जीवनशैली

जब १२ वर्षपछि मान्छे बोक्ने काममा फर्किए मनकुमार

अतिन आचार्य |
कात्तिक १५, २०८० बुधवार ११:४६ बजे

तस्विरः अतिन आचार्य

काठमाडौँ- काँधमा फित्ता झुण्डिएको छ । घाँटीमा सल बेरेका छन् । खुट्टामा कालो जुत्ता छ । ढुंगामाथि थकित मुद्रामा नाम्लो बोकेर बसेका उनी मनकुमार लिम्बू हुन् ।

ताप्लेजुङको बजारमा भेटिने मनकुमार हिजोआज पाथिभरा मन्दिर जाने उकाली-ओरालीमा भेटिन्छन् । काँधमा फित्ता बोकेर ओहोरदोहोर गर्नु उनको दैनिकी जस्तै बनेको छ ।


यतिखेर फित्ता नै उनको जीवनको सहारा बनेको छ । दसैँ मनाएर र दसैँको बिदामा ताप्लेजुङको पाथिभरा दर्शन गर्न आउने दर्शनार्थीलाई मन्दिरसम्म बोकेर पुर्‍याउँछन् ।

कोशी प्रदेशको प्रसिद्ध पाथिभरा मन्दिर दर्शन गर्न दैनिक हज्जारौ दर्शनार्थी पुग्छन् । दर्शनार्थीको भिडमा लिम्बू भने हिँड्न नसक्ने मानिसको पर्खाइमा हुन्छन् । मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको खोजीमा उनी कहिले तल्लो फेदि त कहिले माथिल्लो फेदिको चक्कर काटिरहेका हुन्छन् ।

ताप्लेजुङबाट पाथीभारा जाने यात्रुका मुख्यतया दुई बिसौनी हुन्छन् । ताप्लेजुङबाट गाडीमा माथिल्लो फेदिसम्म गाडीमा जाने र त्यहाँ बास बसेर सखारै पैदल हिँडेर मन्दिरसम्म पुग्‍ने । माथिल्लो फेदिबाट मन्दिर पुग्न नै तीन चार घन्टा लाग्ने भएकाले पैदल हिँड्न गाह्रो हुने मनकुमारका ग्राहक बन्छन् ।

दर्शनार्थीको खोजीमा बाटो-बाटो कुर्ने

धेरै जसो दर्शनार्थीहरू माथिल्लो फेदिमा भेटिन्छन् । मनकुमार लिम्बू दर्शनार्थीको खोजीमा कुनै- कुनै समय बीच बाटोमै पनि बस्छन् । उकाली र ओराली बाटोमा हिँड्छु भनेर कस्सिएका यात्रु बीचैमा थाकेपछि मनकुमार जस्ताको पर्खाइमा हुन्छन् ।

यस्तोमा धेरै जसो समय बालबालिका र ज्येष्ठ नागरिक पर्ने मनकुमार सुनाउँछन् । मन्दिरसम्म हिँडेर पुग्न नसक्नेलाई ढाडमा बोकेर उनले पुर्‍याउँछन् ।

बालबालिका र वयस्कलाई बोक्ने रेट भने समान छैन । बालबालिका बोकेको अलि कम पैसा लाग्छ भने वयस्क र वृध्द वृध्दा बोकेको अलि ज्यादा । बालबालिकालाई मन्दिरसम्म पुर्‍याएको ४ हजार रुपैयाँ लिने गरेको लिम्बू बताउँछन् । उनले अरु बोकेको भने किलोको हिसाबले लिने गरेको बताए ।

‘ठूला मानिस बोकेको किलोग्रामको हिसाबले लिने गरेको छु,’ उनले भने,’ मन्दिरसम्म ल्याएको र पुर्‍याएको दुई सय रुपैयाँ लाग्छ ।‘यसरी बोक्दा सिजनमा दैनिक १० देखि १२ हजार कमाइ हुने गरेको उनी बताउँछन । दर्शनार्थीको तौल नाप्ने साधन भने मनकुमारसँग छैन ।

