ब्लग

ट्रेन टू सिओल

डिकर्ण मल्ल |
असोज ७, २०८० आइतबार १६:३६ बजे

म हाल साम्राज्यवादी शक्तिपूजक वा आजको भुमण्डलीकृत पूँजीवाद नेतृत्वको अग्रपंक्तिमा रहेको मुलुक दक्षिण कोरियाको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत छु । मैले यति ठोकेरै किन भनेँ भने, हाल यो मानव विकास सूचांक र कूल जीडीपीको आँकडाबाट हेर्दा विश्वका १० धनी मुलुकभित्र पर्छ । किन र कसरी भन्ने हिसाबकिताब चाहिँ तपाईंले अहिले चलाइरहेको ’सामसुङ’ मोबाइलमा गुगल गर्न सक्नुहुन्छ । 

खैर ! मलाई आज तपाईंहरूलाई कोरियाको प्रतिघण्टा ३६० किमी कुद्ने रेल ‘केटीएक्स’मा सवार गराएर राजधानी सिओल पुर्याउनु छ । 


तपाईं एउटा कुरामा पक्का हुनुस् । यो रेल कुनै भौतिक हिसाबले लाम्पुच्छ्रे सर्प जस्तो सुलुलु कुद्ने नभइ हाम्रो स्वैरकाल्पनिक मनोविज्ञानको देशदेशावरसम्म बाटो नबिराइ फन्को मरिरहने मोनोरेल पनि हुनसक्छ । त्यसैले, तपाईं यसमा आफ्नो घरमै बसीबसी पनि सवार गर्न सक्नुहुनेछ । यस्तै, चाहेको ठाउँमा झर्न पनि सक्नुहुनेछ । 

तपाईं ’ओहो, यसले त बकम्फुसे कुरो पो गर्यो’ भन्नुहोला । तर, पख्नुस् पख्नुस् मसँग त्यसको तर्क छ । यदि, तपाई घरमै बसीबसी, ‘ओई, ठोक् ठोक्, मार् मार् !’ भन्दै पब्जीमार्फत फुर्तीसाथ दुनियाँभरका देशसँग बिनाहतियार ’युद्ध’ लड्न सक्नुहुन्छ भने यसरी नै काल्पनिक मेट्रोमार्फत दुनियाँको कुनैपनि कुनासम्म चक्कर लगाउन सक्नुहुनेछ भन्ने मेरो दावा हो । तसर्थ मलाई यहाँहरूले रेलको डाइभर, सहचालक, पाइलट, जे भने पनि हुन्छ । आखिर ‘मै हुँ कान्छी रेलको डाइभर ।’

‘छनान आशान ट्रेन स्टेशनमा यहाँलाई स्वागत छ’ लेखिएको यहाँहरूले नै देखिसकेपछि फेरि पनि वेलकम भनेर फोकटमा किन भन्नु ? बरु ‘आन्यङ हासेयो !’ 

यो गर्मी बिदाको मौसम हो । यो समयमा धेरैजसो मान्छेहरूको घुम्न निस्कने योजना हुन्छ । कोही समुद्रमा डुबुल्की मार्न निस्कन्छन् त कोही हिमाल चढ्न । हिमाल पनि के भन्नु ? पहाड भनौँ न पहाड । यहाँको सबैभन्दा अग्लो हिमाल भनेकै त्यहीँ ‘हाल्लासान’ त हो, जसको उचाइ १ हजार ९ सय ४७ मिटर छ । नेपालमा योभन्दा ज्यादा ३ हजार मिटरको उचाइमा त मेरो घर नै छ भनेर घमण्ड गरेको होइन । फेरि यसो भनेर यहाँको ट्रेकिङ कल्चरलाई अपमान गरेको चाहिँ होइन ल । तैपनि पोका, पुन्तरा, सर्जाम बोकेर यहाँको पहाड चढ्ने चलन भने लोभलाग्दो छ । 

भर्खरै सराक पहाड चढ्ने जोशका साथ रुकस्याकमा सजिएर आएकी ती ७० वर्षीया आमालाई मेरो पनि सलाम छ । आखिर म पनि हिमालको मान्छे हुँ । मलाई पनि हिमाल चढ्न खुब मनपर्छ । एकसालअघि त हो मैले पनि यिनै कोरियनहरूको सिको गर्दै ‘सराकशान’ पहाडमा चढेर गुमनाम र बेनाम पितृहरूको नाममा जल चढाएको । 

