ब्लग

ब्लग

भूकम्प पीडितलाई उपचार गरिरहँदा मेराे मनले साेध्याे : आखिर जनताले नेतासँग के नै खाेजेका रहेछन् र ?

तोसिमा कार्की |
मंसिर २, २०८० शनिबार २२:४ बजे

यो सालको भाइटीका मेरो विशेष रह्यो । आज शनिबार, त्यस दिनको कथा सुनाउँछु है... 
बुवाको फोन धेरै पटक काटिएपछि, उहाँलाई एउटा पत्र यहीँ फेसबुकमा लेखेर, आफूले अपरेसन गरी (छातीको दुवै साईडमा पाईप चेस्ट ट्युब हालेको) भर्ना राखेको आमालाई हेर्न अस्पताल गएँ । आमा यस दिन निकै खुसी देखिनुभएको थियो,... राउण्ड लिँदा उहाँकी छोरीले भन्नुभयो "आमाले बिहानैदेखि मलाई बचाउने डाक्टर्नी काहाँ गया हुन्, कैले आउन्या हुन् भन्दै खोज्नुभया, यो घरबाट आएको केरा तपाईँलाई दिनु भनेर हामीलाई पनि नदिई राख्नु भया छ" छोरीले यसो भन्दै गर्दा ति ६५ वर्षीया आमाले निकै मीठो (माथिल्लो दाँत झरिसकेको) मुस्कान दिनुभयो, मृत्युको मुखैमा पुग्नुभएको आमाले मलाई "तपाईँले आमा बुवा बिर्साउनुभो मलाई बचाउनुभो" भनि मुस्कान दिँदा तिहारमा आमाबुबा, भाइलाई सम्झिरहेको मेरो मनले पनि एक छिन त बुवा ममी नै बिर्सियो ...। 

त्यसपछि म रुकुमको आठबिसकोट जाने तरखरमा थिए । एकजना अधबैँसे उमेरका जाजरकोटे दाजु हातमा सयपत्री माला र टीका बोकेर आईपुग्नुभयो । आँखा भरी आँसु पार्दै "म मल्लक सिङ, शिक्षक हुँ, आज गाडहरू चल्दैन,म कुसेदेखि हिँड्दै आएको,आज घर नजाँदा ,खल्लो लाग्यो होला, यो दाइले माला टीका सेल लिएर आएको छु" भन्नुभयो । हैन दाजु म आज टीका लाउँदिनँ, यसपटक शोकाकुल परिवारहरूलाई साथ दिएको हुँ भनि टीका माला हातमा लिएँ । "यो रोटी मेरो घरको हो, म हजुरकै अगाडि आफूले चाखेर तपाईँलाई दिन्छु है" भन्नुभयो । सांसद मान्छे, सुरक्षाको कुरा आउला भन्ने डरले होला, उहाँले त्यसो भन्नुभयो । मैले "हैन पर्दैन, जनताले माया गरी दिनुभएको त म विष पनि खाईदिन्छु" भनि हाँस्दै सेल खाईदिएँ । मीठो मुस्कान र आँखमा टिलपिलिएको आँसु झार्दै "बहिनीलाई समग्र जाजरकोटेहरूबाट धन्यवाद छ" भनि जानुभयो । यो पल मेरो पनि आँखा रसायो, बोली अड्किए जस्तो भयो...। 


त्यसपछि रबिन केसी भाइको बाईकमा हामी जाजरकोट खलङ्गाबाट आठबिसकोट तिर लाग्यौँ । रिम्ना कटेपछिको कच्ची बाटो निकै अफ्ठेरो, पहिरोले ठाउँ ठाउँमा जोखिमपूर्ण भएको रहेछ, घेत्मा स्वास्थ्यचौकी भन्दा अलि माथिबाट बोलेरो पनि नगएर बाटोमै रहेछ । हामी बाईकमा जसोतसो ३-४ पटक लड्दै उठ्दै गयौँ, धन्न चोट चाहिँ लागेन । आठबिसकोटमा सुनील भाइको घरमा टीका लाउन आउनुभएका वृद्ध बा-आमाहरूको माझमा बसेर उहाँहरूको गफ सुन्दै दहीसँग भात खाएँ । आमाहरूको स्वास्थ्य परीक्षण गर्यौँ त्यसपछि पवन देवकोटा, ईन्जिनियर मानबाहदुर शाही, रतन भाइहरू अस्थाई टहरा निर्माणमा लाग्नुभयो, म र रबिन भाइ चाहिँ औषधि मलम पट्टि बोकेर घर घर हिँड्न थाल्यौँ ।

