जीवनशैली

१८ वर्षमा विद्यालय टेकेका शिक्षकको कथा

लिलाराज खतिवडा | माघ ८, २०७७

२०३७ सालको कुरा हो । म ७ वर्षको थिएँ । आमासँग उर्लाबारी, आइतबारे निवासी स्थानीय शिक्षक देवनारायण शर्माका घरमा गएको मलाई अहिले पनि प्रष्ट याद आउँछ । आमा कुनै कामले त्यता जाँदा म पनि पछिपछि लागेको थिएँ । देवनारायण सरका घरमा खरायो पालिएका थिए । र, कैयौँ दिनदेखि त्यहाँ खरायो हेर्न जाने मेरो इच्छा थियो । सिंह र खरायो तथा कछुवा र खरायोको कथा पढे पनि प्रत्यक्षरूपमा मैले खरायो देखेको थिइनँ ।

हामी पुग्दा पुरानो भुइँघर भत्काएर नयाँ बनाउने चटारो थियो । सुन्दर खरायोहरू दुबो खाइरहेका थिए । मैले त्यतिबेला प्रत्यक्ष थाहा पाएको थिएँ, खरायोहरू आफ्नो नाक र मुख खुब खुम्च्याइरहन्‍छन् । कालासेता अति आकर्षक खरायो हेरिसकेपछि भत्काइएको घरमा असरल्ल एक आल्मारी पुस्तकको चाङबाट एउटा पुस्तक झिकेर दिँदै सरले भन्‍नु भएको थियो, ‘ल, यो लगेर पढ !’

किताब थियो, हिन्दी भाषाको सचित्र सत्यकथा । देवनारायण सरले दिएको उक्त मोटो किताब च्यापेर त्यसदिन सायद निकै अदबसाथ आफ्नो घर पुगेको थिएँ, म । अलिक मोटो त्यो किताब निकै पछिसम्म पनि मसँगै थियो । कतिपटक त त्यो किताब मैले विद्यालय पनि लिएर गएको थिएँ । त्यसमा विभिन्‍न सत्यकथाका साथमा तदनुरूप स्केचहरू पनि थिए । हिन्दी पढ्‌न सिक्नुका अलावा म सिसाकलमले सादा कागजमा त्यस किताबका स्केचहरूको नक्कल पनि गर्ने गर्थेँ ।

एसएलसी दिएपछि मैले वेदप्रकाश शर्मा, विनय प्रभाकर, गुल्सन नन्दा, जेम्स हेड्ली चेजजस्ता लेखकका दर्जनौँ उपन्यास चबाएँ । सात वर्षको उमेरमा देवनारायण सरका हातबाट पाएको त्यो किताबको कन्टेन्ट जे भए पनि त्यसले भारत देश र हिन्दी भाषाबारे मेरो जीवनमा निकै गहिरो छाप छाड्यो । साहित्य एवं दर्शनपछि हिन्दी सिनेमाले मलाई जिन्दगीमा निकै आकर्षित गर्‍यो र प्रभावित पनि तुल्यायो ।

अर्कातिर त्यतिबेला गैरकानुनी मानिने म्याक्सिम गोर्की, अलेक्ज्यान्डर पुस्किन, कार्ल माक्र्स र लेनिनका विभिन्‍न पुस्तकसमेत घरमा हुन्थे । तर मलाई कम्युनिस्ट पुस्तकले खासै तानेनन् । तर गोर्कीका कथा पढ्‌न खुब मजा आउँथ्यो । मेरो घरमा पढ्‌ने कल्चर थियो । बुवा कट्टर कम्युनिस्ट ! लेखपढ नगरे कुटाइ खाइन्थ्यो । टिनएजमा चुरोट खाएको देखेर पनि नकुटेका मेरा बुवाले मलाई पढाइ उपर लापरबाही गरेबापत भने गोरुचुटाइ नै पेस गर्नुहुन्थ्यो । घरका कुना र सिलिङमा पहाडबाट ल्याइएका घँघरुका लठ्ठीहरू हुन्थे ।