मैले भनिसकेँ कि, प्रिय यात्रुगण ! आज रेलका डब्बाहरू प्याक हुन्छन् । सिट नपाइन पनि सक्छ । त्यसैले यहाँले उभिएरै जानुपर्छ । सिट नमिलेकोमा दुःख मनाउ नगर्न अनुरोध छ । यदि सिटकै लागि चित्त दुखाउनु भयो भने मेरो भन्नु केही छैन । बरु म यसमा ढुक्कले भन्नसक्छु यहाँले जिन्दगीमा काठमाडौँका माइक्रोहरू चढ्नुभएकै छैन ।

यहाँलाई अवगत गराऊँ कि हाम्रो अघिल्लो स्टेशन ‘सुवन’ हो ।

यो ठाउँ नेपालीबासीमाझ फूलबारीका नामले चर्चित छ । यस ठाउँसँग जोडिएका मेरा पनि केही किस्साहरू छन्, जसबारे म एकैछिनमा बताउनेछु । 

त्यतिञ्जेल कुनोतिर नाकमुख जोडेका जोडीतिर धेरै आँखा नडुलाउनुहोस् । यहाँ सार्वजनिक स्थलमा चुम्बन गर्नु सामान्य कुरो जस्तै हो । यस दुनियाँमा सामाजिक न्याय र वैयक्तिक स्वतत्रताको निश्चल हावा कही बेप्रवाह बहन्छ भने त्यो यहीँ ठाउँ हो । तर, पछिल्लो समयमा अत्याधुनिकताको नाममा भने यहाँ पश्चिमी वैचारिक संस्कृतिक औपनिवेशिकतावादको संक्रमणकालीन हावा लाग्न पनि सुरु भइसकेको अवस्था छ । गत वर्ष डिसेम्बरमा राजधानीको इथेवन शहरमा हलवेइन क्रिसमस पार्टीको मासक्रसमा १५० जना युवायुवतीले सामूहिक ज्यान गुमाएको समाचार पक्कै पनि सुन्नु, पढ्नुभएकै होला । 

तर मैले यति भनेकै भरमा उक्त जोडीतर्फ तीखा न तीखा आँखाले हेर्न थाल्नुभयो भने तपाईं यो धरतीकै संकुचित सोच भएको मनुवा हो । 

बरु तपाई लख काट्न सक्नुहुन्छ । पक्कै पनि यो जोडी समर भ्याकेसन मनाउन समुद्री किनारतिर हिँडेको हो कि ?’

हेर्नुहोस न् । समुद्र भन्नेबित्तिकै गतवर्ष अगस्ट ८ को एउटा बात फ्याट्टै याद भइगयो ।
 
गोराहरूले जस्तै समुद्र किनारमा पुगेर नाङ्गाभुतुङ्गा फोटो खिच्ने, क्याम्पिङ गर्ने, साँझमा दाहिने हातमा क्यान बियर लिएर अनि देब्रे हातमा मायालुको शीरसँगै समुद्रको पूर्वी क्षितिजमा अस्ताउँदो सूर्य हर्ने सौभाग्य त खप्परमै लिएर आउनुपर्छ, बाबै ।  

होइन होइन, यस्तो बेल्कुलै होइन । सबैजना त्यस्तो नखरमउलो देखासिकी गर्न होइन, बरु उखरमउलो गर्मी पखाल्नलाई पनि समुद्रतिर जान सक्छन् । यसै सिलसिलामा, कवि समिर बोम्जन र म पनि उड्दै, बरालिँदै उत्तर कोरिया छेउको समुद्रीतट ‘सोक्छो’ बीचमा पुगका थियौँ । गर्मी बिदा र यहाँको समुन्द्रीतटबारे यहाँलाई धेरथोर जानकारी छ भने भन्न सक्नुहुनेछ, सुप्रसिद्ध बुसानको ‘हेउन्दे’ किनारमा नगएर किन उत्तरी किम ध्रुवतिर गएको ? 

