सप्ताहन्त

यात्रा संस्मरण

गज्जबको गान्जी

अनुपम यौवनको भौगोलिक छातिमा उभिएर प्राकृतिक सुन्दरताको रसास्वदन

जीवन श्रेष्ठ |
भदौ ३०, २०८० शनिबार १३:३१ बजे

सिचुवान प्रान्तको राजधानी छेन्तुबाट झण्डै एक घण्टाको उडानपछि हामी गान्जी  पुग्यौ । नयाँ देश, नयाँ परिवेश र नयाँ उत्सुकता बोकेर गएका हामी हाम्रा आँखाले नयाँ खोजिरहेका थिए । नेपालको पहाडी भूभागमा जन्मेर हुर्केका हामी, हामीले अधिकाँश नेपालका पहाडी भूभागहरू  कतै पैतलाको प्रयोगबाट, कतै सवारी साधनको सहराबाट कतै कतै हवाईमार्ग माध्यमबाट मनग्गे घुमेर निलिसकेका थियौं ।


उस्तै भूगोल, नेपालकै जस्तै भूवनावट ! उही पहाड, उही खोला र उही भीरपाखा ! हाम्रा लागि उस्तै उस्तै लागे पनि केही फरक र नयाँपन त थियो नै । त्यो फरक परिवेशको मात्र थिएन । त्यो फरक देश मात्र थिएन । खासगरि भूगोल उस्तै भए पनि उस्तै भूगोललाई भूस्वर्गकै आभास दिलाउने त्यहाँ अचम्मको आयामहरू थिए । ती आयामहरूलाई बाँधेका थिए त्यहाँका विकास, निर्माण र विज्ञान, प्रविधिले । हो निश्चय पनि त्यहाँका पहाडहरू निस्ता पहाड मात्र थिएनन्, नेपालका जस्ता ।

ती पहाडमा अनुपम विकासका अनगीन्ति सुन्दरताका आँचलहरू थिए । त्यसैले त त्यहाँ बग्ने खोलाहरू पनि सुन्दरता सुसेल्दै बग्ने गर्थे । हाम्रा नेता, प्रधानमन्त्री र उच्चपदस्थका कर्मचारी वर्षेनी चीनका यस्तै  र उस्तै भूभागमा घुम्न जाने गर्छन् । त्यहाँबाट नेपाल फर्केपछि थाह भयो हाम्रा घुमन्ते नेताहरूले चीनमा चिनी मिसाएको पोर्क मात्र खाएर आउँदा रहेछन् । हैन भने हाम्रा पहाडहरू निस्ता पहाडहरू मात्र हुने थिएनन् । हाम्रा नदीहरू निस्ता नदी मात्र हुने थिएनन् ,पक्कै पनि ।

खैर हाम्रातिरको कुरा थाँति राखम् क्यारे । उही गान्जीकै कुरा गरम । चीन स्वाशासित तिब्बतको सिचुवान प्रान्त अन्तर्गतको  गान्जी १ लाख ५३ हजार बर्गकिलोमिटरमा फैलिएर रहेको छ । औसतमा सामुद्री सतहबाट ३ हजार पाँचसय उचाइमा रहेको गान्जी भौगोलिक विकट क्षेत्र मानिएता पनि त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासको फड्कोले अद्धितीय बनेको छ । प्राकृतिक अनुपम छटाले भरिपूर्ण गान्जीको हाम्रो यात्रा हिमाल, पहाड र खोलानालामा मात्र सीमित रहेन । हेराई र भोगाईहरू अन्तत सिकाई बन्नु पर्छ भन्ने हाम्रो मान्यतालाई मूर्तरुप दिंदै हामीले त्यहाँको शिक्षा, स्वास्थ्य, जनजीविका र संस्कृतिलाई पनि सुक्ष्मरुपमा नियाल्ने प्रयत्न गर्‍यौँ ।

आधुनिक र बैज्ञानिक चिकित्सा प्रणालीको विकासले दुनियालाई दंग बनाइरहेको चीनमा त्यसको अवस्था अध्ययन गर्नुभन्दा पनि परम्परागत उपचार पद्धतीलाई चीनले कसरी अगाडि बढाइरहेको छ त भन्ने प्रश्न हामीमा उब्जेको थियो र त्यसको जवाफमा चिनियाँ र तिब्बतीयन परम्परागत उपचार गर्दै आएको अस्पतालले दियो । डोचेङ काउन्टी, गान्जीस्थित त्यो परम्परागत अस्पताललाई परम्परागत शैलीमा उपचार गर्नका लागि चीन सरकारले उल्लेख्य लगानी गरेको पाइयो ।

