ब्लग

मेलम्ची बाढीका प्रत्यक्षदर्शीको बयान

बग्दै बग्दै जाने रेडियोसँग

सञ्चारकर्मीले देखेको तहसनहस

दीपिन ढुंगाना |
साउन १७, २०७८ १४:२९ बजे

साउन १६ गते बेलुका खाना खाएर सुत्ने तरखरमा थियौँ । ‘खोला थुनियो रे ?’ भन्दै फोन आउन थाल्यो । विभिन्न व्यक्तिहरु स्टाट्स लेख्न थाले । बाढी आउने भएपछि धेरै मानिस डराउन थालिहाले ।

कोही आत्तिन थाले । कोही चिच्याउन पनि थाले । नभन्दै मेलम्चीमा खतराको संकेत देखिन थाल्यो । साइरन बजेको बज्यै गर्न थाल्यो । जति धेरै साइरन बज्छ । त्यति धेरै मनको ढुकढुकी बढ्न थाल्यो ।


ADVERTISEMENT

मेलम्ची सुसाउन थाल्यो । सुसाउँदै कराउन थाल्यो । मेलम्चीको सुसाहट यति डरलाग्दो थियो, कि अब भूकम्प आउने वाला छ । मेलम्चीले बाढीमा ढुंगा, माटो, लेदो, गिट्टी, रुख, मुढा बगाउन सक्ने जति सबै साथै लिएर बगेको थियो ।

त्यही भएर मेलम्चीको डरलाग्दो आवाज हाम्रो कानसम्म ठोक्किएको थियो । असार १ गतेकै जसरी लेदोसहितको बाढी आउन थालेपछि मन रुवाउन थाल्यो । यो क्रम बेलूकीदेखि नै थियो । विस्तारै राती हुन थाल्यो । बाहिर अध्यारो बढ्यो । त्यतिबेला नै बिजुली गयो । हामी मोबाइल फोन, टर्चको सहारामा रेडियोको भवन हेरिरहेका थियौँ ।

जो असार १ गतेदेखि बाढीमा डुबेको थियो । डुबेपनि रेडियो भएको घर भत्किदैन भन्ने हाम्रो विश्वास थियो । तर मेलम्चीले हाम्रो विश्वासमा लेदोमा मिसाइदियो । टर्च लाइटकै भरमा हेरिरहेका हाम्रो आँखै अगाडि रेडियोको घर गल्र्याम्म ढल्यो । केही बेरअघिसम्मको सग्लो घर ढलेर खोलामा मिल्दा हाम्रा आँखा रसाए । तर पनि हेर्नुपर्यो । हामी सञ्चारकर्मीको बाध्यता यही हो । त्यसमाथि बाढीबारे रेडियोबाट पलपल अपडेट दिनु थियो ।

रेडियोको घर बाढीमा डुबदेखि नै वैकिल्पक मिक्सर र ल्यापटपबाट हामीले फेरि प्रसारण सुरु गरेका थियौँ । बाढीले फेरि मेलम्चीबासीलाई सडकमा ल्याउन थाल्यो । 

हामी बाहिर निस्कन थाल्यौँ । सडक पेटीमा बालबच्चा सुताएका मानिसहरु थिए । कोही मध्य निन्द्रमा परेका स–साना बालबालिकालाई उठाउदै कुदाउँदै हिड्नुपरेको दृश्य देख्यौ ।

दिनभरिको थकाइले आफ्नो घरमा मिठो मसिनो खाएर सुस्केरा हाल्दै सुत्ने समयमा बाढी आएको थियो । त्यही बाढीले मच्चाएको वितण्डा गरीब दुःखीका लागि कहालीलाग्दो बन्यो ।

राती यसैगरी बित्यो । बिहानै हेलम्मबु चनौटेमा रहेको रातो पुल बगायो । असार १ गते र ५ गतेको बाढीले बाँकी राखेको त्यही पुल जोगाउन स्थानीय लागिपरेका थिए । तर बाढीका अगाडि त्यो प्रयास पनि सबै खेर गयो । विशेषगरी हेलम्बु, किउल, पाल्चोक, दुवाचौर, बाँसखर्क, बरूवा लगायत जान त्यो पुल हिड्नुपथ्र्यो । तर बाढीले एकै छिनमा भत्काईदियो । अब हेलम्बु लगायतका ठाउँमा जाने सडक सञ्जाल टुट्यो ।

