ब्लग

ब्लग

आजको आवश्यकता राजतन्त्रको पुनःस्थापना होइन गणतान्त्रिक लोकतन्त्रको सबलीकरण हो

सुमन बुढाथाेकी |
मंसिर ११, २०८० सोमबार २०:२० बजे

गणतन्त्रको राम्रो विकल्प समाजवादी गणतन्त्र हो न कि सामन्ती राजतन्त्र भन्ने विषयमा आजको पुस्ताले दोमन गर्नु हुँदैन । राजतन्त्रविरुद्ध गणतन्त्र किन उचित हुन्छ भन्ने विषयमा कमरेड आहुतिले 'खुँखार' पत्रकार ऋषि धमलालाई दिएको प्रख्यात अन्तर्वार्ता युट्युबमा हेरे पनि स्पष्ट बनिन्छ । त्यसको तुलनामा राजावादी लोकप्रियतावादी 'केटो' ज्ञानेन्द्र शाहीको श्री धमलासँगको अन्तर्वार्ताले थप स्पष्ट पार्नेछ । तपाईँ आफैँ भन्नुस्, गैर-राजनीतिक र व्यावसायिक पृष्ठभूमिका पूर्व 'श्री ५ ज्ञानेन्द्र' शाहको एक्लो दिमागबाट वर्तमान नेपालको समग्र समस्याको समाधान आउने ज्यादा सम्भावना हुन्छ कि बहुसङ्ख्यक नेपालीको सामूहिक चिन्तनबाट निस्कने वैचारिकीबाट? 

पश्चिमी मुलुकमा हिंस्रक पुँजीवादी व्यवस्थाको विकल्प खोज्न लडिरहेका वामपन्थीहरूको सफलता र असफलताको कथा भने हामीलाई शिक्षाप्रद अनि पुँजीवादी लोकतन्त्रको भयङ्कर खराब पक्षले पनि हामीलाई राम्रो बाटो देखाउन खोजेका छन् । समाजवादतिर अगाडि बढिरहेको नेपालमा हामीले खोजेको देश अरू देशको तुलनामा फरक छ । वर्तमान संविधानका असल पक्षलाई यथार्थमा रूपान्तरित गर्नुमा नै हाम्रो अधिकतम सौभाग्य छ । यसलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ । लोकतान्त्रिक विधिबाट मात्रै आम नागरिकको सामूहिक हितका लागि उचित वातावरण बनाउन सकिन्छ भन्ने विषयमा पनि विवाद छैन । तसर्थ लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । 


लोकतन्त्रमाथिको कुनै पनि संकुचनले नागरिकको आवश्यकता सम्बोधन हुँदैन भन्ने पनि सोझो सत्य हो । यो देशमा व्याप्त असङ्गति र दुरावस्थाको उपचार यही गणतन्त्रात्मक व्यवस्थाभित्रै खोज्न सकिन्छ भन्ने विषयमा अन्यौल बन्नु झनै उचित छैन । हामीले इतिहासमा एउटा गतिलो यात्रा तय गरिसकेका छौँ । त्यसको ठूलो मूल्य हामीले तिरिरहेका नै छौँ ।  पछाडि फर्किनुपर्ने कुनै बलियो कारण छैन । सामाजिक र सांस्कृतिक समस्याको पनि यहीँ हल खोजिनुपर्दछ । दलतन्त्रको बेथितिले यी सारा समस्या हावी भएकोले नागरिक आन्दोलनको सकृय भूमिका पनि आजको महत्वपूर्ण आवश्यकता हो । खराब नेतृत्वले निर्माण गरेको यो दुरावस्थाको उपचार असल नेतृत्व अघि बढेर आउनुमा मात्र छ । हरेक दलमा यस्ता नेता छन् । त्यसैले अहिलेको समयमा सचेत र इमानदार मान्छेको सकृयता आवश्यक छ । नेतृत्वको खराब व्यावहार नै नयाँ र असल नेतृत्वको लागि उचित अवसर हो । यसर्थ खराब नेतृत्व एउटा असल अवसर पनि हो । 