बुवा भन्‍नुहुन्थ्यो, ‘राम्रो पढिनस् भने कुट्‌छु !’
तर म स्कुलका पाठहरूले वाक्क हुन्थेँ । अनि घरमा भएका कैयौँ पुस्तकहरूको दुरुह दुनियाँमा गोता लगाउँथेँ । कतिपय अवस्थामा म कुरा नबुझे पनि पढिरहन्थेँ । म बोलेर पढ्‌ने गर्थें । आज बुवाका मित्रसमेत रहनुभएका देवनारायण सरको कथा लेख्दै गर्दा आफैँलाई प्रश्न गरिरहेको छु- मलाई पढाएर के साबित गर्न चाहन्थे मेरा बुवा ? पढाइप्रति मेरा बुवाको किन त्यत्रो मोह ?

पत्रकारिता गर्न थालेको केही वर्षपछि मैले धेरै पटक भारत भ्रमण गरेँ । भारतका दूरदराजमा म यति धेरै घुमेको छु कि त्यहाँ मैले उधिन्‍न भ्याएका सत्यकथाहरू आजीवन लेख्दा पनि सकिँदैनन् । देवनारायण सरले दिएको उक्त पुस्तकबाट नक्कल गरिएका कतिपय स्केचको जस्तो चरित्ररसायन कालान्तरमा भारत घुम्दा मैले त्यहाँका अनेक गल्लीमा जम्काभेट भएका कैयौँ अनुहारहरूमा परावर्तित भएको महसुस गरेँ हुँला । मलाई हिन्दी यति प्रिय भाषा लाग्‍न थालेको थियो कि म केवल हिन्दी अभ्यास गर्नका लागि पनि भारतका गाउँगाउँ बरालिन्थेँ ।

बाल्यकालमा अवचेतनमा परेका कतिपय असरहरू मान्‍छेको जीवनमा पुनरुक्त हुन सक्छन् । असरहरू सकारात्मक वा नकारात्मक दुवै हुन सक्छन् । सकारात्मक असरले उल्लासमय सपनाहरू फलित हुन्‍छन् भने नकारात्मक असरले दुःस्वप्न मात्रै हात लाग्छन् । तर हरेक सिर्जनात्मक असरले चाहिँ कहीँ न कहीँ जिन्दगीलाई विधायक मार्गतर्फ नै अभिप्रेरित गर्ने गर्दछन् ।      

३६ वर्ष शिक्षण पेसा गरेर केही वर्ष अगाडि रिटायर हुनुभएका देवनारायण सरका घरमा अन्तर्वार्ता लिन जाँदा उहाँ गाईलाई कुटी काटिरहनुभएको थियो । कैयौँ दिनदेखि म उहाँको एउटा प्रोफाइल स्टोरी लेख्ने धूनमा थिएँ । र, यसपटक गाउँगाउँ घुमेर जीवनमा फेरि एकपटक रिपोर्टिङको ३६० डिग्री आयाम खोतल्न मलाई सघाइरहेको थियो, मंगलबारेको लियो बुढाथोकीले । मलाई इमानदार युवाहरूले मिडियाकर्म सिक्न खोज्दा औधी खुसी लाग्छ ।

समाजका हरेक तप्काका मानिसहरूले जीवनमा एकपटक पत्रकारिता पेसा गरेर हेर्नु अरे । विद्वानहरूले भनेका छन् कि जीवनमा एक पटक पत्रकारिताको अनुभव लिएकाहरूले आफ्नो बुध्दिमत्तालाई बहुआयामी तुल्याउन सक्छन् ।
मैले देवनारायण सरका घरमा पुग्‍नुअघि लियोलाई सल्लाह दिएँ, ‘आजको अन्तर्वार्तामा तिमीले पनि केही प्रश्न सोध्नुपर्ने हुन्‍छ ।’ सुनेर ऊ केवल मुस्कुराएको थियो ।

