ब्लग

हामी चुप लागेपछि समाजमा शान्ति र सद्भाव छाउँदो रहेछ

म थाहा पाउने भएदेखि भारतको हिमाचल प्रदेशको किनौर जिल्लामा थिएँ । म जन्मेको चाहिँ रुकुम जिल्लामा हो । त्यति बेलाको रुकुम बाँफीकोट गाविस-१ मामाघरमा रहेका बेला मेरो जन्म भएको आमाले सुनाउनु भएको हो । मेरो आफ्नै घर चाहिँ त्यतिबेला वडा नम्बर-३ मा थियो । अहिले त्यो ठाउँ बाँफीकोट गाउँपालिका वडा नम्बर ३ मा पर्छ ।

२०५५ भदौ २१ गते आइतबार राति सवा ९ बजे म जन्मेको कुरा आमाले सुनाएपछि थाहा पाएको हुँ । मलाई लाग्छ, तत्कालीन नेकपा माओवादीले जनयुद्धको ‘किल्ला’ बनाएकै ठाउँमा मेरो जन्म भयो ।

म जन्मेको चार वर्षपछि आमा, बुवासहित म पनि भारत गएँ । त्यतिबेला रोजगारीका लागि प्रायः पुरुष भारत जान्थे । अनि राम्रो नोकरी मिलेको खण्डमा आफ्नो परिवार पनि लैजान्थे । म पनि बुवाको राम्रो नोकरी मिलेपछि भारत जाने भाग्यमानीमा परेको थिएँ । यो प्रचलन कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा अहिले पनि रहेको त्यहाँका साथीहरू सुनाउँछन् ।

भारतको हिमाचल प्रदेशमा मैले मेरो बाल्यकाल बिताएँ । त्यो बेलासम्म मलाई जात, छुवाछूत, विभेदजस्ता शब्द केही पनि थाहा थिएन । म मेरो पहिलो विभेदको वास्तविकता भन्दै छु । त्यसैले थप कुरा यहाँ उल्लेख गरिनँ ।

जन्मेको नौ वर्षपछि म आमाबुवासँगै नेपाल फर्किएको हुँ । सशस्त्र द्वन्द्वको आगो बलेको बेला जन्मिएको म नेपाल फर्किंदा भने शान्त भइसकेको थियो । विद्रोही माओवादी सत्तामा गएको थियो । मेरो पनि उमेर बढ्दै थोरै जान्ने–बुझ्ने हुन थालेको थिएँ ।

हजुरबुबा फलामका भाँडाकुँडा बनाउने काम गर्नुहुन्थ्यो । उहाँलाई गाउँमा धामी पनि भन्थे । हिन्दु परम्पराअनुसार उहाँले झारफुक पनि गर्नुहुन्थ्यो । हजुरआमा, आमा, फुपू र काकाले भने घर खेतको काम गर्थे । एक दिन घरमा सलाई सकिएको रहेछ । 

त्यतिबेलाको रुकुममा सलाई किन्न र पाउन सजिलो थिएन । घर नजिकै पसल पनि थिएन । अनि भनेको समयमै र चाहिएको सामान किन्न सजिलै पाउने कुरै भएन ।

त्यही भएर गाउँघरमा पालो-पैँचो धेरै हुन्छ । गाउँको विशेषता पनि हो, यो । छरछिमेकबाट एैँचो–पैँचो तथा अर्मपर्म गरेर गुजारा चलाउनु एउटै विकल्प हुन्थ्यो । घरमा सलाई सकिएपछि हजुरआमाले मलाई तल्लो घरबाट सलाई मागेर ल्याउन भन्नुभयो । मलाई त्यतिबेला पनि जात, छुवाछूत, तल्लो-माथिल्लो जात भन्ने केही थाहा थिएन । यो म नौ वर्षको उमेरको कुरा हो ।