यसमा दिमाग खियाउने त्यस्तो राजनीतिक कुरो केही छैन हजुर । खास कुरो के भने नि बढ्दो औधोगिक र विश्वव्यापीकरणले प्रदुषणको प्रभाव समुद्रमा पनि पर्ने रहेछ । अत्याधिक मान्छेहरू जम्मा हुने तटहरू ज्याँदा फोहोर हुन्छन् । थोरै मान्छेहरू जम्मा हुने ठाउँ कम फोहोर । त्यसैले सफा र चिसो हावापानीको खोजीमा स्वाभाविक रूपमा हाम्रो रोजाई उत्तरी ध्रुव रह्यो । 

दिनभर समुद्रको पानीसँग खेलेर थाकिसकेपछि साँझमा आरामसँग ’सी फुड’ समुद्री खाना खाने दुई जनाबीच लोकतान्त्रिक निधो भयो ।

करिब दुई घण्टाको रात्रिभोजपछि फ्याट्ट मेरो मुखबाट लरबरिँदै आवाज निस्कियो, ‘ओ प्रिय कवि महोदय, हामीले करिब नेपाली रुपैयाँमा दुई बोरा चामाल खरिद गर्न मिल्ने पैसा परेको समुद्री माछाको मुमुली प्लेटमा अट्ने सिर्फ एउटा परिकार खेर फाल्दै गर्दा ठीक यतिखेर कर्णालीको कुनै झुपडीमा कुनै बालक भोकै निदाइरहेको होला । हैन त ?’

त्यस घटनापछि हरेक जसो भेटमा ‘के तपाईंलाई थाहा छ ? आज हामी विश्वको ५ औँ महँगो सिटी कोरियाको राजधानी सिओलमा बास बसिरहेका छौँ नि ? त्यसैले आज हाम्रो बहस पनि सस्तोमस्तो हुनुहुँदैन । चियर्स !’ भनेर कटाक्ष गर्न नछोड्ने प्रिय कविदयको मुखबाट त्यो किसिमको बोली अचेल निस्किँदैन । 

सायद, हाम्रा इच्छाहरूले आवश्यकताको सीमारेखा पार गरेपछि यसरी नै पछुताउनुपर्छ । अनावश्यक फर्माइसीले उपभोक्तावादी संस्कृतिको मलजल त गर्छ नै साथै यो आफैँमा निम्न वर्गीयको लागि निम्नमध्यम वर्गीयद्धारा गरिने उत्पीडनकारी संरचनाको निरन्तरता पनि हो । त्यसैले यस विभेदकारी व्यवस्था निर्माणको भागिदार कहीँकतै हामी पनि छौँ । यसमा दुवै जनाको तर्ईबाट माफी मागेँ । त्यो घटना सम्झिँदा बहुत पछुतो लाग्छ । खैर, यतै छोडिदिउँ यो भावुक प्रसंग ।

अब ठीक ‘सुवन स्टेसन’ आइपुग्यो ।  

यहाँलाई अवगत हुनुपर्छ कि अघि बीचमा मैले यो ठाउँबारे फूलबारी नामको प्रसंग निकालेको थिएँ । यसबारे पनि थोरै चर्चा गरौँ हैन त ?  

सन् २०१९ जनवरीतिर गर्दै आएको काम छाडेर नयाँ कामको खोजीमा थिएँ । त्यसै सिलसिलामा नेपालीद्वारा सञ्चालित सेल्टरमा आश्रीत हुनपुगेँ । नेपालभरका विभिन्न अनुहार देख्दा लाग्यो ओहो, म त मिनी नेपालमा आइपुगेँ । बिहानबेलुका पालैपालो पकायो, खायो र घुम्यो । अनि दिउँसो काम खोज्यो । बस् यसरी नै बित्थ्यो दिनहरू ।

कोही रातभर तास खेल्ने । कोही रक्सि खाएर हल्ला गरिरहने । कसैले झगडा गर्ने, त कोही पञ्चायत बसेर मामला मिलाइदिने । ओख्खो, क्या दिन थिए ती । उसो त नराम्रा प्रसंग मात्र छैनन्, कतिपय बिर्सन नमिल्ने पनि छन् । 

एकदिन सेल्टरमै भेटिएको रोल्पाको ‘मगर’ साथीले भन्यो, ‘दिनदिनै कति यिनीहरूको मात्रै रोइलो कति हेर्नुहुन्छ ? आज म तपाईंलाई फूलबारी घुमाएर ल्याउँछु । जाने हो ?’ 