पुल नभएपछि वारी पारी गर्ने स्थिति रहेन । रेडियो मेलम्चीको भवन ढल्यो । शनिबार बेलुकीदेखि आएको असाधारण मेलम्चीको वेगले राती १२ बजेर ४० मिनेटमा रेडियो भवन खोलामा खोलामा लडेको थियो ।

असार १ गते आएको खोलाले दुई तला डुबाएको भवनमा निरन्तर खोला बगिरहेको थियो । शनिबार दिउसोसम्म रेडियोको भवन काम लाग्ने अवस्थामा थियो । बाढी घटेपछि हिलो सबै सोहोरेपछि बस्न मिल्ने हुन्छ भन्दै हामी खुशी भएका थियौँ ।

असार १ गते बाढीको सुचना भन्दा भन्दै हामी रेडियोबाट चप्पल समेत नलगाई ज्यान जोगाउन दौडिएका थियौँ । तर बाढी त्यति ठूलो आउँदा पनि घर नलड्दा मेरो मनको विश्वास थप चुलिएको थियो । रेडियोको त्यही घरमा पुगेर फेरि समाचार पढ्ने धोको जस्ताको तस्तै थियो । तर शनिबार रातीको बाढीले रेडियो भएको घर ढलेसँगै मेरो आशा, भरोसा र सपना पनि लड्यो ।

एक मन त लाग्थ्यो, खोला आउने जति आइसक्यो । अब विस्तारै कम हुँदै जान्छ । हामी हाम्रो आफ्नै घरमा फेरी पनि फर्किन सक्छौँ । तर, त्यो मन अब रहेन । केहि दिन अघि मात्र सहकर्मी असिम भारती भन्थे, ‘अब फेरी पनि हामी आफ्नै रेडियोको भवनमा बसेर समाचार पढ्छौँ ।’

अब खोला ठुलो आएन र अहिले बगिरहेको खोलाको धार परिवर्तन भएमा थोरै मर्मत गरेपनि पुरानै रेडियोको भवनमा बस्न मिल्छ । तर अब यो सबै कुरा सम्झनामा सीमित भयो । रेडियोको भवनको इट्टा समेत लेदोमा बिलाइसके । 

त्यो घरको भर नभइरहेको अवस्थामा जग्गाको कतै व्यवस्थापन गर्न सकियो भने अर्को घर बनाउने आँट पनि रेडियो टिमलाई नआएको होइन । तर हामी निरन्तर जग्गाको खोजीमै थियौ । अहिले पनि छौँ । जग्गा व्यवस्थापन होस् । अनि पहिलाको घर जस्तै जुरुक्क उठाउन आम शुभचिन्तकको सहयोग त छदैछ भन्ने लागेको छ । खोला त्यहिबाट बगिरहेको अवस्थामा हाम्रो कुनै पनि सामान झिक्न सक्ने वातावरण समेत बनेन ।

जोखिम मोल्दै नदि नियन्त्रणको लागि प्रयोग भएको स्काइभेक्टरको बकेटमा बसेर आफ्नो केहि सामान झिक्न सकिन्छ कि भन्दै गएका थियौं । तर हाम्रो प्रयास असफल भएको थियो । चार थान कम्युटर, नौ थान ल्यापटप, क्यामेरा, ब्याट्री ब्याकअप, टेबुल ,मिक्चर लगायत हाम्रो महत्वपुर्ण सामान सबै खोलामा मिलेको छ । हामी सबैभन्दा धेरै खुशी त्यहि दिन भएका थियौँ । जुनदिन हामी भाडाको घर छोडेर आफ्नै घरमा सरेका थियौँ ।

अब हाम्रो एक मात्र काम रेडियोको क्षमता विस्तारसँगै समुदायको आवाज विहीनहरुको आवाज बोल्नु थियो । स्थानीय कुराहरुलाई प्रचार गर्दै अरुको लागि आकर्षणको केन्द्र बनाउनु थियो । सरकारको बेथितिको भण्डाफोर गर्नु थियो । अब फेरी पनि त्यो कामबाट हामी केही चुक्यौ । परनिर्भतामा बाच्न बाध्य छौ । 

सामुदायिक रेडियोको भवन समुदायकै पहलमा र सहयोगमा निमार्ण भएको थियो । व्यक्ति व्यक्तिको सहयोग, सघं संस्थाको सहयोग, स्थानिय सरकारको सहयोग, केन्द्र सरकारको सहयोगबाट बनेको भवन आज प्राकृतिक विपद्को चपेटामा परेको छ । 