कुरा आफैँबाट सुरु हुन्छ । म जन्मँदा मेरा बा-पुस्ताहरू लोकतन्त्र र पञ्चायतको द्वन्द्वबाट बाहिर निस्किएर लोकतान्त्रिक कखरा सिकिरहेका हुन्छन् । पूर्वपञ्च मेरा बा (स्व. खिलबहादुर भावुक) ले पञ्चायती विभ्रमको चिरफार गरेर पुस्तक नै लेखेका थिए-  'बदलिएको परिस्थितिको राजनीतिक विश्लेषण' जहाँ उनले ग्रामीण जनमानसमा लोकतन्त्रको ज्ञान सञ्चार गर्न तत्कालीन दलहरूले गम्भीर कमजोरी गरिरहेको जिकिर गरेका छन् ।  सन् नब्बेको पुस्ता म । हारेका पञ्चहरूलाई 'मण्डले' भनी घृणा गरिन्छ । गाउँघरमा नयाँ प्रजातन्त्रवादी हल्ला गरिरहेका छन् । पञ्चायती व्यवस्थाको कहर कति भयानक थियो भन्ने कुरा सायद अहिलेको पुस्ताले कल्पना पनि गर्न सक्दैनन् । म पनि सक्दिनँ ।

(उज्वल प्रसाईँकृत 'एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष ' भन्ने गहकिलो पुस्तकले यस विषयमा राम्रोसँग भनेको छ । कुनै समयका प्रगतिशील लेखक मोदनाथ प्रश्रितले लेखेको चलचित्र 'बलिदान' हेर्दा पनि अलिकति त्यस भयानक समयको छनक मिल्छ । पञ्चायती व्यवस्था निरङ्कुश शासन हो भनेर गाउँघरमा सबैलाई थाहा भएको समय थियो त्यो । हामी रमेश विकलकृत 'अविरल बग्दछ इन्द्रावती' र कमरेड आहुतिकृत  'दलन' हेरेर हुर्केको पुस्तालाई पञ्चायती व्यवस्था बुझ्न पर्याप्त खुराक उपलब्ध छ ।) 

राजाले जनतालाई भेदभाव गर्छन्, आसेपासेलाई रजाइँ गर्ने छुट दिन्छन्, जातीय विभेद अझै पनि उस्तै छ, त्यसैले सबैलाई समान व्यवहार हुने प्रजातन्त्र चाहिन्छ, एउटा राजाले शासन गर्नुभन्दा जनताका छोराछोरीले चलाउने देश सुखी हुन्छ भन्ने कुरा नै प्रगतिशील कुरा थियो । त्यसैले प्रजातन्त्रको पुनःस्थापनाको लागि मरिमेट्ने नेताहरूलाई सम्मान गरिन्थ्यो । गणेशमान सिंह र विश्वेश्वरप्रसाद कोइरालाको त जीवनी नै विद्यार्थीलाई पढाइ हुन्थ्यो र हामीलाई यी नेताले बलियो प्रेरणा दिएका छन् । यद्यपि पुष्पलाल श्रेष्ठ अथवा निर्मल लामाको जीवनी चाहिँ पढाइँदैनथ्यो । पछि पारिजातको जीवनी पढाइ भयो नौ कक्षामा । हामी संवैधानिक राजतन्त्रमा हुन्छौँ । राजपरिवारका सदस्यले कुनै अपराध गरे पनि अदालतमा मुद्दा नलाग्ने कानुन हुन्छ । बहुदलीय प्रजातन्त्र बामे सरिरहेको समय हुन्छ । राजनीतिक चेतनामा वयस्क बनिरहेको नेपाली समाज हुन्छ । काँग्रेसीहरू फटाहा हुन्छन् र कम्युनिष्टहरू असल हुन्छन् भन्ने कुरा सबैलाई थाहा भएको समय । कम्युनिष्ट हुनु काँग्रेस हुनुभन्दा धेरै राम्रो हो भन्ने त्यस्तो परिवर्तनकामी समय । 

