ब्लग

ब्लग

आश, प्रयास र म

जिनत शेख |
पुस ५, २०८० बिहीबार १८:५५ बजे

मैले संसारलाई एक सुन्दर थलो सम्झिएको थिएँ । जहाँ मृगतृष्णा रमाउने गाउँ छ । जहाँ शिरीषको फूल फुल्ने सहर छ । जहाँ सूर्यको पहिलो किरणले मुस्कुराउने हिमाल छ । जहाँ साना साना पहाड र पहाडमा फुलेका लालीगुराँस र डाँफे मुनालको आवाज छन् । जहाँ समतल भू-भाग, जहाँ हरेक वर्ष धानका ती बालीहरूले गर्छन् हातेमालो र मेट्छन् संसारको भोक । जहाँ नदीका ती अनेकौं मुहान छन् जसले मेटाउँछ प्यास सँगसँगै अँध्यारो रातलाई । जहाँ रारा छ । फेवाताल छ । आलुबखडाले झुम्मिएको ठाउँ छ । कोइलीको मीठो आवाज सँगै सुन्दर बिहान र गोधूलि साँझ छ । जहाँ गुन्यो चोली र दौरा सुरुवाल लगाउनेको गाउँ छ । सुन्दरै त छ संसार हैन र ? तर, कहाँ हुँदो रहेछ हरेक सुन्दर देखिने चिज सुन्दर ! संसार त केवल एउटा प्रतिबिम्ब न हो । जहाँ हरेक ऐनामा सुन्दर मुहार र हरेक तस्विरमा मुस्कुराउँदै गरेको रहस्यमयी अनुहार छ । जहाँ हृदय भरी इर्ष्या र ओठमा मिठास छ । जहाँ धनको बजारमा मन सस्तो तौलमा भेटिन्छ । जहाँ आफन्त त छन् तर आफ्नो कोही छैन । जहाँ मानिस त छन् तर मानवता छैन । हो यो हो ऐनामा नदेखिने संसार । यो नै हो वास्तविक देखिने संसार ।

मेरो जीवन त काँडा कि फूल मै अल्झिएको छ । तर, आज म जीवनको काँडा र फूल दुवैलाई बयान गर्नेछु । हुन त एउटा सामान्य नेपाली परिवारमा मकवानपुरको स्वच्छ र सुन्दर भूमिमा जन्मेको हो म । मकवानपुरको किल्ला किल्लाबाट 'वाकिफ' भएर हुर्केको मलाई अझ पनि मकवानपुर नै प्यारो छ । मकवानपुरको ठिंगन नै प्यारो छ । हुन त म घरको साइँलो छोरा तर जिम्मेवारी भने जेठो छोरा जस्तै थियो । हुन पनि किन नहोस् छोरा जेठो होस् या कान्छो जिम्मेवारी ठूलै हुन्छ । छोरो भएर जन्मिँदा खुशी त सबै हुन्छन् । गाउँमा पनि मिठाई बाँडिन्छ । किनकि छोराको आगमनभन्दा पनि अब घरको जिम्मेवारी उठाउने अर्को पुरुष आइसकेको छ भन्ने कुराले बढी खुशीयाली हुन्छ । पुरुषको जीवन पनि अचम्मको छ । छोरा हुञ्जेलसम्म आमाबुबा, भाइबहिनीको जिम्मेवारी, श्रीमान् हुँदा श्रीमतीको जिम्मेवारी र बुबा बनिसकेपछि सन्तानको जिम्मेवारी । रोदनै-रोदनले भरिएको जीवन नै पुरुषको जीवन हो । हो त्यो 'पुरुष' भित्रको पुरुष हुँ म ।


घर सानो भए पनि सपना ठूला नै थिए । ती सपना र जिम्मेवारीको भार बोकेर म पनि हिँडे सपनाको सहर काठमाडौँमा । जहाँ ठूला ठूला इमारत त छन् तर इमारत र महल जत्रा मन छैनन् । म त केवल एसएलसी दिएर आफ्नो गाउँ, आफ्नो ठाउँ छोडेर इमारतै इमारतमा कतै अलमलिएको एक किशोर । जो सपनाको संसारबाट ब्यूँझिएर झसक्क उठे झैं अलमलिएँ भिडमा । तर, आफूलाई सम्हाल्दै आफ्नो सपना र जिम्मेवारीको भार कम गर्न एउटा होटलमा वेटरको काम गरेर गुजारा चलाउन थाले । पढाइ खर्च बेहोर्न थाले । हुन त म पनि आफ्नो होस सम्हालेदेखि 'इन्डिपेन्डेन्ट म्यान' हो तर किन हो कुन्नि यो 'ट्याग' पुरुषलाई दिइँदैन । मलाई पनि दिइएन । केवल महिला कै लागि हो यो 'इन्डिपेन्डेन्ट वुमन' वाला ट्याग ? म पनि एक 'इन्डिपेन्डेन्ट म्यान' थिए आफ्नो किशोर अवस्थामा । जसको सपना ठूलो र वजनदार थियो । तर, प्रशंसा कसैले गरेनन् । मनै त हो नि आखिर पुरुषको पनि । आखिर किन होला यस्तो भेदभाव ? पुरुष पनि मानवै हो नि । जसलाई आफू इन्डिपेन्डेन्ट भएवापत सम्मानित र प्रशंसनीय कुराहरू सुन्ने मन हुन्छ । कति लेखूँ व्यथा नै व्यथाले भरेको मेरो कथा ।