७८ वर्षे उमेरमा पनि कुनै युवाले जसरी काम गरिहनुभएका देवनारायण सरको जन्म गुल्मी जिल्लाको बाटाकाचौर भन्‍ने स्थानमा भएको थियो । १८ वर्षको उमेरमा ४ कक्षा पढ्‌न गुल्मीको उदय माध्यमिक विद्यालय जान थाल्नु भएका देवनारायण सरले २३ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ पढाइमा हमेशा अब्बल रहनुभयो । ८ सम्म गुल्मीमा पढे तापनि ९ र १० कक्षा पढ्‌न उहाँ पाल्पा बस्नुभयो ।

यसपश्चात् आमा बिरामी भएका कारण उहाँ बाटाकाचौर फर्किनु भयो र आफैँले पढेको विद्यालयमा पढाउन थाल्नु भयो । अर्को वर्ष उहाँकी आमाको निधन हुन पुग्यो । एक्लो सन्तान उहाँको जीवनमा त्यसपछि केही नौला आयाम थपिए । उहाँलाई एउटा सुदूर भविष्यले सुदूरपूर्वमा आजीवन निवास गर्नका लागि बोलाइरहेको रहेछ । भाग्यले उहाँलाई मोरङ जिल्ला ल्यायो । जो उहाँको कर्मथलो नै हुन पुग्यो ।

जिन्दगीको कथामा कसरी मोड आयो भने, उहाँका काका २०२४ सालमा विराटनगरमा जागिरे हुनुहुन्थ्यो । काका बर्मातिर घुमेर विराटनगर आई बसोबास गरिरहनु भएको थियो । काकाकै सल्लाहमा आईए पढ्‌न देवनारायण सर विराटनगर आउनुभयो । महेन्द्र मोरङ कलेजबाट स्नातक उत्तीर्ण गरेपछि उहाँलाई शिक्षण पेसा गर्न २०२८ सालमा उर्लावारी झिकाइयो । त्यसो त आफैँले पढेको विद्यालयमा प्रधानाध्यापक दिन्‍छौँ गुल्मी नै आऊ भन्‍नेहरू पनि थिए । तर यतै उहाँको रस बसिसकेको थियो । स्कुलडाँडामा २०२५ सालमा काठको सामान्य टहरोमा स्थापना भएको राधिका प्राथमिक विद्यालयमा उहाँ पढाउन थाल्नुभयो । २०२९ सालमा नयाँ शिक्षा योजना लागू भएलगत्तै स्कुलडाँडाबाट उक्त विद्यालय हाटखोलामा बिस्तार भएपछि उहाँ त्यता जानुभयो ।

अर्को वर्ष उहाँ बीएड तालिमका लागि काठमाडौं जानुभयो । एक वर्ष तालिम गरेर फर्किएपछि राधिकामा अध्यापन जारी रह्यो । देवनारायण सरले लामो समय राधिकाको सहायक प्रधानाध्यापक भएर काम गर्नुभयो र २०६४ सालमा राधिकाबाटै अवकाश लिनुभयो । विराटनगर पढ्‌न आए यता उहाँ यहीँ हुनुहुन्‍छ । २०३२ सालमा आइतबारेभन्दा केही दक्षिणपट्टि किनेको जग्गालाई उहाँ अझै मलजल गरिरहनु भएको छ ।

आफूलाई चाहिने अनाज तथा सागसब्जीहरू उत्पादन हुन्‍छन् । दूध, दही, मोही खाने आदत पनि छ । गौसेवा गर्न मन लाग्छ । यसमा परिवारका सारा सदस्यहरूको उत्तिकै सहकार्य हुने गर्दछ । दुइवटी छोरीहरूको घरजम भइवरी नातिनातिनासमेत भएका छन् । जेठा छोराले बुवाको कामत र कारोबार सम्हालेका छन् । कान्‍छा नेपाल आर्मीका रिटायर्ड हुन् । उनी केही समय विदेश बसेर हाल घर आएका छन् ।

