एउटा अद्भुत नाटक : इन साइड-आउट साइड–४
सधैँ नाटक हेर्न जाने बानी परेको मलाई यो पटक नाटक महसुस गर्ने मौका साथी देव न्यौपानेले जुराइदिए । मण्डला थिएटरमा एउटा अद्भुत नाटक मञ्चन भइरहेको छ भन्ने सुनेर हेर्न गइयो । पहिलो पटक फर्किनु प¥यो । १६ जना मात्र सहभागी नाटक घर छिर्न मिल्ने रे । त्यस माथि देवको नाममा बुक गरेको दुइटा टिकट अरू नै कसैले देव मै हो भनेर लगी सकेछ । हामी चुपचाप फर्कियौँ । दुई दिन पछि फेरि म टुप्लुक्क पुगेँ । नाटकको अन्तिम दिन थियो त्यो । म चकित त्यति बेला परेँ जति बेला मलाइ थाहा भयो कि त्यस दिन पनि टिकट थिएन । निर्देशक राम हरि ढकाललाई अफ्ठेरो लागेछ क्यार आफै आएर मलाई अनौठो प्रस्ताव गरे नाटक हेर्ने । म चकित परेँ र सोधेँ, अरू चाहिँ के गर्छन् त ? उनको जवाफ थियो अरू महसुस गर्छन् तपाइ हेर्ने । मनमा कौतूहल बढ्यो तर म रोमाञ्चित थिएँ ।
नाटक घरभित्र प्रवेश गर्नुअघि १६ जनालाई लामबद्ध गरेर कुर्सीमा बसाइयो । उनीहरूलाई ब्याग, मोबाइल, ज्याकेट आदि बसेकै ठाउँमा राख्न लगाइयो । नाटकका नियमहरू सम्झाइयो र आँखामा पट्टि बाँधियो । निर्देशकले भन्दै थिए आफ्ना सबै इन्द्रियहरूलाई खुला राख्नु र महसुस गर्नु । अनि एक बाँसुरीवादक ती आँखामा पट्टि बाँधेका सहभागीसामु मीठो धुन बजाउन थाले । त्यसपछि अब जे बयान गरिन्छ त्यो सहभागीले देखेका छैनन् । उनीहरूले आफ्ना इन्द्रियहरूको प्रयोग गरेर महसुस गरे होलान् म अक्षरशः बयान गरिरहेछु । निर्देशक आफैँ एउटा प्लास्टिकको जगमा पानी र कागजका गिलास लिएर सहभागी नजिक गए । कानकै छेउमा जग बाट गिलासमा पानी ध्वाररर पारेर आवाज निकाले अनि कानमा स्वागत गर्दै पिउन भने । सबैले पानी पिइसके पछि मलाइ पनि पानी दिए राम हरि ढकालले । कागती पानी थियो । त्यस पछि सहयोगीहरूले एक एक गर्दै सहभागीलाई नाटक घर भित्र डोर्‍याएर लगे । मलाई पनि निर्देशकले भित्र लगे । त्यसपछि सुरु भयो नाटक, असली नाटक ।
नाटक घरभित्र पसेपछि जे दृश्य देखियो त्यसले मलाई अभिभूत गरायो । अनौठो, एकदमै अनौठो । सबै सहभागी थिए तर म दर्शक । केही सहयोगीहरू र निर्देशक अनि एक ध्वनि परिकल्पनाकार । ध्वनिको बारेमा म पछि कुरा गर्छु । अहिले भने स्टेज र सहभागीहरूको क्रियाकलापका बारेमा कुरा गरौँ । अँध्यारो कोठामा झिम्किरहेका बत्तीहरूको मधुरो प्रकाशमा कोठा भित्र प्रवेश गरेका सहभागीहरू अलमल्ल पर्छन् । कोठाभित्र पस्न साथ उनीहरू विभिन्न कुराको अन्वेषण गर्न थाल्छन्। भुइँभरि छरिएका लुगा कुल्चिँदै केही सहभागी अघि बढ्छन् । सुरुमा जङ्गलको बिचमा पुगे जस्तो, चरा कराएको, खोलाको कल कल आवाज, कुकुर भुकेको आवाजले सहभागीलाई अर्कै दुनियाँमा पुर्‍याइदिन्छ ।
