अर्थ / बाणिज्य

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना, ७ दिनभित्र बुझाउनु पर्ने

इकागज |
बैशाख १३, २०८१ बिहीबार १९:५५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।


महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने  ब्याच नं. AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमुनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए ।  

नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, 'खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।' 

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil ​देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन । 

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए । 

चाउचाउको बिक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, "यस ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिबद्धता पत्र पठाएको छ ।' यस्ता गुणस्तर नभएका खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपाल हुने पत्रमा उल्लेख छ । 


Author

थप समाचार
x