तत्क्षण मैले आफूलाई फूलैफूलको बिराट फाँटमा लडिबुडी गरेको कल्पना गरेँ ।   

दिउँसोको १ बजे, अघिअघि ऊ र पछिपछि म भएर करिब ३ सय मिटर गल्ली पार गर्यौँ । वारिपारि पुराना मौलिक छत भएका एकतले घर । र, सिसाले बारेको बरण्डा । र त्यसभित्र चल्मलाइरहेका सुन्दर जोडी मानव आकृतिहरूको छाया बाहिरैबाट अनुमान गर्न सकिन्थ्यो । 

केही दूरी पार गरिसकेपछि म सोध्छु, ‘फूलबारी आइपुग्न अझै कति समय लाग्छ ?’

ऊ हाहाहाहा गर्दै अट्टहास हाँस्छ र भन्छ, ’फूलबारी घुमेर सकियो नि सरजी ।’

‘बरु कस्तो लाग्यो फूलबारी ?’ ऊ अप्रत्याशित प्रश्न पनि थप्छ । 

‘कुन फूलबारी....?’ रनभुल्लमा पर्छु । 

केहीछिन पछि मैले लख काटेँ र एकैछिन अघि देखेको सिसाको सोकेशभित्र कैद भएका स्त्रीरुपी मानव फूललाई इंगित गरेको थियो उसले । 
 
म साविक झैँ मौन हुन्छु । र, त्यसपछि आफ्नो बाटो नाप्छु । यसमा मेरो भन्नु केही छैन ।  

एक साँझ सेल्टरमा सधैं हँसिलो रमाइलो देखिने ‘भण्डारी’ उदास देखियो । 

’आज ऊ किन यस्तो ?’ भनेर मैले त्यही मगर साथीलाई सोधेँ । 

’आज ऊ फूलबारी गएको थियो सर । एउटीले अफर गरेपछि ऊ भित्र गयो । तर, करिब ५ मिनेटमै निन्याउरो अनुहार लिएर बाहिर आयो,’ उसले हठातै जवाप दियो ।

’अनि के भएको रहेछ त ?’ प्रतिप्रश्न गर्छु ।
 
’के हुनु र भण्डारी मजाकिलो मान्छे छ । उसले अतिरिक्त सर्भिस चाइन्छ भनेर मर्यादित ग्रहाकको सीमा उल्लंघन गर्दै मजाक गर्न खोजेछ । केटीले मानिन छ । त्यसपछि उसले डबल पैसा फिर्ता दिएर आइन्दा तँ यो एरियामै देखा नपर्नु भनेर उसको पुरुषत्व हरण गरिछे । यदि देखा नै परिस् भने पुलिस बोलाउँछु भनेर थ्रेट पनि दिइ रे,’ गाँठी कुरो उसले एकै सासमा भन्यो । 

’स्याबासी’ ती नारीप्रति म मनमनै सहानुभूति टक्र्याउँछु । 

यही प्रसंगमा एउटा बात बताइहालौँ । अहिले कोरियामा मुख्य सहरहरूमा रेडलाइट एरिया बन्द भैसकेको छन् । यसमा मेरो एकजना विद्धान मित्रको मत छ, ‘गत वर्षको राष्ट्रपति निर्वाचनमा निवर्तमान मुन्जेइनलाई पराजित गरेर युन सक यल विजयी भएपछि आजको पूँजीवादी दुनियाँमा विश्व बजारकेन्द्रित समानहरूको उत्पादन र आपूर्तिको मालामालमा दाम र प्रसिद्धी कमाइरहेको अवस्थामा यौन व्यवसायीहरूको देश भनेर चिनिने विश्वमान चित्रमा राष्ट्रिय परिचय निर्माण हुन्छ भनेर हटाइयो रे ।’