आँखा बन्द गरेर बाहिरी दुनियाँ बाट आफू भित्र प्रवेश गरेका सहभागीहरू बिस्तारै बन्द कोठाको चारै कुनामा छरिन्छन् । कोठा भित्र भुँइ भरि केही न केही भेटिन्छ तर सहभागीले छामेर अथवा सुघेँर त्यो के हो भनेर पत्ता लगाउनु पर्छ । कतै लुगा छन् त कतै जुत्ता, कतै भुइँमा चामल छरिएको छ त कतै भुँइ चिप्लो छ, कतै मानिसका काटिएका टाउका जस्ता आकृति भेटिन्छन् त कतै छुने बित्तिकै बच्चा जस्तै रुन थाल्ने गुडिया । । माथि बाट तल सम्म लामा लामा फलामका सिक्रीहरू झुन्ड्याइएको छ । चिप्लो भुईँमा लडिन्छ कि भनेर सहभागीहरू सिक्रीको सहाराले त्यो भुलभुलैया पार गर्छन् । लगत्तै उनीहरू अर्को जालमा फस्छन् । एउटा खतरा पछि अर्को खतरा, खतराहरूको लामो सिलसिला । यो जीवनको परिभाषा नै हो जुन निर्देशक ढकालले गज्जब सँग प्रस्तुत गरेका छन् ।
नाटक सुरु हुँदा बजेको सुमधुर धुन अचानक युद्ध मैदानको कर्कश ध्वनिमा परिणत हुन्छ । पहिला बन्दुक पड्किएको आवाज आउँछ अनि त्यस पछि निरन्तर बम पड्किएको र चित्कार सुन्न सकिन्छ । सहभागीहरू अचानक युद्ध भुमरीमा फसेको महसुस गर्छन् जहाँ बाट कुनै बाहिर निस्कने ठाउँ छैन । सबै जना छटपटाइ रहेका छन् । एक सहभागी त हातले कान छोपेर भुईँमा लडेका थिए सहयोगीहरुले उनलाई उठाए । त्यही बेला निर्देशकले खै के बालेर कोठा धुवाँ ले भरि दिए । गन्ध दुरुस्तै बारुदको जस्तो । अब पक्का भयो त्यो कोठा पूर्ण रूपमा युद्ध मैदानमा परिणत भयो भनेर । पानीको बोतलको बिर्कोमा सानो प्वाल पारेर सहयोगी हरू सहभागीको हातमा पानीका थोपा खसाली दिन्थे उनीहरू आफ्ना हातमा रगतका थोपा खसेको महसुस गरेर हात झट्कार्थे । त्यही बिचमा कतै निर्देशकले निमपत्ताको तितो धुलो सबै सहभागीको मुखमा हाली दिए । मुखै बटार्ने निमको धुलोले स्वादको अर्कै उचाइमा पुर्‍याइदियो । यसरी झन्डै २० मिनट बिते पछि ध्वनि बन्द हुन्छ र पूर्ण शान्ति छाउँछ । चिहानको जस्तो शान्ति । फेरि मिठो धुन र मानसिक शून्यता ।
केही सहभागी नाटक सकिए पछि १० बर्से जनयुद्ध र नाटकको घनिभूत सम्बन्ध छ भनेर बहस गर्न लागे । युद्ध र नाटकको सम्बन्ध छ तर यो सम्बन्धलाई १० बर्से जनयुद्ध सँग जोडन मन लागेन मलाइ । तपाइ जोडन चाहनु हुन्छ भने पूर्ण छुट छ । युद्ध भोगेकाले, देखेकाले गज्जब सँग अनुभूत गर्न सक्छन् यो सेटमा तर म जस्तो युद्ध पर बाट हेरेको र सुनेकोलाई नाटकले जनयुद्धको पृष्ठभूमिमा पुर्याए पनि त्रासदीको अनुभूति भने गराएन ।