पाँच हजार बर्गमिटरमा फैलिएको क्षेत्रफलमा चार हजार वर्गमिटरको सुविधा सम्पन्न भौतिक संरचनाले हामी छक्क भयौँ । भौतिक संरचना निर्माणार्थ मात्र चाइना सरकारले यो वर्ष १० मिलियन लगानीले गरेको रहेछ । अकुपञ्चर अकुप्वाइन्ट, सुनौलो सुई लगायत जडिबुटीको अधिकतम् उपयोग गर्दै उपचार हुने त्यस अस्पतालमा चालु वर्षमा २५ हजार बढीले उपचार गरिसकेका रहेछन् ।

उभिँदा उभिँदै अस्पतालको आँगनमा मलाई झट्ट मेरो देशको अस्पतालहरूको याद आयो । अझ यसो भनौं देशकै जेठो अनि ठूलो भनिएको  बीर अस्पतालको । तुलना गर्न मिल्ने कुनै तुक थिएन मसँग । साँची हामीसँग पनि त हाम्रा परम्परागत आयुर्वेद औषधालयहरू छन् । त्यसको हालत हेर्दा र यो अस्पतालको वैभवता र सफलता हेर्दा मसँग फगत उदेक बाँकी रह्यो ।

सँगै नै रहेछ साँग्रिला कि बोर्डिङ स्कूल । विद्यालयको वातावरण नै बबाल ! २० हजार ६ सय वर्गमिटरमा फैलिएको त्यो स्कूलको क्षेत्रफलमा ९ हजार ९ सय ४४ बर्गमिटरमा त विद्यालयको भौतिक संरचना नै निर्माण भएको रहेछ । सीपसँगै शिक्षा, शिक्षासँगै सीप सिकाउने अवधारण अनुसार सञ्चालित त्यस स्कूलमा ३ सय ९१ जना तिब्बती विद्यार्थीहरू अध्ययन गर्दै आएका रहेछन् । आवास, खाना, खाजा सबै निशुल्क । कपी, पेन र ड्रेस पनि निशुल्क । कक्षा १ देखि ६ सम्म सञ्चालित विद्यालयमा ल्याब कक्षा, कम्प्युटर कक्ष, संगीत, कला, स्वास्थ्य तथा खेलकूद कक्षा र पुस्तकालय लगायतका कक्षाहरू व्यवस्थापन गरिएको रहेछ ।

अलि टाढा रहेको साँग्रिला बिलिङयुअल किन्डरगाटेन स्कूल पनि यसै क्षेत्रको नमूना स्कूल रहेछ । विहानी  सत्रमा हामी प्रवेश गर्दा कोही विद्यार्थीहरू माटो पुछ्न थालेका थिए, कोही कोही खेल खेल्दै थिए त कोहीकोही ढुँगामा आकृति खोप्दै थिए त कोही कोही भने माटाबाट बनेका भाडामा रंग पोत्दै थिए । १ सय ४६ जना सानासाना बालबालिकाहरू अध्ययनरत यस विद्यालयमा कक्षा ४ सम्म अध्ययन हुदो रहेछ । औपचारिक शिक्षासँगै जीवनउपयोगी शिक्षा दिनु नै त्यो स्कूलको ध्यय रहेछ । सबै कुरा निशुल्क । सँम्झे नेपालमा पनि संविधानले माध्यमिक तहसम्म निशुल्क शिक्षाको सुनिश्चिता गरेको छ । हो सुनिश्चित त गरेको छ तर कार्यान्वयन ? आफैले आफैँलाई प्रश्न गरे । वस । 

याङ्दी गाउँ सिचुवान प्रान्त, गान्जी क्षेत्रको एक अनुपम र अद्धितीय क्षेत्र । पुग्नेलाई फेरि जाउँ जस्तो, नपुग्नेलाई पुग्नै पर्ने ठाउँ । प्राकृतिक र सांस्कृति यो गाउँलाई चाइनीज परम्परागत गाउँको उपमा दिएर सिचुवान सरकारले २०२२ मा प्रोत्साहित पनि गरेको रहेछ । डोचेङ काउन्टीबाट झण्डै सय किलोमिटर पर रहेको त्यो क्षेत्र पुग्दा मानौ स्वर्गमा पुगेको अनुभूतिमा जो कोही पनि अल्हादित हुन्छ नै ।  मुख्यतया तीन पवित्र पहाडहरू, सियानाइरी, याङ माइयोङ र चेन्दोडोजीद्वारा परिवेष्ठित त्यो उपत्यकका सुन्दर वातावरणले एकछिन मैले जीवन भूलें । सानो तर ताल जस्तो, स्थिर देखिने तर गतिशिल नदीमा सियानाइरी हिमालको छाँया देख्दा लाग्थ्यो संसारका सबै सुन्दरताहरू यही समेटिएको छ । 