भर्खर भारतबाट आएको । चमक धमक नै फरक । अरुभन्दा नयाँ र फरक लाग्ने । कपडा पनि नयाँ नौलो । यस्तो लाग्थ्यो, त्यतिबेलाको त्यो खुसी र आफू नै सबैभन्दा राम्रो मान्छे ठानिन्थ्यो । म तल्लो घरमा पुगेँ । बाहिर मान्छे थिएनन् । भित्र घरमा होलान् भनेर सोझै ढोका छिर्नै लागेको थिएँ । ‘पख, पख, पख’ भन्ने सुनियो ।

अनि त्यसपछि ‘बाहिर जा, बाहिर जा’ भन्ने सुनेँ । म सानै थिएँ । धेरै कुरा थाहै थिएन । म खुट्टा पछाडि सारेर बाहिरपट्टि आएँ । उहाँले घरभित्रबाट सलाई ल्याएर मेरो हत्केलामाथि राख्नुभयो । हातमा दिएको होइन, अलग्गै माथिबाट हत्केला थाप्न लगाएर खसालेको याद छ । सायद छोइन्छ भनेर होला । जुन कुरा म अहिले थाहा पाउँदै छु ।

त्यसरी अनौठो व्यवहार भोगेपछि मैले घर पुग्नेबित्तिकै हजुरआमालाई सुनाएँ । मेरो कुराले हजुरआमाको अनुहार मलिन भयो । एकछिनपछि बिस्तारै भन्नुभयो, ‘हामी सानो जातका हाैँ । उनीहरू ठूलो जातका हुन् । त्यही भएर घरमा पस्न दिँदैनन् ।’

यो त्यही दिन हो । जुन दिन मैले मान्छे पनि फरक–फरक जातका हुन्छन् भन्ने कुरा दिमागलाई जानकारी दिएँ । जुन यो समाजले बनाएको ‘पद्धति’ थियो । अनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने भ्रम पनि आफ्नो मुटुको भित्री कुनामा राखेँ । म त्यही दिनदेखि ‘अछूत’ भएँ । समाजमा दोस्रो दर्जाको नागरिक । पशु सरहको व्यवहार । त्यही दिनदेखि मेरो मस्तिष्कमा जातीय विभेदको छाप बसेको हो । 

बाल–मस्तिष्कमा परेको त्यो अमीट छापले मलाई सानैदेखि कमजोर बनायो । केही गर्न खोज्दा र कसैको घरमा पस्दा पनि सानो जातको भन्ने हजुरआमाले भनेका शब्द मेरो मानसपटलमा धेरैपटक गुन्जिरहे । हामी बस्ने टोल ठकुरीको टोल रहेछ । त्यो टोलभरिमा ‘सानो जात’को अर्थात् दलित समुदायको हामी मात्रै रहेछौँ ।

परम्परागत सोच र अन्धविश्वासको प्रतिफल स्वरूप हामीले विभेद भोगिरहेका थियौँ । सायद मेरो हजुरबुवा, हजुरआमा, बुवा र आमाले धेरै विभेद भोग्नुभयो । जुन विभेद मैले पनि भोग्न बाध्य भएँ । 

तर हातपात, काटमार र हत्यासम्मको बर्बरता हामीमाथि भएन । सायद हामी धेरै अनुशासित भएर पनि होला । जति अपमान पाए पनि हामी चुप लागेपछि समाजमा अमनचैन, शान्ति, सद्भाव छाउँदो रहेछ । हाम्रो बोली त मिलेर बसेको नेपाली समाजमा जात–जातिबीच लडाउने काम पो हुँदो रहेछ । 

विभेद सहनु हाम्रो बाध्यता भइसकेको थियो । किनकि समाजले विभेद लादेको थियो र छ । राज्यले त्यसलाई संरक्षण गरिरहेको थियो र छ । हामी माथिल्लो जात भनिनेहरूको घरभित्र पस्न सकेनौँ । हामीले छोएको नखानेसम्मको प्रचलन थियो । कतिपयले आफ्ना घरको दूध–दही पैसा हालेर खरिद गर्न जाँदासमेत नदिने किसिमको विभेद मैले मेरै आँखाअगाडि धेरैपटक देखेको छु । 