प्लस टु वेटर बनेरै सकियो । ब्याचलर वार्डेन बनेरै सकियो । त्यसपछि सुरु भयो मेरो सपना यथार्थमा परिणत हुने दिन । जुन दिनदेखि मैले काठमाडौँको सैनिक विद्यालयमा प्राध्यापक भएर पढाउन थालेँ । वेटरदेखि प्रध्यापकसम्मको उपलब्धिमा नेपाल यातायातको भिड कहिले बिर्सिएनँ । हुन त गाउँबाट आएको थिएँ चप्पल लगाएर । काठमाडौँ आएसी मेहनत र प्रयासले जुत्ता लगाउने भए । हुन त यो साधारण कुरा हो तर जुन परिवेश र परिस्थितिबाट म आएको थिएँ । मेरो लागि साधारण थिएन । म पनि कहीँकतै इमारतै इमारत भएको सहरमा सहजै मिसिएँ । मेरो पनि खुशीका ती मीठा दिन सुरु भयो । जसमा मेरो जीवनको प्रेमीका मेरी मुना पनि थिई । आफू मदनसरह माया गर्न नसकेनी उनी मुनासरह माया गर्थिन् । उनी मेरो जीवनमा हुनु भनेको वसन्त ऋतुको आगमन भई उजाड हुन लागेका रुखका ती हाँगाहरूमा नयाँ पातका पालुवा बिस्तारै पलाए झैं थियो । जीवन राम्रै चलेको थियो । चन्द्रमा नभएको कालो रात पनि सुन्दर लाग्थ्यो । उजाड लाग्दो केही थिएन । सुन्दरै त लाग्छ नि सबथोक । जीवन आफूले चाहेसरह चलेपछि । सुन्दर लाग्छ चन्द्रमा भएको दाग । सूर्यको ताप । सारा संसार । सारा जहान ।

यसरी नै कट्यो मास्टर्स् ।  २०६८ मा नेपाल कै पहिलो र सर्वोत्कृष्ट ल क्याम्पस 'नेपाल ल क्याम्पस' मा र पद्मकन्यामा प्राध्यापक भएँ । जीवन अझ पनि सुन्दर र मीठो भयो, सबैको साथ र माया थियो, र थियो मेरो मुनाको साथ । चन्द्रमा भए पनि कालो रात कस्तो हुँदोरहेछ भन्ने बात कहिले सोचेको पनि थिइनँ र महसुस पनि गरेको थिइनँ ।

सधैं झैँ त्यो दिन पनि सुटबुटका साथ बिहानै आफ्नो सदैवको गन्तव्य तिर लागेँ  । समयमा नै फर्केँ । जीवन अझ पनि सामान्य नै थियो । रात पर्यो निन्द्रा पनि छिट्टै आयो, निदाएँ । के थाहा म दैवले बनाएको सामान्य मानवलाई दैवले त्यो रातलाई कालो मसीले लेखेको छ भन्ने । मध्यरातमा सबथोक थियो तर आनन्द थिएन । कालो बादलको छायाँ मेरो सुन्दर जीवनमा कसरी आफ्नो बास बनायो पत्तो नै भएन । सोच्ने मौका नै पाइनँ । जीवनमा मेघ गर्जनसहितको आँधी, बतास र पहिरो गयो । मेरो बायाँ पट्टिको हात र खुट्टा चल्नै मानेन । नौ म्याग्निच्यूटको भूकम्प जापानमा मात्रै कहाँ गएको थियो र, मेरो जीवनमा पनि त गयो । मेरो सारा खुशी इमारतै इमारातले भरेको सहरमा अचानक दबियो । चन्द्रमा भएर पनि कालो रातको अर्थ बल्ल बुझेँ । बल्ल बुझेँ समयको चाप । जापानले त फेरि आफूलाई निर्माण गरिहाल्यो तर मैले सकिनँ । सकिनँ म पुनः पहिले जस्तै हाँस्न बोल्न र हिँड्न । जीवनै अँध्यारो भयो । आकाशै म माथि खसे झैं जीवन भारी भयो । मन भारी भयो ।