खैर ! अन्य कुरो थाहा भएन । तर, निम्न वर्गको मजबुरीलाई सहरको सुन्दरतसँग दाजेर कुरुप देख्ने शासक विश्वका हरेक कुनामा विराजमान छन् ।

यौन व्यवसाय अनैतिक होइन । तर, यो पेसामाथि हामी जति पनि उपेक्षाको भाव राख्छौँ, यो त हाम्रो दृष्टीदोषबाट बनेको धारणा हो । के गर्ने उनीहरू यो काम गर्न बाध्य छन् भनेर मजबुरीकर्ताको पीडामाथि सहानुभूति राख्ने र अर्कोतर्फ त्यसलाई मनोरञ्जनको फूलबारी जस्ता संज्ञा दिएर उनीहरूको आर्तनाद छोप्न खोज्ने हाम्रो पीतृसत्तात्मक सोच वा ढोंगी चरित्रमाथि पनि मलाई सन्देह  छ । 

गनथन लामै भयो क्यारे यो स्टेशन कटिसकेको छ । यो कुरो पनि यही टक्र्याउँ क्यारे । अब हाम्रो अघिल्लो स्टेसन ‘योङसान’ हो । त्यो आइपुग्न केही समय लाग्छ ।
 

आउनुहोस् त्यतिञ्जेल रेलका डिब्बाहरूको भ्रमण गरौँ । पर कुनाको भूइँमा पलेटी मारेर बसेका समूह पक्कै नेपाली नै हुनुपर्छ । नत्र त्यस्तो भूइँपारा कसको हुनसक्छ ? बिना चकटीको भूइँमा विराजमान त्यो ग्रुपलाई भूइँसोहोरी सेवारो ।    

त्यतै गएर चिनजान पनि गरौँ कि ? 

’नमस्कार ! यहाँहरू कताको साइत होला ?’

’सौलमा छन्द उत्सव साहित्यिक कार्यक्रम छ हजुर,’ बिर्के टोपीवाला कवि भानुभक्तको छन्दमय सुरिलो भावमा जवाफ दिन्छ ।

’भानुजयन्ती हो कि ?’ आशंकाले सोध्छु ।

’होइन हजुर छन्द उत्सव ।’

अब यहाँहरूले नेपाली कला साहित्य उन्नयनमा डायस्पोराको भूमिका कति छ भनेर थाहा पाइहाल्नु भयो ।

तर, उहिले देवकोटाले भने जस्तो, सेक्रोटिज मेरो देशको कुनै पहाडमा हलो जोतिरहेका होलान् । या शेक्सपियर वीउँ छर्दै होलान् । या हेलेन पाखोमा घास काट्दै होलिन् । कालिदास बाख्रा चराउँदै होलान् भनेजस्तो छैन । अहिले नेपाली साहित्यको परिभाषा बदलिएको छ । 

देशको गुणगान वर्णन गरेर नथाक्ने राष्ट्रवादी घिमिरेहरू कुनै विदेशी मेशिनको सहरमा मानवयन्त्र बनेर रुमल्लिरहेका होलान् । २१ औँ शताब्दीमा पनि भानुभक्त शिरमा बिर्के टोपी र हातमा ‘बधुशिक्षा’ लिएर अझै सन्सार घुमिरहेका होलान् । उत्तर आधुनिकतावादको बोझले थिचिएर देवकोटाहरू साँच्चिकै पागल बनिरहेका होलान् । समाजमा वर्गीय र लैंगिक असमानताविरुद्ध कलमको निबबाट आगो ओकल्ने पारिजातहरू वा भनौँ सुयोगवीरले वासनात्मक नजरले ’सकम्बरी मलाई तिम्रो कमाल साह्रै मन पर्छ’ भन्दा कपाल च्वाट्टै पारिदिने सकम्बरीहरू आज कुनै विदेशको सहरमा ’मान्छे बन्न पनि रुनु पर्दो रहेछ’ भन्दै जीवनसँग लाचार सम्झौता गरिरहेका होलिन् । वा कुनै अमुक मार्क्सवादी साहित्य चिन्तकले यस्ता महान् रचना कोरिरहेका होलान्– 