हामीलाई बिझाएका मृत्यु - नेपाली जनजिब्रोमा भिजेका गायक नारायण गोपालको मृत्यु, आम नेपालीले चिन्ने लेखक पारिजातको मृत्यु, उदास कोइली अरुणा लामाको मृत्यु, सबै युवाका प्रिय स्वर अरुण थापाको मृत्यु, जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्यु आदि हामीले थाहा पाएका मृत्युहरू । मनोज पण्डितले लेखेको प्रख्यात चलचित्र 'दासढुङ्गा' मा अनुप बरालको क्लासिक अभिनय हेरेका हामी । पत्रकार कृष्ण सेन इच्छुकको हिरासतमा भयानक हत्या बारेमा थाहा हुन्छ प्रायः सबैलाई, पत्रकार डेकेन्द्र बिस्टको माओवादीले गरेको नृशंस हत्या पनि थाहा हुन्छ । किशोरी मैना सुनुवारको सैन्य हिरासतमा भएको भयानक हत्याको चर्चा हुन्छ । कतिले त एनी फ्रयाङ्कको डायरी पढेर मैना सुनुवारको वियोगान्त बुझेका हुन्छन् । कस्तो भयावह समय थियो! चेलीबेटी बेचबिखन, महिलामाथि घरेलु हिंसा र सामाजिक बन्देज, जातीय छुवाछुत र भेदभाव, गरिबी र अशिक्षाको काला बादल अझै पनि बाक्लो गरी नेपाली मानसमा मडारिन छोडेका छैनन् । विद्यालयमा पढाइ हुन्छ - नेपाल कृषि प्रधान देश हो, अस्सी प्रतिशत नेपाली ग्रामीण क्षेत्रमा बस्छन्, राजा वीरेन्द्रको जीवनी, छोराछोरीलाई विभेद नगरौँ, काठमाडौं हाम्रो राजधानी, पृथ्वी नारायण शाहले टुक्रे राज्यहरू समेटेर बनाएका हुन् आधुनिक नेपाल आदि । त्यहाँ पढाइ हुँदैन नेपाल मगर, राई, तामाङ, थारू आदि सयौँ जातीले आफ्नो भाषा र संस्कृतिको तिलाञ्जली दिन बाध्य पारिएको दुःखी समाज हो भनेर ।

हिन्दु धर्मको नाममा मान्छेलाई मान्छेको सम्मानबाट वञ्चित गर्दै न्याय र पहुँचमा अन्याय गरिरहेको कुरूप समाज हो नेपाल भन्ने  सत्य त्यहाँ लुकाइन्छ । मधेसमा बसेर मेहनतले सम्पूर्ण देशलाई चामल चिनी, अन्न खुवाउने नागरिकलाई नेपालीको सम्मानित दर्जा दिन डराउने कमजोर राज्यको नाम नेपाल हो भन्ने हामीलाई कहिल्यै पढाइँदैन । राजाप्रति शंका देशव्यापी छ । हामी कक्षा छमा हुँदा हाम्रा अभिभावकहरू बेलुकी आठ बजेको समाचारमा माओवादी आक्रमणबाट मृत्यु भएका ग्रामीण क्षेत्रका प्रहरीहरूको लासको लस्करबारे समाचार हेरेर आपसमा डरले फुस्रा हुन लागेका हुन्छन् । विद्यालयका साप्ताहिक कार्यक्रमहरूमा दाइ-दिदीहरूले कविता सुनाउन थालेका छन् - शान्ति क्षेत्र नेपालमा बुद्ध रुँदैछन् अनि हाम्रा कला प्रदर्शनीहरूमा स्वयम्भूका आँखाबाट आँसु खसिरहेका हुन्छन् । फेरि युवराजको जन्मदिनमा खेलकुद प्रतियोगिता पनि हुन्छन् ।