पुरुष न हो, महिला जस्तै किन रुन्छौं रुनु हुन्न भन्ने वचनले भरिएको समाजमा हुर्केको म पुरुष । त्यो रात त्यो बाँध पनि तोडेँ । र, खूब रोएँ । त्यो रात त बिहान हुन नि कति हो कति समय लाग्यो । सूर्यको पहिलो किरण त कति सुन्दर पो देखिन्छ बिहान । तर, त्यो दिन धुम्मिरहेको थियो त्यो किरण । मेरो आँखा मेरो शरीर र मेरो मन जस्तै । म अस्पताल त गए तर कुनै उपचार भएन । जीवन जमिनको सतह देखि सयौं फिटको गहिरो इनारमा पुग्यो । त्यो इनारको गहिराइलाई कम गर्ने प्रयास त सबैले गरे तर मेरो हृदय र जीवनबाट कम भएन पीडा । म त्यो अँध्यारो इनारमा कयौँ रात बिताए या यो भनौं कि त्यो इनार नै बन्यो मेरो घर । जीवन त नर्क नै बन्यो मेरो । अब त मानिसको नजरले पनि घोच्न थाल्यो । लाग्न थाल्यो हरेकको नजरले मलाई नै हेरिरहेको छ । कसैले के भएको हो भनि प्रश्न गर्छ कि भन्ने डरले सताउन थाल्यो । हुन त सधैं मजाले हिँडेको म अचानक यस्तो हुँदा किन नगर्थे र प्रश्न । कुरा नै त्यस्तो थियो ।

धाउन त काठमाडौँका सबै अस्पताल धाए नपुगेको र नगएको कहाँ बाँकी रह्यो र ठाउँ । तर, नाजुक को नाजुक नै रह्यो मेरो अवस्था । पीडाको पीडा नै रह्यो मेरो घाउ । त्यहाँसम्म पुग्न थाले जहाँ विश्वास पनि यस्तो हुन पुग्यो कि अन्धविश्वासमा पनि विश्वास हुन थाल्यो । आत्म, शंका र हीनता ग्रन्थीले यति छोप्न थाल्यो कि बिहानको सूर्य नदेखु झैं लाग्न थाल्यो । तर, मैले 'मलाई' भन्दा पनि बढी 'मलाई' माया गर्ने मेरा बाबु-आमा र सधैं झैं आज पनि माया गरिरहने मेरी मुनाको साथ र हौसलाले कतै बाँच्ने आशा पलायो । मेरो अस्तित्वले कसैको बेरङ्गीन जिन्दगीलाई रङ्गीन बनाएको देखेपश्चात मरिसकेको दुबोमा पानीको सिँचाइले पुनः हराभरा बनाए झैं 'म' मा पनि बाँच्ने रहर पलायो । वसन्तदेखि हिउँद र हिउँद देखि वसन्त ऋतुको आगमन जस्तै मेरो सोचमा पनि परिवर्तन आयो । लाग्दै गयो यस्तो, यस्तै त रहेछ नि जीवन कहिले घाम त कहिले छायाँ । कहिल्यै आँधी त कहिले बतास कहिले सुख त कहिले दुःख । आफूलाई उही अवस्थामा अंगाल्न थाले । यसरी नै बिति गयो जीवनको अझ दुई वर्ष ।

अनि सुरु भयो मेरो श्रीमान वाला जिन्दगी र हरेक सुख दुःखमा साथ दिने मुना नै भई मेरी सँगिनी । उसको साथ र समर्थन नै अतुलनीय थियो । जीवन अझै सहज हुँदै गयो । प्रयास पनि जारी नै थियो । उपचार पनि जारी नै थियो । बिति गयो वर्ष महिना र दिन । म पनि रमाउन थाले । आफ्नै परिस्थिति र रमाएरै पढाउन थाले ल क्याम्पस र पद्मकन्यामा । प्रश्न त सबैले गर्थे, सर ! के भयो हजुरलाई ? तर उनीहरूलाई के थाहा, गर्थे त्यही प्रश्न आफैँले आफूलाई के भयो मलाई ! यसरी नै बिति गयो जीवनको अझ तेह्र वर्ष ।