तर भेटेको फरक भने अनौठो थियो । हामी उनीहरूको घरमा आँगनमा बस्नसमेत अनुमति पाउँदैनथ्यौँ । तर जो आफूलाई ठूलो जातको हुंकार छाड्थे, उनीहरू हाम्रो घरमा आएर खाने–बस्ने सबै गर्न सक्थे । तर हामी भने ‘कुकुर’को दर्जामा घरबाहिर पनि राम्रोसँग उभिने नपाउने ? सहरमा त कुकुर परिवारको सदस्य हुँदो रहेछ । गाउँमा त हामी पूरै पराया !

वाह ! समाज क्या गजबको संस्कृति । यस्तै यस्तै संस्कृतिले हाम्रो समाजलाई पछाडि धकेलेको । हुन त यो संस्कार होइन, कुसंस्कार हो । रुकुम आँफैमा एउटा इतिहास बोकेको जिल्ला थियो । तर अब रुकुम जातीय नरसंहार गर्ने जिल्लाको परिचय बनाउने जिल्ला पनि बनेको छ ।
 
जहाँबाट जातीय विभेदविरुद्धको आन्दोलन सुरु भएको थियो । जुन राजनीतिक स्वार्थ केन्द्रित थियो भन्ने कुरा रुकुम पश्चिमको सोती गाउँमा जाजरकोटका नवराज विश्वकर्मालगायत ६ जना युवाको हत्याले पुष्टि गरिदियो । म त्यही जिल्लामा जन्मिएर त्यो हदसम्मको विभेद देखेको थिइनँ । जुन रुकुम घटनाले देखाइदियो । 

म २०७२ सालको एसईई दिएर पढ्न वीरगञ्ज आए । पढाइका लागि वीरगञ्ज आएको म अहिले यतै छु । रेडियोमा काम गर्छु । तर कर्णालीमा जातीय विभेद र वीरगञ्जको जातीय तथा भौगोलिक विभेदको आफ्नै अन्तरकथा छ ।  
 
हुन त नेपाल २०६३ जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेको छ । तर यो केवल कागजमा सीमित छ । व्यवहारमा जातीय विभेद मात्रै होइन, कथित तल्लो जात भनिएका दलित समुदायमाथि बर्बरहत्याको शृङ्खला नै चलाइएको छ ।


 

पालिकाको बजेटबाट डाक्टरी पढ्न छात्रवृृत्ति दिऔँ, डोजर होइन, एम्बुलेन्स किनौँ

मिलन मनुवा दाहाल | जेठ १८, २०७८

सन् २०१५ मा एक कार्यक्रममा बोल्दै बिल गेट्सले भयंकर महामारी आउन सक्ने चेतावनी दिएका रहेछन् । युट्युबमा उपलब्…

'हामीलाई आक्रमण गर्ने योजना पहिल्यै बने जस्तो लाग्यो'

आश्विनी गुरुङ | जेठ १५, २०७८

भेरी अञ्चल अस्पतालमा बिहीबार त्यहाँ उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका नर्स तथा…

उनीहरू एक्लो छैनन्

उत्तम पुडासैनी | जेठ १, २०७८

झण्डै १५ दिन उमेरको एउटा बाछी नदी किनारमा फेला पर्‍यो । धेरै मुस्किलले उनलाई बचायौं । आज उनी आमा ब…

लुम्‍बिनी प्रदेश : त्यो नाटक मञ्‍चनपछि एमाले बहुमत प्राप्त दल बन्‍यो

शंकर पोखरेल | बैशाख २०, २०७८

लुम्‍बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएक…

'घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने अवस्था के होला ?'

डा. अनुप वास्तोला | बैशाख ११, २०७८

डा. अनुप​ वास्तोला शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर हुन् । शनिबार उनले लगातार एकपछि अर्को ट्‍व…