आठबिसकोट १४, ज्यामिरकोट, एकै सानो गाउँको १० वटा घरमा गरी २७ जनाको मृत्यु भएको, धेरै घरहरू पूरै भग्नावशेष भएका, अनि ठडिएका जति कुनै पनि बेला ढल्न सक्ने अवस्थाका, हेर्दै कहाली लाग्दो त्यो दृश्य, हिँड्दा हिँड्दै एकै घरको ५ जना मृत्यु भएको घरमा पुग्यौँ, बाँच्नुभएको छोरा, नाति, अनि बुढी हजुरआमा हुनुहुँदो रहेछ । उहाँको ढाडमा ठूलै चोट लागेकोले बस्न उठ्न गार्हो भन्ने थाहा पाएपछि हामी उहाँलाई भेट्न निकै अग्लो ठाउँमा, त्यहाँबाट थप ३० मिनेट हिँडेर डाँडामा रहेको उहाँको भाइको घरमा पुग्यौँ । आमाको ढाडको हड्डी भाँचिएको हुन सक्ने यद्दपि मेरुदण्डको स्नायूमा भने चोट नभएको लक्षण देखी हामीले आमालाई अस्पताल लगि एक्स्रे गर्ने र तत्कालको लागि आराम तथा केही औषधि दियौँ । आमाले आफ्नै आँखा अगाडि आफैँसँग सुतेका नातिनी र छोरीहरूको मृत्यु देख्नुभएको र आफूले निहुरिएर ढाडले छेक्न खोजेको कथा सुनाउँदै म पापिनी चाहिँ किन बाँचे भन्दै रुनुभयो । आमालाई सम्झायौँ, अनि उहाँले मलाई जुनीभरीलाई पुग्ने आशीर्वाद र झोलाभरी बारीको सुन्तला दिएर बिदा गर्नुभयो ।

त्यसपछि ओरालो झेरेर हामी त्यही गाउँमा त्रिपालमुनि बसिरहेको बस्ती पुग्यौँ जहाँ ५ जना घाइतेहरूको उपचार गर्यौँ । सुरुमा एक जना दिदी जँचाउन आउन हिचकिच्याउनुभयो, जेठाजु बसिरहनुभएको त्रिपालमा आउन नमिल्ने रहेछ, मैले भने, "मान्छेको जीवन अहिले छ, एक छिनमा छैन, कुन बेला धुलो हुन्छ टुङ्गो छैन, दैवको कृपाले बाँचिएको जुनी, सबै मिलेर बसौँ न" त्यसपछि अफ्ठ्यारो मान्दै, दिदी मेरो नजिक आउनुभयो र मैले उहाँलाई अफ्ठ्यारो नहुने गरी जाँच गरे । यतिबेला मेरो मन झसङ्ग भयो "ओहो, एक घर धुरीलाई एक त्रिपाल बाँडिएको छ, एकै परिवारमा पनि जेठाजु, बुहारी, सासू,ससुरा, भाउजू, देवर हुन्छन्, कति बुहारीहरूले चिसो भुईँमै सुत्नुपरेको होला ! झन् गर्भवती र सुत्केरी महिलाहरूको बेहाल भएको होला ! ऊफ ! !"

त्यहाँको उपचार सकेर तल्लो घरको दाइको घुँडा र कुमको चोटमा मलमपट्टी गरी फर्किँदै थियौँ । बाटोमा एक जना दाजु आफ्नो पिठ्युँमा छोरालाई बोकेर त्यहाँबाट ४५ मिनेट पर रहेको मेडिकलतर्फ जाँदै हुनुहुँदो रहेछ । "दाइ के भयो, कता हिँड्नुभयो" "ओहो माननीय ज्यु, नमस्कार, हेर्नुन मेरो बाबुलाई हिजोदेखि हनहनी ज्वरो आयो, हेरिदिनुस् न" त्यहाँ नजिकै भत्किएको घरको आँगनमा पछ्यौरी ओछ्याई बाबुलाई भुँईमै सुताएर जाँच्यौँ, छाती पेट सबै हेरेपछि केही औषधि दियौँ, बाबुलाई चिसोले रुघा मर्की सुरु भएको रहेछ । "दुई दिनसम्म नि कम भएन भने चाहिँ अस्पताल जानु है" भने । ४५ मिनेट लामो बाटो हिँड्नु नपर्ने भो भनि ति दाजु खुसी हुँदै छोरो र औषधि बोकी घर फर्किए । रबिन भाइ र म पनि अस्थाई टहरा निर्माण भईरहेको स्थलमा पुग्यौँ, त्यहाँ केही हात बटायौँ र मृतकका परिवारहरूसँग बिदा मागी नलगाढ तर्फ लाग्यौँ । 