निर्देशक ढकालले यस नाटकमा प्रयोग गरेको शैली लाई संवेदी स्थापना ( सेन्सरी इंस्टलेशन थिएटर पर्फमेन्श) भनिन्छ । उनले यसलाई आत्मवोध कला पनि भनेर व्याख्या गरे । आँखामा पट्टी बाँधे पछि कानले आवाज महसुस गर्दो रहेछ त्यो पनि अलि अर्कै स्तरमा । नाकले वासना, छालाले स्पर्श र जिब्रोले स्वाद । यी सबै सामान्य कुराहरू विशिष्ट लागि रहेका थिए कारण यिनै कुरामा ध्यान पूर्ण रूपमा केन्द्रित थियो । मैले माथि नै उल्लेख गरेको ध्वनिको प्रयोग यो नाटकको सबै भन्दा मजबुत पक्ष लाग्यो । परिस्थिति अनुसारको ध्वनिले नाटकको इन्टेन्सिटिलाइ धेरै माथि पुर्‍याइदिएको छ । ध्वनिले सहभागीहरू लाई एकै चोटि आतङ्कित र सन्तुलित गराइ दिन्छ । नाटकको अन्त्य तिर पिडा दायी बाँसुरीको धुन बजाउँदै हिँडेका वादकले हृदय विदारक र कारुणिक भावमा डुबाइ दिन्छन् । यो सबै अनुभूति गरिरहेका सहभागी रोलर कोस्टरको सयर र बेला बेला फ्री फल भएको महसुस गरी रहेका हुन्छन् ।
हाम्रा जीवनका सोचाइ र भोगाइका नियमहरू सधैँ नियमित नहुँदा रहेछन् । जीवन एकैनास पनि नहुँदो रहेछ । यो नाटकले अभिव्यक्त गर्न खोजेको अर्को दर्शन जीवनको “नियमित आकस्मिकता“ हो । यो जीवनलाई हेर्ने एउटा मिहिन दृष्टिकोण हो । हरेक मानिस जीवनमा आकस्मिक तर नियमित रूपमा घटित भइरहने थुप्रै परिस्थितिहरूको सामना गर्न तयार रहनु पर्छ । मानिस यस्ता परिस्थितिको सामना गर्दै आफ्नो अस्तित्व र पहिचान निर्माणको बाटोमा अगाडि बढ्छ । नाटकमा पनि त्यस्तै हुन्छ । हरेक सहभागीले आइपरेका आकस्मिक परिस्थितिको आफ्नै तरिकाले सामना गरेर आ–आफ्नो अनुभूतिको संसार निर्माण गरेर बाहिर निस्कन्छन् । यो नाटकको सफलता हो ।
नाटकको शीर्षक भित्र/बाहिर–४ (इनसाइड-आउट साइड –४ ) ले लगभग हरेकको व्यक्तिगत यात्राको अनुभूति गराउँछ । यात्रा आफू बाहिर देखि आफू भित्र सम्मको, अज्ञानता देखि ज्ञान सम्मको सहजता देखि जोखिम सम्मकको र यथार्थमा जीवन देखि मृत्यु सम्मको । निर्देशकले आँखा बन्द गरेर बाहिरी संसार बाट भित्र प्रवेश गराउँछन् । आफ्ना चुनौती हरूको आफै सामना गर्न सिकाउँछन् । जीवन कलात्मक हुन्छ भने, यो जीवन जिउने कला हो । समग्रमा नाटक अद्भुत छ । चार संस्करण मध्ये भाग–२ र ४ नेपालमा मञ्चन भएको हो । आर्ट काउन्सिल नर्वेको सहयोगमा प्रस्तुत गरिएको नाटक इनसाइड-आउटसाइड–४ ले नेपाली नाटकको क्षेत्रमा प्रयोगवादी धारको ढोका खुल्ला गरिदिएको छ ।