अरू दिन जस्तै सामान्य थियो त्यो दिन पनि तर संयोग भनौं कि भगवानको इसारा । म त गएको थिए अस्पताल दिदीलाई लिएर तर उपचार म स्वयंको सुरु भयो । 

भगवानको इसारा नै त रहेछ नि कहिले भेट नहुने मेरो गाउँको साथी दिदी भएकै अस्पतालमा भेट हुन पुग्यो । कुरा हुँदै जाने क्रममा उहाँले मेरो अवस्थाबारे जान्न खोज्नुभयो । आफूले चिनेकै एक जना डाक्टरको बारेमा उहाँले बताउनुभयो । दिदी हेर्ने गएको त्यही क्षण निको हुने झिनो आशा बोकेर पाटन अस्पतालको डिनको ढोकासम्म पुगेँ । डिन सरसँगको मेरो पहिलो नै भेट थियो । तर, पनि उहाँको बोली, व्यवहार म प्रतिको सम्मानले मन प्रसन्न भयो । वर्षौंदेखि चिने झैं महसुस भयो । आफ्नोपनको आभास भयो । कुरा हुँदै जाने क्रममा उहाँले भन्नुभयो, 'सर हामीबाट तपाईंको उपचार हुन त असम्भव झै देखिन्छ, तर म तपाईंलाई एक जना भाइको नम्बर दिन्छु, उहाँ ग्रान्डी इन्टरनेसनल अस्पतालमा न्यूरोलोजिस्ट हुनहुन्छ ।' म पनि निको हुने आशा बोकेर फेरि त्यही बखत आफ्नो सबै रिपोर्ट बोकेर हिँडे ग्रान्डी अस्पताल तिर । तर, त्यो दिन डाक्टरसँग भेट नै भएन । 

भोलिपल्ट फेरि गएँ । उहाँको दिउँसोको ३ बजेसम्म मात्रै बिरामी हेर्ने जिम्मेवारी थियो । तर, म ढिला पुगेँ  । उहाँको क्याबिनसम्म पुग्दा तीन बजिसकेको थियो । मनमा डर पनि थियो उहाँसँग भेट हुन्छ कि हुन्न भनेर । तर, त्यो दिन म माथि भगवानको  कृपा अपार रहेछ । डाक्टर साबलाई उहाँकै क्याबिनमा भेटेँ  । उहाँले मेरा पुराना सबै रिपोर्ट चेक गर्नुभयो । मलाई हिँडाएर पनि हेर्नुभयो । अनि भन्नुभयो, 'तपाईंलाई न्यूरोलोजिकल प्रोब्लम भएको हो । म तपाईँलाई चाँडै दगुर्ने बनाउने छु, म गर्नेछु तपाईंको उपचार ।' मेरो हृदय खुशीले गद्‌गद् भयो । आँखाहरू रसाए । उहाँले मेरो अवस्थाबारे पत्ता लगाउनुभयो र सँगसँगै औषधि पनि दिनुभयो । मेरो लागि यो १३ वर्षको समयावधिमा प्राप्त भएको सबैभन्दा खुशी र उपलब्धि थियो ।

आशै आशले भरिएको म खुशी हुँदै औषधि लिएर फर्केँ । दुई/तीन दिनको औषधिको सेवनले पीडै पीडाको दलदलबाट थोरै-थोरै निस्किन थालेँ । मेरो खुशीको कुनै सीमै रहेन । सुकिसकेको रुखमा नयाँ टुसा पलाए झैं मेरो जीवनको पनि नयाँ सुरुवात भयो । पलायो मेरो जीवनमा पनि खुशीका नयाँ टुसा । मेरो १३ वर्षअघि रोकिएको जीवन फेरि त्यहीँबाट सुरु भयो । आज फेरि पनि पहिलेजस्तै हिँड्न थालेको छु । जीवनमा फेरि मेरो खुशी छायो । हरायो मेरो आकाशको कालो बादल । आज फेरि वर्षौंपछि सूर्यको पहिलो किरणले मन मीठो र आँखा आनन्दित बनायो । परिस्थितिबाट अलमलिएको म पिएचडी गरूँ कि नगरू भन्ने अलमलमा परेको थिएँ । तर, निको भइसकेको म अब आफूले नै आफूलाई पिएचडीकाे डिग्री लिने वाचा गरिसकेँ ।

(बच्चुराम घिमिरेको जीवन्त कथा उहाँकी छात्रा जिनत शेखले लेखेकी हुन् । उनी नेपाल ल क्याम्पसमा दोस्रो सेमेस्टरमा अध्ययनरत छिन् । घिमिरे क्याम्पसका प्राध्यापक हुन् ।)

 


Author

थप समाचार
x