देवनारायण सरका दुवै छोराहरू यति मेहनती र संघर्षशील छन् कि शारीरिक श्रम पनि अत्यधिक गरिदिन्‍छन् । सायद सानैदेखि उनीहरू सही साँचोमा हालिएका छन् । एउटा शिक्षकको सन्तान भएर हुर्किनु त्यति सहज कहाँ हुन्‍छ र ? कडा अनुशासन विद्यालयमा मात्रै नभएर घरमा पनि लागू हुने गर्दछ । देवनारायण सरले आफ्नो घरमा सादा जीवन उच्च विचार र श्रम नै जीवनको धरोहर हो भन्‍ने भनाइलाई सार्थक तुल्याएको देख्न पाइयो । ७८ वर्षे उमेरमा पनि डटेर श्रम गर्नुले उहाँलाई हमेशा एक साधक र आदर्श शिक्षक मान्‍न सकिन्‍छ । नत्र मुखमा रामराम र बगलीमा छुरा बोक्ने ढोँगी मास्टरहरूको पनि हाम्रो समाजमा आजकल कुनै कमी होला र ? 

देवनारायण सरको अति नै साधारण र इमानदार व्यक्तित्वबाट प्रभावित नहुनेहरू यता बिरलै होलान् । विद्यालयको कार्यकक्षमा उहाँको नाम मुन्तिर लेखिएको हुन्थ्यो, बीए, बीएड । उहाँ त्यो जमानाको बीए, बीएड । निश्चय नै मलगायत अरु कैयौँ युवा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने प्रेरणा बन्‍न पुग्यो त्यो नेमप्लेट । आजभन्दा ४८ वर्षअगाडि त्यति उपाधि हासिल गर्न सक्नु नेपाल जस्तो देशमा पक्कै कठिन कार्य थियो । त्यो पनि गुल्मीको विकट गाउँको सामान्य परिवारबाट ।

देवनारायण सर तीन वर्षको हुँदा उहाँका बुवाको निधन भएको थियो । एक्लो सन्तान उहाँलाई आमाले हुर्काउनु भयो । १८ वर्षको उमेरसम्ममा उहाँले घरैमा रुद्री, चण्डी, वेद र कर्मकाण्डी शिक्षा आर्जन गर्नुभयो । १५ वर्षको उमेरमा उहाँको विवाह पाँच वर्षकी शारदा सुवेदीसँग हुन पुग्यो । उहाँका ससुरा नरनारायण निकट छिमेकी थिए । गफैगफमा विवाह गरिदिए । अन्तर्वार्ता गर्दा छेवैमा बस्नुभएकी शारदा गुरुआमालाई सोधियो, ‘त्यति सानैमा विवाह भएछ । विवाह भएको स्मरण छ ?’

सदाबहार मुस्कान कायम गर्दै उहाँले जवाफ दिनुभयो, ‘अलिअलि छ । बुवाले बोकेर डोलीमा राखेको अनि नयाँनयाँ लुगा लगाएको सम्झना छ !’ विवाहपश्चात् केही वर्ष उहाँ माइतमै बस्नुभयो । देवनारायण सर भने अध्ययनमा लाग्‍नुभयो । उहाँले बताएअनुसार उहाँमा सानैदेखि पढेर केही गर्छु भन्‍ने भाव अति प्रगाढ रूपमा व्याप्त थियो ।

राधिका माध्यमिक विद्यालय अध्ययन गर्दा हामीले कार्यालयमा बेलाबेला विभिन्‍न कारणहरूले उपस्थित हुनुपथ्र्यो । सहायक प्रधानाध्यापक देवनारायण सरको अलिक कम बोल्ने स्वाभावका कारण उहाँले हामीलाई हेर्दासमेत हामी डराउँथ्यौँ । उहाँ भूगोल पढाउनु हुन्थ्यो । आफूले भूगोल विषय नलिएका कारण मैले उहाँसँग पढिनँ । तर म उहाँको साधारण तर खरो स्वाभावबाट भने राम्रैसँग परिचित । उहाँलाई अन्तर्मुखी स्वाभावका एक प्रतिभाशाली व्यक्तित्व भनेर परिचय गराउन पाउँदा मलाई गर्व महसुस हुन्‍छ ।