वरपरका नदीहरू, निर्मल तालहरू र अल्पाइन घाँसहरूको मैदान जति हेर्‍यो, उति हेरौं हेरौं लाग्ने । अलि परको कलात्मक आकर्षक चोङ्गु गुम्बाले शान्ति गुनगुनाइरहेको आभास दिने यो क्षेत्रलाई चिनियाँहरू चीन, साँग्रिला (भूस्वर्ग)को आत्म भन्न रुचाउँछन् ।  हुन पनि यो उपत्यकाको दृष्य कल्पना गरिएको स्वर्गको भन्दा कम छैन । झण्डै चारघण्टाको गाडी यात्रा पश्चात  पुगेथे त्यस उपत्यका । त्यहाँ उभिसकेपछि मेरा थकानहरू आफै टाप ठोकेको मैले  पत्तो नै पाइनँ, सँगैसँगै जलवायु परिवर्तन र बढ्दो तापमानले यहाँका हिमालहरू पनि काला पहाडमा अनुदित हुन श्रापित भएको महसुस गरे । फेरि मनमनै भने यो देश त चीन पो हो । के थाह अर्कापटक आउदा यी काला पहाडहरूमा सेताम्मे हिउँ हासिरहेको हुनेछ ।

चीनका लागि कृत्रिम हिउँ बनाउन कुन आइतबार कुर्नुपर्ला र ? त्यही अनुपम यौवनाको भौगोलिका छातिमा उभिएर प्राकृतिक सुन्दरताको रसास्वदन गरिरहँदा मैले मेरै जिल्लाको नेपेमाछाल सम्झिन पुगें । उस्तै  भूगोल । अझ यो भूगोलभन्दा पनि सुन्दर छ त्यो भूगोल । जुगलको वेश क्याम मेरो भूगोल अनि  सियानाइरी हिमालको वेश क्याम्प यो भूगोल तर फरक यति न हो उनीहरूले भूगोलको मर्म चिन्न सके । हामीले चिन्न सकेनौ । उनीहरूले आफ्नो भूगोलको  सौन्दर्यमाथि अरबौको लगानी गरे र दुनियालाई बेचे । हामीले न त चिन्न सक्यौं, न त बेच्न नै  ।

गान्जी फन्को लगाइरहँदा साङपिलिङ गुम्बा फन्को लगाएन भने त्यो फन्कोको रन्को कुनै कुनामा थन्को लगाई  दिए पनि हुन्छ । चिङचेङ काउन्टीमा रहेको यो गुम्बा  बुद्ध धर्मालम्वीहरूको बैभव हो   । स्थानीय कालिगढले निर्माण गरेको यो गुम्बा कला नै कलाको अचम्मको संसार हो भन्दा पनि फरक पर्दैन । कम्युनिष्ट मुलुक चीनले धर्म संस्कृति संरक्षणका लागि गरिएका अनेकन उदाहरणहरू मध्यको एउटा सवल अनि गतिलो दृष्टान्त  पनि हो यो गुम्बा । बुद्धका ठूलठूला ६ वटा प्रतिमा रहेको यो गुम्बामा ५ हजार जनाले एकैपटक प्राथना गर्दै आएका छन् । ६ तल्लाको यो गुम्बाको झण्डै ८ सय वर्ष अगाडि बनेको बताइन्छ । 

आयआर्जनका लागि किसानहरूलाई अंगुर खेतिमा संलग्न गराउँदै अंगुरबाट बनेको रक्सीमा रमाउनु  पाउनु पनि हाम्रो भ्रमण नमन् नै सावित भयो । चिङचेङ काउन्टीमा नै रहेको रक्सी कम्पनीले प्रत्यक्षरुपमा ६५ जना स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोडेको रहेछ भने अप्रत्यक्षरुपमा सयौं जनालाई । अर्कोतर्फ हरितगृहभित्र टेक्नोलोजि प्रयोग गर्दै गोलभेडा उत्पादन गरेको देख्ता रमाइलो र अचम्मको अनुभूति भयो । एकमुठी माटोमा प्रविधिको भरपुर प्रयोग गर्दै थोपा सिँचाईमार्फत यहाँ गोलभेडा खेति हुँदै आएको रहेछ ।

