जीवनशैली

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

इकागज |
कात्तिक ६, २०८० सोमबार ११:४१ बजे

भोजपुर- भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो ।

गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।


खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ । चँुदाराहरुले कलात्मकरुपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

चिसो, खोला खोल्सीमा बसेर काम गर्नुपर्ने तथा धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँपुस्ताको रोजाइमा नपरेको हो । ठेकी कुदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने भएकाले पछिल्लो समयमा पेसाप्रति लाग्ने मान्छेको सङ्ख्या घट्दै गएको हो ।

विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि पछिल्लो समयमा सङ्ख्यासमेत घटेको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । दूध जमाउने ठेकीबाहेक मोही पार्नै ठेकी, कोसी, आरी खुर्पेटा कुदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ ।

काम गर्ने प्रविधिले आधुनिकता नपाउदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदाराहरुको भनाइ छ । धेरै मेहनतले खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिकोपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको लामो समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुङका रत्नबहादुर विश्वकर्माले बताए ।

‘पुस्तान्तरण हुनसक्दा पुख्र्यौली पेसा सङ्कटमा परेको छ,’ उनले भने, ‘नयाँ पुस्ताले यो काम गर्न चाहदैन् । यसलाई नयाँ पुस्तासम्म पुर्‍याउन संरक्षण गर्न आवश्यक छ ।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहर लगाएत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनले बताए ।

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँपुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले थपे । ‘यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन,’ उनले भने, ‘काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिदैन् । पेसा जोगाउन नै समस्या छ । राज्यले यसलाई संरक्षणमा भूमिमा खेल्न आवश्यक छ ।’

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताए । ‘परम्परागतरुपमा काम गरिरहेका छौँ,’ उनले भने, ‘बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ ।’

पेसालाई जोगाउन नयाँपुस्तालाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विश्वकर्माले बताए । ‘यो सीपलाई विस्तार गर्न आवश्यक छ,’ उनले भने, ‘विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यकोतर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण बन्यो भने पेसालाई जोगाउन सकिन्छ ।’

परम्परागतरुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो हट्दै गएको छ । बजारमा स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै देखिन्छ ।

पराम्परागतरुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने टेम्कैमैयुङ–५ का स्थानीय रामबहादुर विष्टले बताए । गाउँघरमा मात्र हुने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

स्वास्थ्यका लागि पनि काठका भाडा फाइदाजनक हुने स्थानीयवासीको भनाइ छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् ।

रासस


Author

थप समाचार
x