म १२ को विद्यार्थीलाई कोही बुझाइदेओस्— नेपाल बन्दका फाइदा के–के छन् ?
‘नेपाल बन्द’ शब्द आफैंमा देशद्रोही लाग्छ । राष्ट्र–शत्रुले बोल्ने शब्द लाग्छ । देश बन्द गरेर के हुन्छ ? सीमित व्यक्ति पक्कै पनि रमाउलान् । उनीहरूको हित होला । तर, थोरै बाहिर आएर हेर्ने हो भने ठूलो जनमासमा भयंकर असर पुर्याइरहेको हुन्छ ।
म सानो हुँदाखेरि कहिलेकाहीँ सुन्थेँ, ‘आज नेपाल बन्द रे ! माओवादीको रे ! खै के–के जातिको रे !’ स्कुल पढ्दाखेरि ‘नेपाल बन्द’को त्यस्तो असर भोगिनँ । सायद उमेर सानो भएर थाहा नपाएको नि हुन सक्छु । पछि लेख/किताब/डकुमेन्ट्रीहरूबाट थाह पाएँ, त्यस बेलातिरको दर्दनाक समय । त्यस बेलाको विद्यार्थीको मनोविज्ञान ।
सवारी चालकको व्यथा । चोकहरूमा सानो पसल गर्ने मान्छेहरूको पीडा । यी कुराहरू म मेरो वरिपरिको वातावरणमा घटेको सोच्न नि डराउँथेँ । त्यसबेला ‘नेपाल बन्द’ शब्ददेखि औधि डर लाग्थ्यो । तर, आजभोलि शब्दबाट होइन त्यसले पार्ने असरबाट डर लाग्छ । र, जीवनमा कहिल्यै पनि ‘नेपाल बन्द’ देख्न÷भोग्न नपरोस् भनेर सोच्थेँ । देशले नेपालको संविधान २०७२ पाएपछि अब त नेपालमा ‘नेपाल बन्द’ नहोला भन्ठानेको थेँ, सायद म जस्तै सोच्ने ठूलो जमात छ । तर, विडम्बना मैले ‘नेपाल बन्द’ भोग्दै छु ।
म काठमाडौँको एक औसत कलेजमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थी । देश बन्द गर्ने कार्य मलाई कति पनि ठीक लाग्दैन । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको मूल्य वृद्धि गरेको भन्दै ‘नेपाल बन्द’ गर्ने कार्यक्रम नै गरे । मसाल जुलुस निकाले, टायर बाले । ‘नेपाल बन्द’ अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने धम्की दिए । डरले हो या केले मेरो कलेज बन्द भयो । पसलहरू बन्द भए । सडक रित्तो भयो । अस्वाभाविक महँगी बढ्नु कुनै हालतमा पनि ठीक हुँदैन । तर, विरोध गर्ने तरिका भएन ।
आन्दोलन/हड्तालले मात्र समाधान हुँदैन । कामरेडहरूले गरेको विरोध जनमानसलाई असर पुग्ने मात्र भयो । महँगीले आकाश छुनु सबै नेपालीको साझा समस्या हो । आय जहाँको त्यही छ । अझ कोभिडले थलथलिएका व्यापारहरू भर्खरै तग्रिँदै छन् । विद्यालय भर्खर भौतिक रूपमा लाग्न थाल्दै छन् । अनि यस्तो समयमा देश बन्द गर्ने कामरेडहरू ?
तपाईंहरूले जनमासलाई पीडा/मर्का नपर्ने तरिकाले पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीको मूल्य वृद्धिविरुद्ध आवाज उठाउन पथ्र्याे । विरोधमा टायर/आगो त बाल्नु भयो ! पेट्रोल/मट्टीतेल त उही आयल निगमले तोकेको भाँडामा किनेर जलाउनु भयो होला ? त्यसबाट निक्लेको धुवाँले जलवायु परिवर्तन हुन मद्दत गर्यो । आफ्नै देशको हिमालहरू नांगो डाँडा भएको देख्न अझै सडकमा कति समय टायर बालेर विरोध गर्ने कामरेड ?
म पनि अस्वाभाविक मूल्य वृद्धिको विपक्षमा छु । हामी यसै त यसको असरले प्रभावित छौँ । त्यहीमाथि ‘नेपाल बन्द’ गरेर किन थप आर्थिक क्षति बेहोर्न खोजेको कामरेड ? घाटा त हामी जस्ता सर्वसाधारणलाई न हुने हो । तपाईंले उठाउनु भएको मुद्दा ठीक थियो । विरोध गर्ने शैली मात्र नपुगेको हो । नत्र, यत्रो जनमासको समस्यामा आवाज उठाउँदा किन जनमासले नै साथ दिएनन् ?
विगतका दिनहरूमा विद्रोह÷आन्दोलन÷बन्द आदिका कारण धेरै विद्यार्थीहरू आफ्नो पढाइ छाड्न बाध्य भए । उनीहरूको जिन्दगी बिग्रेको छ । होला नेतागिरी गर्नेको बिग्रेन । तर, एउटा ठूलो जमातको त बिग्रेर गयो नि त ! आज विदेश पलायन हुनेहरूमध्ये धेरैजसो उनीहरू त छन् ! हामी भर्खर त शान्तिको यात्रा गर्दै थियौं । कामरेड, तपाईंले फेरि विद्रोहको बाटो रोज्नु भयो । सायद भगवान् गौतम बुद्धको शिक्षालाई तपाईंले मनन गर्नु भएन । ए साँच्ची ! कामरेडहरू त धर्मलाई मान्नु हुन्न क्यारे !
कामरेडहरू तपाईंहरू आन्दोलन गर्नुहोस् । जनमानसको समस्या उजागर गर्नुस् । तर, जनमानसको समस्या उजागर गर्दा जनमानसमा नै असर नपुगोस् ।
सरकार, तिमले पनि कान खोलेर सुन । नागरिकको हित गर्दैनौ भने तिमीविरुद्ध त झन् कडा आवाज उठ्छ । तर, मर्का हामीलाई न हुने हो ।
एक विद्यार्थीका लागि विद्यालय मन्दिर हो । त्यहाँ जानबाट वञ्चित गर्नेहरू के अपराधी होइनन् ? कामरेड, विद्यार्थीको नजरमा अपराधी बनिसक्यौ । म सबैलाई भन्छु, नेपाल बन्द गर्ने अपराधी हुन् । अब ‘नेपाल बन्द’ गर्ने काम नगर ।
मेरो प्रिय पुस्तक हितोपदेश (१९ : २७) मा लेखिएको छ : ‘ए मेरो छोरो, अर्ती सुन्न छोडिस् भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस् ।’
नेपाल कसैले बन्द गरेर गरिनेछैन । कसैले सपना नदेख्दा हुन्छ । नेपाल खुला छ ।