फरक स्वादको ६ थरीको गोलभेडाले अचम्ममा मात्र पारेन । चाख्दाखेरी दंग पनि भयौं ।  पछिल्लोपटक चीन सरकारले तिव्तीयन कोर यरियामा होमस्टेका लागि पनि राम्रै लगानी गरेको पाइयो । साँस्कृतिकरुपमा सम्पन्न तिब्बतीयनहरू अहिले आफनै परम्परागत घरहरूमा होमस्टे सञ्चालन गरेर मनग्गे आम्दानी गरिरहेका रहेछन्। सबै सामाग्रीहरू परम्परागत र साँस्कृतिक रहे पनि लक्जरी होमस्टेलाई पनि यहाँ प्राथमिकरण गरिएको रहेछ । क्षत्रिय अपरेटर च्याङयाङजी डोमा पर्यटकहरू परम्परागत सांस्कृतिक होमस्टेमा बस्न रुचाएको बताउँछिन् । 

होमस्टेको अवलोकलन र छ्या दुईकप पिएपछि भीडभाडले भरिभराऊ चेम्मा गाउँमा पुगेको हामीलाई पत्तो नै भएन । खासगरि बाहिरी मूलुकका पर्यटकहरूका लागि निषेध गरिएको यो तिब्बतीय कोरा एरिया इटाङ तिब्बती सांस्कृतिक क्षेत्रको खामको भाग हो, र यहाँ धेरै प्रसिद्ध बौद्ध व्यक्तित्वहरू जन्मेका थिए, जसमा ७ औं दलाई लामा, १० औं दलाई लामा, ११ औं ताई सितुपा, चार पाबालाहरू, साथै लाब्राङको ५ औं जाम्यांग झेपा पनि समावेश छन्।  पहिलो कर्मापा लामा दुसुम खेन्पा यहाँ फर्केर काम्पो नेनाङ गुम्बा र पाङ्फुक गुम्बा निर्माण गरेको बताइन्छ । खासगरि पौराणिक र परम्परागत वस्ती र संस्कृतिले यो क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्दो रहेछ । 

स्थानीय भेषभूषामा तस्वीर खिच्नेहरूको लर्कोले यो क्षेत्रलाई फोटो सेसनको हवको रुपमा पनि पहिचान दिंदै रहेछ । त्यो भीडभाड छिचोल्दै एउटा सामान्य पुरानो घरमा हामी प्रवेश गर्‍यौ । त्यो सातौं दलाई लामा जन्मेको घर रहेछ । घरभित्र एउटा सानो ठाउँलाई बडो सुरक्षित ढंगबाट संरक्षण गरिएको रहेछ । त्यही ठाउँमा सातौं दलाई लामाको जन्म भएको रहेछ । साँस्कृति सम्पदामा चीन सरकारले दिएको त्यो चासोले एकछिन म अवाक्क भए र निस्के पुरानो जीवनशैलीको झझल्को दिने म्युजियमतर्फ ।

म्युजिएममा सयौं वर्ष अगाडिको तिव्बती जीवनशैलीको अध्ययन गर्दागर्दै समय घर्की सकेको थियो । त्यहाँबाट  फटाफट निस्कनुको अर्को विकल्प थिएन र  खुट्टा लम्कायौं छन्तुको लागि । छन्तु पुग्नु अगाडिको आँखाले नभ्याउने पठारहरू, खोला र आकर्षक पहाडहरू अहिले पनि पलपल सम्झना भएर सताइरहन्छ । कुनै दिन पढेथें विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हवाइ अड्डा नेपालमा पर्छ भनेर । तर सामुद्री सतहबाट ४ हजार १ सय ११ मिटर उचाइमा रहेको दोचेङ यादिङ विमानस्थल पाइला टेक्दा मैले मेरो देशको पहिचानमाथि पाइला टेकिरहेको महसुस गरेँ । 

पहिलोपटक देश छोडेर विदेश हानिएको म । मेरो लागि विदेश नौलो हुने त स्वभाविक नै हो तर त्यो भन्दा पनि नौलो त त्यहाँको सरकारले गरेको अद्धुत विकास निर्माण, भाषिक, सांस्कृतिक खानपिन संरक्षण नै रह्यो । मेरो विचारमा जीवन अनुभव र अनुभूतिहरूको निचोड हो । जसको क्रमितासँगै जीवनका स्वरुपहरू पनि बदलिँदै जान्छ । पक्कै पनि यो अनुभव र अनुभूतिबाट मेरो जीवनको स्वरुपमा केही बदलाव आउने नै छ । यदपी चीनको यो भ्रमण खास गरि गान्जी क्षेत्र मेरो मानस्पटलमा संधै वाह! अहो ! क्या ! भएर रहनेछ ।


Author

जीवन श्रेष्ठ

श्रेष्ठ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष हुन् ।


थप समाचार
x