै अध्यक्षतामा ‘प्रकृति जोगाऔँ, भावी पुस्तालाई पनि हिमाल देखाऔँ’ भन्ने नारासहित सचेतनामूलक कार्यक्रम गर्यौँ । 

हिमाल हेर्न उफ्रिएर हिँडेका हामी युवाहरू हिउँ पग्लिएर बाँकी रहेको हिमालको कालो अनुहार सम्झिँदै ओक्ताङबाट फर्किएर रामजेर हुँदै पुनः चाइराम फर्कियौँ । चाइराम झरेर हाम्रो टोलीका तीन जना ठिटाको भने छुट्टै योजना बन्यो । तुलनात्मक रूपमा केही भरपर्दो हिँडाई भएका दिपेन पोमु, पब्लिक गुरुङ र म अरु सदस्यलाई चाइरामबाट विदा गरेर सेलेले पास हुँदै कञ्चनजङ्घाको उत्तरी बेस क्याम्प तर्फ लाग्यौँ ।

हामी एक दिनको हिँडाईपछि ऐतिहासिक घुन्सा बस्ती पुग्यौँ । बाटोमा पर्ने केही ‘टी सप’ हरूमा आराम गर्दै हामीले घुन्सासम्मको यात्रा पुरा गरेका थियौँ । त्यहाँ पुगेपछि तेन्जिङ नुपु शेर्पाले चलाउँदै आएको जान्नु गेस्ट हाउसमा बसेर ४५ घर परिवार बसोबास गर्ने घुन्सा बस्तीबारे चिन्ता, चासो र मन्थन पनि गरियो । 
धुन्सा बस्ती कञ्चनजङ्घाको आधार बस्ती हो । २०६३ असोज ७ मा तत्कालीन वनमन्त्री गोपाल राई र संरक्षणविद् डा. हर्क गुरुङलगायत २४ जना चढेको हेलिकप्टर दुर्घटना भएको फले भिरको फेदमा धुन्सा बस्ती रहेको छ ।

१० गते बिहानै हामी घुन्साबाट उवाको सातु (गहुँ प्रजातीको अन्न) खाजाको रूपमा खाएर ‘खम्वाचेन’ तर्फ लाग्यौँ । पाँच घण्टाको पैदल छिचोलेर खम्वाचेनमा खाना पुगेर खाना खायौँ । त्यहाँबाट अर्को चार घण्टाको यात्रा लोनाकतर्फ थियो । 

लोनाक ४९०० मिटर हाराहारीमा रहेको कञ्चनजङ्घाको उत्तरी बेस क्याम्पको उपल्लो स्थान हो । पाँच वटा होटल संचालनमा रहेको लोनाकबाट उत्तरी बेस क्याम्प (पाङ्पेमा) पुग्न थप तीन घण्टाको समय लाग्ने रहेछ ।

पछिल्लो समय उत्तरी बेस क्याम्प मै घुन्साका तेन्जिङ नुपु शेर्पाले ‘टि सप’ संचालन गरेका कारण त्यहाँ पुग्ने पर्यटकहरूलाई अत्यधिक सहज भएको रहेछ । १५ जना जतिलाई खान र बस्नका लागि सानो घर र टेण्ट व्यवस्था मिलाइएको रहेछ । 

लोनाकबाट पाङ्पेमासम्मको बाटोको केही खण्ड निकै अप्ठ्यारो थियो । यो रुटको वैकल्पिक व्यवस्था नहुने हो भने उत्तरी बेस क्याम्प पुग्न केही वर्षपछि कठिन हुने देखिन्छ । पाङ्पेमाको अवलोकनपछि हामी फर्किएर खम्बाचेन नै आएर बस्यौँ । 

हाम्रा लागि अझै एउटा वा भनौँ अन्तिम गन्तव्य बाँकी नै थियो । त्यो ठाउँ फक्ताङ्लुङ अर्थात् किरात धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । कुम्भकर्ण हिमालको बेस क्याम्प नजिकै रहेको फक्ताङ्लुङको दर्शन गर्न खम्बाचेनबाट २ घन्टा लाग्ने रहेछ ।

समुद्र सतहबाट झण्डै ४६०० मिटरमा अवस्थित फक्ताङ्लुङ धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनेर विकास हुँदैछ ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देन बसोबास गर्ने इलामको माङ्सेबुङ लगायत देश विदेशमा छरिएर रहेका किरातीहरू यहाँ दर्शनको लागि आउने जाने गर्दछन् । तिर्थालुको सहजताको लागि व्यवस्थित पाटी समेत निर्माण गरिएको छ ।

हिमालको यात्रा तय गरेको आठौँ दिनमा हामीले तीनवटा बेस क्याम्प र एउटा धार्मिक तीर्थस्थलको भ्रमण गर्न सकेकोमा कञ्चनजङ्घाको काखसम्मको यो रुट निकै महत्वपूर्ण ठान्यौँ । समयको हिसाब र प्राकृतिक दृश्यको विविधताको कारण कञ्चनजङ्घा बेसक्याम्पसम्म पदयात्रा निकै महत्वपूर्ण रहेको छ ।

ट्रेन टू सिओल

डिकर्ण मल्ल | असोज ७, २०८०

म हाल साम्राज्यवादी शक्तिपूजक वा आजको भुमण्डलीकृत पूँजीवाद नेतृत्वको अग्रपंक्तिमा रहेको मुलुक दक्षिण कोरि...

गगनलाई रवीन्द्रको खुलापत्र : तपाईं राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने ?

इकागज | साउन २५, २०८०

प्रिय गगन थापाजी, तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा “विचारभन्दा माथि दे...

मनोसामाजिक अपाङ्गता र समाजको पालनासम्बन्धी विद्यमान कानून

रेजिना पाण्डेय | असार ४, २०८०

नेपालको संविधान,२०७२ ले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकलाई, समानताको हक र सामाजिक न्यायको...