प्रस्तुत कथाका लागि कुराकानी गर्न उहाँको आइतबारेस्थित घरमा अचानक पुग्दा गाईलाई कुटी काटिरहेको अवस्थामा भेटेपछि देवनारायण सरमाथि मेरो अध्ययनले के निचोड निकाल्यो भने उहाँ जन्मजात नै एक साधक हुनुहुँदो रहेछ ।  जस्तो कि आफ्नो पढ्‌ने तीव्र इच्छालाई उहाँले १८ वर्षका उमेरमा विद्यालय जान थालेर पनि अति लगनसाथ पूरा गर्नुभयो । १८ वर्षको उमेरमा ४ कक्षामा भर्ना भएपछि परीक्षामा उहाँ प्रथम हुनुभयो । अनि ५ कक्षा नपढी उहाँलाई ६ कक्षामा भर्ना गरियो । पढाइमा उहाँले हमेशा आफ्नो लगनशीलता कायम राख्नुभयो । एसएलसीमा ३२ नम्बरले फर्स्ट डिभिजन पुगेन ।

सरले सुनाउनुभयो, ‘म अलिक ढिलो लेख्थेँ । कतिपय प्रश्नहरूको उत्तर दिन भ्याउँदिनथिएँ । त्यसैले कहिलेकाहीँ परीक्षाहरूमा मेरो कम अंक आउँथ्यो । कति नै कोसिस गर्दा पनि केही प्रश्न छुट्न पुग्थे । एसएलसीमा मेरो १ सय २२ अंकको प्रश्न छुटेको थियो ।’

उहाँ सगौरव सुनाउनु हुन्‍छ, ‘मेरा गाउँका समकालीन साथीहरूले खासै पढ्‌न रुचि देखाएनन् । तर मलाई पढ्‌ने तीव्र इच्छा थियो । अनि मैले घुँडा धँसेर पढेँ । म कहिल्यै अनुत्तीर्ण पनि भइनँ । रुचि र लगनले कुनै पनि काम गर्दा असफलता झेल्नु पर्दैन रहेछ ।’

४६ वर्षको उमेरमा साइकल चलाउन सिकेका उहाँ अझै साइकलमा सयर गर्न रुचाउनु हुन्‍छ । भन्‍नुहुन्‍छ, ‘सिक्ने कुरामा मान्‍छे कहिल्यै बूढो हुँदैन !’ केही समयअघिसम्म उहाँ पथरी, मधुमल्ला र दमकसम्म पनि साइकलमा नै आवत्जावत गर्नुहुन्थ्यो । तर अहिले उहाँ साइकलमा त्यति टाढाटाढा जानुहुन्‍न । आइतबारे चोक जानुहुन्‍छ जहाँ अर्का अवकाश प्राप्त पुराना शिक्षक नन्दलाल सापकोटा, नरेन्द्र ढुंगानालगायत स्थानीयहरूसँग बसेर उहाँ चिया खानुहुन्‍छ । समसामयिक विषयमा कुराकानी गर्नुहुन्‍छ । अनि फेरि साइकल चढेर आधा किलोमिटर दक्षिणको आफ्नो निवास फर्किएर कामधन्दामा लाग्‍नुहुन्‍छ ।

आजकल उहाँ ज्यादा बजार डुल्नुहुन्‍न । यता उमेर पनि बढ्यो । उता राजमार्गमा ट्राफिकको चाप पनि बढेको छ । अनि बजारमा जनसंख्यासँगै मादक द्रव्यहरूको बिक्रीबट्टा पनि बढेकै छ । अब साइकलमा टाढाटाढा सयर गर्नु पहिले जस्तो सुरक्षित कहाँ ?