‘भगवान पुकारेको धेरै भयो खोलाको किनारबाट 
अझै सुनुवाई भएन ढुंगा उभिएको मन्दिरबाट’

यति भनेपछि अब भने जस्तोसुकै भौतिक मान्छे पनि स्वाभाविक संकटमा ईश्वरप्रदत्त हुन्छ र भगवान गुहार्छ भन्ने धार्मिक पाखण्डताको कुनै पनि बात मलाई लाग्दैन भन्नेमा ढुक्क छु । आखिर, मार्क्सका अनुयायी उदयीमान चीनका सर्वकालीन भौतिकवादी कम्युनिस्ट लिडर माओले पनि कुनै बेला कमिटीमा आपत पर्दा ’ओ माई गड’ भनेर भनेकै थिए । यदि त्यसो भनेका थिएनन् भनेर किरिया खाने नेपाली कम्युनिस्ट भेटेको दिन हाम्रा भावुक कविजीलाई उक्त मतला मेटाउने उर्दी जारी मै गरुँला, कोही बात नही ।  

प्रवासको साहित्य माहोल यस्तै हो । 

प्रसंग अलि रतिरागात्मक भयो क्यार । ’थोरै राजनीति पनि जोडौँ कि ?’

प्रवासमा साहित्यको मात्र होइन, यहाँ संगठिन विभिन्न राजनीतिक वा पहिचान केन्द्रित संघसंस्थामा हर्क साम्पाङको श्रमदानदेखि बालेनको डोजर आतंक र रविको घन्टी र्याइँर्याइँदेखि लिएर नयाँ पुस्ताको उदय र पुराना दलको पतनसम्मको भविष्यवाणी चर्चा चलिरहन्छ । 

यो नितान्त व्यक्तिगत अनुभूति हो । 

सन् २०१८ तिर हो ‘नेपाली जनसम्पर्क समिति’ नामक कुनै नेपाली लको भातृ संस्थाले राजनीतिक कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला म आमन्त्रित नेपथ्यको महिमान थिएँ । 

मञ्चमा उक्त दलका एक नेता आए । र, तिनले लामो गन्थनपछि गर्वका साथ फ्याट्ट भनिदिए, ‘प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हो, आज तपाईं जुन ठाउँमा हुनुहुन्छ, त्यो हाम्रो पार्टीका आदरणीय नेता फलानो बहादुरको पालामा २०४६/४७ सालको बहुदलीय क्रान्तिपश्चात पासपोर्ट बन्ने नीति आएको कारणले हो । यदि तपाईं हाल देशमै रहेको भए बेरोजगारी र कष्ट भोग्नुपर्थ्यो । यसैले आफूलाई भाग्यमानी ठान्नु होस् र गर्व गर्नुस् ।’

’यदि तपाईं जो कोही हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ भने यसमा गर्व या पछुतो के हुन्छ ? मलाई थाहा छैन । तर, मलाई गर्व लागेको भए गोली मार्दिनुस् ! साँच्चै । 

प्रत्येक देशको एउटा आफ्नै राष्ट्रिय आदर्श र चरित्र हुन्छ । त्यो के हो र कसरी निर्माण हुन्छ ? भन्ने कुरा प्रथम विश्वयुद्धदेखि नेपाली सेनाहरू लडाकू वीर योद्धाका रूपमा र आज लाखौँ युवाहरू योग्य कामदार बनेर शक्ति र श्रम बेच्न बाध्य हुनुपरेको कारण नेपाल रेमिटेन्सका लागि बाँचेको मुलुक हो भन्ने नेपालको राष्ट्रिय परिचय कायम रहेको जग जाहेर नै छ । 

सन् १८१६ मा इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिपछि नेपालमा छाती नाप्न ब्रिटिस सेनामा भर्ती जाने संस्कारको दैलो उघारिएको थियो  । त्यसै कारणले आजको भूमण्डलीकृत पूँजीवादमा विकसित मुलुकका सामुन्ने विकासशील भइरहँदा वा न्यूनतम आधारभूतका लागि युवा शक्तिको शिर झुकेको मान्ने ? कि आत्मरति नै सही इतिसको कुनै कालखण्डमा साम्यवादी शक्तिका प्यादा गोर्खाली हुनुपरेको गर्व ? यो प्रश्नको उत्तरको खोजी यसरी पनि सकिन्छ ।

देश बनाउने ठेक्का लिएका ती नेताको मुखबाट त्यो सुन्दा आज पनि गोर्खाली हुनु परेकोले गर्व होइन, बरु उनीप्रति लाज, घृणा र आफ्नो जन्मप्रति एकैसाथ पछुतो लागेको हो । कस्सम ! 