अर्कातिर हँसिया-हथौडाको चित्र सबैमा रहस्यमय डर भएको छ । माओवादी चन्दा आतङ्कको चुली उकालो लागेको हुन्छ । सबै शक्तिशाली त्राहिमाम छन् । अनि अचानक नारायणहिटी दरबारमा राजाको सम्पूर्ण परिवारको सामूहिक हत्या भएको समाचार आउँछ । हामी टाउको खौरिएर घरमा बसेर रेडियोमा उदास धूनहरू सुन्दै डराउँछौँ । हामीले चिनेको नेपाल 'भिजिट नेपाल १९९८' बाट रगतको खोला बगिरहेको डरलाग्दो नेपाल भएको हुन्छ । राजपरिवारको हत्याको एक महिनाजस्तो विद्यालय विदा हुन्छ । हामी खुसी हुन्छौँ तर ठूलाहरू दुःखी हुन्छन् । नयाँ राजालाई ठूलाहरू मनपरी भन्छन् र हामीलाई पनि नहाँसी गमक्क फुलेका नयाँ राजाको राज्यारोहणका दृश्यमा उनी खासै मन पर्दैनन् । देशमा सङ्कटकाल लाग्छ । अझै धेरै मानिसको लासहरूले समाचार भरिन्छ । 

हँसिया हथौडाको चित्रले 'माओवादी' जनाउने कुरा हामीले थाहा पाउन थालेका हुन्छौँ । कतिपय पत्रिका पढ्ने दाइहरूको माओवादी समर्थनमा हामीले पनि आशा र रोमाञ्चित अनुभूति गर्न थालेका हुन्छौँ । मलाई पनि कम्युनिस्ट पार्टीको घोषणापत्र र राजेन्द्र महर्जनले लेखेको 'चे जो गयो मृत्युको मुखमा जीवनको खोजमा ' ले जादुपूर्ण मोहमा पारिसकेको हुन्छ । महान् लेखक माक्सिम गोर्कीले लेखेको 'आमा' उपन्यासमा नेपालको रहस्यमय क्रान्तिकारी मोहनविक्रम सिंहले लेखेको सय पेजको भूमिका 'फोहोर पानीमा बगिरहेको जीवन' ले उद्वेलित गरिरहेको हुन्छ । शान्ति वार्ता र युद्धविराम जस्ता शब्दहरूले हाम्रो सामाजिक अध्ययन कक्षामा पर्याप्त चर्चा पाउँछन् । अनि हामी एसएलसी दिन तयार हुँदा नेपालभरी आन्दोलन चर्किरहेको हुन्छ किनभने नयाँ राजाले फेरि पञ्चायती व्यवस्थाको झल्को दिने गरी सत्ता आफ्नो हातमा लिएर पुराना पञ्चायतवादीलाई सरकारको नेतृत्व सुम्पिदिन्छन् । जङ्गली माओवादी र अपदस्थ बाइसे दलहरूले भारतमा प्रख्यात बाह्र बुँदे सम्झौता गरेर उन्नाइस दिने संयुक्त जनआन्दोलनको हुन्डरी मच्चाउँछन् । केही आन्दोलनकारी मरिसकेपछि जेन्टलम्यान नयाँ राजाले 'जनताको नासो जनतालाई नै' सुम्पिदिन्छन् र आफू बाहिर निस्कन्छन् । अनि सुरु हुन्छ शान्ति प्रक्रिया, अन्तरिम संविधान, नयाँ संविधान लेख्ने संविधानसभाको निर्वाचन अनि गणतन्त्र र धर्म निरपेक्ष संघीय नेपालको नयाँ यात्रा ।