अलिक घुँडा दुख्छन् । अरू रोग छैन । आँखा, कान ठीक छन् । छोराछोरीहरू आआफ्नो मुकाम सम्हालेर बसेका छन् । नातिनातिनाहरू आँगनमा खेल्छन् । कुनै कुराको कमी छैन । जिन्दगी अविच्छिन्‍न प्रवाहित छ । एउटा जिन्दगी अस्ताउने क्रमसँगै अन्य नवीन जिन्दगीहरू उदाएका छन् । अनि कति जिन्दगीहरू उदाउने क्रममा छन् । सायद यो नै अस्तित्वको शतत् प्रवाहको गुढ रहस्य हो र प्राणीहरू यसै प्रवाहमा समाहित छन् । अनि प्राणीहरू त्यहाँ आबध्द पनि छन् ।

एउटा कट्टर कम्युनिस्ट शिक्षकको सन्तान हुनु पक्कै सहज थिएन

‘जिन्दगी के हो ?’ सरलाई सोधियो । दृढ निश्चयी दृष्टिपात गर्दै उहाँले भन्‍नुभयो, ‘विभिन्‍न दृष्टिकोणले जिन्दगीलाई परिभाषित गर्न सकिन्‍छ । हामीजस्ता साधारण मानिसले भौतिक र आध्यात्मिक दुवै पक्षहरूलाई मिलाएर लैजान सक्नुपर्छ । जन्म लिए पछि मर्नै पर्छ । यो प्राकृतिक नियम हो, त्यसबीचमा राम्रो कर्म गर्ने प्रयास गर्नुपर्छ । मान्‍छेले सदा आफ्नो इतिहास निर्माण गर्नेतिर लाग्‍नुपर्छ । कुनै पनि कामलाई अथाह रुचि र लगनका साथ गर्न सक्नुपर्छ ।’

देवनारायण सरले अनेक हजुरबुवालाई मात्रै होइन, तिनीहरूका नातिनातिनालाई समेत पढाउनु भयो । कुनै शिक्षकलाई कति विद्यार्थीहरू पढाइयो भनेर सोध्नु यदाकदा गलत पनि हुँदो हो । तर उहाँलाई सोधियो । उहाँको जवाफ थियो, ‘यति जनालाई नै पढाइयो भनेर तथ्यांक राखिएन । तर हजारौँलाई पढाइयो । तीन पुस्तालाई पढाइयो ।’ ‘हाम्रो शिक्षापध्दति प्रायोगिक छैन । सीपमूलक छैन । खाली रट्ने मात्रैले त केही भएन नि ?’ सरसमक्ष थप प्रश्न पेस गरियो ।
उहाँको गहन जवाफ थियो, ‘हो, शिक्षा व्यावसायिक र सीपमुखी हुनु जरुरी छ । पाठ्यपुस्तक रटाएर मात्रै हुँदैन । सरकारले पनि सबैलाई देशकाल सुहाउँदो व्यावहारिक शिक्षा दिनुपर्छ । कोही आफ्नो इच्छाले सैध्दान्तिक अध्ययनमा जान चाहन्‍छ भने उसलाई त्यता जान दिनु पर्छ । नत्र समग्र शिक्षा प्रायोगिक, सीपमूलक र व्यवहारमुखी हुनु अत्यन्त जरुरी छ ।’

नयाँ शिक्षा लागू भएको आज ४८ वर्ष बितिसक्दा पनि नेपालमा शिक्षाको गुणस्तर अपेक्षाकृतरूपमा उकालो लागेन । पढाइमा अत्यधिक रुचि हुने केहीले घुँडा धसेर पढेर उच्च शिक्षा हासिल त गरे होलान् । तर समग्रमा यो शिक्षा प्रणालीले नतिजा राम्रो दिएन । आज मुलुकमा पैसाका लागि अपराधसमेत गर्ने एउटा निकै ठूलो जमात छ । प्रमाणपत्रहरूको यहाँ किनबेच हुन्‍छ । मुलुकमा समूह अपराध फस्टाएको छ । यहाँ एउटा प्रश्न उठाइदिन मन लाग्छ, पढेर बाठो भइटोपलेर मुलुक र जनतालाई नै लुट्ने हो भने यति धेरै खुलेका शिक्षण संस्थाहरूको के मतलव ? कि यी शिक्षित सैतानहरू उत्पादन गर्ने लाइसेन्स होल्डर श्वेतपोश अपराधी हुन् ?
‘नयाँ शिक्षा योजना सफल कि असफल ?’ तत्कालका लागि यो प्रश्न सोध्नु जरुरी लाग्यो ।