जिन्दगी नामको कारागारभित्र कुनै कैदीलाई एउटा यस्तो आरोप लगाइदिनुस् ।  

’तँ नजन्मिनुपर्ने थियो, जन्मिस् । त्यो पनि आजको तेस्रो विश्वमा । अब तैँले सजाय नभोगेर हुन्छ ? जा खुरुक्क पासपोर्ट बना । बस यति बोली नै उसको लागि सजाय बन्न काफी छ ।’ 

राजनीतिक कुरो यही बिट मारौँ ।

प्रिय यात्रुगण, हामी ’योंसान स्टेसन’ आइपुगेको जानकारी गराउँदछु । 

यस ठाउँबारे खासै अवगत त छैन । तर, पनि ऊ त्यो झ्यालबाट देखिने यहाँको ’हिस्टोरिकल वार मेमोरियल म्युजियम’ हो । जहाँ सन् १९५०–५३ तिर कोरियन (साउथ–नर्थ) युद्धमा प्रयोग भएका हातहतियार र युद्ध विमानहरू सम्मानसाथ राखिएका छन् । 

कुनै समय आफ्नो भूमिमाथि पश्चिमा र सोभियत शक्तिले विभाजनको रेखा कोरिदिएका थिए । आज पनि तिनै असमान सन्धि र सम्झौताहरूको पालना गर्नुको विवशता त छँदै छ । निर्ममतापूर्वक प्रयोग भएका हतियार र युद्ध विमानहरूलाई संग्रहालयमा यसरी पुज्नेहरू दुखी आत्मा हुन् । यिनीहरूले भोलिको सन्ततिको लागि सुख होइन, बरु शोक छोडेर जाँदैछन् । त्यसैले भोलिको पुस्तालाई दुःख सहन गर्ने शक्ति प्रदान होस् । कामना गरौँ ! 
 
राजधानी सिओलको मध्य शहरबाट उत्तर पूर्वी भूभाग हुँदै दक्षिण पश्चिमीतिर सर्लक्क बगेको ‘हानगाङ’ नदीको आफ्नै गति छ । नदीमाथि लामो पुल अनि पुलमाथिको रेलमा सवार हाम्रो सवारी । यात्रा सुखद नै होला भन्नेमा विश्वस्त छु ।    

प्रिय यात्रुगण, अब हामी राजधानी प्रवेश गरिसकेका छौँ । 

रेल सिओल हुँदै अन्तिम स्टेसन ’छङर्याङरी’तर्फ लक्षित हुँदै तीव्र गतिमा कुदिरहेको छ । 

झ्यालबाट बाहिर हेर्दा निकै आकर्षक दृश्य देखिन्छ । फराकिलो फाँटमा आफ्नो गति अनुकूल घिस्रिँदै बगेको नदी । नदीबीचमा तलाउ र त्यसमाथि अत्याधुनिक रिजोर्ट । दुईतर्फी किनारामा काँइयोका देवाल जस्ता उभिएका आलिशान भवनहरूले यो देशको अर्थ राजनीति र भौतिक सवृद्धीको शिर शानले ठड्याइरहेका महसुस गराउँछन् । तर, यस झिलिमिलीभित्र हराएका अनेक कथा छन् । 

यहाँको भौतिक विकासबारे वर्णन गरिनसक्नु छ । मौका मिले छुटपुट अर्को यात्रामा वर्णन गरौँला । हवस् त । 

प्रिय यात्रुगण, हाम्रो स्टेशन ‘सिओल’ आइपुगेको छ । 

’कसैले पर्खिभन्दा पनि पर्खिन मान्दैन 
समयको गति र हाम्रो नियति यस्तै हो’

यो ३० मिनेट समय र यात्राको साथका लागि धन्यवाद !


Author

थप समाचार
x