उनले ग्राहकलाई नै सोधेर पैसा लिने गरेका छन् । 'मन्दिर दर्शन गर्न आउनेले आफ्नो तौल त कसरी ढाँट्नु होला र ?'  उनले हाँस्दै बताए । मान्छे बोक्नका लागि होटल सञ्चालकले पनि लिम्बूलाई नै सम्झने गरेका छन् । कोही बेला ग्रुपका साथीले फोन गरेर उनलाई बोलाउने गर्छन् ।

साथीले मान्छे बोक्न बोलाएमा कमिसन पनि दिने गरेको उनले सुनाए । ‘साथीको सम्पर्कबाट मानिस बोक्नुपर्दा आफूले पाँच सय रुपैयाँ दिने गरेको छु,’ उनी भन्छन् । उनले थोरै तौल भएका बालबालिकालाई ३ घण्टामै मन्दिर पुर्‍याउने गरेका छन् । ठूला-ठूला मानिस बोक्नुपर्दा भने मन्दिर पुग्न चारदेखि पाँच घण्टा लाग्ने उनले सुनाए ।

मान्छे बोक्न २ बजे ओछयान छोड्ने

थाकेका र मन्दिरको आँगनसम्म पुग्न चाहनेलाई खोज्न उनी राति २ बजेनै  ओछयान छोड्छन् । हिमालबाट बहने चिसो हावाको कुनै प्रवाह नगरी उकालो चढ्ने उर्जा नभएका मानिस उनको निशानामा हुन्छन् । बिहान २ बजेदेखि निस्केका उनी साँझ ५ बजे मात्र बासस्थान फर्कन्छन् ।

त्यसो त उनले दर्शनार्थी मात्र बोक्दैनन् । होटल र मन्दिरसम्म पुर्‍याउने सामग्री पनि बोक्ने गरेका छन् । रातभर नसुतेर पनि सामान र मानिस बोकेर हिँडेका  उनीसँग थुप्रै सम्झना छन् ।

‘भारी बोक्नुभन्दा मान्छे बोक्ने काम सजिलो हुन्छ,’ ४० वर्षीय लिम्बू भन्छन्,’ मानिसको शरीर ढाडमा मजाले मिलेर बस्छ । भारी यताउता हल्लिने गर्छ । त्यसैले मलाई मान्छे बोक्नै ठीक लाग्छ ।‘

उनलाई मान्छे बोक्ने काम अनेक हिसाबले ठीक लाग्ने गरेको बताए । ‘पहिलो त मानिस बोक्नलाई कुनै परीक्षा दिनुपर्दैन । आफ्नो बल र विश्वास गरे पुग्ने रहेछ,’ उनले कारण बताए,’ आफूसँग बल र आत्मविश्वासी भए मानिस बोक्न कुनै कक्षाको परीक्षा दिन नपर्ने रहेछ ।'

अर्को चाहिँ यसरी मानिस बोकेर मन्दिर पुर्याइरहँदा धनसँगै धर्म पनि कमाइरहेको लाग्छ उनलाई । ‘धेरै मानिस मन्दिरसम्म पुग्न सक्दैनन्,’ उनी अगाडि थप्छन्,’ उनीहरू टाढादेखि आएका हुन्छन् । हिँड्न नसक्दा उनीहरू निराश भएका हुन्छन् । भगवानको दर्शन गर्न आउनेलाई मन्दिरमा पुर्‍याउँदा आफूलाई भइरहेको गाह्रो बिर्सने गरेको छु ।‘

उनका अनुसार असोज, कात्तिक, मङसिर, चैत र वैशाख मन्दिर जाने सिजन हो । जेठ, असार र साउनमा थोरै मात्र तिर्थालुहरू जाने गरेको उनी बताउँछन् । अफ सिजनमा भने उनी ताप्लेजुङ सदरमुकाममा झर्ने गरेका छन् ।

'कार्डको सहारामा मानिस बोक्छु'