जवाफ यस्तो आयो, ‘असफल नै भन्‍नुपर्छ । रटेका भरमा पढिएका पाठहरूले जिन्दगी बदल्न सक्दैनन् । जेसुकै पाठ पढाए पनि त्यो व्यवहारमुखी र समयसापेक्ष छैन भने त्यसले राम्रो नतिजा दिँदैन । दिएन पनि ।’ सरले थप अवगत गराउनुभयो, ‘जस्तै नयाँ शिक्षा लागू हुनुपूर्वको अंग्रेजी विषय हामी साहित्य सिक्ने हेतुले पढ्थ्यौँ । नयाँ शिक्षा लागू भएयता अंग्रेजी विषय केवल भाषा सिक्ने हेतुले पढिन्‍छ । समग्रमा पाठ्यक्रम र पढाइको स्तरमा ५० प्रतिशतले ह्रास आएको छ । उपदेशमूलक शिक्षा पनि त्यति उपलब्ध भएन । नैतिक शिक्षा पढाएर मात्रै हुँदैन । आचरण बदल्ने शिक्षा चाहिन्‍छ । अहिले यहाँ व्याप्त शिक्षाले पण्डितहरू त उत्पादन भए । तर ज्ञानी पुरुषहरू उत्पादन भएनन् । यस्तो शिक्षाले बुध्द जन्माउन सकिँदैन । यस्तो शिक्षाले बढी त यन्त्रहरू नै पैदा हुने गर्दछन् ।’

सरका कुराहरू सुन्दा मस्तिष्क निकै तेज घुमेको अनुभूति भइरहेको थियो । उहाँकी नातिनीले ल्याएको मेथी फ्लेवर आउने दूधचियाको स्वाद लिँदै म केहीबेर मौन भएँ । नजिकै चुपचाप बसिरहेको लियोलाई मैले पलभर गढेर हेरेँ । निकैबेरदेखि ध्यानपूर्वक हाम्रो संवाद सुनिरहेको उसले अब सुरु हुने मनशाय देखायो । उसले देवनारायण सरलाई नेपालको राजनीतिबारे केही प्रश्न सोध्यो । लियोको सेल्फस्टिम बढेको देखेर मलाई निकै खुसी लाग्यो ।

सरले सहस्‍न जवाफ दिनुभयो, ‘पहिले राजनीतिक माहोल निकै क्रान्तिकारी थियो । डटेर पञ्चायती व्यवस्थाको विरोध गरियो । तर अहिले बुझ्दा त्यो सब गलत गरिएछ । किनभने, विरोध व्यवस्थाको होइन विकृतिहरूको मात्रै हुनुपर्ने हो । व्यवस्था जुनसुकै आओस् त्यसको सञ्चालकले चाहिँ मुलुक र जनताका लागि काम गर्नु पर्‍यो । सत्ता उल्ट्याउनुभन्दा भएकैलाई सुधारेर लैजाँदा राम्रो हुन्‍छ । पञ्चायती व्यवस्था मासेर अहिले गणतन्त्र आएर के भयो त ? अहिले त त्यही पञ्चायती व्यवस्थाभन्दा पनि झूर भएर गयो । झन भद्रगोल छ अहिले यहाँ । त्यसैले मलाई त के लाग्छ भने, व्यवस्था जुनसुकै आओस् त्यसलाई सञ्चालन गर्नेहरू सही नभएसम्म केही हुँदैन ।