करिब डेढ महिना प्राकृतिक विपद्ले निम्त्याएको मेलम्चीको बाढीमा आज हामीले रेडियोको भवन गुमाउनुपर्ने अवस्था आयो । देशमा मात्र होइन, परदेशमा रहेर बगाएको पसिनाको मुल्य आज खोलाले बगाइदियो । थुप्रै सपनाहरु थिए । जुन त्यहि भवनबाट पूरा गर्ने सोच थियो । रेडियोमा जानकारीसँगै संग्रहालय, सूचनाकेन्द्र, पुस्तकालय र कार्यक्रम हल, एउटै घरबाट गर्ने हाम्रो तयारी थियो ।

रेडियोका अध्यक्ष डम्बर रसिक भारती, स्टेशन म्यानेजर देवराज सुवेदी, प्रशासन प्रमुख सागर खड्का लगायतको टिम स्मारिक प्रकाशनको तयारीमा थियो । भव्य उद्घाटन गर्दै आफ्नो सेवा विस्तार गर्ने यो टिमको सपना लक्ष्य प्राप्ती नहुँदै तुहिएको छ । आजसम्मको रेडियोको उपलब्धी बाढीले लेदोमा मिसाएर बगाएको छ । तर हामी हार खाएका छैनौ । प्राकृतिक विपद् सामना गर्ने सक्ने शक्ति भएरै हामी वैकल्पिक माध्यमबाट भएपनि रेडियो निरन्तर प्रसारणमा छौँ ।

रेडियो स्थापनादेखिको हाम्रा कार्यक्रमहरु, दैनिक प्रयोग हुने स्टेशन आइडीदेखि फिलरसम्मका हाम्रा अति नै महत्वपुर्ण सामग्री बाढीमा डुबे । झोलामा भएको ८० हजार रुपैयाँ नगद पैसा अनि झोला बाहिर भएको १६ हजार नगद रुपैयाँ अहिले कहाँ पुग्यो होला ? घर खोतल्नुपर्छ । अनि खोतल्दा लागेको खर्च खोतल्दा खोतल्दै भेटिएको झोलाको पैसाले क्षतिपुर्ति हुन्छ भन्ने हाम्रो सपना थियो । जुन माटोमा मिल्यो । 

सम्झिदा र यो लेखिरहँदा मन भक्कानिएर आउँछ । एक मन निकै निराश हुन्छ । अर्को मन यति निराश नहोउ भन्छ । तर पनि रेडियोकर्मी र रेडियोलाई माया गर्नेहरुको मायाले अगाडि बढ्न प्रेरित गर्छ । पानी छाडेर लेदोसहितको मेलम्चीको बाढीले झन् धेरै त्रास थपिदिएको छ ।

विवश पोखरेलको चर्चित कविता छ, बग्दै बग्दे जाने छोरासँग । यसरी नै म यो रेडियो बगाईको कथासँग जोडिएको छु । बग्दै बग्दै गएको रेडियोको माइक्रोफोन, हेडफोन, स्टेशन आइडीसँग मेरा सम्झना बगेका छन् । थाहा छैन, रेडियोसँगको यो बगाई कहाँसम्म पुग्छ ? तर जहाँसम्म पुग्छ, वर्षाको भेलसँग जोडिने हरेक समाचारमा रेडियो मेलम्चीको सम्झना रहिरहनेछ । 

यसरी हाम्रो सबै रोजीरोटी बालुवामा मिसाइदिने विपद्को सुरुवात कसरी भयो ? कहिले गएर अन्त्य हुने हो ? केही टुंगो छैन । सरकारसँग एउटै आग्रह छ, तत्काल बाढी आएको मुहान क्षेत्रमा वैज्ञानिक, प्राविधिक अध्ययन होस् । 

त्यहाँको अवस्थाको बारेमा प्रभावित भेगका नागरिक सबैलाई समयमै जानकारी होस । सरकार, पुनर्निमाण गर्नुभन्दा पहिला त्यहाँको अवस्थाको बारेमा एकिन जानकारी होस । सिन्धुपाल्चोकबाट कर्णालीको जस्तो अवस्था बनेको हेलम्बु, मेलम्ची, पाँचपोखरी क्षेत्रमा तत्काल पुल निमार्णको प्रक्रिया अगाडि बढोस् । 

(ढुंगाना रेडियो मेलम्चीका सञ्चारकर्मी हुन् ।)

र, यो पनि



Author

थप समाचार