उनले घाँटीमा पाथिभरा विकास कोषले बनाइदिएको कार्ड भिरेका छन् । यसको मतलब उनी मन्दिरसम्म मान्छे बोक्नलाई अनुमति प्राप्त व्यक्ति हुन् । ‘पाँच सय रुपैयाँ तिरेर कार्ड बनाएको छु,’ उनले सुनाए,’ कार्ड नभए मानिस बोक्न पाइदैन ।‘

आफूले तिरेको पैसाबाट विकास कोषले मान्छे बोक्ने भरियालाई बस्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्‍ने उनको अपेक्षा छ । मन्दिरसम्म पुर्‍याएर आफूलाई र मन्दिरलाई धेरै आम्दानी गराइदिएको उनको भनाइ छ । तर यति गरेको गुन देखेर कोषले आफूहरुलाई बासको व्यवस्था गरिदिए कोषलाई पनि धर्म हुने उनको ठम्याइ छ । ‘कोषले हाम्रो लागि वासको व्यवस्था मात्र गरिदिए हुन्थ्यो । रात बिरात हामीलाई पनि बस्न समस्यै हुन्छ,’ उनी भन्छन् ।

मान्छे र भारी बोक्नेहरू यो रुटमा करिब पाँच सय जति रहेको उनले बताए । नुवाकोट, सिन्धुली, संखुवासभा र भोजपुर लगायत अन्य जिल्लाका मानिसहरूले पनि मान्छे बोक्ने गरेका छन् । 

अफ सिजनको समयमा भने उनले जे काम परिआयो त्यही काम गर्ने गरेका छन् । उनले इलेक्ट्रोनिक्स, प्लम्बर र कन्स्ट्रक्सनको काम पनि गर्ने गरेको बताए । बिजुली बत्तिको काम गर्दा १ हजार, प्लम्बिङमा ८ देखि ९ सय रुपैयाँ र घर बनाउने काममा ७ देखि ८ सय रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् ।

विदेशमा असफल तर स्वदेशमा सफल हुने बाटो खोज्दै

मान्छे बोक्नुभन्दा अघिसम्मा उनी वैदेशिक रोजगारीमा थिए । १२ वर्ष विदेशमा जीवन बिताएका उनले अबको बाँकी जीवन जिल्लामा बिताउने योजना बनाएका छन् । लिम्बूले कतारमा चार वर्ष र मलेसियामा ८ वर्ष बिताएका थिए ।

‘मेडिकलमा फेल भएर मलेसियाबाट फर्किनु पर्‍यो । मेडिकल नबिग्रेको भए राम्रो कमाइ हुँदै थियो,’ उनले विगत सम्झँदै भने,’ विदेश जानुभन्दा अगाडि पनि मानिस बोक्ने नै काम गर्थे । गाउँको बिरामीलाई गाडी वा एम्बुलेन्ससम्म पुर्‍याएको तीन हजार रुपैयाँ लिन्थेँ ।‘

विदेश जानुभन्दा अघि उनले डेढ वर्षसम्म मान्छे बोक्ने काम गरे। तर साथीभाइको लहैलहैमा मानिसभन्दा विदेश टेक्ने सपना बुन्न थाले मनकुमारले । ताप्लेजुङ छाड्दै बिस्तारै म्यानपावर कम्पनी धाउन थाले । मान्छे बिसाएर उनले पहिलोपटक पासपोर्ट बोकेर कतार उडे ।

मिउवाखोला -४ का मन मुमारका तीन सन्तान छन् । छोरा १२, छोरी ६ र ४ कक्षामा पढछन् । मनकुमारलाई छोराछोरीले भने मानिस बोक्ने काम छाड्न दबाब दिने गरेका छन् ।

उनी सुनाउँछन्,’ छोराछोरी मान्छे नबोक्नु भन्छन् । अब सक्ने यही हो अरु के गरुँ ? मनलाई बुझाउँदै आफ्नो र परिवारको लागि काम गर्नु त छ भन्दै उनीहरुका कुरा नसुनी हिँड्छु । ज्यानले नसकेको दिन त छाड्दिन भन्दा पनि छाडिहाल्नु पर्छ ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x