त्यसैले जनता र मुलुकको हितमा काम गर्ने तानाशाह आजको आवश्यकता हो । यो भोट दिएर, नेता चुनेर, सत्तामा पुर्‍याएर केही पनि राम्रो भएन । बरु झन् डाँवाडोल भएको छ । त्यसैले यहाँ तानाशाह चाहिन्‍छ । यहाँ लामो समयका लागि अब एकलौटी शासन चाहिन्‍छ । राजा फ्यालेर सत्ता हातमा लिएका नेताहरूले मुलुकलाई झन् बर्बाद तुल्याएका छन् । त्यसैले नेपालको राजनीतिक भविष्य अन्धकारमय छ । यहाँ दिल्लीका दास र दलालहरू मौलाएका छन् । सत्ताको साँचो विदेशी दलालहरूबाट नखोसेसम्म हामी पराधीन नै रहिरहनेछौं ।’

कम्युनिस्ट विचारधाराका पक्षधर उहाँ विराटनगर पढ्दादेखि नै अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिमा लाग्‍नुभएको थियो । जीवनमा हमेशा एक सचेत नागरिकको भूमिका खेल्नु भएका देवनारायण सर अहिलेको राजनीतिक परिदृश्यबाट बिल्कुलै सन्तुष्ट देखिनु भएन । तर पनि उहाँका आँखाहरूमा अवसाद पढ्‌न सकिएन । बरु उहाँका आँखाहरू सदा झैँ देखिन्थे, दृढ निश्चयी !

सरले युवा पुस्तालाई सन्देश दिँदै भन्‍नुभयो, ‘राम्रो काम गर । भरपुर मेहनत गर । जुनसुकै काम पनि लगनशील भएर गर । मान्‍छेले आफ्नो इतिहास कायम गर्न सक्नु पर्छ । जिन्दगीमा प्रशस्तै उदाहरणीय कामहरू गरेर देखाउनु पर्छ । राम्रो काम गरेपछि इतिहास स्वतः कायम हुन्‍छ ।’

यस्ता कुराहरू सुन्दै गर्दा मलाई अचानक मेरा बुवाको याद आयो । किनभने मेरा बुवाका मन्त्रहरू पनि भर्खरै देवनारायण सरले बताए जस्तै हुन्थे, अत्यन्तै ऊर्जाशील र प्रेरणादायी । मेरा बुवाले पनि लामो समय राधिकामा पढाउनु भएको थियो । जाँदाजाँदै मैले सरलाई १४ वर्षअघि शरीर छाड्‌नुभएका आफ्ना प्रातः स्मरणीय बुवाबारे एउटा प्रश्न सोध्न भ्याएँ, ‘मेरा बुवालाई कसरी जान्‍नुहुन्‍छ ? केही सम्झना ?’
 
उहाँले मेरा आँखामा आफ्नो शक्तिशाली दृष्टि फ्याँक्दै भन्‍नुभयो, ‘दुर्गाजी एक निडर व्यक्ति हुनुहुन्थ्यो । गलत कुराहरूको जुनसुकै अवस्थामा पनि डटेर विरोध गर्नुहुन्थ्यो । भोलि परिणाम के होला भन्‍ने प्रवाहै नगरी उहाँ विकृत्ति र विसंगतिहरूका खिलाफ आवाज उठाउनुहुन्थ्यो । उहाँ यति तर्कपूर्ण हिसाबले आफ्ना कुराहरू राख्नुहुन्थ्यो कि सुन्‍नेहरू नै काम्थे !’

देवनारायण सरका कुराहरू सुनेर मेरो शरीरमा काँडा उम्रिए । मनमनै मैले आफ्ना बुवालाई स्मरण गरेँ । साँच्चै नै अनुशासन भंग भएको देख्नुपर्दा मेरा बुवामा साक्षात् दुर्गा सवार भए जस्तो लाग्थ्यो । एउटा कट्टर कम्युनिस्ट शिक्षकको सन्तान हुनु पक्कै सहज थिएन । साँझ पर्न थाल्दै थियो । देवनारायण सर र उहाँको ऊर्जाशील परिवारलाई हार्दिक नमन गरेर लियो र म स्कुटीमा आइतबारे चोकतर्फ हुइँकियौँ ।