ब्लग

भाइटीका छुटेपछि भूकम्प पीडित बस्तीबाट सांसद तोसिमा कार्कीको भाइलाई चिठ्ठी

इकागज |
कात्तिक २९, २०८० बुधबार १२:४१ बजे

फाइल तस्बिर

मलाई सबैभन्दा मनपर्ने चाडहरूमध्येमा पर्छ तिहार । फूल बत्ती र रङ्गोलीको सजावट । घरका ढोकामा आँगनमा बालिने पाला बत्ती मलाई औधि मनपर्छ । तर आज यहाँ भूकम्पले जाजरकोट र रूकुमको सारा गाउँ शोकमा छ, अझ पनि मानिसहरू चिसो भूइँमा सुत्नुपरेको छ ।

बिहान राहतमा आएको चाउचाउ खाइयो बेलुका अब के खाने भन्ने अवस्था छ । घर घरमा घाइते र चिन्तित मनहरू छन् । त्यसैले मैले पनि यो पटक तिहार मनाउन सकिन... । 


बुवाले धेरै पटक फोन गर्नुभयो, यहाँ नेटवर्क राम्रो छैन, फोन काटिइरह्यो... सायद घर आऊ भन्नलाई गर्नुभाथ्यो होला...। यहाँ फोन टिप्दैन, हजुरलाई फेसबुक चलाउन अलिअलि आउँछ, यो पढ्नुहुनेछ भन्ने विश्वास छ । बुवा, म यहाँ एकदम आराम छु । चिन्ता बिल्कुलै नलिनुहोला । ममीलाई पनि खल्लो नमान्नु भन्दिनुहोला...।
 
मेरो प्यारो भाइ, आजसम्म कहिल्यै टीका छुटेको थिएन, यसपालि काकाको छोरी (तिम्रो बहिनी)को हातको टीका लगाउनु है । मेरो आशिर्वाद र माया सधैँलाई छँदैछ । 

अनि मेरा कजन दाजु भाइहरू अस्ट्रेलियाबाट यसपटक चाहिँ सांसद बहिनीको हातको टीका लाउँछु भनि धेरै वर्षपछि नेपाल आउनुभएको रहेछ, माफ गर्नुहोला है यसपाली म उपलब्ध हुन सकिनँ । हजुरहरू पनि काकाको छोरी (बहिनी)सँगै टीका लाउनु है ।

अब आउँदा वर्षमा सबै परदेशमा हुनुभएका सारा नेपाली दिदीबहिनीका दाजुभाइलाई नेपाल फर्काई सबैलाई टीका लगाउने वातावरण बनाउनु छ । यो जिल्ला अस्पतालमा पनि उपकरण जनशक्ति जोडी OT ICU सुरु हुने वातावरण बनाउनु छ । 

आज टीकाको दिन म भूकम्पले धेरै मानवीय क्षति भएको दुई वटा गाउँ आठबिसकोट र नलगाढमा पीडितहरूसँग हुनेछु । तिहार त फेरि-फेरि पनि आउला तर अहिले म यहाँ उहाँहरूसँग हुनुपर्छ जस्तो महसुस भयो । मेरो मन मष्तिष्कले यहि भन्यो, मैले यहि गरेँ है  । मेरो चिन्ता बिल्कुलै नलिनुहोला । हजुरहरू सबैलाई तिहार अनि भाइटीकाको शुभकामना...। (फेसबुकबाट)

हजुरहरूकी छोरी, दिदीबहिनी

तोसिमा कार्की
प्रतिनिधिसभा सदस्य, ललितपुर-३


Author

थप समाचार
x