झमक्क साँझ परिसकेको र सिरेटो सुरु भएको बाईकमा हिँडेका हामीलाई अझ बढी महसुस भईरहेको थियो । नलगाढ २ चोकमा मित्र महेशलाई भेटी स्थानीयसँग छोटो संवाद पछि, नलगाढ ३ दल्लीको मृतक परिवारको घरमा पुग्यौँ जहाँ श्रीमान गुमाएकी एक बहिनी काखमा नानी च्यापेर बसिरहेकी थिइन् । एकै टेन्टमा बस्नुभएका ४-५वटा घरका महिलाहरू मिलेर आगो फुक्दै तरकारी पकाउँदै गरेको दृश्यतर्फ छोरो गुमाएका, गलबन्धीले आफ्नो कान मुख छोपेका एक बुवा टोलाईरहेका थिए । म पुग्नासाथ न्यानो माया कोसेली बोकेर वर पर छर छिमेकका महिला दिदी बहिनीहरू अँध्यारोमा मोबाईल बाल्दै सबै आईपुग्नुभयो, पाक्दै गरेको तरकारी समेत झिकेर चिया बनाउनुभएछ । म चिया पिउन लाग्दै थिएँ हामी मध्ये एक साथीले "यो कप त फुटेको छ, म यसमा खाँदिनँ" भनेर फिर्ता दिनुभयो । फिर्ता गरिएको फुटेको कप चिया बाँड्ने प्यारी दिदीको हातमा नपुग्दै बीचमै मैले लिएर भने "यहाँ मानिसहरूको घर फुटेको छ, जीवन फुटेको छ, सिउँदो फुटेको छ, तपाईँ कप फुटेको पर्यो भन्ने गुनासोमा हुनुहुन्छ" यति भन्न नपाउँदै ति साथीले हत्तपत्त त्यही कप लिएर "हो त है,आज मैले पनि केही सिके" भनेर चिया पिउन थाले । म नजिकै वरिपरी बस्नुभएका दिदी बहिनी आमाहरू सबै हाँस्नुभयो । मेरो मनले फेरि भन्यो "भुकम्पले घर घरमा भाँडा कुँडा सर सामान सबै फुटाएको छ,जुन देशमा युवाको भविष्यनै चर्किएको छ,चर्किएको भाँडोमा खान्न भनेर काहाँ हुन्छ र ?" 

"माननीय ज्युलाई खाना पस्किम्" सुनेर, म झसकिए फेरि ! "हैन हैन, पर्दैन हजरहरू खानुस् न, म खलङ्गा गएर खाईहाल्छु नि ।' अघिसम्म एकोहोरो टोलाईरहेकी सिउँदो पुछिएकी बहिनीले समेत आफूले काखमा च्यापिरहेकी नानीलाई मोबाईल खेल्न दिएर मलाई "खाना खाम न है, आज यतै बस्नुस् न है" भन्नुभएपछि चाहिँ, म अनकनाए पनि नाँई भन्न सकिन । आगोमा पकाईएको भात, साग, अनि दूध । "मीठो नमीठो जे जसो भए पनि हामी दुखीको घरमा आएर मीठो मानी खाईदिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद" तिनै एक्लि भएकी बहिनीले मुस्कान सहित भनिन् । घर अगाडि निलो त्रिपाल थियो त्यहि चर्किएको घरमा टेका लगाईएको । कुन बेला ढल्ला जस्तो । चिसो भुईँमा बसेर राहतमा आएको जसो तसो मीठो मसिनो पकाउँदै गर्नुभएका तमाम ति आमा बुवा दाजु भाइ दिदी बहिनीहरूले "म ललितपुरबाट निर्वाचित एक प्रतिनिधी सभा सदस्य" त्यहाँ पुग्दा मैले उहाँहरूलाई केही दिन नसके पनि, म सँग गफ गरेर, सँगै बसेर, फोटो खिचेर, उल्टै मेरो पोल्टो भरी माया, मेरो टाउको भरी आशिर्वाद र मेरो पेटभरी उहाँहरूको भागको खाना समेत दिएर पठाउनुभयो ...।

रबिन भाइको बाईक स्टार्ट भयो । अँध्यारोमा कच्ची बाटोमा बाईक कुदाउँदै रबिन भाइले "दिदी आज यस्तो त्यस्तो... के के भन्दै थियो... खई सुनिनँ... मेरो मनले चाहिँ आफूलाई अर्कै केही सोधिरह्यो "आखिर जनताले नेतासँग के नै खोजेका रहेछन् र ? नेताले खाने भात, लाउने लुगा, बस्ने बास, जित्ने भोट, पाउने पद सबै त जनताले नै दिएका हुन् । अनि नेताहरू किन र के का लागि कुन हैसियतले यति दम्भ बोकेका होलान् ? वास्तवमा मालिक त जनता हुन्, नेताहरू सबै सेवक बन्न सक्नुपर्छ ।" 


Author

तोसिमा कार्की

कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद हुन् ।


थप समाचार
x