दल

शेखर कोइरालाले भने- नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील बन्‍नुपर्छ

'गृहमन्त्री लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न दिन्‍न'

इकागज |
बैशाख २२, २०८१ शनिबार १६:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले राजनीतिक दलले देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । 

शनिबार बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं-१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू लागि परिरहेको बताएका हुन् ।


कोइरालाले चौतर्फी रूपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको स्पष्ट पारे । 'नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने समय आएको छ,' उनले भने । 

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड रहेको कोइरालाले दाबी गरे । निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिन उनले आग्रह गरे ।

२०६४ को संविधानसभापछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, '२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो ।'

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको स्मरण गराए ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि बताए ।

'हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदिय छानबिन बनाउनुपर्छ भनेका छौं । सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?' कोइराला प्रश्न गरे ।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र विगतका नमिठा पल बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको वैशाखीको सहारा बन्नु नपर्ने  बताए ।

'लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य हो,' उनले थपे, 'तर, त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिँडिराख्नु राम्रो होइन ।'


Author

थप समाचार
x