कम्युनिष्टको नामबाट जनता झुक्याउन खप्पिस पार्टी एउटै थियो - नेकपा एमाले । नेमकिपा र राष्ट्रिय जनमोर्चा नेपाली वामपन्थी राजनीतिमा जनवादी उदाहरण थिए । माओवादी भने आफ्ना क्रान्तिकारी चर्को अभिव्यक्तिको लागि सर्वप्रिय बनेको थियो । अब व्यावहारिक रूपमा त्यसलाई आम गरिब जनताको सुखको लागि गरेका वाचा व्यवहारमा लागू गरेको हेर्नका लागि सबै आतूर भएर बहुमतले जिताउन लागिपरे । माओवादी वाइसिएलले सहरी आतङ्क मच्चाउन लाग्दा नेपाल नयाँ संविधानको बहसमा हेलिइसकेको हुन्छ । अवसरवादी नेकपा एमालेले युथ फोर्स गठन गरी प्रतिक्रान्तिको प्रहसनमा लाग्दा भने माओवादीले क्रान्तिकारी आत्मा गुमाएर घिनलाग्दो संसदीय राजनीतिक दाउपेचको उत्कर्ष चढिरहेको हुन्छ । त्यसैबीच मुस्किलसँग नयाँ संविधान जारी हुन्छ । तर, आठ वर्ष लगाएर पनि मधेस, दलित र जनजातिको वास्तविक आकाङ्क्षालाई फेरि संविधानमा भने वेवास्ता गरिएको हुन्छ । मधेसमा आन्दोलनको आगो दन्किइसकेको अवस्थामा पनि बलजफ्ती विभेदको संविधान निरन्तर हुन्छ । यतिबेला नेपालमा जनवादी दल कुनै पनि रहँदैन । इतिहासले दिएको महत्वपूर्ण अवसरको नराम्रो दुरूपयोग हुन्छ । अनि वर्षहरू गुज्रिरहेका बेला माओवादीको अकल्पनीय पतनको पनि दुःखी साक्षी बस्छौँ हामी । समाजवाद फेरि काल्पनिक स्वर्ग हुन्छ । यथार्थ बन्दैन । कठै! नेपालको राजनीतिको नमीठो पश्चगमन यात्रा सुरु हुन्छ । 

अनि समदुरी र असंलग्न नेपाली परराष्ट्र नीति बदल्ने एमसीसीको हस्ताक्षर गर्छ उही कथित क्रान्तिकारी माओवादीले । त्यसको केही हप्तादेखि आम राष्ट्रवादी नेपाली युवाहरूलाई नेपाल प्रहरीसँग भिडाउँछ माओवादीले र संसदबाट एमसीसी पारित गर्छ । नेपालले रसिया विरुद्ध युक्रेन/अमेरिकी पक्षमा संयुक्त राष्ट्र संघको भेलामा भोट गर्छ । अनि शान्तिक्षेत्रको मर्म विपरीत अमेरिकी साम्राज्यवादको समर्थन गर्छ नेपालले । चाइना विपक्षी हुन्छ नेपाल टिकटक प्रतिबन्धको फेर समातेर । अनि गणतन्त्रको विकल्प राजतन्त्रको पुनःस्थापनाको स्वर गुञ्जायमान हुन्छ व्यावसायिक दुर्गा प्रसाईँको नेतृत्वमा । लोकतान्त्रिक सरकारले नागरिकलाई धरपकड गर्छ । नागरिक समाज र बौद्धिक जमातले रमाइलो मानेर हेर्छ । प्रसाईँसँग प्रस्ट राजनीतिक विकल्प र समग्र व्यवस्थाको मनासिव विकल्प भने हुँदैन । प्रसाईँको कथित जनविद्रोहसँग वृहत् नागरिक समर्थन प्राप्त गर्ने आधार रहेको भने देखिँदैन । 

कसैले गणतन्त्र कमजोर तुल्याउन तल्लीन माओवादी, एमाले र काँग्रेसलाई केही भन्दैनन् । भलाद्मी राजा दृश्यमा कहीँ सल्बलाउँछन् । नागरिक समाज मौन अनि राजनीतिक दलका नेताहरू आत्मसमीक्षा गर्नुपर्ने कर्तव्यबाट विमुख छन् । यस्तो अवस्थामा आजको आवश्यकता राजतन्त्रको पुनःस्थापना होइन लोकतन्त्रको सबलीकरण हो भन्ने कुरा आम मानिसले भने मनमनै सोचिरहेका छौँ । दुःखदायी कुरा- कथित क्रान्तिकारी कमरेड विप्लवले पनि 'गद्दार' पुष्पकमलको साम्राज्यवादी कम्युनिष्ट नाटकमा शरण लिइरहेका छन् । पुष्कमल भने अहिले धार्मिक तथा राजकीय सम्मानका प्यासले छटपटी ग्रसित देखिन्छन् । एमालेका कमरेड महेशलाई त मनोरञ्जनात्मक 'कमेडी' का नम्बर एक प्रतिस्पर्धी भन्नुपर्ने अवस्था छ । कमरेड केपी ओलीलाई त भन्नुपर्ने केही बाँकी रहेन ।


Author

थप समाचार
x